सिक्टा सिँचाइमा मुआब्जाको सकस, लागत ५३ अर्ब पुग्यो
काठमाडाैं । बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । ‘चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख रूपैयाँ विनियोजन भएको थियो, जेठ मसान्तसम्म ७६ करोड ५२ लाख २७ हजार रूपैयाँ बजेट खर्च भइसकेको छ’, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने । चालु आवमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरको बाँकी कामको ठेक्का व्यवस्थापन, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरवा तथा गोहा शाखा नहरको ठेक्का सम्झौता गरी निर्माण, गुरुवागाउँ शाखा नहर निर्माण, विभिन्न शाखा, प्रशाखा नहरका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नेलगायत काम भएको उनले बताए । सिक्टा सिँचाइ आयोजनालाई आगामी आव २०८१/८२ मा बजेट सिलिङ बढेको छ । आव २०८१/८२ को बजेटमा सिक्टा सिँचाइ आयोजनालाई एक अर्ब ६० करोड रूपैयाँ विनियोजन भएको छ । चालु आव २०८०/८१ मा सिक्टा सिँचाइलाई एक अर्ब ३५ करोड रूपैयाँ विनियोजन भएको थियो । ‘गत वर्षको भन्दा यो वर्ष केही बढाएर बजेट विनियोजन भएको छ’, इन्जिनियर पौडेलले भने, ‘अहिले हामी डुडुवा शाखा नहरको काम गरिरहेका छाैं, आगामी बजेट पनि त्यसैमा धेरै होला ।’ बाँकेको राप्ती सोनारी गाउँपालिका-२ अगैयास्थित राप्तीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो । आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजनाअनुसार आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत रु ५२ अर्ब ८९ करोड छ । सरकारले आयोजनालाई वार्षिक रूपमा कम बजेट विनियोजन गर्दै आएकाले मुआब्जा वितरणलगायत समस्या समाधानको चुनौती पनि छ ।
क्रसर व्यवसायीका माग सम्बोधन गर्न सरकारलाई निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण
काठमाडौं । निर्माण क्षेत्रमा पर्ने असरलाई मध्यनजर गरी वार्ताका माध्यमबाट क्रसर व्यवसायीहरुका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग आग्रह गरेको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर, खानी तथा बालुवा उद्योगहरुको नविकरण नभए असार १ गतेदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवं बिक्री वितरण अनश्चित कालका लागि बन्द गर्नै चेतावनी दिँदै आन्दोलन घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघलाई पनि आन्दोलनमा समर्थन जनाउन माग गर्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले परिपत्र गरेको थियो । निर्माण व्यवसायी महासंघले भने क्रसर व्यवसायीहरुको माग जायज रहेको बताउँदै आफ्नो आंशिक सहयोग रहेको बताएको छ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले क्रसर तथा खानी उद्योग महासंघ क्रसर, खानी तथा बालुवा उद्योगहरुको नविकरण नभए असार १ गतेदेखि आन्दोलनको चेतावनी दिएको भन्द सरकारले समयमा नै वार्ताका माध्यमबाट व्यवसायीहरुका माग सम्बोधन गर्न आवश्यक रहेको बताए । निर्माण सामग्रीको अभावले निर्माण क्षेत्रमा थप असर र ढिलाइ हुने भन्दै सरकारले तत्काल वार्ता गरी समाधान निकाल्नुपर्ने बताए । क्रसर व्यवसायीहरुलाई निर्माण व्यवसायी महासंघले अहिले काम पूरा गर्ने समय भएकाले उद्योगहरु बन्द नगर्न आग्रह गरेको पनि बताए । क्रसर व्यवसायीहरुको माग जायज रहेको भन्दै उहाँले कुनैपनि सञ्चालन भएका उद्योग कानूनी रुपमा सञ्चालन गर्न नविकरण अनिवार्य रहेकाले अहिले समस्या नभएपनि साउनबाट समस्या आउने जानकारी दिए । समस्या आउनुपूर्व नै पहिलाकै स्थितिमा उद्योग नविकरणको व्यवस्था गर्न सरकारसँग आग्रह गरे । क्रसरजन्य सामग्रीको अभावले निर्माण व्यवसायीहरुले ठेक्का लिएका कामहरु सम्पन्न गर्न पनि असर पुग्ने भएकाले सरकारले समयमा नै समस्याको समाधान गर्न आवश्यक रहेको जानकारी दिए । ‘क्रसर तथा खानी उद्योग महासंघले जुन बन्द गर्ने भनेको छ १ गतेबाट हामीलाई पनि पत्र मार्फत ऐक्यवद्धता जनाउन अनुरोध गर्नुभएको छ । उहाँहरुको पनि विशेष गरी समस्या छ । अहिले नभए पनि साउन १ गतेबाट पक्कै पनि यो समस्या आउन सक्छ । उहाँहरुलाई यो समयमा निर्माण सामग्री बन्द नगरिदिन आग्रह पनि गरेका छौँ । सरकारलाई पनि उपयुक्त वातावरण बनाइ वार्ताको माध्यमबाट समाधान निकाल्न आग्रह गरेका छाैँ’, उनले भने । महासचिव दाहालले आन्दोलनबाट सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन पश्चात म्याद थप भई सुचारु हुन लागेका एवं अन्य आयोजनाको कार्यान्वयन एवं सम्पादनमा गम्भीर असर पर्ने बताए । आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहदा असार १ गतेबाट आन्दोलन थाल्दा मुलुकको समग्र अर्थतन्त्र नै अत्यन्त शिथिल रहेको वर्तमान अवस्थामा निर्माण कार्यहरू ठप्प भई निर्माण उद्योग र समस्त निर्माण व्यवसायीलाई अझ मार पर्ने जानकारी दिए ।
नेपालमा रगतको सही उपयोग र उचित प्रयोग नहुँदा अभाव
रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चारमाध्याममा पढ्ने र सुन्ने गरेका छौँ । नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबर सुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ । नेपालमा हाल वार्षिक ३ लाख ५० हजारदेखि ४ लाख पिन्ट रगत आवश्यक हुने गरेको छ । एकातर्फ रक्तदान गर्ने युवाहरु दिन प्रतिदिन रोजगारी र पढाईको सिलसिलामा विदेशीएका छन् भने अर्कातर्फ रोगी र वृद्धवृद्धा भएका कारण रक्तदान गर्ने वर्गसमेत घटिरहेको छ । तर वार्षिक रुपमा नेपालभर जम्मा ३ लाख प्रिन्ट मात्र रगत संकलन हुँदै आएको छ । यो डाटालाई हेर्ने हो भने पनि नेपालमा अझै वार्षिक १ लाख प्रिन्ट रगत अपुग भएको देखिन्छ । तर त्यो ३ लाखबाट ९ लाख रक्ततत्व बनाउन सकिन्छ। यसकारणले हेर्ने हो भने रगतको मागभन्दा रक्ततत्व बनाएर रगतको सही उपयोग गरेमा रगतको माग पुग्ने देखिन्छ। नेपालमा दैनिकजसो संकलन हुँदै आएको रगतलाई राम्रो किसिमले व्यवस्थापन गर्न नसक्दा दिन प्रतिदिन रगत अभाव हुँदै आएको छ । हामीले रगतलाई राम्रो व्यवस्थापन गर्न नसक्नु रगत अभावको मुख्य कारण हो । रक्त तत्त्वहरूको प्रयोगभन्दा होल ब्लड को प्रयोग अर्को मुख्य कारण हो । रगत अभाव हुने अर्को मुख्य कारण भनेको विरामीका लागि लगेर बढी भएको रगतको व्यवस्थापन नगर्नु हो । उदाहरणको लागि कुनै एक विरामी को लागि दुई प्रिन्ट रगत आवश्यक भएको भनेर लिएर जानु र रगतको प्रयोग गर्दा एक प्रिन्ट रगतले मात्र पुग्दा बाँकी अर्को एक प्रिन्ट रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गईरहेको हुन्छ । हामीले एक प्रिन्ट रगतबाट तीन देखि पाँच भिन्न खालका रगत बनाउन सक्छौँ । एकै प्रकारको रगतलाई भिन्न ३ देखि ५ प्रकारको रगत बनाउनका लागि धेरै रक्त सञ्चार केन्द्र छन् तर पनि शतप्रतिशत रक्ततत्व बनाउन नेपालको अत्याधुनिक रक्तसञ्चार केन्द्र ग्राण्डी अस्पतालमा रहेको छ । ग्राण्डीको रक्तसञ्चार केन्द्रले एउटा रगतबाट ३ देखि ५ प्रकृतिक रगत बनाउँदै आएको छ । जुन विरामीलाई जस्तो रगत चाहियो त्यस्तै रक्त तत्त्व बनाएर ग्राण्डीले प्रदान गर्दै आइरहेको छ । नेपालभरको रगतको समस्या भएको केशमा विरामीका आफन्तहरु रगत खोज्नका लागि ग्राण्डीमा आउने गरेको कैयौँ उदाहरणहरु छन् । ग्राण्डीले हाल वार्षिक ३ हजारदेखि ५ हजार प्रिन्ट रगत संकलन गर्दै आएको छ । उक्त संकलन गरिएको ३ हजारदेखि ५ हजार प्रिन्ट रगतबाट ९ हजारदेखि १५ हजार प्रिन्ट विभिन्न किसिमका रगत बनाउँदै आएको छ । रगतको कम्पलीकेसनको चेकजाँच ग्राण्डी अस्पतालमा हुने गरेको डा नेपालले बताए । ग्राण्डीले हाल लगभग सबै थरी व्लड गुप्र एण्डीवडीको चेकजाँच गर्दै आएको छ । उक्त अस्पतालले ट्रान्सप्लाटका लागि एन्टीवडी ट्राईट्रेसन जाँच, रगतका विरामीलाई चाहिने टेस्ट एण्डीवडी आइडेन्टिफिकेशन गर्दै आएको छ । (रक्तसञ्चार विशेषज्ञ डा विपिन नेपाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्)
हुण्डाईको नयाँ मूल्य सार्वजनिक, साढे ४ लाख रुपैयाँसम्म घट्यो
काठमाडौं । नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ । गत बैशाख अन्तिम साता लक्ष्मी ग्रुपले नवलपरासीको परासीस्थित रामग्राममा हुण्डाई ब्राण्डमा कार एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याएको थियो । स्वदेशमै गाडी उत्पादन गर्न थालेपछि कम्पनीले नयाँ मूल्य निर्धारण गरी बिक्री मूल्य सार्वजनिक गरेको हो । कम्पनीले भेन्यू एफएल १.२ एसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू एफएल १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकेको छ । यसअघि कम्पनीले तयार भएको गाडी आयात गरी बिक्री विवतरण गरिरहेको थियो । तर, यसपटक भने स्वदेशमै उत्पादन हुन थालेपछि लागत घट्न गई मूल्य पनि कम पर्न गएको देखिन्छ । यसअघि आयात गरी बिक्री गर्दा भेन्यू एसको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ र भेन्यू एसएक्सको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ थियो । स्वदेशमै गाडी उत्पादन हुन थालेपछि हुण्डाईको भेन्यू एसमा ४ लाख र भेन्यू एसएक्समा ४ लाख ४० हजार रुपैयाँ मूल्य घट्न पुगेको हो । हुण्डाई मोटोर कम्पनीसँगको प्राविधिक सहयोगमा लक्ष्मी ग्रुपले नेपालमा नै हुण्डाइ भेन्यूको व्यवसायिक उत्पादन गरी बिक्री वितरण थालनी गरेको हो । पहिलो पटक नेपालमा हुण्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू कोरिया र भारतमा बन्ने सोही मोडलका गाडिहरू सरह रहेको कम्पनीको दाबी छ । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गाहस्थ उत्पादनमा योगदान पग्ने कम्पनीको भनाइ छ । साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य कम्पनीले राखेको छ ।
प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड
काठमाडौं । अन्तर्राष्ट्रिय एयरलाइन्स टिकेटिङ सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा ८ अवार्ड जित्न सफल भएको छ । प्रवासलाई विभिन्न एयरलाइन्स कम्पनीहरूले अवार्ड दिएको हो । टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाइन्सबाट विभिन्न विधामा ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो । प्रवास ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक प्रकाश लोहनीका अनुसार सस्तो एयर फेयर, अधिक क्यास ब्याक, विभिन्न अफर तथा छुटहरू, सेवामा बलियो प्रतिबद्धता लगायतका कारणहरूले प्रवास ट्राभल विश्वसनीय बन्न सफल भएको बताए । कम्पनीले विभिन्न एयरलाइन्सहरूसँगको सहकार्यमा स्टुडेण्ट फेयर, बढी ब्यागेज जस्ता आकर्षक अफर पनि ल्याउने गरेको छ ।
अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर दिने
काठमाडौं । संयुक्त राज्य अमेरिका र इजिप्टले आठ कोष सम्झौतामा हस्ताक्षर गरेका छन् । जस अन्तर्गत अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडी) ले इजिप्टको विकासमा सहयोग गर्न इजिप्टलाई १३० मिलियन अमेरिकी डलरको अनुदान उपलब्ध गराउनेछ । इजिप्टको राजधानी कायरोमा इजिप्टका अन्तर्राष्ट्रिय सहयोगमन्त्री रानिया अल–मशात र इजिप्टका लागि अमेरिकी राजदुत हेरो मुस्तफा गर्गले सम्झौतापत्रमा हस्ताक्षर गरे । मशातले विकास अनुदानहरू समावेशी आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, कृषि व्यवसाय विकास, जलवायु कार्य, र पानी व्यवस्थापन समाधानलगायत धेरै प्राथमिकताका क्षेत्रहरूमा निर्देशित गरिने बताए । इजिप्टमा रहेको अमेरिकी दुतावासले सबै इजिप्टवासीहरूका लागि आर्थिक अवसर सिर्जना गर्न र अवस्था सुधार गर्न अमेरिकी सरकारको लामो समयदेखिको प्रतिवद्धता पुष्टि गरे । विगत केही वर्षहरूमा, इजिप्ट आयातका लागि आवश्यक विदेशी मुद्राको अभावबाट पीडित भएको छ । जसले स्थानीय मुद्राको अवमूल्यन र समानान्तर बजारको वृद्धिको कारणले गर्दा उच्च मुद्रास्फीति र सबैभन्दा धेरै जनसंख्या भएको अरब देशमा मूल्य महंगिएको छ ।
उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने राति हल्का वर्षा हुनेछ । आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । उनले भने, ‘स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।’ कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौं उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उनले बताए । विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । देशका बाँकी भागमा मौसम सफा रहेको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने राति हल्का वर्षा हुनेछ । आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । उनले भने, ‘स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।’ कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौं उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उनले बताए । विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । देशका बाँकी भागमा मौसम सफा रहेको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
पृथ्वीराजमार्गमा सवारी दुर्घटना : घाइते २० मध्ये पाँचजना गम्भीर
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।