सहकारीमा सबै ‘फेक’, गोरखा मिडियामा सहकारीको ८५ करोड ऋण देखियो : सभापति थापा
काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिका अध्यक्ष सूर्य थापाले सहकारीबाट गोरखा मिडियामा ८५ करोड ऋण प्रवाह भएको देखिएको बताएका छन् । सोमबार संसदमा समितिले तयार पारेको प्रतिवेदन तयार पार्दै उनले यस्तो बताएका हुन् । उनले सहकारी क्षेत्रमा सबै ‘फेक’ रहेको धारणा राखेका छन् । ‘ उनले भने, ‘सहकारीमा विवाह फेक, सम्बन्ध विच्छेद फेक अंशवण्डा, साधारणसभा, प्रतिवेदन, सेयरसदस्य, ऋणी, बैंक खाता, आश्वासन फेक र बचन सबै फेक देखियो । सहकारीहरू सहकारीको सिद्धान्त र मूल्य मान्यताअनुसार चलेका छैनन् ।’ सांसद थापाले छानबिनको क्रममा सरकारलाई निर्देशन दिएपनि विदेशमा फरार रहेका २९ जनाको बयान लिन नसकिएको गुनासो गरे । उनले तीन महिनाको अवधिमा कुल ६६ वटा बैठक गरेर ४५१ व्यक्तिसँग बयान तथा छलफल गरेको बताएका छन् । उनले सहकारीको बचत ठगीको आरोप लागेका १४ वटा सहकारीका ४७ वटा आरोपितसँग बयान लिएको जानकारी गराएका छन् । उनले बचत तथा ऋणसँग सम्बन्धित सहकारीमा बढी समस्या देखिएको बताए । यस्तै, उनले बैंक तथा वित्तीय संस्थाले ऋण रकमै धितो लिलाम गरेको देखिएको पनि बताएका छन् । उनले छानबिनमा आएका सहकारीको कुल सम्पत्ति ८२ अर्ब, दायित्व ८७ अर्ब र ऋण ५३ अर्ब बराबर रहेको जानकारी दिए । उनले समितिले सहकारीको नियामनमा १४ वटा सुझाव, बचत सुरक्षणसम्बन्धि ६ वटा सुझाव सार्वजनिक रूपमा प्रश्न उठेका सहकारी सम्बन्धि ८ वटा सुझाव उल्लेख गरेको पनि जानकारी दिए । याे पनि पढ्नूहाेस् : सहकारी छानबिन समितिको प्रतिवेदन पारित, ४० सहकारीको ८६ अर्ब ठगी
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनै काम गर्दिनँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा सोमबार प्रतिनिधिसभा बैठकमा संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने विषयमा जानकारी गराउँदै । तस्बिरः रत्न/रासस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने क्रममा आफूूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा उठाइने विषयमा साेमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने उल्लेख गरे । उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने बताए । ‘विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्या जे छन् र हाम्रो प्रयासमा अपुुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसङ्घमा राखिनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल असल छिमेकीसम्बन्ध राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन । हामी पनि छिमेकीप्रति त्यस्तै व्यवहार गर्छाैं । छैन कसैसँग शत्रुुता, छ सबैसँग मित्रता भन्ने हाम्रो सोंच हुनेछ ।’ प्रधानमन्त्री ओलीले आफूहरुले देश र जनताको लागि राजनीति गर्ने, आजका लागि र त्योभन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन् गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले महासभामा ‘फ्युुचर समिट’ मा सम्बोधन गरी मानवजाति र धर्तीको सुरक्षा, हिमाल र समुुद्रको ‘इको–सिस्टम’बारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको बताए । उनले अमेरिकामा रहँदा न्यूर्याेकस्थित कोलम्बिया विश्वविद्यालय र बोष्टर्नस्थित हवार्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने स्पष्ट गरे ।
वृद्धवृद्धाको संख्या बढ्दै जापानमा, घट्दै श्रम शक्ति
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्यांकले देखाएको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार जापानको कूल जनसङ्ख्याको २९.३ प्रतिशत वृद्धवृद्धा रहेका छन् । विश्वका २०० देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ । इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसङ्ख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन् । दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत वृद्धवृद्धाको जनसङ्ख्या रहेको छ । जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ साथै यसको लागि भुक्तानी गर्न श्रम शक्ति घट्दै जान्छ । जापानको सरकारी तथ्यांकअनुसार देशको कुल जनसङ्ख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको छ । आइतबारको तथ्यांकअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन् । उनीहरूले कुल श्रमशक्तिको १३.५ प्रतिशत प्रतिनिधित्व गर्छन् वा हरेक सातमा एक जना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन् । जापान सरकारले आफ्नो जनसङ्ख्याको ह्रास र वृद्धवृद्धाको जनसङ्ख्यालाई सन्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भएपनि यसले सार्थकता पाउन सकेको छैन । रासस
असोज २ गते सार्वजनिक बिदा
विराटनगर । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए ।
सहकारी छानबिन समितिको प्रतिवेदन पारित, ४० सहकारीको ८६ अर्ब ठगी
काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन पारित गरेको छ । सोमबार बसेको समितिको बैठकले प्रतिवेदन पारित गरेको हो । समितिले सोमबार नै संसदमा प्रतिवेदन पेस गर्ने तयारी छ । समितिले तयार पारेको प्रतिवेदनमा ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ ठगी भएको खुलेको छ । समितिका संयोजक सूर्य थापाले कुनै पनि राजनीतिक पूर्वाग्रही नराखी प्रतिवेदन तयार पारेको बताएका छन् । समितिले तीन महिना लगाएर प्रतिवेदन तयार पारेको हो । समितिले १५ दिन थप समय माग गरेको थियो । समितिले सहकारी ठगीसँग सम्बन्धित विषयको अध्ययन, विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको उनले बताए । संसदीय समितिले जीबी राई समूहले चलाएको सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएको बताएको छ । गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको संलग्नता देखिएको समितिको निष्कर्ष छ ।
८७ मेगावाटको लान्द्रुक मोदीमा ६ वटा बैंकले १२ अर्बभन्दा बढी लगानी गर्ने
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्नेगरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकासका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट बिनितकुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंग्याएका हुन् । १६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरूले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ । आयोजनामा ग्लोबल आइएमई, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बिनी विकास बैंकसमेत सहभागी हुनेछन् । अन्नपूर्ण विद्युत विकासद्वारा प्रवर्द्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत विज्ञहरूका अनुसार यो आयोजना विश्वकै तेस्राे हाइहेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाइ भएको आयोजना हो । उक्त आयोजनाको हेडवक्सदेखि विद्युत गृहसम्मको वास्तविक उचाइ १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरूमा यो लेभलको उचाइ सबैभन्दा धेरै हो । नेपाल विद्युत प्राधिकरणसँग यसअघि नै विद्युत खरिद सम्झौता पिपिए भैसकेको यो आयोजनामा आगामी महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकासले जनाएको छ ।
पर्यटन र नागरिक उड्डयन क्षेत्रको सुधार गर्न समिति गठन गरिने मन्त्री पाण्डेको दावी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे । फाइल तस्बिर । काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारहरूसँगको छलफलमा मन्त्री पाण्डेले नागरिक उड्डयन र पर्यटन क्षेत्रको सुधार गर्न आवश्यक देखिएकाले उच्च अदालतमा पूर्वप्रमुख न्यायाधीशको संयोजकत्वमा समिति गठन भइसकेको बताए । उनले प्राविधिक कारणले ढिलाइ भइरहेको भन्दै चाँडै समितिको विषय मन्त्रिपरिषदबाट पारित हुने बताए । उनले उच्चस्तरीय पर्यटन सुधार समितिले नागरिक उड्डयन क्षेत्रमा अहिलेसम्म भएका अध्ययनहरूको पुनरावलोकन गर्ने जिकिर गरे । मन्त्री पाण्डेले पुराना अध्ययनको पुनरावलोकन मात्रै नभएर अहिलेको सिस्टमको पनि अध्ययन गरी सरकारलाई सुझाव दिने बताए । उनले मन्त्रालयले पनि तारागाउँ विकास समितिका समस्या समाधानको लागि पनि मन्त्रीस्तरीय अध्ययन समिति बनाउने बताए । उक्त समितिले पनि हातयात होटलसँग भइरहेका कामहरू ठीक बेठिकका सन्दर्भमा पनि अध्ययन गर्ने बताए । साथै उनले यस्ता अध्ययन समितिले विगतमा भएका अध्ययनहरूलाई समेत आधार बनाउँदै अहिलेको अध्ययन निचोडमा पुग्ने र मन्त्रालयको नेतृत्व परिवर्तन भएपनि अध्ययनले देखाएका कामहरू निरन्तर भइरहेने बतावारण बनाउने योजनामा मन्त्रालय रहेको दाबीसमेत गरे । मन्त्री पाण्डेले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सूचारु गर्नको लागि दिने भनिएका सबै प्रकारका र सहुलियत दिने निर्णय भइसकेको जानकारी दिए । उनले हवाई इन्धन उद्योग मन्त्रालय र पर्यटन बोर्डले लिने शुल्क लगायतमा निर्णय भइसकेको भन्दै चाँडै सबै प्रक्रिया पूरा हुने पनि बताए ।
सिटी एक्सप्रेसको दशैं-तिहार योजना सार्वजनिक, हरेक हप्ता दुई जनालाई स्मार्ट टिभी
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान चाड दशैं-तिहार र छठ्लाई लक्षित गर्दै विशेष याेजना घाेषणा गरेकाे छ । सिटी एक्सप्रेसले १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्नेगरी ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको हाे । उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्टफोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु ५०० को वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने सिटी एक्सप्रेसले जनाएकाे छ । कम्पनीका अनुसार ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुनेछैन । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ । उक्त कार्यक्रममा चर्चित हास्यकलाकार तथा सिटी एक्सप्रेसका ब्राण्ड एम्बास्डर जितु नेपालको उपस्थिति रहेको थियो ।