विकासन्युज

हिमालयन रिले नेप्सेलाई तिर्यो ५४ लाख, नविकरणबाटै ९ करोड ४१ लाख असुल

काठमाडौं । गत वर्ष नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूबाट साढे ९ करोड रुपैयाँ बढी शुल्क उठाएकाे छ । नेप्सेमा सूचीकृत कम्पनीको नवीकरण, नयाँ कम्पनी सूचीकृत र कम्पनीहरूको थप सेयर सूचीकृत गरेबापत गत आर्थिक वर्ष २०८०/८१ मा ९ करोड ४१ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको हो । गत वर्ष ३२९ कम्पनीले नवीकरणबापत २ करोड ७९ लाख रुपैयाँ शुल्क तिरेका छन् । सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष सम्पन्न भएको तीन महिनाभित्र नवीकरण शुल्क बुझाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम नवीकरण शुल्क लिने गरेको नेप्सेका प्रवक्ता प्रवक्ता मुराहरि पराजुली बताउँछन् । यदि असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाएमा १० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने उनको भनाइ छ । नेप्सेको आम्दानीको स्रोतमध्ये नवीकरण शुल्क पनि एउटा रहेको उनले बताए । प्रत्येक वर्ष सूचीकृत कम्पनीहरूले वार्षिक नवीकरण शुल्कबापत नेप्सेलाई अधिकतम १ लाख रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । धितोपत्र सूचीकरण विनियमावलीअनुसार ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले ५० हजार रुपैयाँसम्म शुल्क बुझाउनु पर्ने हुन्छ । यस्तै, ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीले १ लाख रुपैयाँ वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने नेप्सेले जनाएको छ । त्यस्तै, ऋणपत्र (डिबेञ्चर) र सामूहिक लगानी कोष (म्युचुअल फण्ड)को हकमा भने ५० करोड रुपैयाँसम्म पुँजी भएका कम्पनीले २५ हजार रुपैयाँ र ५० करोडभन्दा बढी पुँजी भएका कम्पनीले ५० हजार रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने हुन्छ । गत वर्ष सबैभन्दा धेरै नवीकरण शुल्क एनआईसी एशिया डिबेञ्चर र एनएमबी डिबेञ्चरले तिरेका छन् । यी दुई कम्पनीले गत वर्ष २ लाख ५० हजार रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क तिरेका हुन् । यस्तै, कृषि विकास बैंक डिबेञ्चर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कुमारी बैंक, नबिल बैंक डिबेन्चर, प्रभु बैंक डिबेञ्चर र सिद्धार्थ बैंक डिबेञ्चरले २ लाख रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क तिरेको नेप्सेले जनाएको छ । त्यस्तै, नेपाल एसबीआई बैंक डिबेञ्चरले १ लाख ७५ हजार रुपैयाँ, एभरेष्ट बैंक डिबेञ्चर, ग्लोबल आईएमई बैंक डिबेञ्चर, एनआईसी एशिया ग्रोथ फण्ड, प्राइम बैंक डिबेन्चर, सानिमा बैंक डिबेञ्चर र अपर हेवाखोला हाइड्रोपावरले १ लाख ५० हजार रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क तिरेका छन् । नेप्सेका अनुसार गत वर्ष १८९ कम्पनीले १ लाख रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाएका छन् भने १२२ कम्पनीले ५५ हजार रुपैयाँका दरले नेप्सेलाई वार्षिक नवीकरण शुल्क तिरेका छन् । गत वर्ष बैंकिङ क्षेत्रबाट २० लाख रुपैयाँ, उत्पादन तथा प्रशोधन क्षेत्रबाट ७ लाख रुपैयाँ, होटल तथा पर्यटन समूहबाट ६ लाख रुपैयाँ, अन्य समूहबाट ६ लाख रुपैयाँ, जलविद्युत समूहबाट ७७ लाख ५० हजार रुपैयाँ, व्यापार समूहबाट १ लाख रुपैयाँ, निर्जीवन बीमा समूहबाट ११ लाख ५० हजार रुपैयाँ, विकास बैंक समूहबाट १४ लाख ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क उठाएको छ । त्यस्तै, फाइनान्स समूहबाट १३ लाख ७५ हजार रुपैयाँ, लघुवित्त समूहबाट ४३ लाख ५० हजार रुपैयाँ, जीवन बीमा समूहबाट ११ लाख रुपैयाँ, लगानी समूहबाट ७ लाख रुपैयाँ, म्युचुअल फण्ड समूहबाट २१ लाख ५० हजार रुपैयाँ र डिबेन्चरबाट ३८ लाख २५ हजार रुपैयाँ नवीकरण शुल्क संकलन भएको नेप्सेले जनाएको छ । नयाँ सूचीकृत कम्पनीबाट उठ्यो साढे ४ करोड गत वर्ष ६९ कम्पनीले सेयर सूचीकरण गरेका छन् । ६९ कम्पनीको सेयर सूचीकरणवापत नेप्सेले साढे ४ करोड रुपैयाँ शुल्क संकलन गरेको छ । गत वर्ष सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीले सेयर सूचीकरण शुल्क बुझाएको छ । कम्पनीको सेयर नेप्सेमा सूचीकृत हुँदा ५४ लाख रुपैयाँ तिरेको थियाे । यस्तै, सेयर सूचीकृत गर्दा माथिल्लो तामाकोशी हाइड्रोपावरले ५२ लाख ९५ हजार रुपैयाँ, सर्वाेत्तम सिमेन्टले २३ लाख २५ हजार रुपैयाँ, घोराही सिमेन्टले २२ लाख ८३ हजार रुपैयाँ, सिटिजन लाइफले २० लाख ६२ हजार रुपैयाँ, आइएमई लाइफले २० लाख रुपैयाँ, रिलायबल लाइफले २० लाख रुपैयाँ, सन नेपाल लाइफले १६ लाख रुपैयाँ, सोनापुर मिनिरल्सले १५ लाख ३७ हजार रुपैयाँ शुल्क तिरेको नेप्सेका प्रवक्ता पराजुली बताउँछन् । गत वर्ष सूचीकृत कम्पनीहरूको भन्दा नयाँ सेयर सूचीकरण हुँदा बढी आम्दानी भएको उनको भनाइ छ । नवीकरण शुल्कभन्दा नयाँ कम्पनी सूचीकृत हुँदा र कम्पनीले जारी गरेको सेयर सूचीकरण हुँदा बढी आम्दानी हुने गरेको प्रवक्ता पराजुलीले बताए । एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश वैद्य लागत प्रभावकारी हुँदा राम्रो हुने बताउँछन् । हालको सेवा राम्रो भएपनि केही सुधार गर्नुपर्ने उनको भनाइ छ । नेप्सेले लागत बढाएर भएपनि सेवामा गुणस्तरीयता कायम गर्नुपर्ने उनले सुझाए । ‘नेप्सेले दायरा बढाउने, सेवा बढाउनेतिर जोड दिनुपर्छ, बरु अहिलेको लागतले पुगेन भने बढाएर सेवा विस्तार गर्नुपर्छ,’ उनले भने, ‘बजारमा नयाँ उपकरण ल्याउनुपर्छ । बजारलाई चलायमान गराउनेतर्फ नेप्सेको ध्यान जानुपर्छ ।’ [pdf id=510637]

देउवा भन्छन्- प्रदेश संरचना हटाउनसक्ने अवस्था छैन

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताएका छन् । प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला उनले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नभएको धारणा राखेका हुन् । पार्टीको कानुन विभागले मंगलबार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको संविधानको एक दशकः कार्यान्वयन र चुनौति विषयक विचार गोष्ठीमा बोल्दै सभापति देउवाले प्रदेश संरचनालाई अझै बढी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने बताए । प्रदेश संरचनालाई अझ उत्तरदायी, पारदर्शी, बनाउने सम्बन्धमा विचार गर्ने, सोच्ने र त्योअनुरूप यसमा सुधार गर्नुपर्ने उनकाे भनाइ थियो । उ‍नले समावेशी सिद्धान्त सबैका लागि आवश्यक भएकाले त्यसैअनुसार अघि बढ्नुपर्ने बताए । महिला, दलित, आदिवासी, जनजाति लगायतका समुदायलाई शासन प्रणालीमा सहभागी गराउन पनि समानुपातिक समावेशी सिद्धान्त अझै पनि मुलुकको लाग आवश्यक भएको सभापति देउवाले बताए । उनले कांग्रेस एमालेले प्रजातन्त्रका लागि लडेको हुनाले उनीहरू कुनैपनि हालतमा प्रजातन्त्रको खिलापमा हुनै नसक्ने पनि दोहोर्‍याए । सभापति देउवाले सबै समुदायलाई राज्यको शासन प्रणालीमा अपनत्व महसुस गराउन पनि समावेशी सिद्धान्त मुलुकका लागि आवश्यक भएको पनि बताए ।

स्वास्थ्यमन्त्री पौडेलको पहलमा सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौं । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गरेकाे पहिलो निर्णय पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रूपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिएपछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । उनले यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो । भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवाउपलब्ध गराउनेगरी सम्झौता भएको छ । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको आफ्नो योजना तथा प्राथमिकतामा  समेत क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका थिए । आफूले गरेको पहिलो घोषणा पूर्णरूपमा कार्यान्वयनमा आएको जानकारी दिँदै मन्त्री पौडेलले अबको चरणमा मानव अंग प्रत्यारोपण तथा मुटुको उपचारका सेवासमेत विस्तार गर्न सकिने बताएका छन् । मन्त्री पौडेलले भने, ‘क्यान्सरसँगै मानव अंग प्रत्याारोपण र मुटु उपचार सेवासमेत विस्तार गर्ने नीति लिएका छौं ।’ संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । अब सेवा विस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा समेत थप सहायता पाउनेछन् । स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्तिसमेत पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने सचिवालयले जनाएको छ । यसअघि संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन् ।

राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गरेका छन् । गत वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थालिएकाे थियाे । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो । इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, प्रदेशसभा सदस्य, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायत व्यक्तिहरू सहभागी थिए । भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । बुधबार माथिल्लो टोलमा रथयात्रा गरिने छ । असोज ५ गते शनिबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाइने छ । सोही दिन अपराह्न राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ । असोज ५ गते राति १०ः३१ बजे इन्द्रध्वजोपतनपछि इन्द्रजात्रा समापन हुन्छ । इन्द्रजात्रा प्रताप मल्लको शासनकालमा सुरु भएको विश्वास छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । काठमाडौँ उपत्यकामा मनाइनेमध्ये यो सबैभन्दा लामो जात्रा हो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज पूजार्चना पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत भएको थियो ।

सिएफ मोटो तथा जिहोले सार्वजनिक गर्‍यो दशैं-तिहार योजना, १८ हजारसम्म क्याशब्याक पाइने

काठमाडौं । विश्वविख्यात मोटरसाइकल ब्रान्ड सिएफ मोटो तथा विद्युतीय स्कुटर जिहोको नेपालको लागि आधिकारीक विक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं-तिहार योजना सार्वजनिक गरेको छ । हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु–प्रतीक्षित र सबैभन्दा रुचाइएको सिएफ माेटाेकाे ४५० एमटी बाइकको खरिदमा एलएस २ हेल्मेट निःशुल्क प्रदान गरिने कम्पनीले जनाएकाे छ । ४५० एमटीकाे अग्रिम बुकिङ पनि खुला गरिएको छ । यस्तैगरी, सिएफ मोटो अन्तर्गतको २५० एनके तथा ३०० एनकेकाे खरिदमा १८ हजार रुपैयाँसम्मको निःशुल्क एक्सेसोरिजहरू प्रदान गरिने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार जिहो स्कुटरमा पनि आकर्षक योजनाहरू राखिएको छ । एइ ४ मोडलको खरिदमा १८ हजार रुपैयाँको क्यासब्याक अफर राखिएको हाे । त्यस्तैगरी, एइ ६ प्लस खरिदमा ३१ लिटर आल्माेनियम स्टोरेज बक्स वा २० हजार नगद छुटमध्ये एक छनौट गर्न सकिने कम्पनीले जनाएकाे छ । साथै एइ ८ को खरिदमा पनि निःशुल्क एक्सेसरिजहरूसँगै १० हजार रुपैयाँको नगद छुट पनि राखिएको छ । यो योजना १ असाेजदेखि २५ कात्तिक २०८१ सम्म रहने छ । यो योजना अवधिभर ग्राहकले सरल फाइनान्सिङ सुविधा तथा उत्कृष्ट मूल्यांकनसहित एक्सचेञ्ज सुविधा पनि पाउने कम्पनीले जनाएकाे छ ।

साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी

पाटन । ‘कालजयी कृति, पाठकका निम्ति’ भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ । साझा प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले आज केन्द्रीय कार्यालय पुलचोकमा प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन पश्चात् डा भट्टराईले पढ्ने संस्कृति हराउँदै गएको वर्तमानयुगमा पुस्तक प्रदर्शनीले ठूलो योगदान पु¥याउने बताए । ‘विद्यालय, महाविद्यालय, क्याम्पसले विद्यार्थीलाई यस्ता प्रदर्शनीमा सहभागी गराउन सके राम्रो हुन्छ, यसले पुस्तकको सार्थकता वृद्धि हुनुका साथै लेखकलाई परिचित गराउन मद्दत पुर्याउँछ’, उनले भने । उनले पठन संस्कृतिको विकास हुनु भनेको शिक्षाको विकास हुनु भएको बताए । शिक्षा र संस्कृतिमा मुलुक समृद्ध नभएसम्म आर्थिक समृद्धिले मात्रै पर्याप्त हुन नसक्ने उनको धारणा थियो । साहित्यकार डा माया ठकुरीले साहित्यकारका लागि पुस्तक प्रदर्शनी हुनु ठूलो उपलब्धि भएको बताइन् । डिजिटल युगमा पुस्तक प्रदर्शनी हुनु सकारात्मक पाटो भएकाले पुस्तकको माध्यमबाट साहित्यकारको पहिचान स्थापित हुने उनको भनाइ थियो । साझा प्रकाशनका अध्यक्ष डा विजय सुब्बाले लामो समयसम्म बजारका पसलमा आँखा नपरेका पुस्तक पनि प्रदर्शनीमा रहेको जानकारी दिए । उनले यो प्रदर्शनी पाठक र साहित्यकारलाई नजिक बनाउने माध्यम भएको बताए। आर्थिक समस्याको चपेटामा रहेको साझा प्रकाशनलाई प्रदर्शनीले केही मात्रामा सहयोग पु(याउने अपेक्षा गरिएको छ । पठन संस्कृति विकासका लागि आज देखि सुरु प्रदर्शनी १५ गतेसम्म सञ्चालन हुने साझा प्रकाशनका प्रशासकीय सहायक सुशील अधिकारीले जानकारी गराए । साझाको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका बिक्री कक्षामार्फत २० देखि ८० प्रतिशतसम्म छुटका साथ पुस्तक बिक्री गरिने उनको भनाइ छ । प्रदर्शनीमा साझा प्रकाशनका दुई हजार दुई सय र अन्य प्रकाशनका गरी करिब पाँच हजार पुस्तक प्रदर्शनीमा राखिएको छ । साझा प्रकाशन नेपालको पुरानो प्रकाशन गृह हो । यस संस्थामा नेपाल सरकारको ६० प्रतिशत र बाँकी ४०५ शेयर साहित्यकार, पत्रकार, शिक्षासेवीसहित सर्वसाधारणको छ ।

औद्योगिक नगरी पर्सामा बीमाप्रतिको आकर्षण कम

वीरगञ्ज । आर्थिक र औद्योगिक नगरीको रूपमा परिचित पर्सा जिल्लामा जीवन बीमाप्रति सर्वसाधारणको आर्कषण न्यून देखिएको छ । बीमासम्बन्धी जनचेतनाको कमीले यहाँका सर्वसाधारणमा बीमाप्रतिको आकर्षण न्यून देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा शुल्क सङ्कलनमा पर्साको हिस्सा एक दशमलव ८८ प्रतिशतमात्रै छ । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आर्थिक र औद्योगिक नगरीको रूपमा पर्सा चिनिए पनि जीवन बीमा र निर्जीवन बीमाप्रति सर्वसाधारणको आकर्षण न्यून रहेको जानकारी दिए । ‘जिल्लामा आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमातर्फ जारी बीमालेख सङ्ख्या १२ हजार ५५ रहेको छ,’ उनले भने, ‘जीवन बीमाको सक्रिय बीमालेख सङ्ख्या १२ लाख तीन हजार चार सय ७७ छ ।’ प्राधिकरणका अनुसार गत आवमा जिल्लामा जीवन बीमाको भुक्तानी सङ्ख्या छ हजार आठ सय २० रहेको थियो । सो अवधिमा दाबी भुक्तानी रकम रु ८७ करोड ८८ लाख रहेको छ । जिल्लामा आव २०८०/८१ सम्म जारी निर्जीवन बीमा लेख सङ्ख्या ८४ हजार सात सय २३ रहेको छ । सो अवधिमा निर्जीवन बीमातर्फ बीमा शुल्क सङ्कलन एक अर्ब १३ करोड १६ लाख रहेको छ । त्यस्तै, निर्जीवन बीमा शुल्क सङ्कलनमा जिल्लाले दुई दशमलव ७५ प्रतिशत मात्र हिस्सा ओगटेको छ । जिल्लामा निर्जीवन बीमाको दाबी भुक्तानी सङ्ख्या दुई हजार पाँच सय ६७ रहेको छ । सो अवधिमा निर्जीवन बीमाको दाबी भुक्तानी रकम रु ६४ करोड ८२ लाख रहेको छ ।

गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोँगबुस्थित नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र पूर्व यातायात व्यवस्थापन प्रालिले विश्वकर्मा पूजाका अवसरमा आज नयाँबसपार्कमा आयोजना गरेको कार्यक्रममा यातायात क्षेत्रको सुधारका लागि गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने व्यवसायीले बताएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ बसपार्कलाई दसैँअगाडि प्रविधिमैत्री बनाउने गरी महासंघले तयारी गरिरहेको जानकारी दिए । ‘नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति, विसङ्गति अन्त्य गर्न महासंघ लाग्नेछ,’ उनले भने । उनले मुलुकको सार्वजनिक यातायातको क्षेत्रमा १० खर्ब रुपैयाँ बढी लगानी र चार लाखले प्रत्यक्ष रोजगारी पाएको बताउँदै यसको संरक्षणका लागि यातायात व्यवसायी तथा मजदुर एक भएर अगाडि बढ्नुपर्ने बताए । उनले महिलालाई सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने वातावरण निर्माण गर्न महासङ्घले तालिम तथा गोष्ठी आयोजना गर्ने उल्लेख गरे । बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले नयाँ बसपार्कलाई नमूना बसपार्कका रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले चाडपर्वमा घर जाने यात्रु सार्वजनिक यातायातको भाडामा ठगिएको जनगुनासो आउने गरेकाले त्यसलाई रोक्न व्यवसायी र मजदुरलाई आग्रह गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेकनाथ गौतमले यात्रुमैत्री, व्यवसायीमैत्री र मजदुरमैत्री बसपार्क निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम, कोषाध्यक्ष मीन पनेरुलगायतले आ–आफ्नो दायित्व पूरा गरेर अगाडि बढेमात्र मुलुकको यातायात क्षेत्र सुधार्न सकिने भनाइ राखे । कार्यक्रममा महिला चालक रेविका थापा र सहचालक निरुता खत्रीलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै महिला चालक थापाले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्दा महिलाहरुले समस्या भोग्नुपरेको बताए ।