आम उपभोक्ताको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगले गर्यो आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । दशैंतिहार र छठ पर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्री वितरणको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापनलगायतका विषयमा आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले सो आग्रह गरेको हो । ‘आम उपभोक्ताको अधिकार संरक्षणार्थ चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानव अधिकारमैत्री बनाउन जरुरी छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘सवारी साधनमा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामीलाई प्राथमिकता दिन, आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह छ ।’ आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन एवम् सोअन्तर्गतका सुपथ मूल्यका पसल, सुपर मार्केट र खुद्रा किराना पसल तथा काठमाडौँ उपत्यकाका बल्खु, कलङ्की, नयाँ बसपार्क, गौशाला र कोटेश्वर क्षेत्रमा रहेका यातायात व्यवसाय केन्द्र र सेवाग्राहीसँग जानकारी लिएको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मूल्यका पसल सञ्चालन गरेको, दशैंतिहार, छठ नजिकिँदै जाँदा तरकारीजन्य सामग्रीको मूल्यमा अत्यधिक वृद्धि हुँदै गएको र एकै प्रकारका सामान खुद्रा पसलमा भन्दा ठूला सुपरमार्केटमा मूलइ बढी रहेको रहेको पाइएको आयोगले जनाएको छ । यातायाततर्फ चाडपर्वमा सर्वसाधारणलाई आवतजावतमा सहज बनाउन अग्रिम टिकट बुकिङ गर्न अनलाइनको व्यवस्था गरिएको र यातायात व्यवस्था विभागलगायतका निकायबाट तोकिएको भन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरिएको जानकारी प्राप्त हुनाका साथै काठमाडाैंदेखि हेटौंडासम्म चल्ने सवारी साधनले नियमविपरीत झण्डै दोब्बर भाडा लिने गरेको पाइएको आयोगले जनाएको छ । सबै टिकट काउन्टरहरूमा भाडा सूची राखिएको तर केही बाहेक सवारीसाधनमा भने भाडा सूची नराखिएको, ठूला बसपार्कमा शौचालयको व्यवस्था भए पनि पर्याप्त नभएको, यात्रुलाई सहचालकबाट मर्यादित व्यवहार नभएको, साना सवारीसाधनमा आरक्षण सुविधा नरहेको जस्ता तथ्य अनुगमनका क्रममा पाइएको विज्ञप्तिमा उल्लेख छ । सवारीसाधनमा आरक्षण सुविधामा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामीलाई प्राथमिकता दिएको नपाइएको आयोगले जनाएकाे छ ।
चीनमा बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋणलाई बढावा दिइँदै, साढे १ खर्ब डलर नयाँ लगानी गरिँदै
काठमाडौं । चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकममा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने प्रयास गरेको छ । चीनको केन्द्रीय बैंकले घोषणा गरेको यो कदम राष्ट्रपति सी चिनफिङसहित शीर्ष अधिकारीहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा ‘नयाँ समस्याहरू’ भएको स्वीकार गरेको एक दिनपछि आएको हो । बेइजिङले यो साता आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिन विभिन्न उपाय घोषणा गरेको छ । यसका लागि उसले यस वर्ष पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ । विश्लेषकहरूले धेरै प्रतिकूल परिस्थितिहरूलाई हेर्दा यो लक्ष्य अत्यन्त आशावादी भएको बताएका छन् । सत्तारूढ कम्युनिस्ट पार्टीले बिहीबार ‘वर्तमान आर्थिक स्थितिको विश्लेषण र अध्ययन’ गर्न आफ्नो शीर्ष निकाय पोलिटब्युरोको बैठक बोलाएको थियो । बेइजिङले शुक्रबार सात दिने रिभर्स रेपो दरमा पनि कटौती गरेको छ । यो व्यापारिक ऋणदाताहरूबाट लिइने ऋणमा केन्द्रीय बैंकले तिर्ने अल्पकालीन ब्याज हो । केन्द्रीय बैंकले प्रमुख दरलाई १.७ प्रतिशतबाट घटाएर १.५ प्रतिशत बनाएको घोषणा गरेको छ । रियल स्टेट क्षेत्रमा लामो समयदेखि चलिरहेको ऋण संकट, सुस्त घरेलु उपभोग र उच्च युवा वेरोजगारीका कारण चीनमा विकासमा गिरावट आइरहेको छ । ‘अर्थतन्त्रको विद्यमान अवस्थामा केही नयाँ परिस्थिति र समस्या देखा परेका छन्,’ सिन्ह्वा समाचार समितिले बिहीबारको पोलिटब्युरो बैठकपछि भनेको छ, ‘हामीले वर्तमान आर्थिक अवस्थालाई व्यापक, वस्तुनिष्ठ र शान्त रूपमा हेर्नुपर्छ, कठिनाइहरूको सामना गर्नुपर्छ र आत्मविश्वास बढाउनुपर्छ ।’ पोलिटब्युरोका सदस्यहरूले अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘नीतिगत उपायहरूको केन्द्रीयता र प्रभावकारितामा थप सुधार गर्न’ आवश्यक रहेको कुरामा सहमति जनाए । प्रमुख दर कटौती र आवास खरिदलाई प्रोत्साहित गर्ने नीतिहरू समावेशसहितका बेइजिङले घोषणा गरेका विभिन्न उपायलाई लगानीकर्ताहरूले स्वागत गरेका छन् । साङ्घाई र हङकङका सेयरहरूमा यस साता हालसम्म ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विश्लेषकहरूले नेताहरूले ५ प्रतिशत वृद्धि लक्ष्य हासिल गर्न अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको तर हालैका घोषणाहरूले उनीहरू अझै साहसी कदमहरू चाल्न तयार हुँदै गएको हुनसक्ने बताएका छन् । ‘बेइजिङ अन्ततः आफ्नो बाजुका प्रोत्साहन कार्यक्रम सुरु गर्न दृढ देखिन्छ,’ नोमुराका प्रमुख चीन अर्थशास्त्री टिङ लूले भने, ‘अर्थतन्त्रको गम्भीर स्थितिको बेइजिङको स्वीकारोक्ति र टुक्रामा विभक्त दृष्टिकोणमा सफलता नभएको कुरालाई बजारले महत्त्व दिनुपर्छ ।’ यसैबीच अधिकारीहरूले मुलुकका ठूला सरकारी बैंकहरूमा १ खर्ब ४० अर्ब डलरभन्दा बढी लगानी गर्नेबारे विचार गरिरहेको ब्लुमबर्गले बताएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटपछि यस प्रकारको पहिलो ठूलो पूँजी लगानी हुनेछ । व्यवसायहरूलाई ऋण दिन बैंकहरूलाई अझ बढी क्षमता प्रदान गर्ने उद्देश्यसहितको यो उपाय विशेषगरी ‘नयाँ विशेष सार्वभौम बन्ड’ जारी गरेर कार्यान्वयन गरिने बताइएको छ । यद्यपि विवरणलाई अहिलेसम्म अन्तिम रूप दिइएको छैन । एजेन्सी
प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेकाे छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे । काठमाडौंकाे कमलपाेखरीमा रहेकाे केन्द्रीय कार्यालय, विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र सुर्खेतमा गरी देशभर ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरू गरी ३९२ जनाले रक्तदान गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सञ्जीव मानन्धरले मानव जीवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । उनले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपालीले दुई महिनामै ७ अर्बका मोबाइल भित्र्याए
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो । यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार ११ अर्ब ६ करोड ५२ लाख चार हजार रूपैयाँ बराबरको पेट्रोल आयात भएको छ भने रु १३ अर्ब ६४ करोड ५२ लाख ५० करोड बराबरको डिजेल आयात भएको छ । त्यस्तै, एलपी ग्यास नौ अर्ब ४२ करोड ५६ लाख ८५ हजार रूपैयाँ बराबरको आयात भएको छ । उक्त अवधिमा सवारी साधनको आयात पनि उच्च देखिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई अर्ब ९४ करोड रूपैयाँ बराबरको मोटरसाइकल र रु दुई अर्ब ४३ करोड २१ लाख २६ हजार बराबरको विद्युतीय सवारी आयात भएको छ । नेपालबाट बढी निर्यात हुनेमा कार्पेट, चिया, जुट, धागोलगायतका वस्तु छन् । विभागका अनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै रु एक अर्ब ९९ करोड ९६ लाख सात हजार बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै रु एक अर्ब १४ करोड २४ लाख ३२ हजार बराबरको चिया निर्यात भएको छ । जुट, धागो, जुसलगायतका वस्तु बढी निर्यात हुनेमा रहेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा कूल दुई खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रूपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । साउन र भदौ महिनामा दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रूपैयाँ बराबरको आयात हुँदा २५ अर्ब नौ करोड ३१ लाख तीन हजार रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
शाओमी रेड्मी १४ सी नेपालमा सार्वजनिक
काठमाडौं । शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक भएकाे छ । शाओमीले रेड्मी १३ सीको सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १४ सी लिएर आएको हो । रेड्मी १४ सी स्मार्टफोनले प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । रेड्मी १४ सी मा ६.८८ इन्चको डट ड्रप डिस्प्लेसहित १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ । मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोनले सहज मल्टिटास्किङ गर्न सक्छ । साथै गेममा पनि याे स्मार्टफाेनले राम्राे प्रदर्शन गर्ने जनाइएकाे छ । स्मार्टफाेनमा ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेकाे छ । यसैगरी, फाेनमा अधिकतम ८ जीबी र्याम र २५६ जीबी स्टोरेजसहित ५ हजार १६० एमएएच ब्याट्री रहेकाे छ । साथै यसमा १८ वाटको फास्ट चार्जिङ क्षमता रहेको छ। रेड्मी १४ सी मिडनाइट ब्ल्याक, ड्रीमी पर्पल र सेज ग्रीनका तीन आकर्षक रंगहरूमा उपलब्ध छ । ४ जीबी + १२८ जीबी, ६ जीबी + १२८ जीबी, ८ जीबी + २५६ जीबी भेरियन्टहरूमा उपलब्ध रेड्मी १४ सी को मूल्य क्रमशः रु १३,९९९, रु १५,९९९ र रु १८,९९९ रहेको छ । रेड्मी १४ सी असोज ११ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।
नमस्ते पेमा क्यासब्याकको लहर: उडान टिकटमा सय रुपैयाँका साथै अन्य सेवामा आकर्षक क्यासब्याक
काठमाडौं । आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको अफर सुरु गरेको छ । यो अफर असोज ११ देखि कार्तिक ३० सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एडीएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा २% क्यासब्याक प्राप्त गर्नसक्ने छन् । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नु पर्दैन । क्यासब्याक हरेक टिकट र हरेक पटककाे टपअप तथा बिल भुक्तानीमा लागू हुनेछ । अथवा प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत् जति धेरै लेनदेन गर्छन्, उति नै धेरै क्यासब्याक पाउनेछन् । थप जानकारी नमस्ने पेकाे वेबसाइटमा बुझ्न सकिन्छ ।
गाडीमा फेस्टिभ अफर : नि:शुल्क इन्स्योरेन्सदेखि १५ लाख डिस्काउन्टसम्म
काठमाडौं । नेपालीहरूकाे महान पर्व दशैं आँगनमै आइसकेकाे छ । दशैंतिहार र छठ जस्ता पर्वकाे अवसरमा विभिन्न कम्पनी, बैंक, वित्तीय संघसंस्थाहरूले विभिन्न किसिमका अफरहरू सार्वजनिक गरेका छन् । यसैक्रममा गाडी कम्पनीहरूले पनि नि:शुल्क इन्साेरेन्सदेखि १५ लाख रुपैयाँ क्यास डिस्काउन्टसम्मका योजना ल्याएका छन् । हेरौं कुन ब्राण्डको गाडीमा के छ अफर ? हुण्डाई हुण्डाईका लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फेस्टिभ डिलाइट अफर ल्याएको छ । उक्त अफरमा नि:शुल्क बीमा सेवादेखि हुण्डाईको भेन्यू कार जित्ने मौका रहेको छ । कम्पनीका अनुसार हुण्डाईको कुनै पनि गाडी खरिद गर्दा गोलाप्रथाको माध्यमबाट बम्पर उपहारमा हुण्डाईको भेन्यू कार जित्न सकिने छ । १० लाख क्यास डिस्काउन्टसँगै एक लाख रुपैयाँ थप डिस्काउण्टको सुविधा रहेको छ । यसैगरी, एक वर्षको बीमा र कर कम्पनीले नै तिरिदिने जनाएको छ । टाटा नेपालका लागि टाटाको आधिकारीक बिक्रेता सिप्रदीले टाटासँग दशैं धुमधाम, यूरोप घुमघाम अफर ल्याएको छ । अफरअन्तर्गत टाटको नेक्सन गाडी खरिद गर्दा एक जोडीले सित्तैमा यूरोप घुम्ने अवसर पाउने कम्पनीले जनाएको छ । बीवाईडी चाडपर्वको अवसरमा बीवाईडीको गाडी किन्दा तीनवटा अफर पाइने भएको छ । नेपालका लागि बीवाईडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले बडा चाड अफर सार्वजनिक गरेको हो । एक वर्षसम्मको बीमा सेवा, भेहिकल टु लोन र २.३ किलोवाट ट्राभल चार्जर उपलब्ध गराउने अफर कम्पनीले ल्याएको हो । कम्पनीका अनुसार बीवाईडी अट्टो ३ र बीवाईडी डल्फीन गाडी खरिद गर्दा उक्त अफर पाइने छ । सुजुकी दशैंतिहारको अवसरमा सुजुकीको गाडी किन्दा ४ लाख रुपैयाँ नगद छुटदेखि नि:शुल्क बीमाको सुविधा पाइने छ । नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले चाडपर्वलक्षित सार्वजनिक गरेको अफरमा उक्त सुविधा रहेको छ । यसका साथै उक्त अफरमा एक्चेन्ज बोनस २ लाख रुपैयाँसम्म, लोयल्टी बोनस २० हजार रुपैयाँसम्म र विभिन्न एसेसोरिजहरू नि:शुल्क पाइने छ । आयोन नेपालका लागि आयोनको आधिकारिक बिक्रेता सीजी मोटोर्सले फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत आयोन वाई गाडी ५ लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने छ । जीकर नेपालका लागि जीकर गाडीको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले फेस्टिभ अफर ल्याएको छ । जसअन्तर्गत जीकर एक्स गाडी खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । यसका साथै एक्सचेन्ज बोनस ५ लाख रुपैयाँ दिने कम्पनीले जनाएको छ । आइचर आइचरले दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दशैंको हर्ष, आइसरको वर्ष अफर’ योजना ल्याएको छ । योजनाअन्तर्गत आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा रहेको छ । गाडी सञ्चालक, चालक, शिक्षण संस्था, निर्माण कम्पनी आदिलाई लक्षित गर्दै योजना अन्तर्गत चालकहरूको लागि बीमा, शून्य सेवा लागत तथा टुर प्याकेज, ल्यापटप, प्रोजेक्टर योजनामा समावेश गरिएका छन् । यो योजना यही असोज १ गतेदेखि नेपाल अधिराज्यभर लागू भइसकेकाे नेपालमा आइचरको आधिकारीक बिक्रेता कम्पनी एमएडब्लुले जनाएको छ । विलिङ नेपालका लागि विलिङ गाडीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले विलिङको बिङ्गो गाडीमा छुट अफर सार्वजनिक गरेको हो । जसअन्तर्गत बिङ्गो ईभी गाडी छुटसहित २९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न पाइने भएको छ । नेटा चाडपर्वको अवसरमा नेटा गाडी खरिद गर्दा सित्तैमा इन्डाेनेशियाकाे बाली घुम्न पाइने भएको छ । सीजी मोटर्सले नेटा भी गाडी खरिद गर्नेले बाली घुम्ने अवसर पाउने जनाएको छ । यसका साथै कम्पनीले स्योर सर्ट क्यास डिस्काउन्ट र एक्सचेन्ज बोनस पनि दिने घोषणा गरेको छ । निसान निसानको कुनै पनि गाडी खरिद गर्दा एक वर्षको इन्स्योरेन्स, कर, ती वर्षको सर्भिसिङ र ३ वर्षको वारेन्टी सुविधा पाइने छ । यसका साथै १५ लाख रुपैयाँसम्मको छुटको व्यवस्था पनि रहेको छ । नेपालका लागि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले चाडपर्वमा निसानको गाडी गरिद गर्नेका लागि यस्तो अफर ल्याएको हो । किया चाडपर्वको अवसरमा कियाको गाडी खरिद गर्दा ४ लाख रुपैयाँ छुटदेखि नि:शुल्क बीमाको सुविधासम्म पाइने छ । नेपालको लागि कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल एसोशिएट्सले एक वर्षको कर पनि कम्पनीले नै तिरिदिने जनाएको छ । यसका साथै २ लाख रुपैयाँसम्म एक्सचेन्स अफरको सुविधा पनि रहेको छ ।
१२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा
काठमाडौं । पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको विवरणमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको उनले बताए । विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ । झापाको अनारमणीमा दुई सय तीन मिलिमिटर र चन्द्रगढी विमानस्थलमा दुईसय ६० मिलिमिटर र इलाममा दुई सय ४३ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् महर्जनले जानकारी दिए । पछिल्लो एक घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रुपमा कम वर्षा भएको छ । काठमाडौंका थोरै स्थानमा भारी वर्षा भएको छ । कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर, काठमाडौंका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । ललितपुरको लेलेमा एक सय १५ दशमलव पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको भन्दै भोलि पनि दिनभर वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए । आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ । निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ । काठमाडौंको बागमती, विष्णुमती, धोबीखोला, ललिपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ । वर्षाले काठमाडौंसहित मुलुकभरको जनजीवन सामान्य प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागले मोबाइलमार्फत सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकास्थित बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा रहेको महाशाखाले जनाएको छ ।