विकासन्युज

अडानीले १ खर्बमा हाइडेलबर्ग सिमेन्ट किन्दै, १४ करोड टन उत्पादन क्षमता

काठमाडौं । अम्बुजा र एसीसी सिमेन्ट प्राप्त गरेपछि अडानी समूहले सिमेन्ट उद्योगमा निरन्तर प्रगति गरिरहेको छ । आदित्य बिर्ला समूहपछि अडानी समूह सिमेन्ट उद्योगमा देशको दोस्रो ठूलो सिमेन्ट उत्पादक हो । अब गौतम अडानी नेतृत्वको समूहले सिमेन्ट उद्योगमा आफ्नो व्यवसाय विस्तार गर्न जर्मन कम्पनी हाइडेलबर्ग मेटरियल्सको भारतीय सिमेन्ट व्यवसाय किन्न वार्ता सुरु गरेको छ । अडानी समूहको कम्पनी अम्बुजा सिमेन्टले हाइडलबर्गको भारतीय इकाइको अधिग्रहणको नेतृत्व गर्ने छ । इकोनोमिक टाइम्समा प्रकाशित समाचारअनुसार यो सम्झौता करिब १ अर्ब २० करोड अमेरिकी डलर (१ खर्ब रुपैयाँ) हुने अनुमान गरिएको छ । यो सम्झौता सम्पन्न भए सिमेन्ट उद्योगमा प्रतिस्पर्धा बढ्ने अनुमान गरिएको छ । देशका शीर्ष सिमेन्ट उत्पादन गर्ने कम्पनी अल्ट्राटेकले पनि आफ्नो नेतृत्व कायम राख्न कम्पनीहरू खरिद गरिरहेको छ । अडानी समूह देशको दोस्रो ठूलो सिमेन्ट उत्पादन गर्ने समूह हो । सन् २०२२ मा होल्सिमको भारतीय बजार अधिग्रहण गरेर समूहले यस क्षेत्रमा प्रवेश गरेको थियो । होल्सिम जस्तै अदानी समूहले पनि यो सम्झौता छिट्टै पूरा गर्न चाहेको विज्ञहरू बताउँछन् । हाइडलबर्ग सिमेन्ट भारतीय बजारमा सूचीबद्ध कम्पनी अम्बुजा सिमेन्टसँग ३० जुन २०२४ सम्म १ खर्ब ८२ अर्ब ९९ करोड रुपैयाँ नगद र नगद बराबर थियो । यदि यो अन्य दाबेदारहरूसँग पूर्ण बिक्री प्रक्रिया बन्यो भने भारतीय समूह सम्झौताबाट बाहिरिन सक्ने यस विषयसँग सम्बन्धित व्यक्तिले बताएका छन् । जर्मन कम्पनीले भारतीय बजारमा हाइडेलबर्ग सिमेन्ट इन्डिया र जुआरी सिमेन्टको नामबाट व्यापार गर्छ । हाइडेलबर्ग सिमेन्ट भारतीय बजारमा सूचीकृत कम्पनी हो तर जुआरी सिमेन्ट सूचीकृत छैन । हाइडेलबर्ग विश्वका ५० देशमा सूचीबद्ध कम्पनीको मार्केट क्याप ४९ अर्ब ७५ करोड रुपैयाँ छ र यसको मूल कम्पनीको ६९.३९ प्रतिशत स्वामित्व छ । हाइडेलबर्ग संसारको सबैभन्दा ठूलो सिमेन्ट उत्पादकमध्ये एक हो र ५० देशहरूमा यसको उपस्थिति छ । हाइडेलबर्गले २००६ मा मैसुर सिमेन्ट, कोचिन सिमेन्ट र इन्दोरमा सिमेन्टको अधिग्रहण गरेर देशको सिमेन्ट उद्योगमा प्रवेश गर्‍याे ।सन् २०१६ मा इटाल्सेमेन्ट ग्रहण गरेपछि यो समूहले भारतमा आफ्नो व्यापार दोब्बर बनायो । कम्पनीको वेबसाइटअनुसार हालको उत्पादन सीमा १ करोड ४० लाख टन छ । यस सम्झौताको बारेमा हाइडेलबर्ग र अडानी समूहले सार्वजनिक रूपमा कुनै जानकारी दिएका छैनन् । कुल उत्पादन  क्षमता ५ करोड ३५ लाख टन जर्मन कम्पनीले एसिया प्रशान्त क्षेत्रका नौ देशमा व्यापार गर्छ । यसको कुल उत्पादन सीमा ५ करोड ३५ लाख टन छ । करिब ३ करोड १० टन क्षमता भएको यस क्षेत्रमा इन्डोनेसियापछि भारत दोस्रो स्थानमा छ । हाइडेलबर्गले हाइडेलबर्ग सिमेन्ट इन्डिया र जुआरी सिमेन्टको मर्जरमा काम गरिरहेको भए पनि स्ट्याम्प शुल्क भुक्तानीमा अड्किएको छ । प्रमुख वित्तीय अधिकृत अनिल शर्माले यस विषयमा काम गरिरहेको विश्लेषकलाई बताएका थिए । उनले आर्थिक वर्ष २०२६ वा आर्थिक वर्ष २०२७ सम्म मर्जरको काम सम्पन्न हुने अपेक्षा गरेका थिए । उत्पादन क्षमता १४ करोड टन पुर्‍याउने अडानी समूहले ६ अर्ब डलरभन्दा बढीमा होल्सिम समूहबाट अम्बुजा सिमेन्ट र एसीसी खरिद गरी भारतमा यो क्षेत्रमा प्रवेश गरेको थियो । त्यतिबेला अम्बुजा सिमेन्ट र एसीसीको संयुक्त उत्पादन क्षमता करिब ७ करोड टन थियो । यसपछि अडानी समूहले साँघी इन्डस्ट्रिज र माई होम ग्रुपको ग्राइन्डिङ युनिटलगायत सिमेन्ट उद्योगमा धेरै अधिग्रहण गरेको छ । जुनमा अडानी समूहले पन्ना सिमेन्ट उद्योगलाई प्राप्त गर्न १ खर्ब ४ अर्ब २२ करोडको सम्झौता गरेको थियो । अडानी समूहले सन् २०२८ सम्ममा सिमेन्ट उद्योगमा आफ्नो उत्पादन क्षमता १४ करोड टनमा पुर्‍याउन चाहन्छ । एजेन्सी

बुधबार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने

काठमाडौं । अवरुद्ध कान्ती राजमार्ग बुधबार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । मंगलबार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको टोलीले सो ठाउँको अनुगमन गरेको हो । सो क्रममा कान्ती राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधबार बिहानसम्म पूर्ण रुपमा सडक सञ्चालन गरिसक्ने बताए । उनले असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ती राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति हुँदा आवतजावतमा समस्या भएको बताए । बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरू र ८० टनको रेन्सफोर्समेण्टहरू पनि बगाएको बताए । ‘हामी हाल अस्थायी डाइभर्सनको रुपमा खोल्ने प्रयासमा छौँ । सडक विभाग र नेपाली सेनाको सहयोगमा लागिरहेका छौँ ।  भोलि बिहानसम्म यो बाटो खोलिसक्छाैँ’, उनले भने । त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबराले आज आफूहरूले वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरू अवलोकन गरेको बताए । उनले सो क्रममा कान्ती लोकपथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको जानकारी दिए । अहिले पुलमा साना सवारीहरु चलाउनसक्ने बनाइएको जानकारी दिए । टिकाभैरव, देवीचौर घुसेल क्षेत्रमा पनि यातायात सुचारु गर्न लागिएको बताए । दलचोकीसम्म सडक पुगेको र अब शंखुसम्म पुयाउनुपर्ने काम बाँकी रहेको जानकारी दिए । ‘पूर्ण क्षति भएका घरहरू ६ सयदेखि ८ सय घरमा क्षति भएको छ । त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्नेमा छौँ । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको छ’, उनले भने । ललतिपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण क्षति भएका घरहरू ६ सयदेखि ८ सय रहेको अनुमान गरेको बताए । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको भएपनि स्थायी व्यवस्थापनका लागि ध्यान दिनुपर्ने जानकारी दिए ।

निगमले फूलपातीका दिन काठमाडौं-भैरहवा उडान गर्ने, भाडा ७ हजार

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । फूलपातीको दिन ए ३२० जहाजले काठमाडौं-भैरहवा उडान भर्ने निगमले जनाएकाे छ । निगमका प्रवक्ता रमेश पौडेलले पर्वकाे अवसरमा आन्तरिक उडानमा परेकाे चापलाई कम गर्न न्याराेबडी सञ्चालन गर्न लागिएकाे जानकारी दिए । आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो। निगमकाे वेबसाइट वा मोबाइलबाट समेत अनलाइन टिकट लिन सकिन्छ ।    

राष्ट्र बैंकले बढायो सुनचाँदी असर्फीको मूल्य, ओजेडको मूल्य ७९५० रुपैयाँ

काठमाडौं । सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचनामार्फत असर्फीको मूल्य बढाइएकाे जानकारी दिएकाे हो । सुनचाँदी तथा अन्य धातु खरिद बिक्री तथा टकमरी सम्बन्धि कार्यविधि २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गते बसेको बैठकको निर्णयअनुसार राष्ट्र बैंकको टक्सार महाशाखाले एउटा सिक्काको (३१.१ ग्रामको) ५५० रुपैयाँसम्मले मूल्य बढाएको हो । राष्ट्र बैंकका अनुसार यसअघि राज्यारोहण १ ओजेड (३१.१०३ ग्राम) सिक्काको ७ हजार ३ सय रुपैयाँ रहेकोमा उक्त सिक्काको मूल्य ५ सय ५० रुपैयाँले नै वृद्धि गर्दै ७ हजार ९५० रुपैयाँ पुर्‍याइएको छ । यस्तै, ३१.१ ग्राम तौल रहेको श्री ५ ज्ञानेन्द्र राज्यारोहण छाप सिक्काको ७ हजार २ सय रुपैयाँ पर्नेमा बैंकले उक्त सिक्काको मूल्य ७ हजार ८ सय ५० रुपैयाँ निर्धारण भएकाे छ ।

नोटमा रङ्ग लगाउँदा जेल हाल्ने कानुन, कोरे पनि तीन महिना कैद

‘दशैं आयो खाउँला पिउँला’भन्दै गुनगुनाउँदै मनमा भएका अनेकौं पीडा बिर्सेर मन फुरुङ्ग पारी परम्परागत महान पर्वको स्वागतका खातिर नयाँ महँगा कपडा, दुई/चार खसीबोका, च्याङ्ग्रा किने जस्तो देखाउनै पर्ने, देवालयहरुमा खचाखचको भीड , अनि मध्यान्हको टन्टलापुर घाममा लामो लाइन लागेर भए पनि खुद्रा पैसा साट्नु र मध्यरात मै बसपार्क पुगेर लाईन बसी घर फर्किन टिकटको जोहो गरेपछि बल्ल हामी सबैलाई दशैं आएजस्तो लाग्नु स्वाभाविकै हो । बडो उत्साह, उमंगका साथ घर परिवार, छरछिमेक मिलिजुली टिका र जमरा थाप्दै हातमा दक्षिणा थाप्दाको मज्जा त झन बेग्लै भयो । तर, राज्यले बर्सेनि अरबौं रकम खर्चेर विदेशी मुद्रामा भुक्तानी गरेर छपाई गरी ल्याएका मुद्राको हिफाजत र जतन हामीले गरेका छौं या छैनौं भन्ने कुरामा हाम्रो हेक्का पुग्न सकेको छैन । देशको आफ्नै सेक्युरिटी प्रेस नभएको हुनाले यस्ता नोटहरु विदेशबाट छपाई गरि चलनचल्तीमा ल्याउन बर्सेनि ठूलो धनराशी खर्च भइरहेको छ । यसरी छपाई गरि ल्याइएको बैंक नोटलाई देशभित्र चलनचल्तीमा ल्याउन केन्द्रीय बैंकले आफ्ना विभिन्न प्रदेश स्थित कार्यालय, बैंक वित्तीय संस्थाहरु र नोटकोष मार्फत व्यवस्था मिलाएको छ । तपाईं हामीले प्रयोग गर्ने नोट कला, संस्कृति, सम्पदा र सभ्यताको प्रतिक तथा राज्यको सम्पत्ति हो । देशको इज्जत, प्रतिष्ठा त्यस देशका नागरिकको काम, व्यवहार र चालचलनले पनि देखाउँछ । हामीलाई दैनिक प्रयोगका लागि नयाँ नोट नै चाहिन्छ भन्ने छैन सफा र सुकिलो नोट प्रयोग गर्न सकिन्छ । हरेक बर्ष वितरण भएका यस्ता बैंक नोटहरु लामोसमय देखि बैकिङ्ग च्यानलका भल्टहरुमा रहेकोले थप नोट निस्कासन गर्दा थप नोटको परिमाणमा वृद्धि भई पुराना नोटहरु बिग्रने, मक्किने भै चाँडै यस्ता नोट नष्ट गर्नुपर्दा राज्यको करौडौं आर्थिक नोक्सानी हुनसक्ने जोखिमबाट जोगाउन यस वर्षदेखी केन्द्रीय बैंकले बैंकिङ्ग च्यानलमा रहेका यिनै सुकिला नोटहरुको व्यवस्थापन गरी वितरण गर्ने नीति लिएको छ । चलनचल्तीमा ल्याइएका यस्ता नोट केही समयपछि च्यातिने, फोहोर हुने र मैलो भए पश्चात् पुनः चलनचल्तीबाट खिच्ने दायित्व पनि केन्द्रीय बैंककै हुन्छ । नोट धेरै छिटो च्यातिने, बिग्रने र फोहर हुने प्रमुख कारण पनि हाम्रो आफ्नै काम, व्यवहार र हेलचेक्राई नै हो । नेपाली नोटमा जथाभावी कोर्ने र बिरुप पार्ने सम्वन्धी बिषयमा बैकको मौद्रिक नीतिले स्पष्ट कारवाही र निर्देशन दिएको छ भने नेपाल सरकारले अपराध संहिता कानुन २०७४ मा पनि स्पष्ट सजाय तोकेको छ । उक्त कानुनको परिच्छेद–२२ मुद्रा सम्वन्धी कसुरको महलको दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न वा लेख्न नपाइने कुरा लेखिएको छ । यदि यस्तो काम गरिएको पाइएमा सोही दफाको १ वा २ वमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिना कैद र पाँच हजार रूपैयाँ सम्म जरिवाना हुनेछ भनी स्पष्ट व्यवस्था भएको छ । यसर्थ हामीले दैनिक जीवनमा प्रयोग गर्ने बैंक नोटको प्रयोग राम्रोसँग हिफाजत साथ गरौँ र गर्न सिकाऔं । रंग अबीर लागेका हातले नोट नछोऔं भनी बुबाआमा, हजुरबुबा, हजुरआमालाई पनि सिकाऔं साना नानीहरुलाई नोटमा कोर्न र च्यात्न हुदैन भनी बुझाउन प्रयास गरौं । हामी सबैले नोटको हिफाजत गरि सभ्य नागरिकको परिचय दिऊँ । (खतिवडा नेपाल राष्ट्र बैंकका प्रधान सहायक तथा  नेपाली मुद्रा संकलक हुन् ।)  

सानिमा बैंकले पहिरोपीडितलाई दियो २५ लाख रुपैँया

काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैँया सहयोग गरेको छ । अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

दशैं उत्सव: बजारमा किनमेल गर्नेको ठेलमठेल (फोटोफिचर)

काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी घर आँगनमै आइसकेकाे छ । दशैं मनाउन विदेश गएकाहरू धमाधम स्वदेश फर्किरहेका छन् भने सहर पसेकाहरू पनि गाउँ गइरहेका छन् । तीन लाखभन्दा धेरैले काठमाडौं उपत्यका छाडिसकेका छन् । दशैं नजिकिएसँगै विभिन्न सामानहरू किन्न बजारमा उल्लेख्य भीड लागेकाे छ । काठमाडौंको न्युरोड, असन, बौद्ध, रत्नपार्कलगायत विभिन्न ठाउँमा किनमेल गर्नेहरूकाे भीड देख्न सकिन्छ । साेही भीडलाई विकासन्यूजका फाेटाे पत्रकार साैगात पुडासैनीले तस्बिरमा खिच्ने जमर्काे गरेका छन् ।      

साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन डब्ल्यूएचओसँग स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रूपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको चर्चा गरे । भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।’ मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाए । ‘हामी हाम्रा देशका स्वास्थ्य संकटसँग लड्न आफै पनि स्रोत बढाउने प्रयास गरिरहेका छौं,’ उनले भने । संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्यमन्त्री र संगठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्य राष्ट्रहरूले आन्तरिक स्रोत थप गर्नुपर्ने बताए । बैठकका क्रममा मन्त्री पौडेलले संगठनका दक्षिणपूर्वी एसिया निर्देशक सइमा वाजेदसँग भेट वार्ता गरेका थिए । त्यसक्रममा एद्लेद नेपाल स्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन लागि परेको भन्दै संगठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गरेको बताए । उनले संगठन र नेपालका कतिपय स्वास्थ्य प्राथमिकता साझा भएको भन्दै नेपालका आधारभूत समस्या समाधानमा संगठनसँग सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाए ।