आज बडा दसैँको सातौं दिन : घर-घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । “केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,” उनले भने । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पूर्वअध्यक्ष गौतमले बताए ।
दसैँमा गाउँ नै रमाइलो
काठमाडौं । खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द । अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल । सहर बजार र विदेशिएकाहरू दसैँ पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका यहाँका बस्ती गुञ्जायमान छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका तीर्थ फगामी भने, “अघिपछि गाउँघरमा उतिसारो युुवा हुँदैनन् । पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ । चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ । ” राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसङ्ख्या छ । यो विसं २०६८ भन्दा करिब सात हजारले कमी हो । गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा विदेशीने क्रम बढेको बढ्यै छ । अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिक बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल हुन्छ । तीमध्येका एक हुनुहुन्छ, धवलागिरी गाउँपालिका–४ खिवाङका होमबहादुर पुन । दसैँ मनाउन अमेरिकाबाट आठ वर्षपछि जन्मथलो फर्किएका उनी भन्छन्,“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर नरमाइmलो लाग्थ्यो । उकालीओराली गरेका, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीसँगको आत्मियता विदेशमा कहाँ पाइन्छ र १ सहरबजारको चाडपर्व घर र परिवारमा सीमित हुुन्छ । यहाँको मौलिक संस्कृति, आफन्त साथीभाई र इन्टमित्रको भेटघाटले विगतको स्मरण तथा नयाँ योजना बनाउन सघाउँछ ।” बेलायतबाट दश वर्षपछि जन्मथलो आएका अन्नपूर्ण–७ घराम्दीका धनबहादुर पाइजा दसैँमा गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दसैँको विषेश महत्व हुुने बताए । “बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्गेपिङ हालेका छौँ । तीन दिन लगाएर जङ्गलबाट ल्याएको काठको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच‘ हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै छ”, उनले खुसी हुँदै भने । हाल यहाँका बाटाघाटा र सार्वजनिकस्थल श्रमदान गरेर सरसफाई गरिएका छन् । प्रायःजसो गाउँका कोतघरमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसेचौबीसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतानलगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ । ‘उकाली ओराली गर्दै, आँखा भरी रहर भर्दै, आधिबेहरीसँग लड्दै, खोला नदी सागर तर्दै, दुःख पीडा बिर्सदै म आए, परदेशबाट फर्कि आए आफ्नै गाउँ फर्कि आए नयाँ नयाँ सपना ल्याए‘….रत्नसमशेर थापा र सोनु निगमको स्वर रहेको चलचित्र सिमानाको गीतका यी शब्दले भने जस्तै बाध्यताले थातथलो छाडेकाहरूको उपस्थितिले अहिले यहाँका प्रायः गाउँघरमा उल्लासको माहोल छ ।
भारतीय उद्योगपति रतन टाटाको निधन
काठमाडौं । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उनको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । टाटालाई वृद्धावस्थासँगै देखिने कमजोर स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार उनलाई उच्च रक्तचापको समस्या थियो । सन् १९३७ डिसेम्बर २८ मा मुम्बईमा जन्मिएका टाटा रतन टाटा ट्रस्ट र दोराबजी टाटा ट्रस्टका अध्यक्ष भएका थिए । उनी सन् १९९१ देखि सन् २०१२ मा सेवानिवृत्त हुनुअघिसम्म टाटा समूहको ‘होल्डिङ कम्पनी’ टाटा सन्सको अध्यक्ष बनेका थिए । सन् २००८ मा उहाँलाई देशको दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणबाट सम्मानित गरिएको थियो । उनको निधनप्रति राष्ट्रपति द्रोपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, विभिन्न राज्यका मुख्यमन्त्रीलगायतले दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । राष्ट्रपति मुर्मूले भने, ‘रतन टाटाको दुःखद निधनमा भारतले एक आइकन गुमाएको छ । उहाँले कर्पोरेट विकासलाई राष्ट्र निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोडेको छ ।’ राष्ट्रपति मुर्मूले परोपकार र परोपकारमा टाटाको योगदानलाई ‘अमूल्य’ भन्दै प्रशंसा गरेका छन् । उपराष्ट्रपति वीपी धनखड़ले एक्समा एक पोष्ट गर्दै उदोगपति टाटाको सम्झना गरेका छन् । ‘रतन टाटाको निधनले मलाई स्तब्ध पारेको छ । भारतीय उद्योगको क्षेत्रमा उहाँ एउटा अविस्मरणीय व्यक्तित्व हुनुहुन्थ्यो । टाटामा उहाँको नेतृत्व आत्मनिर्भर भारत निर्माणको लागि योगदान थियो र भारत र बाहिरका उद्यमीहरूको लागि उहाँ सधैं प्रेरणादायी उद्यमी हुनुहुन्थ्यो,’ उनले भने । त्यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले टाटाको निधनप्रति शोक व्यक्त गर्दै एक्समा लेखेका छन्, ‘रतन टाटाजी एक दूरदर्शी व्यापारिक नेता, एक दयालु आत्मा र एक असाधारण मानव हुनुहुन्थ्यो ।’ प्रधानमन्त्री मोदीले आफ्नो पोष्टमा भने, ‘उहाँले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापारिक घरानालाई स्थिर नेतृत्व प्रदान गर्नुभयो । उहाँको योगदान ‘बोर्डरूम’ भन्दा धेरै टाढा गयो। उहाँले आफ्नो विनम्रता, दया र हाम्रो समाजलाई अझ राम्रो बनाउने अटूट प्रतिबद्धताका कारण धेरै मानिसहरू उहाँलाई मन पराउने गर्थे ।’ त्यसैगरी, भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले एक्समा जारी एक पोस्टमा भने, ‘रतन टाटा भिजन भएका व्यक्ति हुनुहुन्थ्यो । उहाँले व्यवसाय र परोपकार दुवैमा चिरस्थायी छाप छोड्नुभएको थियो । उनको परिवार र टाटा समुदायप्रति मेरो समवेदना छ ।’ ‘एक्स’मा एक पोस्ट लेख्दै काङ्ग्रेस अध्यक्ष खड़गेले टाटाको निधनमा भारतले एक ‘अमूल्य छोरा’ गुमाएको उल्लेख गरेका छन् ।
सुनसान न्यूरोड (फोटो-फिचर)
काठमाडौं । काठमाडौंको न्यूरोड संधै चलायमान रहन्छ । चाडपर्वकाे बेलामा त झन् त्यहाँ खुट्टा राख्ने ठाउँ हुँदैन । केही दिनअघिसम्म ठेलमठेल अवस्था रहेकाे न्युराेड अहिले भने शान्त छ । अहिले मानिसकाे भीड पातलिएकाे छ । न्यूरोडसँगै असन, बौद्ध, रत्नपार्कलगायत ठाउँमा पनि मानिसकाे भीड पातलिएकाे छ । नेपालीहरूको महान चाड विजया दशमी घर आँगनमै आइसकेकाे छ । दशैं मनाउन विदेश गएकाहरू धमाधम स्वदेश फर्किरहेका छन् भने सहर पसेकाहरू पनि गाउँ गइरहेका छन् ।
दशैं बिदामा पनि बैंक खुला, कुन बैंकको कुन शाखाले दिन्छ सेवा ?
काठमाडौं । भोलि (बिहीबार)देखि दशैं बिदा सुरु हुँदैछ । असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशी सार्वजनिक बिदा छ । दशैं बिदाको समयमा अधिकांश क्षेत्रका कार्यालय बन्द रहन्छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने दशैं बिदामा पनि आफ्नाे सेवा प्रदान गर्ने जनाएका छन् । दशैं बिदाको समयमा अधिकांश बैंकहरूले आफ्ना निश्चित शाखा कार्यालय खुला राखेर सेवा दिने जनाएका छन् । दशैं बिदाको समयमा बैंकहरूले ३ देखि ४ घण्टामात्रै शाखा कार्यालय खुला राख्नेछन् । लक्ष्मी सनराइज बैंक लक्ष्मी सनराइज बैंकले मधेश प्रदेशका वीरगञ्ज (आदर्शनगर, लिङ्गरोड ), जनकपुर (भानु चोक), सिरहा (लहान) शाखाबाट सेवा दिनेछ । यस्तै, बागमती प्रदेशमा (उपत्यकाभित्र) हात्तीसार, गैह्रीधारा, भक्तपुर (सुकुलढोका), पुल्चोक सामाखुशी, कालिमाटी, सुकेधारा, तिनकुने, पुरानो बानेश्वर, खुशिबु, भक्तपुर (सल्लाघारी), बौद्ध र उपत्यका बाहिर नारायणघाट (लायन्स चोक) शाखाबाट सेवा दिनेछ । यस्तै, गण्डकी प्रदेशमा पोखरा न्यूरोड, औद्योगिक क्षेत्र, दमौली, पोखरा (अमरसिंह), रजहर पोखरा (चिप्लेढुङ्गा), सुन्दरबजार, वालिङ र बाग्लुङ शाखा, लुम्बिनी प्रदेशमा कोहलपुर, सुनवल, भैरहवा, रामपुर, नेपालगंज (कारकाँदो चोक, तौलीहवा, घोराही, तुल्सीपुर, बुटवल (मिलन चोक) शाखाबाट सेवा दिने बैंकको भनाइ छ । कर्णाली प्रदेशमा मुसिकोट, वीरेन्द्रनगर, श्रीनगर, छिञ्चु शाखा र सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, धनगढी (एलएन चोक), सुख्खड, धनगढी (शहिदगेट) शाखाबाट सेवा दिने बैंकले बताएको छ । यस दिन बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । हिमालयन बैंक हिमालयन बैंकले दशैं बिदामा सातै प्रदेशमा विभिन्न शाखा कार्यालयबाट सेवा दिने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका धरान १, विराटनगर १, दमक १, रोडशेष, विराटनगर, बिर्तामोड र इटहरी शाखाबाट सेवा दिनेछ । यस्तै, मधेश प्रदेशका वीरगञ्ज १, पडारी चौक, जनकपुर, बाइपास रोड, वीरगञ्ज शाखा, बागमती प्रदेशका हिटी दरबार, पाटन, न्यूरोड, टेकु, महाराजगञ्ज, कौशलटार, भरतपुर र बनेपा शाखा खुला रहने बैंकले जनाएको छ । यस्तै, गण्डकी प्रदेशका न्यूरोड, पोखर शाखा, लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, नेपालगञ्ज, घोराही र सुदूरपश्चिम प्रदेशको धनगढी १ शाखा खुला रहनेछन् । दशैं बिदा अवधिभर बिहान १० बजेदेखि २ बजेसम्म खुला रहने र सो समयमा रकम जम्मा, चेक भुक्तानी र रेमिटेन्स भुक्तानी सेवा उपलब्ध रहेको बैंकले जनाएएको छ । प्राइम बैंक प्राइम बैंकले पनि दशैं बिदामा खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकका अनुसार कोशी प्रदेशमा कन्चनबारी, धरान, काकरभिट्टा, इटहरी, हनुमानदास रोड, दमक, पकालि ट्राफिक चोक, पुस्पलाल चोक बिर्तामोड शाखा, मधेश प्रदेशको जनकपुर, वीरगञ्ज शाखा कार्यालय खुला रहनेछन् । यस्तै, बागमती प्रदेशमा न्यूरोड, चावहिल, मंगलबजार, च्यामासिंह, हेटौंडा, न्याँ बानेश्वर, सामाखुशी, पुल्चोक, गठ्ठाघर, नारायणगढ, न्यूप्लाजा, कालिमाटी, ग्वार्काे ललितपुर, ठिमी, सोह्रखुट्टे, कलंकी, पाटन, भक्तपुर र भरतपुर शाखा खुला हुने बैंकले जनाएको छ । यस्तै, गण्डकी प्रदेशमा पृथ्वीचोक, बीपी चोक, न्यूरोड पोखरा, पाटनचोक शाखा, लुम्बिनी प्रदेशका नेपालगञ्ज, भैरहवा, पाल्पारोड बुटवल, चौरहा बुटवल शाखा, कर्णाली प्रदेशका लेकबेशी, छिन्चु, वीरेन्द्रनगर शाखा, सुदूरपश्चिम प्रदेशका धनगढी, लम्कि, अत्तरिया, चौराहा धनगढी शाखा खुला रहने बैंकले जनाएको छ । दशैं बिदामा बिहान ११ बजेदेखि २ बजेसम्म बैंकिङ सेवा दिने बताइएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले दशैंका दिनमा पनि सेवा दिने गरी खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले बिदाको समयमा बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिनेछ भने टीकाको दिन खुला रहने शाखाले १ बजेदेखि ३ बजेसम्म सेवा दिनेछ । बैंकले कोशी प्रदेशका झुम्का, धुलाबारी, बुद्धबारे, काँकडभिट्टा, विराटचोक, ट्राफिक चोक, कञ्चनबारी, धरान, इनरुवा, चाराली, दमक, तीनपैनी, इटहरी, गाइघाट, विराटनगर, बिर्तामोड, धुलाबारी शाखा, मधेश प्रदेशका जनकपुर, जनकपुर स्टेशन, वीरगन्ज, चन्द्रपुर, राजविराज, रुपानी, लहान, गोलबजार, गौर, लालबन्दी शाखा खुला रहेनछन् । बागमती प्रदेशका कान्तिपथ, कुलेश्वर क्षेत्रपाटी, डिल्लीबजार, त्रिपुरेश्वर, अनामनगर, शंखमुल, कमलादी, चाबहिल चोक, नक्साल, गोङ्गबु, सिनामंगल, बालाजु चोक, ज्ञानेश्वर, तिनकुने, लगनखेल, सातदोबाटो, काँडाघारी, बनेपा, इताछँे, नारायणगढ, टाँडी, बेलचोक हेटौँडा, बैंक रोड शाखा खुला रहनेछन् । यस्तै बागमतिका न्यूरोड, धापासी, ठमेल, मध्यबानेश्वर, पानीपोखरी, कोटेश्वर, कलङ्की, जावलाखेल, भरतपुर, सूर्यविनायक, सानो गौचरण, हात्तीगौँडा, कुपोण्डल, सुकेधारा, शहिदचोक, पर्सा शाखा खुला रहने बैंकले जनाएको छ । यस्तै, गण्डकी प्रदेशका न्यूरोड, पोखरा, सभागृह चोक, बेगनास, चिप्लेढुङ्गा, लेखनाथ, लेकसाइड पोखरा, बुढीबजार कास्की, बिरौटा, पामे, बगर, पावरहाउस, बेसीशहर, कावासोती, दमौली, बाग्लुङ, अमरसिंहचोक शाखा, कार्यालय खुला हुनेछन् । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले दशैं बिदामा असोज २४ गते र असोज २५ गते शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले कोशी प्रदेशको महेन्द्रचोक, मधेशमा पिडारीचोक, बागमतीमा दरबारमार्ग, गण्डकीमा हरिचोक, लुम्बिनीमा मणिग्राम, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिममा क्याम्पसरोड शाखाबाट बैंकिङ सेवा दिने जनाएको छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले दशैं बिदामा असोज २५ गते शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले सो दिन बागमती प्रदेशका लगनखेल, न्यूरोड र बालाजु शाखाबाट सेवा दिने भएको हाे । साथै बैंकका शाखाबाट नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप, इसीसी/आरटीजीएस, विदेशी मुद्रा विनिमय सुविधा उपलब्ध रहेको जनाएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिनेछ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले दशैंको समयमा बिहान १ बजेदेखि २ बजेसम्म सेवा दिने जनाएको छ । बैंकले असोज २४ गते १५ वटा शाखा, असोज २५ गते १० वटा शाखा, असोज २७ गते ६ वटा शाखा र असोज २८ गते विभिन्न ८ वटा शाखा कार्यालयबाट सेवा दिने जनाएको छ । नबिल बैंक नबिल बैंकले दशैं बिदामा २९ वटा शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, इटहरी, इटहरी पश्चिमलाइन, धरान बरगाछी, धरान, नाम्चेबजार, दमक, विर्तामोड, विर्तामोड विएनसी शाखा, मधेश प्रदेशमा वीरगञ्ज, जनकपुर, बागमती प्रदेश ललितपुर, कुमारीपाटी, महाराजगञ्ज, खिचापोखरी (न्यूरोड) न्यूरोड, तीनधारा, घण्टाघर, बौद्ध, बिजुलीबजार, कौशलटार, पनौती, नारायणगढ, हेटौडा शाखा खुला रहनेछन् । यस्तै, गण्डकी प्रदेशका पोखरा, लुम्बिनी प्रदेशका बुटवल, नेपालगञ्ज धम्बोजी चोक, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढी शाखाबाट सेवा दिने बैंकले जनाएको छ । दशैं होलिडे काउन्टरमार्फत् १० लाख रुपैयाँसम्म रकम जम्मा गर्ने र २ लाख रुपैयाँसम्म निकाल्न मिल्ने सुविधा रहेको बैंकको भनाइ छ । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले दशैं बिदामा नगद काउन्टर सञ्चालन रहने जनाएको छ । बैंकले कोशी प्रदेशका विराटनगर, विर्तामोड, दमक शाखा, मधेश प्रदेशका वीरगञ्ज, जनकपुर शाखा, बागमती प्रदेशका भक्तपुर, पुल्चोक, कमलादी, न्युरोड (खिचापोखरी), थानकोट, नारायणगढ खुला रहने जनाएको छ । यस्तै, गण्डकी प्रदेशका महेन्द्रपुल पोखरा शाखा, लुम्बिनी प्रदेशका बुटवल, नेपालगञ्ज शाखा, कर्णालीका सुर्खेत शाखा र सुदूरपश्चिमको धनगढी चौराहा शाखा खुला रहनेछन् । बैंकका अनुसार न्यूरोड खिचापोखरी शाखा २ बजेदेखि ५ बजेसम्म खुला हुनेछ भने अन्य शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने बताएको छ । सानिमा बैंक सानिमा बैंकले असोज २४ गते २९ वटा शाखा, असोज २५ गतेका दिन नक्साल शाखा, असोज २७ गतेका दिन २५ वटा शाखा र असोज २८ गतेका दिन ३० वटा शाखाबाट सेवा दिनेछ । यसदिन बैंकले बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । असोज २६ गते दशैंका दिन भने सबै शाखा कार्यालय बन्द रहने बैंकले जनाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोज २४ गते बौद्ध, बुटवल, वीरगञ्ज, नारायणघाट, नेपालगन्ज, पोखरा शाखाबाट सेवा प्रदान गर्नेछ । यस्तै, असोज २५ गतेका दिन नयाँ बानेश्वर, बिराटनगर, धरान शाखा, असोज २७ गतेका दिन न्यूरोड काठमाडौं र पोखरा शाखा र असोज २८ गतेका दिन ललितपुर, विराटनगर र पोखरा शाखाबाट सेवा दिने बै.कले जनाएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । यस्तै, बैंकले तिहार र छठ पर्वमा पनि सेवा प्रवाह हुने शाखाको सूची सार्वजनिक गरेको छ । कृषि विकास बैंक कृषि विकास बैंकले दशैंको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी र असोज २८ गते द्वादशीका दिन पनि सेवा दिने भएको हो । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । सिद्धार्थ बैंक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक प्रभु बैंक मुक्तिनाथ विकास बैंकको दशैं काउन्टर सेवा कामना सेवा विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक
अर्थमन्त्रीले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई प्रदान गरे नियुक्तिपत्र
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरूलाई नियुक्तिपत्र र कार्य शर्त प्रदान गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरूलाई स्वागत गर्दै आयोगले निजी क्षेत्र, अध्ययन अनुसन्धानमा संलग्न विज्ञहरू, सरोकारवालालगायतसँग सघन छलफल गरी नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउने गरी आयोगले सुझाव दिने विश्वास व्यक्त गरे । उनले आयोगले दिने सुझावलाई सरकारले महत्त्वका साथ कार्यान्वयन गर्ने बताए । आयोगका अध्यक्ष रामेश्वर खनालले सबै पक्षसँग व्यापक परामर्श गरी सरकार, मन्त्री, सरोकारवाला र जनताले अपेक्षा गरेअनुसारको प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । आयोगका पदाधिकारीहरूले अर्थतन्त्रको समस्या, चुनौती पहिल्याइ पोलिसी डेपार्चर गर्ने गरी प्रतिवेदन तयार पार्ने बताएका छन् । गत सोमबार सरकारले अर्थतन्त्रमा सुधारका लागि सुझाव दिन खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेकाे आयोग गठन गरेको थियो । आयोगको कार्य समय ६ महिनाको तोकिएको छ ।
सिद्धार्थ बैंक लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरूको उद्दार र पुन:स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाको रूपमा सहभागिता जनाउँदै आएको छ । मन्त्रिपरिषद्को असाेज १४ गते बसेकाे मन्त्रिपरिषदकाे बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको कोषले जनाएको छ ।
फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी बिहीबार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ । हरेक वर्षझैँ यसवर्ष पनि असार १६ गतेदेखि निकुञ्जभित्रको सफारी रोकिएको थियो । लामो समय वर्षात भएका कारण निकुञ्जभित्रको सडक र पुल मर्मत एवं झाडी सफा गर्ने काम गर्न कठिन भएपछि केही ढिला गरी निकुञ्ज खोलिएको हो । गत वर्ष असोज १६ गतेदेखि जीप सफारी खुल्ला गरिएको थियो । निकुञ्ज बाहिरका सामुदायिक वनमा भने वर्षातमा समेत पर्यटकीय गतिविधि हुने गर्दछ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चाडपर्वमा घुम्न आउने पर्यटकलाई लक्षित गरी सबै सडक सफा गर्न नसकिए पनि सफारी खुल्ला गरिएको हो । निकुञ्जभित्र सबैभन्दा बढी सौराहाबाट ३२ जीप चल्ने गर्दछन् । कसराबाट २०, मेघौलीबाट नौ, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट ६ तथा कुजौलीबाट दुईवटा जीपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् । निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जीप सफारी हो । अन्य गतिविधि डुङ्गा सफारी, चरा हेर्ने (बर्ड वाचिङ्) लगायतका गतिविधि भने सबै समय खुल्ला हुने गर्दछ । सफारी पर्यटनका लागि नेपालको महत्वपूर्ण गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । सफारी गर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।