विकासन्युज

जुम्लामा दसैँमा मात्रै साढे १६ करोडका भेडा र खसी बोकाको कारोबार

काठमाडौं । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै साढे १६ करोड रुपैयाँभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए । शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर ७ हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै १५ करोड २३ लाख २३ हजार रुपैयाँका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजार रुपैयाँका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा ४८७ खसी, ३ वटा राँगा र ८२ वटा भैँसी रहेका छन् । स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार रुपैयाँ, न्यूनतम १० हजार रुपैयाँ रहेकामा औसत मूल्य १९ हजार रुपैयाँ तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य २४ हजार रुपैयाँ र न्यूनतम ८ हजार रुपैयाँ रहेकामा औसत १६ हजार रुपैयाँमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य ५० हजार रुपैयाँ र न्यूनतम २६ हजार रुपैयाँमा किनबेच भइरहेका राँगाभँैसी औसत ३८ हजार रुपैयाँमा बिक्री भएका थिए । वि.सं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् । पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन शुक्रबारदेखि जर्मन भ्रमणमा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता देखि जर्मन भ्रमण गर्ने अपेक्षा गर्ने भएका छन् । जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् । बाइडेनको जर्मनको मूल भ्रमण अक्टोबर १० देखि १२ को बीचमा हुने थियो । तर, मेरिकाको फ्लोरिडामा आएको आँधी मिल्टनको निरीक्षण गर्न उहाँले उक्त भ्रमण रद्द गरेका थिए । अमेरिकामा आँधीले गर्दा करिब ५० अर्ब अमेरिकी डलरको क्षति भएको र कम्तिमा १६ जनाको ज्यान गएको अनुमान गरिएको छ ।

रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएन, दैनिक दुई चरणमा काम

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । धुर्मुश-सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बिबिआर जेभीले निर्माणकार्य सुरु गरेको हो । वि.सं २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५१ लाख रुपैयाँमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन् । रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । चाडपर्वमा समेत काम नरोकिने प्रमुख दाहालले बताइन् । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

डेङ्गु लाग्दैमा आत्तिन पर्दैन, रोग लाग्नबाट यसरी बच्न सकिन्छ

काठमाडौं । चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उनीहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याए । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताए । ‘डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिहाल्नुपर्दैन, डेङ्गुले शरीरमा प्लेटलेट्स मात्रा घटाउन सक्छ, यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ, प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्नु हुँदैन,’ उनले भने । कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्ने भन्दै सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्ने उनको भनाइ छ । डेङ्गुबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताए । डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनले बताए । डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताए । गण्डकी प्रदेशका कास्की, तनहुँलगायतका जिल्लामा गत असारयता डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म गण्डकीका ११ वटै जिल्लामा गरी १२ हजारबढीमा डेङ्गुको संक्रमण पुष्टि भएको छ । डेङ्गुबाट कास्कीमा पाँच, म्याग्दीमा एक र तनहँमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार असारदेखि कात्तिकसम् डेङ्गुको संक्रमण बढी फैलने गर्छ । उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रूपमा फैलिएको बताउनुभयो । डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको उनले बताए । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको उनको भनाइ छ ।

रेकर्ड बिन्दुमा स्थिर रह्यो अमेरिकी डलर, खाडी बाहेक अधिकांश देशको मुद्राको भाउ बढ्यो

काठमाडौं । सोमबार अमेरिकी डलरको मूल्य रकेर्ड बिन्दुमा स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । तर, खाडी मुलुक बाहके अधिकांश देशको विदेशी मुद्राको भाउ भने बढेको देखिन्छ । युरोपियन यूरोको एकको खरिदर १४६.७९ रुपैयाँ र बिक्रीदर १४७.४४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.५६ रुपैयाँ र बिक्रीदर १५७.२६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.५९ रुपैयाँ र बिक्रीदर ९१.०० रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.५१ रुपैयाँ र बिक्रीदर ९७.९५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.८५ रुपैयाँ र बिक्रीदर १०३.३१ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०० रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७३ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०४ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.३० रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९५ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९४ रुपैयाँ र बिक्रीदर १३.०० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६८ रुपैयाँ र बिक्रीदर १९.७६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.७८ रुपैयाँ र बिक्रीदर ४४०.७४ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.९७ रुपैयाँ र बिक्रीदर ३५७.५६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

गौतमबुद्ध विमानस्थलबाट तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्ने, यस्तो छ तालिका

काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकका छन् । सोहीअनुरुप उडान तालिका बनाएको विमानस्थलले जनाएको छ । फ्लाई दुवईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ । कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौं–दुबई उडान गर्न लागेको हो । महाप्रबन्धक तिवारिका अनुसार फलाई दुबईको विमान दुबईबाट दिउँसो १ः४५ बजे भैरहवा आएर ३ः३० मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने उडान तालिका प्राधिकरणबाट अनुमति पाएको छ । यसैबीच फलाइ दुबईको प्राविधिक टोलीले गौतमबुद्ध विमानस्थलको भ्रमण गरी सेवा सुविधाबारे जानकारी लिएकाले तयारीको कार्य अगाडि बढाउने महाप्रबन्धक तिवारीले बताए । यस्तै जजिरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ । जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो । फलाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौं हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए । विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् । सुरुवाती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । तर विभिन्न समस्या देखाएर बीचमा रोकेको थियो । अहिले कुवेतको जजिरा एयरवेज पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ । त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले केहीदिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो । प्राविधिक टोलीलाई विमानस्थलकोतर्फबाट विमानस्थलको लक्ष्य, उडान सञ्चालनका लागि आधारहरु जस्तै बजार विश्लेषण, अन्य अपरेशनसँग सम्बन्धित अन्य फाइदाहरुको विस्तृत जानकारी गराइएको महाप्रबन्धक तिवारीले जानकारी दिए । यद्यपि, यो एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने टुङ्गो लागेको छैन। यही असोज १६ गते नेपालमा सिधा हवाई उडान सुरु गएको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो । एयरलाइन्सले करिब ६० वटा विमानमार्फत एसियाका महत्वपूर्ण गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेको छ । नेपाल र थाइल्याण्डबीच पर्यटनलगायत विभिन्न हिसावले जोडिएको छ । वार्षिक ४० हजारभन्दा बढी थाइल्याण्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन् । नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक थाइल्याण्ड पुग्ने गरेका छन् । थाई एयर एसियाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शान्तिसुक क्लोडचैयाले नेपाल र थाइल्याण्डबीच हवाई सम्पर्क सञ्जाल मात्रै नभएर दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्याउन उडानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए । ‘सरकारको कार्ययोजना अनुरुप आफू विमानस्थलको जिम्मेवारीमा आएपछि विशेष पहलकदमीमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण बनाउन लागिएको छ,’ उनले भने । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ । अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद ढुङ्गानाले जजिरा एयरलाइन्स र फलाई दुबईले छिट्टै उडान गर्ने भएकाले सोही बमोजिम आवश्यक तयारी भइरहेको जानकारी दिए । ‘हामी तयारी अवस्थामा छौँ, प्राविधिक जनशक्ति व्यवस्थापनका लागि केन्द्रीय कार्यालयमा ताकेता गरिएको छ । एयरलाइन्सको उडान सुरु भएपछि यात्रुलाई सहज ढङ्गले दिनुपर्ने हुन्छ, त्यसका लागि अध्यागमन कार्यालयले सबैखाले तयारी गरेको छ,’ उनले भने । प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । केही प्राविधिक पक्ष व्यवस्थापन गर्न बाँकी छ । विमानस्थलमा २१ वटा यात्रुसेवा काउन्टर छन् । उपकरण जडान छन् केही अटोमेसनको काम बाँकी छ । ‘काठमाडौँ विमानस्थल मर्मतको क्रममा गौतमबुद्ध विमानस्थलमा भविष्यमा उडान सङ्ख्या बढ्नसक्छन् एयरलाइन्स पनि थपिने सम्भावना रहेकाले सोही अनुरुप व्यवस्थापकीय तयारी त गर्नुपर्छ । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको जनाइएको छ,’ उनले भने । विमानस्थलमा अध्यागमनको सेवालाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले हालै अध्यागमन विभागका महानिर्देशकसहितको टोलीले गौतमबुद्ध विमानस्थलको स्थलगत निरीक्षणसमेत गरेको थियो । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजना अनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको विमानस्थलका अधिकारीले बताएका छन् । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषण गरेको छ । गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गर्दै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ । दुई विमानस्थल प्रभावकारी सञ्चालनका लागि प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित विभिन्न चरणमा बैठक भएका छन् । दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरुबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल भइरहेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुवै विमानस्थल प्रभावकारी सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ । पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विस २०८३ भदौसम्म नलिने जनाइएको छ । उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्ययोजना बनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । सोही विमानस्थललाई विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो ।

आज तीन प्रदेशमा वर्षा हुने, भोलि कस्तो छ मौसम ?

काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । असोज २९ गते मङ्गलबार पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

टीका र जमरा थाप्ने क्रम जारी

काठमाडौँ । दुर्गा पक्ष एवं वडादसैँको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने गरिन्छ । यो क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति भएपछिदेखि भने नवदुर्गाको प्रसाद लगाउन क्रम राखिन्छ । यस वर्ष असोज ३० गते बुधबार अखिल बलि पूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिँड्नेको सडकमा चहलपहल देखिन्छ । सार्वजनिक यातायातमा पनि आफन्तकहाँ टीका र जमरा लगाउन हिँडेका र लगाएर आएकाकै बाक्लो उपस्थिति देखिन्छ । यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दसैँ मनाउन विगत वर्षभन्दा कम मानिस काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा बढी चहलपहल देखिएको हो । महाअष्टमी एवं महानवमीका दिन शुक्रबार राजधानीमा कम चहलपहल देखिएको थियो । विजयादशमीपछि भने राजधानी बाहिर गएका पनि फर्कने क्रम बढ्ने भएकाले बढी चहलपहल देखिन्छ । राजधानीमा चहलपहल बढी देखिएकाले गत वर्षजस्तो सार्वजनिक यातायात पाउन पनि कठिन नभएको मान्यजन कहाँ आशीर्वाद लिन हिँडेकाको अनुभव छ । टीकाथलीमा आफन्त कहाँ जान लाग्नुभएका मङ्गलबहादुर श्रेष्ठ यो वर्ष सहजै सवारी पाइएको सुनाउनुहुन्छ । सवारीले स्टेशन नै पिच्छे पाँच÷सात मिनेट रोकेर भने ढिला गरेको उनले सुनाए ।