विकासन्युज

तीन महिनामै ८ बैंकको अर्ब बढी नाफा, नबिलले २ अर्ब कमाउँदा यी ५ बैंकबीच प्रतिस्पर्धा

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो भनेको २१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १३ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा गरेका थिए । पहिलो त्रैमासमा ८ वटा बैंकले एक अर्ब बढी नाफा गरेका छन् । बैंकहरूको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । तीन महिनाको अवधिमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल, एनएमबि, एभरेष्ट, कुमारी र प्रभु बैंकले नाफा एक अर्ब बढी कमाएका हुन् । यो अवधिमा नबिलले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख, प्राइम कमर्सियलले १ अर्ब २८ करोड ६७ लाख, एनएबि बैंकले १ अर्ब १४ करोड ५६ लाख, कुमारीले १ अर्ब ७ करोड ८१ लाख र प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ । तीन महिनाको अवधिमा नबिलले करिब ४० प्रतिशतले नाफा बढाएको छ भने ग्लोबलले २३.३६ प्रतिशत, प्राइमले ११.७५ प्रतिशत, एनएमबिले १९ प्रतिशत, एभरेष्टले ४४ प्रतिशत, कुमारीले ३०८ प्रतिशत र प्रभुले ०.६२ प्रतिशत नाफा बढाएको छ । यो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा भने करिब ४ प्रतिशतले घटेको छ । यो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख, नेपाल एसबिआईले ८१ करोड ४६ लाख, हिमालयनले ७२ करोड ६४ लाख, नेपाल बैंकले ६० करोड २१ लाख र लक्ष्मी सनराइज बैंकले ५३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, यो अवधिमा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख, सानिमाले ३९ करोड ९५ लाख र सिद्धार्थ बैंकले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले गत आवको सोही अवधिको तुलनामा ७९१ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा यस बैंकको नाफा ४२ लाख रुपैयाँ मात्रै थियो । यस्तै, सिटिजन्स बैंकले २४ करोड ६ लाख, कृषि विकासले १९ करोड ९ लाख, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड र एनआईसी एशिया बैंकले ११ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मंगलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको बुधबार शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । उनको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन् ।

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

वीरगञ्ज (पर्सा) । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ६६ लाख ८० हजार बराबरको एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ । भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छभने पेट्रोल ट्याङकरबाट नै ल्याउने गरिन्छ । अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो । पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उनको बुझाइ छ । विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिंदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गरे । हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ । मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उनको विश्वास छ । चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । चालु आवको असोज मसान्तसम्ममा छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार ७१२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।

स्ट्याण्डर्ड चार्डर्डको नाफा बढ्यो, वितरणयोग्य ईपीएस ५७.५६ रुपैयाँ

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय विवरणअनुसार सो नाफा गरेको हो । बैंकले गत आवको सोही अवधिमा ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ७९.८५ प्रतिशत र सञ्चालन नाफा ३.५८ प्रतिशत बढेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३६.५७ रुपैयाँ छ । बैंकको वितरणयोग्य ईपीएस भने ५७.५६ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको जगेडा कोष, निक्षेप र कर्जा लगानी बढेको छ । बैंकको खराब कर्जा १.९५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खराक कर्जा अनुपात १.१० प्रतिशत थियो ।

लक्ष्मी सनराइजको नाफा ४२० प्रतिशत बढ्यो, डेढ अर्ब पुग्यो वितरणयोग्य नाफा

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा ४२०.५२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले सो नाफा बढेको देखाएको हो । तीन महिनाको अवधिमा बैंकले कुल ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढेको वित्तीय विवरणले देखाउँछ । बैंकको खुद शुल्क तथा कमिशन बढेको छ भने सञ्चालन नाफा पनि बढेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ भने प्रतिसेयर आम्दानी ९.२५ रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १८०.९५ रुपैयाँ छ । यो अवधिमा बैंकको जगेडा कोष, निक्षेप र कर्जा पनि बढेको छ भने खराब कर्जा अनुपात ५.४४ प्रतिशत कायम भएको छ ।

तीन महिनामा प्रभु बैंकको नाफा १ अर्ब बढी, यस्ता छन् मुख्य सूचक

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा न्यून अंकले मात्रै बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो अवधिमा बैंकको ब्याज आम्दानी र खुद शुल्क तथा कमिसन बढेको कारण नाफा बढेको हो । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणेयोग्य नाफा ३२ करोड ५१ लाख रुपैयाँ थियो । यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९.९३ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको जगेडा कोष र निक्षेप बढे पनि कर्जा लगानी भने घटेको छ । बैंकको खराब कर्जा अनुपात बढेर ४.९४ प्रतिशत पुगेको छ ।

प्राइम कमर्सियलको वितरणयोग्य नाफा पौने २ अर्ब, ईपीएस २५.५५ रुपैयाँ

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा ११ प्रतिशत बढीले बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७३ करोड रुपैयाँ छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको ईपीएस २५.५५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६६.११ रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात पनि बढेको छ । यो अवधिमा बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत छ । तीन महिनाको अवधिमा बैंकको जगेडा कोषसँगै निक्षेप र कर्जामा पनि वृद्धि भएको छ ।

हिमालयन बैंकको नाफा ७२ करोड ६४ लाख, ईपीएस कति ?

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले तीन महिनाको अवधिमा सो नाफा गरेकाके हो । बैंकको तीन महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको ३१ प्रतिशनत बढी नाफा घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको हो । बैंकको ब्याज आम्दानी घटेको र खर्च बढेका कारण नाफा कम हुन गएको उल्लेख छ । तीन महिनाको अवधिमा बैंककोे वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ ऋणात्मक छ । नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी १३.४२ रुपैयाँ कायम भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७९.६८ पैसा रहेको छ । यो अवधिमा बैंकको जगेडा कोष र निक्षेप संकलन बढेको छ भने कर्जा लगानी केही घटेको छ । बैंकको रिटेन्ड अर्निङ पनि ऋणात्मक छ । यस्तै, बैंकको खराब कर्जा अनुपात बढेर ४.९८ प्रतिशत पुगेको छ ।