वितरणयोग्य नाफा, ईपीएस र खराब कर्जाको आधारमा २० वाणिज्य बैंकको तुलना, को केमा अगाडि ?
काठमाडाैं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिला त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकहरूले सार्वजनिक गरेको रिपोर्टअनुसार वितरणयोग्य नाफामा नबिल बैंक अगाडि रहेको छ । यसैगरी, प्रतिसेयर आम्दानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अगाडि रहेको छ भने खराब कर्जा कम हुनेमा एभरेष्ट बैंक अगाडि छ । वितरण योग्य नाफा नबिलको ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । वितरण योग्य नाफाका आधारमा कृषि विकास बैंक दोस्रो नम्बरमा रहेको छ । कृषि विकासको २ अर्ब ७९ करोड ३१ लाख रपैयाँ वितरण योग्य नाफा रहेको छ भने प्राइम कमर्सियल बैंकको २ अर्ब ७३ करोड ९ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब २ करोड ५ लाख, ग्लोबल आईएमई बैंकको १ अर्ब ९१ करोड ६१ लाख, नेपाल एसबीआई बैंकको १ अर्ब ८६ करोड ९० लाख, सानिमा बैंकको १ अर्ब ७१ करोड ३५ लाख, एभरेष्ट बैंकको १ अर्ब ६३ करोड ९ लाख, एनएमबी बैंकको १ अर्ब ६ करोड ६७ लाख र माछापुच्छ्रे बैंकको १ अर्ब ६ करोड ५६ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । प्रतिसेयर आम्दानी (ईपीएस) प्रतिसेयर आम्दानी (ईपीएस)का आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अगाडि रहेको छ । स्ट्याण्डर्डको ईपीएस ३६.५७ रुपैयाँ रहेको छ भने नेपाल एसबीआई बैंकको ३१.०३ रुपैयाँ रहेको छ । यसैगरी, नबिल बैंकको २९.८३ रुपैयाँ प्राइम कमर्सियल बैंकको ईपीएस २६.५३ रुपैयाँ, एनएमबी बैंकको २४.९५ रुपैयाँ र प्रभु बैंकको १७.६४ रुपैयाँ ईपीएस रहेको छ । ईपीएस कम हुनेमा एनआईसी एशिया बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको छ । खराब कर्जा सबैभन्दा धेरै खराब कर्जा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रहेको छ । नेपाल इन्भेष्टमेण्ट मेगाको जम्मा कर्जाको ५.८४ प्रतिशत खराब कर्जा रहेको छ भने लक्ष्मी सनराइज बैंकको ५.४४ र सिटिजन्स बैंकको ५.४१ प्रतिशत खराब कर्जा रहेको छ । यसैगरी, हिमालयन बैंकको ४.९८ प्रतिशत, कुमारी बैंकको ४ं९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्सियलको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ र ग्लोबल आइएमई बैंकको ४.६७ प्रतिशत खराब कर्जा रहेको छ ।
विद्युत महशुलको विवादबारे सरकारी निकायहरुको साझा धारणा हुनुपर्ने
विराटनगर । औद्योगिक तथा लगानीको वातावरण निर्माण गर्न सरकारका सबै सम्बन्ध निकायहरुले समन्वयात्मक ढंगले नतिजामूखि कार्य गर्नुपर्नेमा सरकारका आफ्नै विभिन्न निकायहरु बिच आपसी समन्वय नहुदा औद्योगिक एवं लगानीको वातावरण बिग्रदै गएको भन्दै उद्योग संगठन मोरङले चासो व्यक्त गरेको छ । लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड विद्युत महशुलको विवादलाई लिएर नेपाल विद्युत प्राधिकरणले शुक्रबार उद्योगहरुमा पुनः लाईन काटेपछि उत्पन्न परिस्थितीलाई लिएर संगठनले विवाद समाधान गर्ने भन्दा पनि सरकारी निकायहरु बिचमै आफ्नो अनुकुलतामा कहिले लाईन काट्ने कहिले जोड्ने श्रृङ्खला चलेको र यस प्रकारको कार्यले औद्योगिक वातावरण सुद्दृड हुन नसक्ने जनाएकोे छ । विवाद समाधानका लागी जिम्मेवार निकायहरु नेपाल विद्युत प्राधिकरण, नेपाल सरकार तथा अन्य सम्बन्ध सरकारी निकायहरु बिच यस्तो संवेदनशिल विषयका सम्बन्धमा एउटै धारणाका साथ आउनु पर्नेमा तत् निकायहरु बिच मै यो तहको ढिलाई, लिङंरिङ तथा फरक फरक व्याख्या हुने, एउटा विवादको निरुपण यति लामो समयसम्म हुन नसक्दा औद्योगिक वातावरण प्रभावित हुने भन्दै यो विवादको यथाशक्य न्यायोचित समाधान गर्न सरोकारवाला सबैलाई संगठनले अपिल गरेको छ । गलत गर्नेले उन्मुक्ती कदापी पनि पाउनु हुदैन भन्ने कुरामा संगठन स्पष्ट रहेको जनाउँदै संगठनले जिम्मेवार निकायहरुले समन्वयात्मक ढंगबाट यो विवादित समस्याको तत्काल समाधान गरि समग्र नीजि क्षेत्रप्रति बढ्दै गरेको नकारात्मक भाष्यप्रति संवेदनशिल हुन नेपाल सरकार तथा सम्बन्धी सबैलाई आग्रह गरेको छ ।
सिंगापुरका काम लगाइदिने भन्दै करोडौं रकम असुल्ने सुजन आचार्य विमानस्थलमै पक्राउ
काठमाडौं । युवा सुजन आचार्य पक्राउ परेका छन् । उनी शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । ठगी आरोपमा आचार्यविरुद्ध पक्राउका लागि इन्टरपोलमा नोटिस जारी गरिएकाे थियाे । उनलाई अध्यागमन र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई प्रहरी परिसर काठमाडौं, भद्रकालीमा राखिएको छ । आचार्य २ वर्षअघि करोडौं रुपैयाँ ठगेर फरार भएका थिए । झण्डै ५० भन्दा बढी युवाहरूले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । उनले सिंगापुरका हाेटलमा काम लगाइदिने भनी थुप्रै युवाबाट कराेडौं रकम असुलेर फरार भएका थिए । इन्टरपोलमा नोटिस जारी गरेको भए पनि आचार्य आफै आज विमानस्थल झरेपछि अध्यागमन कार्यालयले पक्राउ गरेको हो । उनले पीडितहरूलाई पैसा फिर्ता गरेर मुद्दा मिलाउन स्वदेश आएको दावी गरेका छन्। सिंगापुरमा काम लगाइदिने भन्दै आचार्यले अनुमानित १० करोड रुपैयाँ ठगेको हुनसक्ने बताइएकाे छ ।
कलंकीको भाटभटेनीमा काठमाडौं महानगरको डोजर
काठमाडौं । काठमाडौं महानगरले कलंकीस्थित भाटभटेनीमा डोजर चलाएको छ । महानगरले चक्रपथको जग्गा मिचेको भन्दै शुक्रबार दिउँसो डोजर चलाएको हो । महानगरले भाटभटेनीको चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको हाे । चक्रपथको ‘राइट अफ वे’ क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै महानगरले हटाउन आग्रह गरेकाे थियाे । उक्त आग्रह भाटभटेनीले अटेर गरेपछि डोजर चलाइएकाे हाे । महानगरले सार्वजनिक जग्गा अतिक्रमित गरी बनाएकाे दुईवटा शौचालय पनि भत्काएकाे छ ।
अध्ययन भन्छ- धेरैजसो हृदयघात सोमबारको दिन किन हुन्छ ?
सांकेतिक तस्बिर । काठमाडौं । हृदयघात (हर्टअट्याक) कसलाई कतिखेर आउँछ थाहा नै हुँदैन । आजभोलि विश्वमै हृदयघात भएर ज्यान गुमाउनेको संख्या बढ्दो छ । नेपालमा पनि धेरैजसोको मृत्यु हृदयघातबाटै भएको सुनिन्छ । हृदयघात कुन बेला हुन्छ, कसरी हुन्छ भनेर विभिन्न अध्ययन-अनुसन्धानले आ-आफ्नै तर्क पेस गरेका छन् । तर एउटा अनुसन्धानले अन्य दिनभन्दा सोमबारको दिनमा हृदयघात हुने गरेको देखाएको छ । चिकित्सक र केही रिपोर्टहरूले सोमबार हृदयघात बढी हुने बताएका छन्। आउनुहोस्, हर्टअट्याकको समय के हो ? यो विषयमा संक्षिप्त वर्णन गरौं । धेरैजसो हृदयघात दिनको कुन समयमा हुन्छ ? आधुनिक समयमा हृदयघातको जोखिम निकै बढेको छ । अहिले वृद्धवृद्धा मात्र नभई युवाहरू पनि हृदयघातको शिकार बन्दै गएका छन् । ठूला सेलिब्रेटीहरू पनि सानै उमेरमा हृदयघातको सिकार हुने गरेका छन् । हर्टअट्याकको कुनै निश्चित समय नभए पनि के तपाईंलाई थाहा छ?- अधिकांश हृदयघात एक निश्चित दिनमा हुने गर्दछ । हो, ब्रिटिस हार्ट फाउन्डेसनको रिपोर्टले अधिकांश हृदयघात सोमबार हुने गरेको दाबी गरेको छ । अन्य दिनको तुलनामा यो दिनमा हृदयघातको दर १३ प्रतिशत बढी हुन्छ । धेरैजसो व्यक्ति सोमबारलाई ‘ब्लु सोमबार’ पनि भन्ने गर्छन् । यसैगरी, सोमबार बिहान ६ देखि १० बजेसम्ममा सबैभन्दा बढी हृदयघात हुने गर्छ । तर यसबारे कुनै ठोस वा सही अनुसन्धान भने भएको छैन । केही मुख्य कारणहरू यस्ता काममा फर्कने तनाव साप्ताहिक रूपमा आराम गरेपछि काममा फर्किंदा धेरैलाई मानसिक तनाव हुन्छ । सोमबार कामको चापले अचानक तनाव र ब्लड प्रेशर बढाउँछ, जसले हृदयघातको जोखिम बढाउँछ । सुत्ने तालिका बदलिनु धेरैले राति ढिलोसम्म जागै बसी बिहान ढिलो उठ्ने गर्छन् । यसले शरीरको प्राकृतिक घडीमा परिवर्तन ल्याउँछ । जसले उनीहरूको निन्द्रा पूरा नहुन सक्छ । अनिद्राको कारण हृदयमा तनाव पर्न जान्छ, जसले हृदयाघातको जोखिम बढाउँछ । शारीरिक गतिविधि अचानक बढाउनु कतिपयले सोमबारदेखि व्यायाम सुरु गर्ने सोच बनाउँछन् । तर अचानक कडा व्यायाम गर्दा हृदयमा तनाव पर्न जान्छ, विशेषगरी यदि शरीर तयार नभएको खण्डमा हृदयघात हुनसक्ने सम्भावना हुन्छ । कार्डियोथोरासिक सर्जन डा. श्रीराम भन्छन्, ‘सोमबार बिहान उठ्दा रगतमा कोर्टिसोल हर्मोनको स्तर निकै उच्च रहन्छ । यसले सर्काडियन लय, सुत्ने र उठ्ने चक्रको परिणाम हुन सक्छ । कोर्टिसोल हर्मोनमा अचानक उतारचढावका कारण, निद्रा र ब्यूँझने चक्र प्रभावित हुन्छ । यस्तो अवस्थामा हृदयाघातको सम्भावना बढ्छ ।’ एजेन्सीको सहयाेगमा
कामना सेवा विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’ बाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्रअन्तर्गत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने भएको हो । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुसासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो । बैंकले आफ्नो १७ औं वार्षिक साधारणसभामा पेस गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा सेयरधनीहरू तथा सरोकारवालाहरूलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो । साफाले ११ नोभेम्वर २०२४ मा श्रीलंकाको कोलम्बाेमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार हो जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, मालदिभ्स र अफगानिस्तान लगायत विभिन्न एघारवटा दक्षिण एसियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहरू समावेश छन् । साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरूको मूल्याङ्कन गरी विभिन्न विधामा अवार्डहरू प्रदान गर्दै आइरहेको छ । बैंकको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालवाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३’ मा वित्तीय सेवा क्षेत्रतर्फको विधामा प्रदान गरिने सिल्भर अवार्डसमेत प्राप्त गर्न सफल भएकाे थियो ।
व्यापार घाटाले बन्द हुँदैछन् उद्योग, व्यवसायी विदेश पलायन हुँदै
फाइल फोटो तुलसीपुर । दाङ घोराहीको गौतम पोल्ट्रीफार्म केही वर्ष राम्रो चल्यो तर जब कोरोनाका कारण बन्दाबन्दी भयो, त्यसपछि अन्ततः बन्द हुने अवस्थामा पुग्यो । फार्ममा करिब डेढ करोड लगानी लागेको थियो । तर, कोरोनाले गर्दा त्यो लगानी नउठेपछि अहिले बन्दै गर्नुपर्ने अवस्था आएको सञ्चालक लीलाधर पाठक बताउँछन् । ‘तीन र चार वर्ष राम्रै चल्यो’, उनले भने, ‘जब कोराना सुरु भयो त्यसपछि घाटाको घाटा भएपछि अहिले बन्दै गर्नुपर्ने अवस्थामा पुग्यो ।’ त्यस्तै पाल्पाका श्याम घर्तीले पनि तीन/चार वर्षजति चलाएको रेष्टुरेन्ट बन्द गरे । रैनादेवी छहरा–३ मा रेष्टुरेन्ट सञ्चालन गरेका उनले रेष्टुरेन्टबाट घाटा भएपछि त्यो बेचेर किराना पसल मात्रै चलाएका छन् । ‘यसमा पनि पहिले जस्तो व्यापार छैन’, उनले भने । उनले पनि रेष्टुरेन्टमा गरेको लगानी समेत उठाउन सक्नु भएन । रेष्टुरेन्टमा झण्डै सात लाख रुपैयाँ लगानी भएको थियो । त्यस्तै दाङ घोराहीकै गीता थापाले स्थानीय जातका कुखुरापालन र तरकारी खेती गरेकी थिइन् । चार वर्षअघि घरेलु कार्यालयमा दर्ता गरेर व्यावसायिक रुपमा शुरु गरेकी व्यवसाय पछिल्लो समय कर तिर्ने पैसासमेत नभएपछि फाम बन्द गर्न बाध्य भइन् । कर कार्यालयमा सात हजार पाँच सय र वडा कार्यालयमा दुई हजार दुई सय रुपैँयासम्म तिर्न सक्ने अवस्था नभएपछि आफूले फाम बन्द गरेको उनको भनाइ छ । फाम बन्द गरेको भए पनि घरायसी प्रयोजनका लागि कुखुरापालन र तरकारी खेती गरिरहेकी छन् । यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय ब्यापार घाटा भएको भन्दै घरेलु तथा साना उद्योगहरु बन्द हुने क्रम बढिरहेको छ । लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार उद्योग बन्द भएका छन् । लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेशका चार हजार ५२ उद्योग बन्द भएका छन् । यसमा वाणिज्यतर्फ एक हजार नौ सय ३३ र उद्योगतर्फ दुई हजार एकसय १९ घरेलु तथा साना उद्योग बन्द भएको निमित्त निर्देशक ईश्वरचन्द्र अर्यालले बताए । सबैभन्दा बढी दाङका आठ सय ७६ उद्योग बन्द भएका छन् भने सबैभन्दा कम रुकुम पूर्व र अर्घाखाँचीका ५२/५२ उद्योग बन्द भएका छन् । दर्ता घट्न थाले, बन्द हुने बढे पछिल्लो समय लुम्बिनीमा दर्ता हुनेभन्दा बढी बन्द हुने उद्योगहरु बढ्न थालेका छन् । विगतमा बन्द हुने अत्यन्तै न्यून हुने गरेको भए पनि गत आवदेखि बन्द हुने बढी र दर्ता हुने न्यून हुँदै गएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले बताए । कोरोनापछि व्यापार व्यवसाय धरापमै रहेकाले साना उद्योगहरु बन्द हुने क्रम बढेको उनको भनाइ छ । ‘कोरोनापछि मुलुकमा आर्थिक मन्दी छ, ब्यापार घाटा छ’, उनले भने, ‘त्यसले गर्दा पनि उद्योगहरु बन्द भइरहेको अवस्था छ ।’ उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योगहरु बन्द भइरहेको उनको भनाइ छ । उत्पादनमूलक उद्योगमा कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी मालबस्तु उत्पादन गर्ने उद्योगहरु छन् । त्यस्तै कृषि तथा वन पैदावार उद्योगमा कृषि वा वन पैदावारमा आधारित कच्चा पदार्थबाट कुनै वस्तु उत्पादन गर्ने वा कृषि वा बन पैदावारमा आधारित उद्योगहरु तथा ऊर्जा उत्पादन गर्ने व्यवसायमा संलग्न ऊर्जामूलक उद्योगहरु पनि बन्द भइरहेका छन् । ढुङ्गा, गिटी, बालुवासम्बन्धी काम गर्ने उद्योगहरु, पर्यटन सेवासँग सम्बन्धित उद्योगहरु तथा सूचना सङ्कलन प्रशोधन र प्रसारणका लागि प्रविधि प्रयोग गरी सूचना, सञ्चार वा सूचना प्रविधिको सेवा उपलब्ध गराउने उद्योगहरु बन्द भइरहेका छन् । व्यवसाय नचलेको भन्दै यसरी बन्द गर्न आउने गरेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी मनोज घिमिरेले बताए । ‘बन्द गर्न आउँदा धेरैलाई हामी कारण सोध्छौँ’, उनले भने, ‘ती सबैले व्यापार घाटा भएकाले बन्द गरेको जवाफ दिन्छन् ।’ अधिकांश युवा विदेश पलायन हुने तथा आर्थिक मन्दीले गर्दा त्यसको मार व्यापार, व्यवसायमा पर्ने गरेको उनको भनाइ छ । रुकुमपूर्वमा समेत उद्योग बन्द गर्न भन्दै दैनिक दुई/तीन जना आउने गरेको घरेलु तथा साना उद्योग कार्यालय रुकुमपूर्वका सूचना अधिकारी सन्तोष मल्ल बताउँछन् । उनका अनुसार केहीले कार्यालयमै आएर उद्योग बन्द गर्ने गरेको भएपनि केहीले भने उद्योग बन्द मात्रै गरेका छन् । उत्पादनले मूल्य नपाउने, बिक्रीसमेत नहुनेजस्ता कुराले पहाडी क्षेत्रको व्यवसायमा असर गरेको उनको भनाइ छ । उद्योग बन्दसँगै रोजगारी पनि गुम्दै उद्योग बन्द हुँदा रोजगारी पनि गुम्दै जाने गरेको छ । त्यसले थप बेरोजगारी बढाउने गरेको लुम्बिनी प्रदेश उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय निमित्त निर्देशक अर्यालले बताए । उनका अनुसार करिब १२ हजार बढीको रोजगारी गुमेको छ । लुम्बिनीमा गएको वर्ष मात्रै पाँच हजार तीन सय ६१ नयाँ उद्योग थपिएका थिए । यसबाट १५ हजार दुई सय चार जनाले रोजगारी पाएका छन् । यही अनुपातलाई हेर्दा बन्द भएका उद्योगबाट प्रदेशमा १२ हजार बढीको रोजगारी गुमेको छ । ‘उद्योग बन्द हुँदा प्रत्यक्ष रुपमा रोजगारमा पनि असर गर्छ’, उनले भने, ‘उद्योग बन्द हुँदा बेरोजगारको संख्या पनि थपिँदै जाने गर्दछ ।’ गत वर्ष उद्योगरव्यवसायबाट आठ करोड ८० लाख ३९ हजार आठ सय ६६ रुपैयाँ राजश्व संकलन भएको थियो । नयाँ उद्योग, दर्ता, बन्द, संशोधनलगायतबाट उद्योगतर्फ चार करोड २३ लाख १२ हजार छ सय ६६ रुपैयाँ र वाणिज्यतर्फ चार करोड ५७ लाख २७ हजार दुई सय रुपैयाँ राजश्व संकलन भएको छ । लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा उद्योग व्यवसायमा १५ अर्ब ११ करोड ५५ लाख ५४ हजार ७४ रुपैयाँ लगानी थपिएको छ । तीनै तहका सरकारबाट साना व्यवसायीलाई प्रोत्साहन गर्ने नीति नल्याएसम्म नयाँ उद्योग दर्ता हुने र पुरानाले नियमित सञ्चालन गर्ने वातावरण निर्माण नहुने घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले बताउँछन् । ‘झन्झटिलो कर प्रणाली, आयातित वस्तुले स्थानीय उत्पादनलाई विस्थापित गर्नु जस्ता कारणले पनि साना उद्योगहरु चल्न सकेका छैनन्’, उनले भने । ‘ठूला उद्योग पनि मारमै छन्’ साना उद्योग मात्रै होइन, ठूला उद्योगहरुको अवस्था पनि त्यस्तै छ । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रामप्रसाद चालिसेले ठूला व्यवसायीहरु पनि मारमा परेको बताए । उनले चाररपाँच वर्षअघि जुन ब्यापार हुन्थ्यो, त्यस्तो व्यापार अहिले नहुने गरेको बताए । ‘सबै व्यवसायी मारमा छन्, खासगरी कोरोनापछि यो समस्या देखिएको छ’, उनले भने, ‘व्यवसाय नहुँदा यसरी बन्द हुने क्रम बढेको हो ।’ पछिल्लो समय व्यवसायीहरु भाडासमेत तिर्नसक्ने अवस्थामा नभएको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । धेरै व्यवसायीहरु पलायन भइरहेको र यही अवस्था केही समय रहेमा पलायन हुनको संख्या अझै बढ्नसक्ने उनले बताए । व्यवसाय बन्द हुनु भनेको आर्थिक गतिविधि कम हुनुभएको भन्दै आर्थिक रुपमा सबल बनाउनका लागि साना उद्योगहरु चलाउनुपर्ने उनको भनाइ छ । उनले सरकारले उत्पादित वस्तुलाई बजारीकरण गर्ने, व्यवसायीको सुरक्षाको प्रत्याभूति गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । रासस
राखेपका पूर्व सदस्यसचिव राणाको निधन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको शुक्रबार निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो । राणाको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राखेपको प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए । उनका अनुसार श्रद्धाञ्जली अर्पण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरू प्रेमबहादुर मल्ल, सरोज पोखरेलसहित कर्मचाहरूको उपस्थिति थियो । राखेपको दोस्रो सदस्यसचिवका रुपमा राणाले छ वर्षसम्म नेपाली खेलकुदका क्षेत्रमा योगदान पुर्याएका थिए। विसं २०१७ देखि विसं २०२४ सम्म राणा परिषद्को सदस्यसचिव भएका थिए । नेपाल ब्याडमिन्टन संघको सस्थापक अध्यक्ष भएका राण हाल आजीवन मानर्थ अध्यक्षको रुपमा रहेका संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए । राणाको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ ।