विकासन्युज

एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, खाेजतलास जारी, उडान सामान्यरूपमा सञ्चालन

काठमाडौं । पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एकसाताको अवधिमै नेपालमा दुईपटक यस्तो अफवाह फैलाइएको छ । काठमाडौंबाट भारतको नयाँदिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओराली जाँच भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको विमानमा बमको हल्लापछि अहिले जाँच भइरहेको छ । हालसम्म कुनै शङ्कास्पद वस्तु फेला परेको छैन । ‘भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर, अहिलेसम्म त्यस्तो कुनै शङ्कास्पद बस्तु फेला परेको छैन,’ प्रवक्ता कार्कीले भने । एयर इण्डियाको एआई–२१६ विमानमा बमको हल्लापछि अहिले विमानको जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उक्त विमानको जाँच प्रक्रिया चलिरहे पनि विमानस्थलको आन्तरिक र अन्तराष्ट्रिय दुबै उडान सामान्यरूपमा सञ्चालन भइरहेको छ । दिउँसो २ बजे काठमाडौँ विमानस्थलमा अवतरण भएको एयर इण्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच गरिरहेको छ । सो विमान काठमाडौंबाट एकयस ५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो । यसअघि यही कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो । भारतको नयाँदिल्लीबाट भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा जाँच गरिएको थियो । उक्त विमानमा पनि कुनै शङ्कास्पद वस्तु फेला परेको थिएन ।

चीनमा सम्पन्न भयो ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट

काठमाडौं । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट(शिखर सम्मेलन) चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ । उक्त समिटअन्तर्गतको ‘लार्ज-स्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौं महासचिव वान की-मुनले सहभागिता जनाएका थिए । सम्मेलनमा ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनी र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच ‘चेरिस नेचर’ नामक ग्लोबल कोअपरेसन प्रोजेक्ट (सहयोग परियोजना)मा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ पनि भएको थियो । सम्मेलनमा वान की-मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्र (ग्लोबल न्यू इनर्जी सेक्टर)मा ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनीको योगदानप्रति प्रशंसा गरे । उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वलाई जोड दिनुका साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो-कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गरे । सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङले पनि सहभागिता जनाएका थिए । आफ्नो ग्रुपभरिमा नै नयाँ ऊर्जाको क्षेत्रमा अग्रणी ब्रान्ड रहेको ओमोडा एन्ड जेइको, इएसजी इनिसिएटिभको अग्रपङ्क्तिमा रहेर विश्वव्यापी रणनीतिहरूमार्फत स्थानीय विकास(लोकल डेभलपमेन्ट) प्रवर्द्धन गर्दै प्राविधिक विकासमार्फत प्रणालीगत सुधार तथा नवप्रवर्तन (इनोभेसन) गर्न प्रतिबद्ध रहेको छ । यसका साथै, ओमोडा एन्ड जेइकोले आफ्नो रणनीतिलाई ‘उत्पादन-उन्मुख’ बाट ‘प्रविधि-उन्मुख’ तर्फ सफलतापूर्वक परिवर्तन गरेको छ । नयाँ प्रविधि विकासमा प्रयोगकर्ताको माग तथा आवश्यक्तालाई प्राथमिकतामा राखी, नयाँ ऊर्जा प्रविधिको साथमा उत्कृष्ट विश्वव्यापी उत्पादन प्रणाली (ग्लोबल प्रोडक्ट सिस्टम) सिर्जना गर्नमा ओमोडा इन्ड जेइको सफल भएको छ । एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा एन्ड जेइको अटोमोबाइल्स लिमिटेडको आधिकारिक वितरक हो ।

टिकापुरमा ३८ वर्षपछि विमान उडान

जानकी (बाँके) । कैलालीको टिकापुरमा सोमबार विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ । आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगम र तारा एयरको विमान परीक्षण उडान गरिएको हो । संस्कृति प्रयटन तथा नागरिक उडड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालन गरिने बताए । उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ । स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले वि सं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याएका थिए । तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ पछिको द्वन्द्वकाल सुरु भएसँगै नियमित विमान सेवा रोकिएको थियो । झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमान स्थलमा नियमित उडानका लागि आज नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ । परीक्षणका लागि टीकापुर विमानस्थलमा नेपाल ऐरलायेन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, उज्जवल सिलवाल सहित म्यानेजर ज्ञानेन्द्र भूल इन्जिनियर सम्राट प्रधान, सुरेन्द्रप्रसाद यादव, युवराज रिजाल, एयरहोस्टेज डिम्पल भट्टराई एटिसी राजु महतोसहित १२ जनाको टोली आएको थियो ।

तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने

काठमाडौं । यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार मालामात्र निर्यात भएको थियो । एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको बताए । नेपाली धेरै बसोबास गर्ने अन्य देशमा पनि मालाको माग बढिरहेको उनले जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भइसकेको फ्यानले जनाएको छ । यद्यपि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसका लागि प्रयोग हुने रातो गुलाफको फूलमा अझै आत्मनिर्भर हुन नसकिएको जनाइएको छ । यस वर्षको तिहारको लागि ४० लाख सयपत्री फूलको माला चाहिने अनुमान गरिएकामा २५ लाख मालाका लागि मात्र नेपालमा उत्पादन हुने गरेको बाँकी भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको सोसिएसनले जनाएको छ । हरेक वर्ष बजार माग १५ देखि २० प्रतिशतले बढ्ने र मागअनुसार फूल उत्पादन हुन नसक्दा सयपत्री फूलमा आत्मनिर्भर हुन नसकेको एसोसिएसनका अध्यक्ष बादेले जानकारी दिए । उनका अनुसार गत वर्षभन्दा यस वर्ष सात लाख बढी मालाको बजार माग छ । गत वर्षको तिहारमा ३३ लाख मालाको माग भएको थियो । यस वर्ष तिहार उपयुक्त समयमा परे पनि गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण फूलखेतीमा  ठूलो नोक्सानी बेहोर्नु परेको छ । वर्षाको कारण १५ करोड रुपैयाँ बराबरको नोक्सान भएको एसोसिएसनले जनाएको छ । नेपालमा व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएका एसोसिएसनको तथ्यांक छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गर्ने गरेका छन् ।

पछिल्लो समय बैंकहरूको एनपीए वृद्धि हुँदै जानु गम्भीर विषय हो : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताएका छन् । सोमबार काठमाडौंमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैँ, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार मौद्रिक नीतिमा उल्लेख भएअनुसार कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताए । पछिल्लो समय बैंकहरुको एनपीए वृद्धि हुँदै जानु गम्भिर विषय भएको उल्लेख गरे । व्यवसायीहरुको मनोबल कमजोर हुँदा लगानी हुन नसकेको जानकारी दिए । उनले साढे ११ र १२ प्रतिशत (६५४ अर्ब) को कर्जा प्रवाह गर्ने मौद्रिक नीतिमा उल्लेख भएपनि पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार हुनसक्ने नदेखिएको जानकारी दिए । सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नुपर्ने बताए । ‘सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नु पर्ने अवस्था भएपनि नहुने अवस्था देखिन्छ । राष्ट्र बैंकले वित्तीय क्षेत्र स्थायीत्वको लागि महत्वपूर्ण एजेण्डाको रुपमा लिएको छ । त्यसैको कारण विभिन्न ठूला संकट आउँदा पनि वित्तीय क्षेत्रलाई सवल बनाइ राख्न सफल भएका छौं’, उनले भने । उनले स्थानीय, राष्ट्रिय अन्तर्राष्ट्रिय, सप्लाई चेन, उपभोक्ताको मागमा कमी भएका कारणले नेपालका व्यवसायीहरूले लगानी गर्न नसकेको जानकारी दिए ।

दिल्ली उड्ने तयारीमा रहेको जहाजमा बम रहेको सूचना, चेकजाँच सुरु

काठमाडौं । काठमाडौंबाट दिल्ली उड्ने तयारीमा रहेको जहाजमा बम रहेको सूचना आएपछि चेकजाँच सुरु भएकाे छ । एयर इण्डियाको जहाजमा बम रहेको सूचना भारतबाट आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको विमानस्थल स्रोतले जनाएकाे छ । जहाज सोमबार अपराह्न २ः४१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकाे थियाे । उक्त जहाज फर्किने तयारी गरिरहेका बेला भारतबाट जहाजमा बम रहेकाे सूचना आएकाे हाे । चेकजाँचकाे क्रममा तालिमप्राप्त कुकुर पनि प्रयाेग गरिएकाे छ । याे पनि पढाैं : ‘जहाजमा बम छ’ भन्ने हल्लाले अर्बौं घाटा, डरैडरले उडान भर्दै कम्पनी गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम रहेकाे सूचना आएपछि खाेजतलास सुरु गरिएकाे थियाे । यद्यपि कुनै पनि शंकास्पद वस्तु भेटिएकाे थिएन । खाेजतलास ६ घन्टासम्म चलेकाे थियाे । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमअनुसार कम्तीमा ६ घण्टासम्म खाेजतलास गर्नुपर्छ । भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको थियाे । भारतीय जहाजमा पछिल्लाे समय बम राखिएकाे हल्लाले आतंक मच्चाएकाे छ ।

३ महिनामा निर्जीवन बीमाको व्यापार साढे ११ अर्ब, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीको व्यापार साढे ११ अर्ब रुपैयाँभन्दा धेरै भएको छ । निर्जीवन बीमा कम्पनीहरूले चालु आवको ३ महिनामा ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ भन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा ४ वटा लघु निर्जीवन र १४ वटा जनरल इन्स्योरेन्स कम्पनी गरी जम्मा १८ वटा निर्जीवन बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये सबैभन्दा धेरै व्यापार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँको व्यवसाय गरेको छ । यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्सले ३ महिनामा १ अर्ब १२ करोड रुपैयाँकोकुल बीमाशुल्क संकलन गरेको छ । यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ करोड ८७ लाख, आइजीआई प्रुडेन्सियलले ९० करोड ९ लाख, नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख, दी ओरिन्टल इन्स्योरेन्सले ८३ करोड ७६ लाख, एनएलजी इन्स्योरेन्सले ७५ करोड २२ लाख, नेपाल इन्स्योरेन्सले ६१ करोड ४५ लाख र यूनाईटेड अजोडले ६८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्सले ५८ करोड ८९ लाख, राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ३९ लाख, प्रभु इन्स्योरेन्सले ४७ करोड ७२ लाख र नेशनल इन्स्योरेन्सले ४१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । लघु निर्जीवन बीमक चारवटा लघु निर्जीवन बीमा कम्पनीले १८ करोड ५६ लाख रुपैयाँको व्यापार गरेका छन् । जसमध्ये नेपाल माइक्रोले ५ करोड ५० लाख, प्रोटेक्टिभ माइक्रोले ४ करोड ६१ लाख, स्टार माइक्रोले ४ करोड १८ लाख र ट्रस्ट माइक्रोले ४ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । लघु बीमा कम्पनीले ३ महिनामा ६९ हजार ७९० वटा बीमालेख जारी गरेका छन् ।

बर्सेनि ५ लाख रोजगारीको अवसर सिर्जना नगरेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहन्छ : श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बर्सेनि ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताएका छन् । सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताए । बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा कमी नहुने जानकारी दिए । उनले बर्सेनि सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए । अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबैकुरा अनुकुल बनिरहेको बताए । वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभइ काम गर्नका लागि बनेको बताए । सरकारलाई असफल हुने छुट नरहेको जानकारी दिए । ‘कहिले अवसरका खोजि भन्छौँ, जे भनेपनि सत्य कुरा के हो भने यो मुलुकमा हरेक वर्ष ५ लाख मानिस श्रम बजारमा आउँछन्, १ लाख मानिसले यो मुलुकको श्रम बजारमा रोजगारी पाउँछन् । ४ लाख मानिस बेरोजगार छन्’, उनले भने । श्रममन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको जानकारी दिए ।