विकासन्युज

दाहालसहित माओवादीका १३ नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । युवराज पौडेल ‘सफल’ले माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी हालेका छन् । सफलले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै उजुरी हालेका हुन् । उजुरीमा राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले उनीहरूलाई पक्राउ गरी हदैसम्मको कारवाही माग गरिएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौतापछि लडाकु समायोजन र अवकाशका लागि सरकारी कोषबाट ६ वर्षको अवधिमा झण्डै २० अर्ब रुपैयाँ खर्च भएको थियाे । यो रकमबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन थालेको बताएपनि पछि सामसुम पारिएको थियो । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले ५५ करोड बेरुजु देखाएको थियो । करिब ४ अर्ब माओवादी नेतृत्वले हिनामिना गरेको आरोप लाग्दै आएको छ । लडाकु शिविरमा घोटाला भएको प्रसंग पटक-पटक उठेपछि माओवादी अध्यक्ष दाहालले क्यान्टाेनमेन्टमा दोषी देखिए जेल जान तयार रहेको बताएका थिए । उजुरी पढ्नुहोस् [pdf id=519793]

मन्दिरमा पटाका विस्फोटमा १५० भन्दा बढी घाइते

काठमाडौं । भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मंगलबार बताएको छ । प्रहरीले घटनामा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय पत्रपत्रिकाहरूले पोस्ट गरेका भिडियोहरूमा देखाएअनुसार सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एउटा हिन्दू मन्दिर वरिपरि सयौँ मानिसहरू आतसबाजी हेर्न भेला भएका थिए । भिडियोमा त्यसपछि एउटा भवन भित्रबाट चर्को आवाज सुनिन्छ र एक शक्तिशाली आगोको गोला आकाशमा माथि उठ्छ । ‘करिब आठ जनाको अवस्था गम्भीर छ र करिब एक सय ५४ जना घाइते भएको रिपोर्ट छ, तीमध्ये ९७ जना अस्पतालमा भर्ना छन्’, स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले भने, ‘उनीहरूले पटाका भण्डारण गरिएको ठाउँ नजिकै पटाका फुटाए ।’ द्यवैयाले फुटेका पटाकाका झिल्काहरू भण्डारण गरिएको पटाकासम्म पुगेको बताए । भारतीय सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै बाक्लो भीडमा रहेका मानिसहरूको अनुहार र हातमा जलन भएको बताएका छन् । स्थानीय सरकारी अधिकारी के। इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नदिइएको बताए । द हिन्दू पत्रिकाले मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको जनाएको छ । भारतमा धार्मिक जमघटहरूमा सुरक्षा कमजोरी र भीड व्यवस्थापनमा कमीका कारण घातक घटनाहरूको दुःखद इतिहास छ । सन् २०१६ मा हिन्दू नयाँ वर्षको अवसरमा एक मन्दिरमा प्रतिबन्धित पटाका प्रदर्शनीमा भएको ठूलो विस्फोटमा कम्तीमा एक सय १२ जनाको मृत्यु भएको थियो । भारत यस हप्ताको अन्त्यमा हिन्दू चाड दीपावलीको अवसरमा हुने प्रमुख आतसबाजी मौसमका लागि तयार हुँदैछ । यो भव्य र रङ्गीन चाडले हिन्दू देवी लक्ष्मीको पूजा गर्छ र अँध्यारोमाथि उज्यालोको विजयको प्रतीक मान्छ । पटाकाले हानिकारक तीतो धुवाँ फैलाउँछ । राजधानी नयाँदिल्लीले खतरनाक वायु प्रदूषण रोक्न पटाकामा प्रतिबन्ध लगाएको छ । हिन्दू भक्तजनहरूको पटाकाप्रतिको बलियो धार्मिक भावनाका कारण प्रहरी प्रायः उल्लङ्घनकर्ताहरू विरुद्ध कारबाही गर्न अनिच्छुक हुन्छन् । रासस

वैदेशिक रोजगार बीमा: पुलमा गएपछि सुस्ताए नेपाल र आइएमई, आक्रामक बन्दै सन र एशियन

काठमाडाैं । वैदेशिक रोजगारी म्यादी जीवन बीमामा पुल प्रणाली लागू गरेपछि केही कम्पनीको व्यवसाय सुस्ताएको छ भने केही कम्पनी झन आक्रामक बन्दै गएका छन् । नेपाल बीमा प्राधिकरणले गत साउन एक गतेदेखि लागू हुनेगरी वैदेशिक रोजगारी म्यादी जीवन बीमामा पुल प्रणाली लगेको छ । पुल प्रणाली लागु भएपछि नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफको व्यपार घटेको छ । यसैगरी, एशियन लाइफ इन्स्योरेन्स, सन नेपाल इन्स्योरेन्स व्यापारमा उच्च वृद्धि भएको छ । नेशनल लाइफको व्यापारमा सामान्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्यांकलाई गत आवको सोही अवधिको तथ्यांकसँग तुलना गर्दा यस्तो देखिएको हो । चालु आवको पहिलो त्रैमाससम्मको तथ्यांकलाई हेर्ने हो भने व्यवसाय वृद्धिमा एशियन लाइफ अगाडि छ । एसियन लाइफले गत आवको सोही अवधिको तुलनामा १६६.९६ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । एशियल लाइफले चालु आवको पहिलो त्रैमासमा वैदेशिक रोजगारी म्यादी जीवन बीमातर्फ ११ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यसैगरी, सन नेपालले १०४ प्रतिशतले व्यापार वृद्धि गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले गत आवको सोही अवधिमा १६ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यता आईएमई लाइफ इन्स्योरेन्सको व्यापार ८५ प्रतिशतले खस्किएको छ । कम्पनीले वैदेशिक रोजगार बीमा पोर्टफोलियोअन्तर्गत चालु आवको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस्तै, नेपाल लाइफको व्यापार ५४ प्रतिशतले घटेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको सोही कम्पनीले गत आवमा १४ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यसैगरी, सिटिजन लाइफको व्यापार ४३ प्रतिशतले, रिलायबल लाइफको ४० र सूर्यज्योति लाइफको व्यपार २८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षदेखि लघु बीमा कम्पनीहरूले पनि वैदेशिक रोजगारी म्यादी जीवन बीमा पोलिसी बिक्री गर्न थालेका छन् । पहिलो त्रैमासमा गार्डियन माइक्रो लाइफले ५६ हजार, क्रेष्ट माइक्रो लाइफले ९६ हजार र लिबर्टी माइक्रो लाइफले ३ लाख ६० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल मेडिसिटी अस्पतालमा ‘स्ट्रोक युनिट’ सुरु

काठमाडौं । विश्व स्ट्रोक दिवसको अवसरमा नेपाल मेडिसिटी अस्पतालले नेपालमै उत्कृष्ठ स्तरको ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । विरामीलाई छिटो स्ट्रोक विशेष सेवा प्रदान गर्नका लागि उक्त युनिट सञ्चालनमा ल्याइएको हो । स्ट्रोक युनिटका लागि तालिम प्राप्त नर्सिङ सेवा देखि छुट्टै बेड, अपरेशन थिएटर, आईसियु र जाँच गर्ने ठाउँ छुट्याइएको छ । त्यस्तै यो युनिट सञ्चलान गर्नका लागि अस्पतालले अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल र गाइडलाईन तयार पारेको छ जसमा स्ट्रोकको आपतकालीन अवस्थाको मुल्याङकन गर्ने, कुन अवस्थामा थ्रोमबेकटोमी तथा थ्रोमबोलाइसिस् उपचार विधि अपनाउने, विरामीलाई स्वालोइङ तथा स्पिच थेरापी, फिजियोथेरापी र डिकम्प्रेसिभ हेमिक्राइनेकटोमीको आवश्यकता पर्छ, त्यही अनुसार सेवाहरुको व्यवस्था गरिएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा स्ट्रोकका विरामी बढ्दै गएको र यसको अपतकालीन समयबारे मानिसहरुमा कम जनचेतना रहेका कारण उक्त युनिट सञ्चालनमा ल्याइएको बताए । ‘हामीले स्ट्रोक युनिट अस्पताल तथा चिकित्सकहरुको प्रचारका लागि नभई मानिसहरुमा जनचेतना जगाउन र यस अवस्थाबाट गुज्रेका विरामीहरुलाई सेवा प्रदान गर्न शुरु गरेका हौं,’ उनले भने । स्ट्रोक युनिटलाई पूर्ण रुपमा सञ्चालन गर्न अस्पतालमा हेलिकप्टरद्धारा उद्धार गर्ने सुविधा पनि उपलब्ध रहेको छ । स्ट्राकको विरामीलाई स्ट्रोकको लक्षण देखाएको केही घण्टाभित्रै उपचार पुर्याउनुपर्ने भएका कारण हेलिकप्टरबाट उद्धारसँगै स्ट्रोक टीम पनि उपचारका लागि साथ रहन्छ । न्यूरोलोजी विभाग तथा स्ट्रोक युनिटका प्रमुख डा.बाबुराम पोखरेलले नेपालमा स्ट्रोकका विरामीहरुका लागि यसरी विशेष स्ट्रोक युनिट सञ्चालनमा ल्याउनु भनेको एकदमै राम्रो कदम रहेको बताए । उनले अन्य विरामीहरु माझ स्ट्रोकका विरामीलाई राखेर उपचार गर्नुभन्दा छुट्टै ठाउँमा राखेर उपचार गर्दा चाँडो निको हुने सम्भावना धेरै र पुर्नस्थापना पनि छिटो हुने बताए । ‘स्ट्रोक युनिटमा रहँदा विरामीलाई आपतकालीन उपचार, होमियोस्टेसिसको सामान्यीकरण, जटिलताहरुको रोकथाम, पुर्नस्थापना देखि विभिन्न विभागहरुबाट पनि हेरचाह गर्ने प्रबन्ध मिलाइएको हुन्छ, जसले गर्दा मृत्यु र अशक्तताको जोखिमलाई कम गर्दछ’, उनले भने । डा. पोखरेलले यो युनिटको आवश्यकता पर्नुको अर्को मुख्य कारण भनेको बढ्दै गएको स्ट्रोेकको विरामीको संख्या रहेको बताए । हृदयघात पछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । हरेक ४ जनामा एक जनालाई स्ट्रोक हुने सम्भावना रहन्छ । त्यस्तै नेपालमा रोगका कारण मृत्यु हुनुमा स्ट्रोक चौथो स्थानमा रहेको छ । नेपाल मेडिसिटी अस्पतालमा सञ्चालनदेखि नै स्ट्रोकको उपचार गरिँदै आएको छ । अस्पतालमा दैनिक ४ जना विरामीहरु स्ट्रोकका कारण भर्ना हुने गरेका छन् । एक अध्ययनका अनुसार हरेक वर्र्ष नेपालमा ३३००० मानिसहरुलाई स्ट्रोक हुने गरेको छ । ‘धेरै जसो विरामीहरु ढिला अस्पताल आइपुग्ने गरेका छन् । स्ट्रोकको लक्षण देखिन थालेको ३ देखि ४ घण्टाभित्र अस्पताल आइपुगी उपचार गर्न सके विरामीमा कुनै किसिमका अपाङगता हुने सम्भावना कम रहन्छ । त्यतिबेलासम्ममा ब्रेन ड्यामेज रिभर्स गर्न सकिन्छ, तर ढिला भएमा मानिसको ज्यान देखि जिन्दगीभर अशक्त भई बस्नुपर्ने अवस्था आउन सक्छ,’ डा. पोखरेलले भने ।

पुँजी बजारमा छायो हरियाली, ६ अर्ब बढीको कारोबार

काठमाडौं । देशभर आन्दोलन भइरहेपनि लगानीकर्तामा भने त्यसको प्रभाव नपरेको मंगलबारको पुँजी बजारले देखाएको छ ।  आज पुँजी बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७६ प्रतिशत अर्थात् ४६.६९ अंकले बढेर २ हजार ६९२.०५ अंक बिन्दुमा पुगेर बन्द भएको हो । आज दिनभरि ३१९ कम्पनीको सेयर खरिदबिक्री हुँदा २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । आज यी कम्पनीहरूको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६८ हजार ६१४ पटक खरिदबिक्री हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज विभिन्न ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ भने कर्पाेरेट डेलपमेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशत बढेको छ । मंगलबार अधिकांश समूहमा हरियाली छाएको देखिन्छ । बैंकिङ समूह १.६० प्रतिशत, विकास बैंक समूह २.३२ प्रतिशत, फाइनान्स समूह ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूह २.७७ प्रतिशत, जलविद्युत समूह २.०३ प्रतिशत, जीवन बीमा समूह १.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९७ प्रतिशत, लघुवित्त समूह १.५० प्रतिशत, म्युचुअल फण्ड समूह १.३३ प्रतिशत, निर्जीवन बीमा समूह ३.६० प्रतिशत, अन्य समूह १.५७ प्रतिशत र व्यापार समूह ०.३५ प्रतिशत बढेको नेप्सेले जनाएको छ । आज नेप्सेमा समृद्धि फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २४ करोड ७१ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ८५ लाख रुपैयाँ र साहस उर्जाको १२ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सिटिजन्स क्यापिटलको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलको कार्तिक १२ गते सिन्धुलीेस्थित सिन्धुली बहुमुखी क्याम्पस तथा सिन्धुली उघोग वाणिज्य संघमा विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीे तथा शिक्षकहरूको संम्लग्नता रहेको थियो । त्यस्तै सिन्धुली उघोग वाणिज्य संघमा स्थानीय व्यवसायीहरूको संम्लग्नता रहेको थियो । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

घरमै बसेर गाईभैँसी पालेर वार्षिक ३ करोड कमाउन सफल

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार रुपैयाँमा एकै गाउँका किसानले कमाउन सफल भएका छन् । विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५१७ लिटर दुध बेचेर आठ लाख १२ हजार ४५५ रुपैयाँ कमाउन सफल भएका छन् । सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दूध बेच्नेमध्ये दोस्रो नम्बरका किसान हुन् । उनले एक वर्षमा नौ हजार ८९६ लिटर दूध बिक्री गरेर छ लाख १६ हजार ३२० रुपैयाँ कमाउन सफल भएका छन् । तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्छन् । तोयानाथले एक वर्षमा आठ हजार ५४० लिटर दूध बेचेर पाँच लाख ४८ हजार ४४३ रुपैयाँ कमाएका छन् भने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर पाँच लाख १३ हजार ७०० रुपैयाँ हात पारेका छन् । एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आवमा तीन लाख ७९ हजार १६१ लिटर दूध बेचेर दुई करोड ८९ लाख ७८ हजार रुपैयाँ गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए । चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमितरुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा एक करोड २३ लाख १० हजार रुपैयाँ बचत तथा एक करोड एक लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउँछन् ।

गणपति लघुवित्तको सञ्चालकमा तुलसा खरेल नियुक्त

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा तुलसा खरेल नियुक्त भएकी छन् । कार्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । ‘यस वित्तीय संस्थाको कार्तिक १३ गते मंगलबार बिहान बसेको सञ्चालक समितिको १२२औं बैठकले यस वित्तीय संस्थामा रिक्त रहेको सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा काठमाडौं भाटभटेनीमार्ग निवासी तुलसा खरेललाई मनोनयन गर्ने निर्णय गरेको व्यहोरा जानकारीको लागी अनुरोध छ,’ नेप्सेले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।