रिलायबल नेपाल लाइफको डीसीईओमा तिवारी चयन
काठमाडाैं । रिलायबल नेपाल लाइफको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपेशबाबु तिवारी चयन भएका छन् । कम्पनीको वरिष्ठ सहायक महाप्रबन्धक रहेका तिवारीलाई सञ्चालक समितिले डीसीईओमा चयन गरेको हो । कार्तिक एक गतेदेखि कम्पनी सचिवको जिम्मेवारीसमेत पाएका तिवारीसँग बैंकिङ र बीमा क्षेत्रको करिब दुई दशकको अनुभव रहेको छ । एमबीए र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका तिवारी व्यवस्थापनमा अब्बल मानिन्छन् । उनले फाइनान्स कम्पनीबाट आफ्नो करिअर सुरुआवत गरेका थिए । पछि उनी बीमा क्षेत्रमा प्रवेश गरेका हुन् ।
थाई एसियाको भैरहवा–बैङ्कक उडान सुरु, कार्तिक २३ देखि सातामा दुईपटक नियमित उडान हुने
भैरहवा (रुपन्देही) । थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान आइतबारदेखि सुरु गरेको छ । आज बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो,’ विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, ‘अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।’ थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनःउडान काठमाडाैंमा सुरु गर्न अनुमति पाएलगत्तै उडान सुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन। भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर रु १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७ः४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ ।
घरमै बनाउन सकिने स्वस्थकर मिठाई
काठमाडौं । तिहारलाई सेलरोटी र मिठाईको पर्व पनि भनिन्छ । यो बेला अघिपछिको भन्दा मिठाई बढी खाने गरिन्छ । सेलरोटी, फिनीलगायतका थरिथरिका खानेकुरा घरमै बनाइन्छ भने मिठाई भने अधिकांशले बजारमा किनेर खाने गर्छन् । दीपावलीको अवसरमा धेरै मिठाईहरू खाइन्छ र बाँडिन्छ, तर यो चाडमा खाइने मिठाईहरू धेरै अस्वस्थ हुन्छन् भन्ने कुरामा तपाईं सचेत हुनुपर्छ। र यसकारण पेट बिग्रने खतरा पनि धेरै बढ्छ । तर केही मिठाईहरू घरमै स्वस्थकर तरिकाले बनाउन सकिन्छ, घरमै बनाइएकाले स्वादिलो मात्र होइन, स्वस्थकर पनि हुन्छ । आउनूहोस् आज हामी तपाईलाई केही स्वस्थ मिठाईहरूको बारेमा बताउन जाँदैछौं, जुन तपाईंले घरमा बनाउन सक्नुहुन्छ र यी मिठाईहरूले तपाईंको स्वास्थ्यलाई हानी गर्दैनन् । नरिवलको लड्डु दीपावलीको अवसरमा बाहिरबाट आउने अस्वस्थ्यकर मिठाईको सट्टा घरमै बनाइएको स्वादिष्ट र स्वस्थकर मिठाईहरू खुवाउन चाहनुहुन्छ भने नरिवलको लड्डू तपाईंको लागि धेरै राम्रो विकल्प हुन सक्छ । पहिला नरिवललाई ग्राइन्डरको सहयोगले पिसेर धुलो बनाउनूहाेस् । त्यसपछि धुलाेमा दूध, घ्यू र चिनी हालेर प्यानमा राम्राेसँग पकाउनूहाेस् र कडा भएपछि लड्डू बनाउन सकिन्छ । बेसन बर्फी यदि तपाईं मिठाईको स्वस्थ विकल्प खोज्दै हुनुहुन्छ भने चनाको बर्फी तपाईंको लागि धेरै राम्रो विकल्प हुन सक्छ । चनाको बर्फीलाई शुद्ध घ्यू र कम चिनीकाे मद्दतले बनाइन्छ भने यो धेरै स्वस्थ विकल्प हुन सक्छ । दीपावलीको अवसरमा बाहिरबाट महँगो मिठाई ल्याउनुको सट्टा घरमै यी स्वादिष्ट परिकार बनाउन सक्नुहुन्छ । सुजी बर्फी स्वस्थ र स्वादिष्ट मिठाई विकल्पमा सुजीकाे बर्फी पनि समावेश छ र तपाईं यसलाई उपभोग गर्न सक्नुहुन्छ । सूजी बर्फी बनाउन पनि एकदमै सजिलो छ । यदि यसलाई शुद्ध घ्यू र कम मिठाईले बनाउनुभयो भने यसको स्वाद झनै बढ्छ र यो स्वास्थ्यको लागि पनि राम्रो विकल्प बन्न सक्छ । लाैकाको बर्फी तपाईंलाई लौकाको तरकारी मन नपर्ला होला तर तपाईं लौकाबाट बनेको बर्फी एकदमै मन पराउनुहुनेछ । याे स्वास्थ्यको लागि पनि निकै फाइदाजनक हुनेछ । दूधको खुवा, उमालेको लौका, अलिकति शुद्ध घ्यू र कम चिनीले बनाइएको लौकीको बर्फी स्वस्थकर मात्र होइन, स्वादिलो पनि हुन्छ ।
धेरैलाई स्टार बनाएको टिकटकका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति
काठमाडौं । चीनको सोशल मिडिया प्लेटफर्म टिकटकका मालिक चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । विश्वभर धेरै मानिसलाई स्टार बनाएकाे टिकटकलाई कुनै समय नेपालमा बन्देज लगाइएकाे थियाे, यद्यपि अहिले उक्त बन्देज खुला गरिएकाे छ । टिकटक र यसको मूल कम्पनी बाइटडान्स भने भारतमा प्रतिबन्ध छ । हुरुन चाइना रिच लिस्टअनुसार बाइटडान्सका संस्थापक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति एक वर्षमा ४३ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै उनको कुल सम्पत्ति ४९.३ अर्ब डलर पुगेको छ । झाङले सन् २०२१ मा बाइटडान्सको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका थिए। गत वर्ष कमायो ११० बिलियन डलर बाइटडान्सको गत वर्ष रेभिन्यू ११० बिलियन डलर थियो, जुन एक रेकर्ड हो । यद्यपि यस अवधिमा कम्पनीले धेरै पटक अमेरिकी कानुनी चुनौतीहरूको सामना गर्नुपरेको थियो । बाइटडान्सले हुरुनको सूचीमा चीनको सबैभन्दा मूल्यवान ५०० कम्पनीहरूको शीर्ष ५ मा स्थान बनाएको छ । हुरुन ग्लोबल युनिकर्न इन्डेक्स २०२४ मा यो संसारको सबैभन्दा मूल्यवान युनिकर्न थियो । शानशान र ज्याक माको सम्पत्ति घट्यो यिमिङले झोङ शानशानलाई पछि पार्दै हुरुनको सूचीमा पहिलो स्थान हासिल गरेका हुन् । शानशानको सम्पत्ति २४ प्रतिशतले घटेर ४७.९ बिलियन डलर पुगेको छ । एक समय चीनका सबैभन्दा धनी व्यक्ति ६० वर्षीय ज्याक मा युनको सम्पत्ति गत वर्षको तुलनामा ३ प्रतिशतले घटेको छ । यो गिरावटसँगै ज्याक मा चीनको १० औं धनी व्यक्ति बनेका छन् । टिकटकको क्रेज टिकटक नेपाल र भारतमा मात्र नभइ विश्वरभर चर्चित छ । तर, सन् २०२० मा भारत–चीन सीमामा भएको झडपपछि भारतीय सरकारले टिकटकलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा यसलाई प्रतिबन्ध लगाउँदा विश्वभर डेढ अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको थियो । यी डाउनलोडहरूमध्ये एक तिहाइ भारतीयहरूले नै गरेका थिए । अहिले विश्वका धेरै देशले यसलाई प्रतिबन्ध लगाएका छन् । यद्यपि यो एप अझै पनि धेरै देशहरूमा प्रयोग गरिन्छ । एजेन्सीहरूकाे सहयाेगमा
तिहारको बिदामा पनि रोकिएन आयोजनाको निर्माण
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो । आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले आज पनि कामलाई निरन्तरता दिइएको आयोजना कार्यालयले जनाएको छ । दिउँसो र राति गरी दुई ‘सिफ्ट’मा निर्माण भइरहेको छ । चरण-१ मा बाँध निर्माणका लागि जग हाल्ने कार्य धमाधम भइरहेको छ भने चरण-२ मा मुख्य सुरुङको ‘क्रङ्क्रिट लाइनिङ’ र विद्युत गृहको काम भइरहेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए । उनका अनुसार दुई चरणमा २ सय जना जनशक्ति परिचालन गरी काम भइरहेको छ । यसअघि दसैँमा आयोजनाको काम निरन्तर गरिएको थियो । सिफ्टमा आलोपालो मिलाएर तिहारलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको बताउँदै अधिकांश कामदारले भने काम गरिरहेका आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । ‘आयोजनाको तीन चरणमध्ये अहिले दुईवटा चरणमा निरन्तर काम सञ्चालन भइरहेको छ, निर्धारित समयमा निर्माण सम्पन्न गर्न चाडपर्वमा पनि काम रोकेका छैनौँ,’ उनले भने । चरण-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालिले गरिरहेको छ । चरण–२ अन्तर्गत पावरहाउसतर्फको काम तीव्र रूपमा भइरहेको प्रमुख भण्डारीले बताए । उनका अनुसार सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भइरहेका छन् । चरण-२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । भूमिगत विद्युत गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत गृहमा रहने उपकरण जडानलगायत कार्य भइरहेका छन् । आयोजनाको समग्र मूल्याङ्कन गर्दा हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिए । पुँजी संरचना तथा वित्तीय व्यवस्थापनका लागि प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी डलर रहेको आयोजना कार्यालयले जनाएको छ । एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख रुपैयाँ र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
बाढी पहिरो गएको एक महिनापछि पीडितको तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह
काभ्रेपलाञ्चोक । बाढीपहिराले जनधनको ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न एक महिना लागेको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पुर्याउँदा कतिपय घरबारविहीन बनेका छन् । बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो । बढी क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा खोज, उद्धार तथा राहत व्यवस्थापनपछि पुनर्बास एवं आवास निर्माणका लागि एकीन तथ्याङ्क सङ्कलन कार्यमा स्थानीय तह लागेका छन् । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अतिप्रभावित क्षेत्रमा पर्दछन् । कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य छन् । घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको थिएन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् । बाढीपहिरोबाट प्रभावित भएका जिल्लाका स्थानीय तहहरू प्रभावित परिवारलाई राहत, घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि सरकारले उपलब्ध गराउने राहत रकम वितरण तथा प्रभावित परिवारहरूको तथ्याङ्क सङ्कलनमा लागेका हुन् । जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई सङ्घीय सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्ण रूपमा घर क्षति भई समस्यामा परेका ११० परिवारमध्ये पाँच जनासम्मको परिवारका लागि १५ हजार रुपैयाँ र ५ भन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार बाढीपहिरोमा परी मृत्यु भएका १२ जनाको परिवारलाई सरकारले उपलब्ध गराएको २ लाख रुपैयाँ तथा गाउँपालिकाले किरिया खर्चबापत ५० हजार रुपैयाँ थप गरी नगद राहत हस्तान्तरण गर्ने कामसमेत हालै सम्पन्न गरिएको छ । बाढीपहिरोबाट घरपूर्ण क्षति भएका परिवालाई सरकारबाट दिने राहत रकम वितरणका लागि तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष लामाले बताए । उनका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार बाढीपहिरोबाट गाउँपालिकाभित्र रहेका करिब ३५० घर पूर्ण रूपमा क्षति भएको पाइएको छ । बाढीपहिरोबाट अतिप्रभावित पनौती नगरमा खोज, उद्धारसँगै सबै वडा जोड्ने सडकको ट्रयाक खोलिएको छभने क्षतिग्रस्त खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि योजनाको लागत अनुमान गर्नेकार्य अघि बढाइएको छ । पनौतीका नगरप्रमुख रामशरण भण्डारीले तिहारपछि क्षतिग्रस्त विद्यालयमा कक्षा सञ्चालन गर्न अस्थायी सिकाइ केन्द्र (टिएलसी) निर्माण, सिँचाइका योजनाको मर्मत, क्षति भएका स्वास्थ्य संस्थालाई नियमित सञ्चालनका लागि काम सुरु गरिने जानकारी दिए । उनका अनुसार पूर्णक्षति भएका पाँच सय परिवारलाई तीन चरणमा राहत वितरण गरिएको छ । बाढीपहिरोपछि आफन्तको घरमा बसेर पछि सम्पर्कमा आएका २५० परिवारलाई पहिलो चरणको राहतसमेत वितरण सकिएको उनले बताए । पनौतीमा १८ जनाको बाढीपहिरोबाट मृत्यु भएको नगरप्रमुख भण्डारीले जानकारी दिए । बाढीपहिरोबाट घर पूर्णक्षति भएका करिब एक सय परिवारलाई नबिल बैंकले अस्थायी घर बनाइदिने विषयमा छलफल भइएको उनले बताए । ‘जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने विषयमा भौगोलिक अध्ययन गरिने योजना बनाएका छौँ । बस्ती नै स्थानान्तरण गर्नुपरेको खण्डमा उपयुक्त स्थानमा व्यवस्थापन गर्न सरकारका सम्बन्धित निकायसँग समन्वय गर्नेछौँ,’ नगरप्रमुख भण्डारीले भने । उनले बाढीपहिरोबाट पूर्णक्षति भएका घरको विवरण सङ्कलन गर्ने काम भइरहेको भन्दै करिब सात घर पूर्ण रूपमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । बाढिपहिरोमा परी १२ जनाको मृत्यु भएको बेथानचोक गाउँपालिकामा हाल पीडितपरिवारलाई राहतसँगै अवरुद्ध सडक खोलिएको छभने बिजुली, इन्टरनेट सेवा, टेलिफोन सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । बाढीपहिरोबाट घरजमिनसमेत बगेका परिवारको तथ्याङ्क सङ्कलन कार्य भइरहेको उनले जानकारी दिए । अध्यक्ष अधिकारीले भने, ‘पीडितको पुनर्बासका लागि सरकारलाई सिफारिस गर्न यकिन तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । उनले बेथानचोकमा पनि आवास निर्माणका लागि विभिन्न सङ्घसंस्थासँग छलफल अघि बढाइएको बताए । उनका अनुसार घर पूर्ण रूपमा क्षति भएका परिवारलाई तत्कालका लागि सरकारबाट प्रदान गरिने राहत रकम व्यक्तिको खातामा उपलब्ध गराउने काम अघि बढाइएको छ । बेथानचोकमा चार हजार चार सय प्रभावित परिवारमध्ये ५५० घर पूर्णक्षति भएको प्रारम्भिक तथ्याङ्कबाट पाइएको उनले उल्लेख गरे । यस्तै नमोबुद्धका नगरप्रमुख कुन्साङ लामाले पनि बाढीपहिरोबाट प्रभावित तथा पूर्ण क्षति भएका परिवारको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने काम भइरहेको बताए । यकिन तथ्याङ्क सार्वजनिक गरी सरकारको राहत रकम प्रदान गरिने उनले उल्लेख गरे । काभ्रेपलाञ्चोकमा बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो भने ६ जना अझै बेपत्ता छन् । उक्त बाढीपहिरोबाट ७९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार निजी आवासतर्फ करिब ४ हजार पूर्ण क्षति भएका छन् भने ७ हजार आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन् ।
बरङ्जामा ‘आगोदेउ’ पर्व मनाइयो
काठमाडौं । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरङ्जाका मगर समुदायले ‘आगोदेउ’ पर्व मनाएका छन् । बरङ्जामा बसोबास गर्ने ९ थरका ४५ कुरिया मगरहरूले हरेक वर्षको कुकुर तिहारदेखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । आगलागीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने चलन रहेको मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष याम रोकाले जानकारी दिए । ‘धार्मिक विधिअनुसार पूजाआजा गरेर कुकुर तिहारको दिन सुरु हुने आगोदेउ पर्वमा प्रकृतिको पूजा गरिन्छ, आगोका कारण कुनै दुर्घटना वा विपद् नहोस् भन्ने कामना गरेर यो पर्व मनाउने चलन छ,’ उनले भने । बरङ्जाको शिलाथुरस्थित थानमा मगरका झाँक्रीहरूले पूजाआजा गरेपछि पर्व सुरुआत भएको मानिन्छ । दोस्रो दिन साँझ सो ठाउँमा भेडाको साँढलाई पूजा गरी बलि चढाइन्छ । यसैगरी आगो बाल्ने र मार्ने गरिन्छ । तेस्रो दिन कमेरोले रङ्ग्याएको ढुङ्गालाई काट्ने र पूजाआजा गरेपछि पर्व सकिएको मानिन्छ । बरङ्जामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बुढाथोकी थरका मगरहरूले आगोदेउ पर्व मनाउँछन् । बाह्रौँ शताब्दीमा बरङ्जामा बसोबास सुरु भएदेखि सुरु भएको आगोदेउ पर्वलाई निरन्तरता दिँदै आएको वडाध्यक्ष रोकाले बताए । कात्तिकमा आगोदेउ र जेठमा धुले मेला बरङ्जाका मगरले धुमधामसँग मनाउने पर्व हुन् । जेठको दोस्रो अथवा तेस्रो हप्ताको मङ्गलबारदेखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला लगाउने चलन छ । हिउँदभरि खेतबारी सुकेर धुलैधुलो हुने र पानी परेपछि खेती गर्न योग्य हुने हुनाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिएको वडाध्यक्ष रोकाले बताए ।
विश्वकप लिग-२ क्रिकेटः अमेरिकासँग नेपाल पराजित
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अमेरिकाले दिएको २८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रनमा समेटियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् । नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले २९ रन जोडे । त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँदै आउट भए । त्यसपछि सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन बनाए । अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक चार विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्लीले समान दुई/दुई तथा जसदीप सिंह र हरमित सिंहले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८१ रनको योगफल बनाएको थियो । अमेरिकाका लागि साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ८७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान मोनाङ्क पटेलले ८१ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए । हरमित सिंहले ४४ बलमा तीन चौका र तीन छक्कासहित ५९ रनको योगदान गरे । नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए । त्यस्तै कुशल भुर्तेलले एक विकेट झारे । नेपालल लिग-२ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । त्यस्तै अमेरिका १२ खेलमा आठमा जितसहित १६ अङ्कका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अब नेपालले भोलि स्कटल्याण्डसँग खेल्नेछ ।