विकासन्युज

नेप्से परिसूचक उकालो लाग्दा ११ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २२.१४ अंकले उकालो लागेर दुई हजार सात सय ६०.२१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६१ अंकले उकालो लागेर चार सय ९० दशमलव ७२ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ । कुल दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ मा कारोबार भएको छ । नेप्सेका अनुसार, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, इस्टर्न पावर १०, समृद्धि फाइनान्स ९.७१, सानिमा जिआइसी इन्सुरेन्स ४.१३, दिव्यश्वरी हाइड्रोपावर ३.९९ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ३.५० प्रतिशतले गुमाएका छन् ।

एभरेष्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिपेको नेटवर्कमा रहेका सदस्य वालेटहरूमार्फत नेपालपे मर्चेन्ट अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौताअन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा अन्तरसञ्चालित मर्चेन्ट क्यूआरमा अलिपे प्लस नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटाली लगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा अन्तरसञ्चालित मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । एनसीएचएलले अलिपे प्लससँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रूपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ । यसै पहलअनुरूप अब एभरेष्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपालपे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रूपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको हाे । हाल नेपालपे क्यूआर नेटवर्कमा ८ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध रहेका छन् ।

दोस्रो भारत-नेपालमैत्री शिखर सम्मेलन, शैक्षिक नीति तथा नवप्रवर्तनबारे विचार छलफल

काठमाडौं । काठमाडौं मोडल कलेजले दोस्रो भारत–नेपालमैत्री शिखर सम्मेलन २०२४ आयोजना गरेको छ । कलेजको  बिजनेस डिपार्टमेन्टको नेतृत्वमा शिक्षा क्षेत्रका विषयमा छलफल गर्न सम्मेलन गरिएको कलेजले जनाएको छ । दुई देशबीचको शैक्षिक सहकार्यलाई मजबुत बनाउने, दुवै देशका विद्यार्थी र शिक्षकलाई सहयोग गर्ने र शैक्षिक नीति तथा शैक्षिक नवप्रवर्तनबारे विचार आदानप्रदान गर्ने उद्देश्यले कलेजले गएको वर्षदेखि सम्मेलन गर्दै आएको कलेजका प्राचार्य सुरेन्द सुवेदीले जानकारी दिए । उनले यस्ता सम्मेलनले दुई देशका शिक्षाविद्हरूलाई शिक्षामा नयाँ अवसरहरू र सहयोगका सम्भावनाहरू बारे जानकारी दिन पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।   ‘यो नेपाल र भारतमा भएका वैज्ञानिक, विद्वान र पोलीसी मेकिङमा रहेका दुवै पक्षका विज्ञहरूको सम्मेलन हो,’ प्राचार्य सुवेदीले भने, ‘नेपाल र भारतका साथै समग्र साउथ एशियाको शिक्षाविद्हरूले कस्तो भूमिका खेल्नुपर्छ ? उनीहरूले आफ्नो रिसर्चबाट कसरी प्रोफेसनल विकास र आर्थिक वृद्धि गर्नुपर्छ भन्नेबारे गरेको खोजी प्रस्तुति गर्न यो कार्यक्रम गरिन्छ ।’ नेपाल र भारतमा रहेर जसले लामो समयदेखि शिक्षाको क्षेत्र, विज्ञान, आविष्कारको क्षेत्रमा जे-जति काम गरेका छन्, उनीहरूलाई सम्मान गर्ने ठाउँ पनि सम्मेलन रहेको बताउँदै प्राचार्य सुरेन्द्रले नयाँ विद्वान र विद्यार्थीलाई पनि कसरी पेपर प्रिजेन्टेसन गर्ने, कसरी पेपर लेख्ने भन्ने कुरासमेत सिकाउने बताए । उनका अनुसार खासगरी अहिलेको जल्दोबल्दो विषय ग्लोबलाइजेशन र सोसियो इकोनोमिक डेभलपमेन्टमा जल्दोबल्दो इस्सु के छ ? नेपाल जस्तो विकासशील राष्ट्रले कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरा विभिन्न पेपरमार्फत प्रचारप्रसार गर्न र ज्ञान बाँड्नको लागि यो सम्मेलनको आयोजना गरिएकाे हाे । यस्ता कार्यक्रमले दुई देशका विद्यार्थी र शैक्षिक प्रतिनिधिहरूबीच अनुभव आदानप्रदानको अवसर प्रदान हुने पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले बताइन् । उनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अवसरहरूको पहुँच र जानकारी प्रदान गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिन् । समग्र शैक्षिक क्षेत्रको फाइदा शिखर सम्मेलनमा बोल्दै सञ्चार सूचना तथा प्रविधिमन्त्री देव गुरुङले यस्ता कार्यक्रमले समग्र शिक्षा क्षेत्रका लागि फाइदा पुर्‍याउने बताए । शिक्षा क्षेत्रमा नेपालले पनि फड्को मारिरहेको बताउँदै उनले दुई देशका शिक्षविद्हरूको सम्मेलनले अझै सहयोग पुग्ने बताए ।   उनले भने, ‘विश्वमा शिक्षा क्षेत्रमा के भइरहेको छ, प्रविधिले फड्को कसरी मारेको छ ? यी विषयमा थाहा पाउन दुई देशबीचका विज्ञहरूबीच भेटघाट हुन जरुरी छ, यस्ता कार्यक्रम हरेक शैक्षिक संस्थाले गर्न आवश्यक छ ।’ कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपती प्रोफेसर विजुकुमार थपलियाले नेपाली शिक्षामा व्यावसायिक नवप्रवर्तन र उद्यमशीलताका विषयमा विद्यार्थीहरूलाई व्यावसायिक नवप्रवर्तन र उद्यमशीलताको महत्त्वबारे जानकारी दिइँदै आएको बताए । यस विषयमा विद्यार्थीहरूले नयाँ व्यावसायिक अवसरहरूको खोज, स्टार्टअप सुरु गर्ने तरिका र चुनौतीको सामना गर्ने उपायमा छलफल गर्न आवश्यक रहेको बताउँदै उनले यी विषयमा जाेड दिनुपर्ने बताए । कार्यक्रममा सहभागी विज्ञहरूले शिक्षा क्षेत्रमा सम्मेलन गरिनु सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । कलेजले शिक्षाका विभिन्न क्षेत्रमा खोज अनुसन्धान गर्ने व्यक्तिलाई सम्मानसमेत गरेको छ ।

फिन इलेक्ट्रो टेक कार्तिक २९ देखि सुरु, बहुराष्ट्रिय कम्पनीको उत्पादन देखाइने

काठमाडौं । ‘फिन इलेक्ट्रो टेक- २०२४’ यही २०८१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा आयोजना हुने भएकाे छ । विद्युत तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा फिन इलेक्ट्रो टेक- २०२४ को आयोजना हुन लागेकाे हाे । आयोजकले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अर्न्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी हुने जनाएकाे छ । फिन इलेक्ट्रो टेकको नारा ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ रहेकाे छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नवीनतम उपलब्धीहरूबारे सूचना आदान-प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्‍याउने लक्ष्य रहेको आयोजकले जनाएकाे छ । ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ को हलभित्र ४४ वटा ब्लक, २८ स्टल रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर डोममा २६ वटा स्टल रहेका छन् । यस पटकको फिन इलेक्ट्रो टेकमा इन्डियन च्याम्बर अफ कमर्सले हलभित्रको २८ स्टल रहेको प्याभिलिएनमा इन्डिया पावर शोको लागि इन्डियन उद्योगी एवं व्यवसायीहरूले बुकिङ गरिसकेका छन् । स्टलमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीको उत्पादन, ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरी आफ्ना उत्पादनबारे जानकारी दिनेछन् भने अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकका लागि छुट्टै सेल्स एरियाको पनि व्यवस्था गरिएको छ । इलेक्ट्रो टेक प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएकाे छ । ११ औं संस्करणको आयोजना हुन लागेकाे हाे । यस प्रदर्शनीको अवलोकनका लागि भोलिदेखि सहुलियत दरमा खल्ती एपमार्फत अग्रिम प्रवेश टिकट बुकिङ खुल्ला गर्न लागिएको आयाेजकले जनाएकाे छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रीकल कन्ट्राक्टर एशोशियसन र सोसाइटी अफ नेप्लिज आर्किटेक्टसलगायत सरोकारवाला संस्थाहरूकाे सहभागिता रहनेछ । स्वदेशी उत्पादन लगायत भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्ससम्बन्धी उत्पादनहरू प्रदर्शनमा रहनेछन् । प्रदर्शनमा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सी एण्ड एस, लिशा, टिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पी.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राइट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यानलगायतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको पनि सहभागिता रहने छ । प्रदर्शनीलाई सहभागीमूलक एवं सूचनामूलक बनाउन विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुति तथा अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन हुनेछन् । चार दिनसम्म चल्ने प्रदर्शनीमा ५० हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने विश्वास आयाेजकले लिएकाे छ ।

गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षणबाट संघ र प्रदेश सरकारको साढे २१ अर्ब बेरुजु देखियो

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा संघ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ छ । जसमा नियमित गर्नुपर्ने बेरुजु एक अर्ब १३ करोड ५० लाख रुपैयाँ, असुल गर्नुपर्ने बेरुजु एक अर्ब ९२ करोड ९६ लाख रुपैयाँ र पेश्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ रहेको जनाइएको छ । महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सरकारको गत आर्थिक वर्षको सङ्घीय सञ्चित कोष, वैदेशिक अनुदान र ऋण सहायता, लगानी एवम् नेपाल सरकारका बजेटरी तथा गैर बजेटरी निकायको विनियोजन, राजस्व, धरौटी तथा अन्य कोषहरूको कारोबारलगायतका विषयहरु समेटेर केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार पारी महालेखापरीक्षकको कार्यालयलाई बुझाइसकेको छ । ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण यहि कात्तिक १४ गते महालेखापरीक्षकलाई बुझाइसकेको छौँ । यसरमा सरकारको गत आर्थिक वर्षको कारोबारको यथार्थ वित्तीय अवस्थाको चित्रण छ’, उनले भने । उक्त विवरणअनुसार गत आर्थिक वर्षमा सङ्घीय सञ्चित कोष कुल दुई खर्ब २४ अर्ब ९९ करोड १३ लाख रुपैयाँले ऋणात्मक छ । ‘आर्थिक वर्ष २०८०/८१ को सुरूमा सङ्घीय सञ्चित कोष कुल एक खर्ब ८१ अर्ब २६ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेकोमा यस वर्ष कुल प्राप्ति १३ खर्ब ३५ अर्ब ९२ करोड ७४ लाख रुपैयाँ रहेको र कुल भुक्तानी १३ खर्ब ९३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ तथा विनिमय दर वा अन्य समायोजन १४ अर्ब ४४ करोड २८ लाख रुपैयाँ भएबाट यस आर्थिक वर्षको सुरूको मौज्दात समेतको समायोजनबाट आर्थिक वर्षको अन्त्यमा सङ्घीय सञ्चित कोष कुल दुई खर्ब २४ अर्ब ९९ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ’, महालेखा नियन्त्रक कार्यालयले तयार पारेको विवरणमा भनिएको छ । गत आवमा सरकारको बजेटरी निकायको नगद तथा बैंक मौज्दात ८४ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गैर बजेटरी निकायको सोही अवधिको नगद तथा बैंक मौज्दात भने ७१ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ धनात्मक रहेको छ । यसरी गत आर्थिक वर्षमा सरकारको नगद तथा बैंक मौज्दात १२ अर्ब ९५ करोड ७५ लाख रुपैयाँले ऋणात्मक देखिन्छ । गत आर्थिक वर्षका लागि सरकारले १२ खर्ब ४७ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा नौ  खर्ब ५६ अर्ब २६ करोड ५६ लाख रुपैयाँ मात्रै संकलन भएको छ । त्यस्तै, सरकारले गत आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेकोमा १३ खर्ब ९३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ बराबरको मात्रै खर्च भएको देखिएको छ । ‘कुल खर्च रकममध्ये सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ तीन खर्ब पाँच अर्ब ६३ करोड १५ लाख रुपैयाँ खर्च भएको छ भने सङ्घीय सञ्चित कोषबाट विनियोजन हुने व्ययतर्फ सोझै भुक्तानी बाहेक १० खर्ब ४० अर्ब ५८ करोड छ लाख रुपैयाँ खर्च भएको छ’, केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणमा भनिएको छ । सरकारले गत आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई सङ्घीय सञ्चित कोषबाट चार खर्ब आठ करोड ७० लाख रुपैयाँ बजेट हस्तान्तरण गर्ने लक्ष्य राखेकोमा तीन खर्ब ३९ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ बराबर मात्रै हस्तान्तरण भएको छ । जसमा प्रदेश सरकारलाई ७६ अर्ब एक करोड ९९ लाख रुपैयाँ र स्थानीय तहलाई दुई खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख रुपैयाँ बराबर हस्तान्तरण देखिन्छ । गत आर्थिक वर्षमा सरकारको विभाज्य कोषमा संकलन भएको कुल रकम चार खबै १९ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ मध्येबाट तीन खर्ब ८० अर्ब ८१ करोड ८८ रुपैयाँ बाँडफाँट भएको र ३८ अर्ब ८२ करोड ४३ लाख रुपैयाँ बाँडफाँट हुन बाँकी रहेको पनि महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत आवमा सरकारको कुल १८ अर्ब १२ करोड १२ लाख रुपैयाँ पेश्की बाँकी रहेको पनि उक्त विवरणमा उल्लेख छ । जसमा म्याद ननाघेको पेश्की सात अर्ब ६६ करोड ६३ लाख रुपैयाँ र म्याद नाघेको पेश्की १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा सरकारले कुल तीन खर्ब ६० अर्ब आठ करोड ७५ लाख रुपैयाँ बराबर ऋण उठाएको देखिन्छ । जसमध्ये वैदेशिक ऋण एक खर्ब २५ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ र आन्तरिक ऋण दुई खर्ब ३४ अर्ब ४२ करोड १४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, गत आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा तिर्नका लागि दुई खर्ब २३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ । केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा सरकारबाट ४१ अर्ब ७५ करोड ७८ लाख रुपैयाँ आन्तरिक ऋण लगानी भएको छ । त्यस्तै, सार्वजनिक संस्थानमा छ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर लगानी भएको तथा वैदेशिक सेयर लगानी २१ करोड ६० लाख रुपैयाँ बराबर रहेको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ । गत आर्थिक वर्षमा सरकारले वैदेशिक ऋण तथा अनुदानबाट शोधभर्ना लिनुपर्ने करिब २४ अर्ब रुपैयाँ बराबर शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । शोधभर्ना हुन बाँकी वैदेशिक ऋण रकम १७ अर्ब नौ करोड २१ लाख रुपैयाँ छ । त्यस्तै वैदेशिक अनुदान तर्फ छ अर्ब ७४ करोड पाँच लाख रुपैयाँसमेत गरी शोधभर्ना हुन कुल बाँकी रकम २३ अर्ब ८३ करोड २६ लाख रुपैयाँ छ । सरकारका बजेटरी निकायसँग ९७ अर्ब ८४ लाख रुपैयाँ र गैर बजेटरी निकायहरूसँग १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँ रकमको जिन्सी तथा सम्पत्ति रहेको अभिलेख रहेको पनि कार्यालयले जनाएको छ ।

लुम्बिनी लायन्सको ब्राण्ड एम्बास्डर बने राजेश हमाल, कति रकममा भयो सम्झौता ?

काठमाडौं । अभिनेता राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार कार्यक्रमको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बारडरको रुपमा सार्वजनिक हो । उनी एक वर्षको अवधिसम्म लुम्बिनी लायन्सका लागि ब्राण्ड एम्बेस्डर हुनेछन् । कति रकममा सम्झौता भयो भन्ने विषय भने खुलाइएको छैन । हमालले लुम्बिनी टिमसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले आफ्नो क्रिकेटसँग नजिकको सम्बन्ध रहेको बताउँदै आफू आवद्ध टिमले राम्रो गर्नेमा विश्वास व्यक्त गरे । यस्तै, कार्यक्रममा लुम्बिनीका लागि मार्की प्लेयर रोहित पौडेलले महानायक राजेश हमाल जोडिँदा खुशी लागेको बताए लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले एनपीएलको उपाधि जित्ने लक्ष्यसहित नै आधारदेखि नै टिम निर्माण गरिरहेको र लक्ष्य उपाधि जित्ने रहेको बताए ।

हिउँदमा पनि मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो । तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको केन्द्र प्रमुख इन्जिनियर पशुपति गौतमले बताए । ‘असोजमा अविरल भारी वर्षा भएको र कात्तिकमा समेत हाल मुसलधारे वर्षा परेपछि पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ’, उनले भने, ‘अहिले पानी प्रशस्त परेकाले अझै एक महिनासम्म पूर्ण क्षमतामै उत्पादन हुने सम्भावना देखिएको छ ।’ गत वर्ष सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट विद्युत् उत्पादन भएकामा हाल पूर्ण क्षमतामा उत्पादन भएको गौतमले बताए । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने उनले बताए । उनका अनुसार यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । केन्द्रका अनुसार सुक्खायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन घट्ने सो केन्द्रले जनाएको छ ।

कहिले आउँछ मौद्रिक नीतिको समीक्षा ?

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना सकिएसँगै नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जुटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि आन्तरिक तयारी भइरहेको राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए । उनका अनुसार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा कहिले सार्वजनिक गर्ने भनेर ठ्याक्कै मिति नै तय भएको छैन । तर, आन्तरिक रूपमा राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा भने तयारी गरिरहेको छ । ‘मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाको तयारीमा जुटेका छौँ, ठ्याक्कै कहिले सार्वजनिक गर्ने भनेर मिति नै तय भएको छैन । तर, आन्तरिक रूपमा त्रैमासिक समीक्षाको तयारी भने भइरहेकाे छ,’ उनले भने । चालु आवको तीन महिनाको तथ्याङ्क संकलनको कार्य भइरहेको उनले बताए । तीन महिनासम्मको तथ्याङ्क सार्वजनिक भएपछि मौद्रिक नीतिको त्रैमासिक समीक्षा पनि छिट्टै सार्वजनिक हुने उनको भनाइ छ । ‘असोजसम्मको तथ्याङ्क आयो, तीन महिनासम्मको तथ्याङ्क तथ्याङ्क आइसकेको छैन, अहिले बैंकहरूको तथ्याङ्क मात्रै सार्वजनिक भइसकेको छ, अन्य क्षेत्रको तथ्याङ्क आउन बाँकी छ, आयो भने समीक्षाको कार्य तीव्र अगाडि बढ्छ,’ उनले भने । गत वर्ष नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा भने ढिला गरी सार्वजनिक गरेको थियो । गत वर्ष मंसिर २२ गते सार्वजनिक गरेको प्रथम त्रैमासिक समीक्षा लचिलो ल्याएको थियो । यसपटक पनि बाह्य क्षेत्र सुधार भएको र आन्तरिक क्षेत्र सुधारात्मक रहेकाले लचिलो मौद्रिक नीतिको समीक्षा ल्याउने तयारीमा राष्ट्र बैंक रहेको छ । निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर घटेर एकल अंकमा झरेकाले ऋण विस्तारका लागि राष्ट्र बैंकले सहज नीति ल्याउन सक्ने आँकल बैंकरहरूले गरेका छन् । आर्थिक गतिविधि चलायमान गर्न कर्जाको मागलाई बढाउने गरी समीक्षा आउनुपर्ने बैंकरहरूको भनाइ छ ।