विकासन्युज

सिटिजन्स बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं । सिटिजन्स बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरूमार्फत नेपालपे मर्चेन्टका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटालीलगायतका देशबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । एनसीएचएलले अलिपे प्लससँग अन्तराष्ट्रिय भुक्तानी पार्टनरका रूपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहलअनुरूप अब सिटिजन बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ । सिटिजन्स बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक बन्यो सिद्धार्थ बैंक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मुख्य प्रायोजकको रूपमा आवद्ध भएको छ । ५ वर्षका लागि सिद्धार्थ बैंक मुख्य प्रायोजकको रूपमा आवद्ध भएकाे हाे । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारी, बैंक सञ्चालक समितिका अध्यक्ष श्री मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो । नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको अध्यक्ष केडियाले बताए । पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रूपमा जोडिएको बैंकले जनाएकाे छ ।

२४ जिल्लाका ३ हजार १९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम र अतिदुर्गम क्षेत्रबाट काठमाडौँ आएर बसोबास गरिहेका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरेको छ । केन्द्रले नेपालका दुर्गम र अति दुर्गम क्षेत्रबाट काठमाडौंमा आई डेरा गरी बस्ने स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरेको हो । विद्युतीय चुल्हो वितरण कार्यक्रमको आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुभारम्भ गरे । कार्यक्रममा मन्त्री खड्काले यस अभियानले नवीकरणीय ऊर्जा प्रवद्र्धन र विस्तारमा सहयोग पुग्ने बताए । उनले विद्युतीय चुल्हो वितरणले दूरदराजबाट काठमाडौंमा अध्ययन गर्न आउने विद्यार्थीलाई सहुलियत प्रदान गर्नाका साथै खनिज इन्धनको प्रयोग न्यूनीकरण गरी विद्युत्को आन्तरिक खपत वृद्धि गर्नमा सघाउ पुग्ने उल्लेख गरे । ‘खाना पकाउने स्वच्छ ऊर्जाको प्रयोगबाट वातावरण संरक्षणमा टेवा पुग्नाका साथै नेपाल सरकारको राष्ट्रिय लक्ष्य एवम् जलवायु परिवर्तन न्यूनीकरणका लागि गरिएको अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न सघाउ पुग्नेछ,’ मन्त्री खड्काले भने । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले केन्द्रलाई निर्देशन दिए । ऊर्जामन्त्री खड्काले नेपालले ऊर्जा क्षेत्रमा निरन्तर रूपमा महत्त्वपूर्ण फड्को मारिरहेको र हाल अन्तर्राष्ट्रिय बजारमा समेत विद्युत् निर्यात गर्न सफल भएको बताउँदै आगामी १० वर्षभित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको स्पष्ट पारे । केन्द्रले हालसम्म विभिन्न नवीकरणीय ऊर्जा प्रविधिको अतिरिक्त ६० हजारभन्दा बढी सङ्ख्यामा विद्युतीय चुलो प्रवर्द्धन गरिसकेको छभने आगामी दिनमा विद्युतीय चुलो प्रवर्द्धन क्रियाकलापलाई बढाउँदै लैजाने लक्ष्य लिएको छ । आजदेखि सुरु भएको अभियान आगामी १० दिनसम्म चल्ने केन्द्रले जनाएको छ ।

कन्ट्री रेटिङको काम सम्पन्न भइसक्यो, प्रतिवेदन चाँडै सार्वजनिक हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको कन्ट्री रेटिङको काम सम्पन्न भइसकेको र प्रतिवेदन चाँडै सार्वजनिक हुने बताएका छन् । आइतबार नेपाल राष्ट्र बैंकको २०८०/८१ को वार्षिक प्रतिवेदन बुझ्ने कार्यक्रममा बोल्दै उनले कन्ट्री रेटिङको प्रतिवेदनमा नेपालको अर्थतन्त्रको वास्तविकता ठीक ढंगले समावेश हुने विश्वास रहेको बताए । उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, रेमिट्यान्स, मुद्रास्फीति समेत सीमाभित्रै नियन्त्रणमा रहेको बताए । उनले राष्ट्र बैंकले अवलम्वन गरेको मौद्रिक नीतिको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको दाबी गरे । अर्थमन्त्री पाैडेलले पछिल्लो समय बैंकको तरलता र ब्याजदरमा सुविधाजनक अवस्थामा रहेको बताए । उनले भने, ‘बैंकहरूमा तरलता राम्रो छ । बैंकिङ ब्याजदर घटेको छ । यी सबै अर्थतन्त्रका सूचकहरूलाई सरकारले सकारात्मक रूपमा लिएकाे छ । नेपालमा पहिलो पटक कन्ट्री रेटिङको काम सकेका छौं । केही समयभित्रै कन्ट्री रेटिङको सम्बन्धित संस्थाले प्रतिवेदन सार्वजनिक गर्नेछ ।’ अर्थमन्त्री पौडेलले ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी सदुपयोग र अभिप्रेरित कसरी गर्ने प्रश्न उब्जिएको उल्लेख गरे । ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी सदुपयोग गर्ने विषयमा राष्ट्र बैंकको ध्यान जानुपर्ने उनको भनाइ छ । उनले समग्र बजारको मागमा कमी हुने, उत्पादन, रोजगारी, आयातनिर्यात, राजश्व र पुँजीगत खर्च गर्ने विषयमा सरकार दबाबमा वा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको उल्लेख गरे । उनले समग्र बजार माग वृद्धि गर्ने, उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पुँजीगत खर्च वृद्धि गर्नमा सरकारको ध्यान केन्द्रित भइरहेको बताए । यो पनि पढ्नूहोस् – एक वर्षमा राष्ट्र बैंकको कमाइ पौने एक खर्ब, पुँजी वृद्धिमा व्यापक सुधार

एक वर्षमा राष्ट्र बैंकको कमाइ पौने एक खर्ब, पुँजी वृद्धिमा व्यापक सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकको खुद आय पौने एक खर्ब पुगेकाे छ । बैंकले  आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सरकारलाई बुझाउँदै  ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार खुद आय पुगेको जनाएकाे हाे । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसमक्ष बुझाउँदै गभर्नर महाप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन तीन भागमा विभाजन रहेको बताए । नेपाल राष्ट्र बैंक ऐनको दफा ९१ बमोजिम प्रत्येक आर्थिक वर्षको चार महिनाभित्र वार्षिक लेखापरीक्षण गरी नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन सरकारसमक्ष बुझाउनुपर्ने प्रावधान छ । उक्त प्रावधानअनुसार राष्ट्र बैंकले उपप्रधान तथा अर्थमन्त्री पौडेलसमक्ष बुझाएको हाे । गभर्नर अधिकारीले पहिलो भागमा मुलुकभित्र र विश्व अर्थतन्त्रको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाको विषयमा उल्लेख भएको बताए । उनले दाेस्रो भागमा नेपाल राष्ट्र बैंकका विभागले गरेका काम कारबाहीहरूको विषयमा उल्लेख गरेको बताए । गभर्नर अधिकारीले तेस्रो भागमा नेपाल राष्ट्र बैंकको २०८०/८१ को वित्तीय अवस्थाको विवरण राखिएको बताए । उनले राष्ट्र बैंकको पुँजी २० खर्ब ६७ अर्ब पुगेको बताए । उनले गत वर्षको भन्दा करिब ५ खर्बले पुँजी बढेको बताए । बैंकले सरकारलाई करिब सवा ३७ अर्ब रकम उपलब्ध गराउने भएकाे छ । राष्ट्र बैंकको आव २०८०/८१को वार्षिक प्रतिवेदनअनुसार विश्व आर्थिक वृद्धिदर सन् २०२४ र २०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफद्वारा २०२४ अक्टोबरमा प्रकाशित ‘वर्ल्ड इकोनोमिक आउट लुक’ अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत रहेको थियो । आव २०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । आव २०८०/८१ मा कुल वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई १५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई १५९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर १४४० अर्ब ६० करोड रहेको छ ।

मस्कको बाटोमा पर्खाल बने भारतीय अर्बपति अम्बानी, के हो विषय ?

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानी र विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आमुन्नेसामुन्ने भएका छन् । रिलायन्स इन्डस्ट्रिज (आरआईएल) का प्रमुख अम्बानीले  मस्कको स्टारलिंक र अमेजनको कुइपरलाई स्याटेलाइट ब्रोडब्यान्ड स्पेक्ट्रम दिनुअघि प्रशासनिक विधिमा आपत्ति जनाएका हुन् । रिलायन्सले स्पेक्ट्रम बाँडफाँड लिलामीमार्फत गर्नुपर्ने भनेको छ ताकि भारतीय कम्पनीहरूले यसमा बराबरीकाे मौका पाउन सकून् । ज्योतिरादित्य सिन्धियालाई लेखिएको पत्र रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीले टेलिकम नियामक ट्राई र केन्द्रीय दूरसञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियालाई पत्र लेखेर यस विषयमा हस्तक्षेप गर्न अनुरोध गरेका छन् । रोयटर्सको रिपोर्टअनुसार अम्बानीले स्पेक्ट्रम बाँडफाँडको प्रशासनिक विधिमा आपत्ति जनाएका छन् । स्पेक्ट्रम बाँडफाँड लिलामीमार्फत हुनुपर्ने उनी र एयरटेलका सुनिल मित्तलको विश्वास छ । अर्कोतर्फ, स्टारलिंकका सीईओ मस्कले लिलामीको विरोध गरेका छन् । स्याटेलाइट ब्रोडब्यान्ड स्पेक्ट्रममा व्यक्तिगत वा घरेलु उपयोगकर्ताहरूकाे लागि हाल कुनै प्रावधान छैन । के भन्छ रिलायन्स ? लिलामी प्रक्रियाले आन्तरिक टेलिकम कम्पनीहरूलाई अन्तर्राष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर दिने रिलायन्सले जनाएको छ । यो उद्योगको हितमा हुनेछ । रिलायन्सले अहिले अनिश्चितताको वातावरण रहेको बताएको छ । स्पेक्ट्रम बाँडफाँडमा प्राथमिकता दिए पनि कुनै पनि स्वदेशी कम्पनीले आफ्नै उपग्रह स्टेशनहरू भने स्थापना गर्ने अवसर पाउने छैनन् । केन्द्र सरकारले स्याटेलाइट ब्रोडब्यान्ड स्पेक्ट्रमको बाँडफाँड प्रशासनिक रूपमा गरिने र लिलामी नहुने स्पष्ट पारेको छ । तर, सरकारले नि:शुल्क नहुने पनि उल्लेख गरेकाे छ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि मस्कको हैसियत बढेको बेला यो घटनाक्रम बाहिर आएको हो । उनलाई सरकारी दक्षता विभाग (डीओडीजीई) को जिम्मेवारी दिइएको छ । मस्कले चुनावी अभियानमा डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गरेका थिए । (एजेन्सीकाे सहायतामा)

वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो

वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलनमा कमी आएको बताए । चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व संकलन पनि घटेको उल्लेख गरे । चालु आवको साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड रुपैयाँ, असोजमा चार अर्ब ३६ करोड रुपैयाँ र कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए । कार्यालयले गत आवको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा २० करोड चार लाख ५६ हजार रुपैयाँले राजस्व संकलनमा कमी आएको छ ।

भारतमा अत्तरको बिक्री दोब्बर, कति करोडको छ सुगन्ध उद्योग ?

काठमाडौं । छिमेकी मुलुक भारतमा अहिले ‘अत्तर तथा परफ्युमको’को व्यापार तीव्र गतिमा अगाडि बढिरहेको छ । यस क्षेत्रमा ठूला कम्पनीसँगै साना व्यापारिक  खेलाडी पनि आउने गरेका छन् । जसले गर्दा परफ्युम, डिओडोरेन्ट लगायत प्रयोग गर्नेको संख्या बढिरहेको छ ।उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा कटौती गरेर भए पनि ‘सुगन्धित’ वस्तुहरू किनिरहेका छन् कि भनेर आशंका पनि छ । चालु आर्थिक वर्षको समीक्षाा अवधिमा हेर्दा सुगन्धजन्य उत्पादनको ठूलो बिक्री भएको छ । गोदरेज उपभोक्ता उत्पादन, इमामी, आईटीसी र शपर्स स्टपजस्ता कम्पनीहरूले बिक्रीको जानकारी दिएका छन् । यसैको आधारमा बजार अनुसन्धाता निलसनआईक्यूले यो वर्ष सुगन्धित उत्पादनको बिक्री झण्डै दोब्बर भएको जानकारी दिएकाे हाे । तीव्र गतिमा बढिरहेको छ यो क्षेत्र निलसनआईक्यूले यो डाटा इकोनोमिक टाइम्ससँग सेयर गरेको छ । उक्त तथ्याङ्कअनुसार सेप्टेम्बरसम्म यो क्यालेन्डर वर्षमा सुगन्ध क्षेत्र वार्षिक रूपमा १२ प्रतिशतले बढेको छ । यसमा रोल-अन डिओडोरेन्टहरूले २६ प्रतिशतको वृद्धि दर्ता गर्‍यो । निलसनआईक्यूका अनुसार व्यक्तिगत रूपमा प्रयोग हुने वस्तुको क्षेत्र ६.२ प्रतिशतले वृद्धि भएकाे छ । जबकि एफएमसीजी उद्योग ५.७ प्रतिशतले बढेको छ । रिपोर्टका अनुसार भारतमा सुगन्ध उद्योग ४ हजार ७७१ करोड भारुको छ । किन बढ्यो बिक्री ? निलसनआईक्यूकाे भारतका कमर्शियल हेड रुजवेल्ट डिसुजाले सुगन्ध उत्पादनहरू अब साना ठाउँमा पनि पुगेका छन्, जसको अर्थ तिनीहरूको वितरण द्रुत गतिमा भइरहेको छ । मानिसहरू अहिले व्यक्तिगत सजावटमा चासो देखाउँदै छन् । यसले रोल-अन डिओडोरेन्टको बिक्रीमा वृद्धि भएको छ । ग्रामीण क्षेत्रमा समेत विस्तार गोदरेज कन्ज्युमर प्रोडक्ट्सका प्रबन्ध निर्देशक सुधीर सीतापतिले संगठित व्यापारमा डिओडोरेन्ट तीव्र रूपमा बिक्री भइरहेको जानकारी दिए । कम्पनीले ग्रामीण क्षेत्रमा वितरण विस्तार गरेको उनले बताए । (एजेन्सीको सहयोगमा)