विकासन्युज

वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म गार्डियन माइक्रोमा आवेदन दिन पाउने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज पुस ३ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री जारी गरिएको हो । यस्तै, ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरूले आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले पुस २७ गते शनिबार १३ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान साढे १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहका ५ जना सञ्चालकहरूको निर्वाचन गर्ने, सञ्चालक समितिबाट नियुक्त स्वतन्त्र सञ्चालकलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

दुर्गा प्रसाईंले बैंक विरुद्ध हालेको रिट खारेज, बैंकलाई कर्जा असुलीको बाटो खुल्यो

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक विरुद्ध हालेको रिट खारेज भएको छ । बैंकको ऋण तिर्न आनाकानी गर्दै आएका विवादित मेडिकल व्यवसायी प्रसाईंले बैंक विरुद्ध हालेको रिट उच्च अदालतल विराटनगरले मंगलबार खारेज गरेको हो । बैंकबाट ऋण लिएर पूर्वाञ्चल क्यान्सर हस्पिटल र बी एण्ड सी मेडिकल कलेज र होटल लगायतमा लगानी गरेका छन् । तर, बैंकहरूले ऋण असुली प्रक्रिया अघि बढाउँदा उनी अदालतमा मुद्धा हालेर अन्तरिम आदेर माग्थे । उनले विभिन्न जिल्ला अदालतमा मुद्धा हालेर अन्तरिम आदेश समेत पाएका थिए । उक्त मुद्धाहरू उच्च अदालतसम्म पुगेका हुन् । तर, उच्च अदालतले खारेज गरेपछि बैंकहरूलाई ऋण असुली गर्न बाटो खुलेको छ । प्रसाईंले बैंकबाट साढे ५ अर्ब ऋण लिएर बिएण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगानी गरेका छन् ।प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक÷एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएका छन् ।

रिलायन्स पावरले पायो ठूलो परियोजना, ऋणमा डुबेका अनिल अम्बानीले राहत पाउने

काठमाडौं । अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स पावरले ठूलो परियोजना पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रिलायन्स पावरको सहायक कम्पनी रिलायन्स एनयू सनटेक प्रालिले ठूलो सौर्य र ब्याट्री भण्डारण परियोजना पाएको हो । ऋणमा डुबेका अनिललाई यस परियोजनाले राहत दिने जनाइएको छ । अनिललाई सोलार इनर्जी कर्पोरेशन अफ इन्डिया (एसईसीआई) ले यो परियोजना दिएको हो । यसमा ९३० मेगावाटको सोलार प्लान्ट र ४६५ मेगावाट/१ हजार ८६० मेगावाट घण्टाको ब्याट्री भण्डारण प्रणाली (बीईएसएस) रहेको छ । अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स पावरले मंगलबार सम्झौता गरेको घोषणा गरेको हो । यो भारतमा मात्र नभई एसियामा (चीनबाहेक) एउटै स्थानमा ग्रिड भण्डारण ब्याट्रीहरूको सबैभन्दा ठूलो परियोजना हुनेछ । यसले डिस्कमहरूलाई कम लागतमा बिजुली उपलब्ध गराउन मद्दत गर्नेछ । रिलायन्स पावरले यो भारतको सबैभन्दा ठूलो सौर्य र ब्याट्री भण्डारण प्रणाली परियोजना भएको बताएको छ । पाँच कम्पनीले २ हजार मेगावाट अन्तरराज्यीय प्रसारण प्रणाली (आईएसटीएस) जडान भएका सौर्य ऊर्जा आयोजना र १ हजार मेगावाट/ ४ हजार मेगावाट ऊर्जा भण्डारण प्रणालीका लागि बोलपत्र दिएका थिए । जसमध्ये रिलायन्स पावरको सबैभन्दा बढी हिस्सा रहेको छ । रिलायन्स एनयू सनटेकले डिसेम्बर ९ मा एसईसीआईबाट ९३० मेगावाट सौर्य ऊर्जाको ठेक्का पाएको हो । सम्झौताका सर्त के-के छन् ? यस परियोजनाअन्तर्गत रिलायन्स पावरको सहायक कम्पनीले दैनिक चार घण्टा पीक पावर सप्लाई (वा डिस्चार्ज अवधिको ४ घण्टा) ग्यारेन्टी गर्नेछ । एसईसीआईले रिलायन्स एनयू सनटेकसँग २५ वर्षको लागि पावर पर्चेज एग्रीमेन्ट (पीपीए) गर्ने छ । यसबाट उत्पादित सौर्य उर्जा भारतका धेरै डिस्कममा बेचिनेछ । यो परियोजना डिस्कमको लागी एक राहत समाचार हो । अहिले डिस्कमले पावर एक्सचेन्जबाट पीक आवरमा प्रति युनिट १० रुपैयाँमा बिजुली किन्न बाध्य छन् । यो आयोजनाबाट उनीहरूले सस्तो र सुनिश्चित बिजुली पाउनेछन् । यदि तपाईंको घरलाई साँझ बढी बिजुली चाहिन्छ भने यो परियोजनाले त्यो समयको लागि अतिरिक्त बिजुली भण्डार गर्नेछ । जस्तै- ठूलो ब्याट्रीले आवश्यक पर्दा बिजुली दिन्छ । दुई वर्षयता सेयरमा तीव्र वृद्धि मंगलबार रिलायन्स पावरको सेयर १.०६ प्रतिशतले घटेर ४६.७३ भारुमा बन्द भयो । बीएसई एनालिटिक्सका अनुसार २०२४ मा रिलायन्स पावरको सेयर हालसम्म ९४.३६ प्रतिशत बढेको छ । यससँगै विगत २ वर्षमा १९४.६२ प्रतिशत प्रतिफल दिएको छ । यो परियोजना रिलायन्स पावरको लागि ठूलो उपलब्धि हो र यसले भारतको नवीकरणीय ऊर्जा लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ । साथै यसबाट विद्युत् आपूर्तिमा पनि सुधार हुने र डिस्कमलाई पनि फाइदा हुनेछ । रिलायन्स पावर भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको कम्पनी हो । यसमा कोइला, ग्यास, जलविद्युत र नवीकरणीय ऊर्जाको ठूलो पोर्टफोलियो छ । रिलायन्स पावरको स्थापना क्षमता ५ हजार ३ सय मेगावाट छ । (एजेन्सीहरूको सहयोगमा)

पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ करोड २५ लाख रुपैयाँबराबरको ९६ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले बैंकको कर्जा भुक्तानी गर्ने उद्देश्यले सो दरमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आगामी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात कम्पनीले सो दरमा हकप्रद सेयर निष्कासन गर्नेछ ।

कोरोनाको धक्का अहिलेसम्म भोग्दै होटल, यी हुन् बिजनेस घट्नुको कारण

काठमाडौं । विश्वव्यापी कोरोना महामारीले होटल तथा पर्यटन क्षेत्रमा ठूलो क्षति गर्‍यो । यही समयमा बैंक तथा वित्तीय क्षेत्रमा ब्याजदर उच्च हुँदा थप समस्या उत्पन्न भएको देखिन्छ । तर, महामारी र ब्याजदर एकल अंकमा झरेपछि भने होटल तथा पर्यटन क्षेत्र विस्तारै तंग्रिदै पुरानै अवस्थामा फर्किरहेको संकेत गरिरहेका छन् । विगतको तुलनामा पर्यटकहरू आवागनमा केही वृद्धि भएर व्यापार व्यवसाय पनि बढेको देखिन्छ । नेपाली पुँजी बजारमा विभिन्न ६ होटल कम्पनी सूचीकृत छन् । पुँजी बजारमा कालिञ्चोक दर्शन, ओरिएण्टल होटल्स, चन्द्रागिरि हिल्स, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल्स र सिटी होटल कारोबार भइरहेका छन् भने अन्य थप आधा दर्जन बढी होटल कम्पनी पुँजी बजारमा आउने तयारीमा छन् । पर्यटन क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका यी होटल कम्पनीले भोगेका समस्या र चुनौती थुप्रै रहेका छन् । अर्थतन्त्र चलायमानमा योगदान र विदेशी मुद्रा आर्जनमा भूमिका खेलिरहेका यी कम्पनीले के-के समस्या र चुनौती भोग्नु परेको छ भनेर यहाँ खोतल्ने प्रयास गरिएको छ । अधिकांश होटलको समस्या र चुनौती एउटै छन् । कालिञ्चोक दर्शनले आर्थिक मन्दी तथा कोरोनाको प्रभाव अझै रहिरहेको, आन्तरिक तथा बाह्य पर्यटकको गतिविधिमा अझै सुधार तथा विस्तार हुन नसकेको, परिर्वतनशील राष्ट्रिय नीति नियमका कारण पर्यटकीय क्षेत्रमा प्रभाव परेको जनाएको छ । यस्तै, आर्थिक मन्दी तथा राजनैतिक अवस्थाको प्रभाव, आकस्मिक रूपमा आइपर्ने कुनै पनि असहज परिर्वतन र विदेशी विनियम दरमा आउने परिवर्तनले होटल तथा पर्यटन क्षेत्रमा समस्या र चुनौती थपिएको कालिन्चोक दर्शनको भनाइ छ । कम्पनीको साधारण सभाले निर्धारण गरेका तथा नियमावली र प्रबन्धपत्रमा उल्लेखित उद्देश्य पूर्ति गर्न सहायक कम्पनीको स्थापना गरिएको छ र सहायक कम्पनीलाई थप व्यावसायिक प्रयोजनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीमा उपलब्ध सबै संयन्त्र र संरचनाको समुचित उपयोग, सञ्चालन खर्चमा मितव्ययीतासहित अन्य अनावश्यक खर्चहरूलाई कटौती गरी कम्पनीको आम्दानीमा वृद्धि हुने गरी बजार व्यवस्थापन गर्न उच्च प्राथमिकता दिने र सेयर सदस्यहरूका लागि विशेष छुटसहितको नयाँ योजना लागू गर्ने कम्पनीको रणनीति रहेको छ । ओरिएण्टल होटल्सले कोरोना भाइरसजस्ता अप्रत्यासित रूपमा देखापर्ने प्रकोपले पर्यटन क्षेत्रलाई असर पार्ने गरेको जनाएको छ । साथै देशमा नयाँ-नयाँ होटलहरू निर्माण भई सञ्चालनमा आउने क्रम बढेको तर सोही अनुपातमा पर्यटकको आगमनमा वृद्धि नभएको, अप्रत्यासित रूपमा घट्ने पर्यटन प्रतिकूलताका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव जस्तै- रसिया युक्रेन र इजराइल र हमास युद्धको असरले होटल तथा पर्यटन क्षेत्रमा प्रभाव पार्ने गरेको होटलको भनाइ छ । पर्यटन उद्योगमा देखिने राजनीतिक अशान्ति, अप्रत्यासित रूपमा हुने बन्द हड्ताल, आन्तरिक पर्यटन प्रवर्द्धनको कमी, पर्यटकीय सार्वजनिक यातायातको अभाव तथा अन्तर्राष्ट्रिय हवाइ सिट क्षमतामा न्यूनताबाट प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने गरेको होटलले जनाएको छ । पर्यटन भौतिक पूर्वाधारको विकासको कमी, विदेशी मुद्राको विनिमय दरमा हुने उतार चढाव र पर्यटकहरूलाई नेपाल आवत–जावत गर्ने हवाई भाडा दरमा एक्कासी वृद्धि हुँदा पनि समस्या र चुनौती रहेको ओरिएण्टल होटल्सले जनाएको छ । उक्त समस्या तथा चुनौतीसँगै ससक्त बजार व्यबस्थापन, होटलका पाहुनालाई प्रदान गरिने गुणस्तरीय सेवा र सुविधाहरूको निरन्तर स्तरोन्नति, होटलका सेवा सुविधासम्बन्धि भौतिक पूर्वाधार र संरचनाको स्तरवृद्धि वा प्रतिस्थापन गर्ने रणनीति होटलको रहेको छ । लक्ष्य अनुसारको पर्यटन व्यवसायको बजार बिस्तार र सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप निरन्तर परिमार्जन गर्दै सम्भावित नोक्सानी कम गर्ने होटलको रणनीति छ । साथै पुराना ग्राहकहरूलाई विस्तापित हुन नदिने र नयाँ ग्राहकलाई खोजी गर्ने कम्पनीको योजना छ । चन्द्रागिरि हिल्सले अप्रत्याशित रूपमा आउने राष्ट्रिय तथा अत्तराष्ट्रिय घटनाहरूको कारणबाट देशको आन्तरिक तथा बाह्य पर्यटन उद्योगमा प्रभाव परेको जनाएको छ । अस्थिर राजनैतिक वातावरणका कारण समग्र अर्थतन्त्रमा पर्ने गरेको, पर्यटकिय पूर्वाधारको विकासमा सरकारको न्यून लगानी र निर्माणधिन कामको पनि सुस्त गतिका कारण आन्तरिक तथा बाह्य पर्यटकको गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको, अस्थिर राष्ट्रिय नीतिहरू र नियमबाट विषेश गरी पर्यटकीय क्षेत्रमा असर गरेको होटलको भनाइ छ । पर्यटन प्रवर्द्धन पर्यटन सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायको आक्रामक प्रचारप्रसार हुनु पर्नेमा निष्कृयताका कारण कुनै गतिविधि नभएको, आर्थिक गतिविधिमा आएको शिथिलतामा सुधार नभएको र विदेशी विनियम दरमा आउने परिवर्तनले समस्या र चुनौती खेप्नु परेको बताइएको छ । विभिन्न रणनीतिको परिणामस्वरूप स्वदेश तथा विदेशवाट भ्रमणमा आउने पर्यटकहरूको बास बस्ने र विभिन्न गोष्ठी, सेमिनार सञ्चालन गर्न आउने व्यक्ति तथा संघसस्थाको संख्यामा निरन्तर वृद्धि भइरहेको, उपलब्ध सबै सुविधाको उच्चतम उपयोग, सञ्चालन खर्चमा मितव्ययीतासहित अन्य अनावश्यक खर्चहरूलाई कटौती गरी आम्दानी बढाउने होटलको प्राथमिकता रहेको छ । चन्द्रागिरि हिल्सको भ्रमणलाई हरेक व्यक्तिको जीवनको उत्कृष्ट र अविस्मरणीय बनाउन विभिन्न गतिविधि सञ्चालन गरिएको कम्पनीले जनाएको छ । पर्यटकहरूका लागि रिसोर्टमा छुटहरूसहितको प्याकेजहरू दिँदा संख्यात्मक वृद्धि हुने अपेक्षा रहेको जनाएको छ । सोल्टी होटलले विश्वव्यापी फैलिने स्वास्थ्यसम्बन्धी संक्रामक रोगहरूले व्यावसायिक प्रतिकूलता सिर्जना गरेको जनाएको छ । अप्रत्याशित रूपमा घट्ने पर्यटन प्रतिकूलताका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना, देशमा पर्यटनसम्बन्धी पर्याप्त भौतिक पूर्वाधारहरूको विकासको कमी, पर्यटकहरूको सुरक्षा, देशको आर्थिक र राजनैतिक अवस्था तथा सम्बन्धित मुलुकबाट जारी गरिने यात्रा प्रतिकूलतासम्बन्धी निर्देशन नै होटल तथा पर्यटन क्षेत्रका चुनौतीका रूपमा देखिएको कम्पनीले जनाएको छ । विदेशी विनिमय दर (अमेरिकी डलर र यूरो)मा हुने अप्रत्याशित परिवर्तन, ऊर्जा, विद्युत, इन्धन तथा औद्योगिक पदार्थमा हुने अप्रत्याशित उच्च मूल्य वृद्धि तथा उपभोग्य पदार्थको मूल्य वृद्धि र श्रम समस्याले प्रत्यक्ष तथा अप्रत्यक्ष समस्या निम्त्याएको कम्पनीको भनाइ छ । नयाँ होटल सञ्चालनपश्चात् देखापरेको र पर्नसक्ने बढ्दो होटल कोठा आपूर्ति तथा पर्यटन बजारको मागमा आएको उच्च असन्तुलनबाट व्यवसायमा प्रभाव परेको, पर्यटन उद्योगमा देखापर्ने औद्योगिक अशान्ति, अप्रत्याशित रूपमा हुने बन्द हडताल, आन्तरिक पर्यटन प्रवर्द्धनको कमी तथा सर्वसुलभ पर्यटकीय सार्वजनिक यातायातको अभाव तथा अन्तर्राष्ट्रिय हवाई सिट क्षमतामा न्यूनता र देशमा अचानक आइपर्ने असहज परिस्थिति, प्राकृतिक तथा दैवी विपद् तथा प्रकोप नै होटल तथा पर्यटन क्षेत्रका मुख्य चुनौतीका रूपमा देखिएको सोल्टी होटलले जनाएको छ । प्राकृतिक विपद तथा महामारीजस्ता दैवी प्रकोपका कारण निम्तिन सक्ने प्रतिकूल परिस्थितिबाट बचाउन वा रोकथामका लागि सरकारबाट जारी गरिने आवश्यक वैधानिक प्रतिबन्धात्मक उपायबाट पर्यटनमा पर्ने प्रतिकूल परिस्थितिहरुमा पनि बैधानिकपूर्ण अनुपालनाहरूका साथ होटल सञ्चालनसम्बन्धी व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दै होटलका पूर्वाधार संरचना र सुविधाहरूलाई पूर्ण क्रियाशील राख्ने होटलको रणनीति छ । सञ्चालन खर्च घटाउन सबै व्यावसायिक रणनीतिलाई पूर्ण क्षमतामा प्रयोग गर्दै कम्पनीका सबै संयन्त्रहरुको समुचित सदुपयोग गरी होटलको सञ्चालन तथा व्यवस्थापन न्यूनतम खर्चमा गर्ने, कर्मचारी खर्च र अन्य अनावश्यक खर्चलाई कटौती गर्ने र प्रतिकूल समयमा अनुकूल वातावरण आम्दानी बढाउने योजना छ । तारागाउँ रिजेन्सी होटल्सले पर्यटकहरूको सुरक्षा, देशको आर्थिक र राजनीतिक उतारचढाव तथा सम्बन्धित मुलुकबाट जारी हुने यात्रा प्रतिकूलतासम्बन्धी निर्देशनले पार्ने प्रभावलाई मुख्य चुनौतीका रूपमा लिएको छ । युवा जनशक्ति विदेश पलायन भइरहँदा देशभित्र दक्ष कार्यशक्तिको अभाव र होटललाई आवश्यक परेको समयमा कुशल कामदार पाउन जटिल हुने गरेको कम्पनीको भनाइ छ । पर्यटन व्यवसाय र मनोरञ्जन क्रियाकलाप अन्तरसम्बन्धित रहेकोमा आधुनिक परिवेशमा आम युवाहरूले खोज्ने आधुनिक मनोरञ्जनका क्रियाकलायप जस्तै सांगीतिक कन्सर्ट, महोत्सव, इन्टरटेनमेन्ट सोहरू सञ्चालन गर्न कानुनी जटिलता झेल्नुपरेको, विलासिता कर लगाउनाले पाँचतारे होटलमा बस्दा ग्राहकको खर्च बढ्ने भएकाले होटलमा स्थानिय तथा स्वदेशी ग्राहकको संख्या कम हुने गरेको होटलले जनाएको छ । देशमा नयाँ पाँचतारे होटल खुलेसँगै प्रतिस्पर्धा बढेको तर सोही अनुरूप गुणस्तरीय पर्यटक आगमनमा वृद्धि नभएको, पर्यटनसम्बन्धी भौतिक पूर्वाधारहरूको विकास तथा स्तरोन्नति नहुनु, सर्वसुलभ यातायातको सुविधा नहुनु, विदेशी मुद्राको विनिमयमा भइरहने उतावचढाव, अप्रत्यासित रूपमा पर्यटन क्षेत्रमा हुने श्रम समस्या जसको कारणले आन्तरिक तथा बाह्य पर्यटकमा पर्ने नकारात्मक प्रभावलाई पनि यस होटलले आफ्नो समस्या तथा चुनौतीका रूपमा लिएको छ । अप्रत्याशित रूपम घट्ने पर्यटक प्रतिकूलकताका राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाहरु, प्राकृतिक तथा दैविक प्रकोपहरूको प्रभाव, कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टाका लागि बन्द हुँदा पाँचतारे होटल क्षेत्रमा पाहुनाको आवागमन ढिलाइ, बुकिङ रद्द, आम्दानीमा गिरावट र व्यवस्थापनमा चुनौती थपिएको जनाएको छ । होटल परिसरमा कर्पोरेट सभा, सामाजिक, शैक्षिक तथा सांगीतिक कार्यक्रम सञ्चालन गर्न थप आकर्षण बढाउने, सम्भावित प्राकृतिक तथा दैविक प्रकोपहरूबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न विपद व्यवस्थापनलाई मध्यनजर गर्दै प्रतिकूल अवस्थामा पनि व्यवसायको निरन्तरताको लागि आवश्यक कार्य गर्ने, कर्मचारीहरू र अतिथिलाई उच्चस्तरीय सेवा प्रदान गराउन विभिन्न तालिमको आयोजना गर्ने होटलको योजना छ । कम्पनीका सबै संयन्त्रको समुचित सदुपयोग गरी होटल सञ्चालन तथा व्यवस्थापन न्युनतम खर्चमा गरी लक्ष्यअनुसारको आम्दानी हासिल गर्ने र नयाँ बजार तथा गुणस्तरीय ग्राहकको खोजी गर्ने कम्पनीको रणनीति छ । ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्दै थप ताजगी तथा नयाँपन प्रदान गर्न होटलको आवश्यक मर्मत, सुधार तथा सम्भार, रंगरोगन आदि जारी राख्ने कम्पनीले जनाएको छ । सिटी होटलले अन्य धेरै ब्राण्डेड होटलहरू खोलिने क्रममा जारी रहेको, विलासिता कर लगाउनाले पाँचतारे होटलमा बस्दा लाग्ने खर्च बढेको, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विस्तारका कारण निश्चित समय विमानस्थल बन्द भएकाले पर्यटक आगमन प्रभावित हुने भएकाले होटल तथा पर्यटन क्षेत्रमा असर गरेको जनाएको छ । अधिक कपीरेट कार्यक्रम र निजी समारोह आकर्षित गर्न ब्याङ्केट तथा खानपानका सुविधालाई सुधार गर्ने, स्थानीय बजारबाट व्यापार बढाउन ध्यान केन्द्रित गर्ने, स्थानीय व्यवसायहरू र कार्यक्रम आयोजकहरूसँग सहकार्य गरी बैठक, सम्मेलन र विवाह बुकिङ बढाउने र ग्राहकको निरन्तर आगमन सुनिश्चित गर्ने कम्पनीको रणनीतिक योजना छ । यस्तै, उच्चस्तरका कार्यक्रमहरू र कपीरेट सभाहरू होस्टिङमा जोड दिने, भारत, चीनजस्ता लक्षित बजार र धार्मिक यात्रामार्फत समग्र राजस्व वृद्धि गर्न ध्यान केन्द्रित गर्ने, कम्पनीको व्यवसायलाई समय-समयमा समीक्षा गरी सेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्ने, समयअनुसार व्यवसाय वृद्धिको लागि प्रभावकारी बजार रणनीतिमा ध्यान दिने कम्पनीको रणनीति रहेको छ ।

सिटिजन्स बैंकले ७ वर्षका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने

काठमाडौं । सिटिजन्स बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ बैंकले ७ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको हो । उत्कृष्ट बैंकिङ सेवा सुविधाहरू प्रदान गर्दै आएको बैंकले उक्त योजनाअन्तर्गत कायम रहेको व्याजदर ७ बर्षसम्म स्थिर रहने छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर निर्धारण गर्ने जनाएको छ । बैंकका शाखा कार्यालयबाट उक्त योजनाको सुविधा उपभोग गर्न सकिनेछ । अधिकतम २ करोड रुपैयाँसम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकहरूलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड समेत उपलब्ध गराइने बैंकले जनाएको छ । साथै उक्त योजनामा पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको छ । बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको हो । बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्रीन डेभलमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।