आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली, बाँकी भागमा मौसम सफा
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टासम्म नेपालमा वर्षा/हिमापत गराउने प्रणाली छैन । साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ ।
गाउँ पसे हिमचितुवा, पशुपालन व्यवसाय सङ्कटमा
काठमाडौं । पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदा उपल्लो मुस्ताङका किसानको सदियाँै वर्ष पुरानो पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो । जिल्लामा हिमचितुवाको एकीन तथ्याङ्क छैन । अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको उपल्लो मुस्ताङमा हिमचितुवाले चरन क्षेत्र, खर्क र पशु गोठमै पसेर पशुधनको क्षति गरिदिँदा उपल्लो मुस्ताङका पशुपालक किसानको व्यवसाय नै लोप हुने खतरा बढेको हो । जलवायु परिवर्तनले हिमाली उच्च लेकमा चरन क्षेत्र साँघुरिँदै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेको र घाँसको खोजीमा हिमचितुवाको मुख्य आहार नाउर बस्ती तल झर्ने गरेको पाइएको छ । हिमालकी रानी हिमचितुवा आहारको खोजीमा नाउरलाई पछ्याउँदै बस्तीसम्म आइपुग्दा घरपालुवा पशुचौपाया क्षति हुने जोखिम बढेको हो । तर संरक्षिणविद्हरूले हिमचितुवा सडक र बस्तीमा झर्नुमा फरकफरक भनाइ राख्ने गरेका छन् । पछिल्लो दुई वर्षयता उपल्लो मुस्ताङमा हिमचितुवा सडक र बस्ती नजिक देखिन थालेका छन् । गत वर्ष मुस्ताङमा दुईवटा हिमचितुवा कागबेनी गाउँ नजिकै देखापरेको थियो । हिमचितुवा दिनदहाडै सडक र बस्तीमा देखिन थालेपछि स्थानीय पशुपालकले पालन गरेका घरपालुवा घोडा, खच्चड, याकचौँरी, भेडाच्याङ्ग्रालगायतमा क्षति हुने जोखिम बढेको हो । दुई वर्षअघि लोघेकर दामोदरकुण्ड-२ ढाक्मरमा स्थानीय किसान मिङमार गुरुङको ७९ वटा च्याङ्ग्रा हिमचितुवाले आक्रमण गरी मार्यो । तारबारसमेत लगाइएको च्याङ्ग्रा गोठमा जाली नाघेर चारवटा हिमचितुवा खोरमा पसेर गुरुङको ठूलो सङ्ख्यामा च्याङ्ग्रा क्षति पुर्यायो । यस्तै, चालु वर्ष फागुनको पहिलो हप्ता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ समरका स्थानीय पशुपालक नवीनकुमार गुरुङको गोठमा रहेको ३३ वटा च्याङ्ग्रामध्ये चारवटा हिमचितुवाले आक्रमण गरी मार्यो । नवीन र मिङ्मार केवल प्रतिनिधि पात्रमात्र हुन् । मुस्ताङमा हिमचितुवाले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका दर्जनौँ पशुपालक किसानलाई हिमचितुवा र अन्य वन्यजन्तुले पशुधनमा क्षति तुल्याउन गरेको छ । यसैका कारण मुस्ताङमा घरपालुवा पशुपालन व्यवसायमा हिमचितुवा र वन्यजन्तुको थप जोखिम बढेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० लोमान्थाङले चालु आवको १० महिनामा हिमचितुवाले १३ वटा पुशधनमा क्षति तुल्याएको बताएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार चालु आव २०८१/८२ को साउनदेखि माघ मसान्तसम्ममा ३ वटा घोडा, ६ वटा च्याङ्ग्रा र ४ वटा याकलाई हिमचितुवाले आक्रमण गरी क्षति बनाएको जानकारी दिए । यसैगरी गत वर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका विभिन्न पशुपालक किसानको कुल १८० वटा पशुधनमा हिमचितुवाले क्षति बनाएको छ । एक्याप कार्यालय लोमान्थाङको रेकर्डअनुसार गत वर्ष घोडा १४, च्याङ्ग्रा १५४ र भेडा १२ वटालाई हिमचितुवाले मारेको थियो । मुस्ताङमा आव २०७९/८० मा मुस्ताङका पाँचवटै पालिका गरी १३ घरपरिवारका ६५ पशुधनमा क्षति भएको थियो । जिल्लाको पुख्र्यौली व्यवसायका रूपमा याकचौँरी, घोडा र भेडाच्याङ्ग्रा पालन गर्ने गरिएको छ । यो यहाँको आर्थिक व्यवसायका रूपमा मात्र सीमित छैन, हिमाली संस्कृतिसँग पनि जोडिएको छ । यसरी पालन गरिएका याकचौँरी र भेडाच्याङ्ग्रा पशुपालक किसानलाई एक्याप कार्यालयले आवश्यक प्रक्रिया पुर्याएर नियमानुसार राहत वितरण गर्ने गरेको छ । तर, एक्यापले वन्यजन्तु क्षतिको राहत वितरण गर्ने गरेको भए पनि उपल्लो मुस्ताङका पशुपालकले राहतका लागि एक्यापको सम्पर्क आउनेको सङ्ख्या कम भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाइ छ । उनले वन्यजन्तुपीडित घटना घटे पनि राहतको लागि सम्पर्क आउन नसक्दा वन्यजन्तुको क्षति एकीन तथ्याङ्क सङ्कलन गर्न समस्या पर्ने गरेको बताए । ‘हामीले वन्यजन्तु क्षति भएमा समुदायमा रिपोर्ट गर्न भनेका छौँ, संरक्षण क्षेत्र व्यवस्थापन समिति र प्रहरी युनिट पनि छन्,’ एक्याप लोमान्थाङ प्रमुख पौडेलले भने, ‘वन्यजन्तु क्षतिका विवरण सङ्कलनदेखि सबै कागजी प्रक्रियाका एक्याप कार्यालयले कर्मचारी खटाएर सहजीकरण गर्छ ।’ कार्यालय प्रमुख पौडेलले अब चाँडै वन्यजन्तु क्षति रकम आउने र त्यसलाई समुदायमा पुगेर पीडितलाई वितरण गरिने जानकारी दिए । एक्याप लोमान्थाङअन्तर्गत उपल्लो मुस्ताङका वन्यजन्तु पीडितले दुई वर्षयता राहत पाउन नसके पनि एक्याप जोमसोम कार्यालयले भने वन्यजन्तुपीडितलाई निरन्तर क्षति राहत वितरण गर्दै आइरहेको छ । पशुधनको क्षति भएमा एक्याप कार्यालयको रोहबर, प्रहरी, संरक्षण व्यवस्थापन समिति र पशु भेटेरिनरी अस्पतालका पशु चिकित्सक लगाएको उपस्थिति क्षति लागत अनुमान गरी राहत वितरण गर्ने गरिन्छ । एक्यापले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ‘क’ले दिएको अधिकार प्रयोग गरी वन्यजन्तु क्षति निर्देशिका, २०८० कार्यान्वयनमा ल्याएको छ । वन्यजन्तुपीडितलाई राहत वितरण गर्ने प्रक्रियालाई सहज र व्यवस्थित गर्ने उद्देश्यले कार्यान्वयनमा आएको नयाँ निर्देशिकाले पशुपालक किसानलाई राहत उपलब्ध गराउन टेवा पुग्ने एक्यापको भनाइ छ ।
बैतडीमा गोली प्रहारबाट एक जनाको ज्यान गयो, गोली प्रहार गर्ने फरार
काठमाडौं । गोली प्रहारबाट सख्त घाइते भएका बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका थिए । शनिबार राति करिब ८ बजे लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद भएको थियो । लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक बडूले बताए । गोली प्रहार गर्ने कर्णबहादुर फरार छन् । उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।
सेताम्य हिउँले ढाकेपछि पर्यटक बढे, हिउँ खेल्न रोल्पा, जाजरकोट बुटवलदेखि बागलुङ पुगे
काठमाडौं । शनिबार बिहानैदेखि बागलुङको पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए । समुद्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइमा रहेको पातिहाल्ने शुक्रबार र शनिबार गरी झण्डै १ हजार २ सय पर्यटक हिउँ खेल्न पुगेको स्थानीय थमबहादुर घर्तीले बताए । बाक्लो हिमपातका कारण ठूला सवारीसाधन चल्न नसकेको उनको भनाइ छ । पर्यटक मोटरसाइकल र जिपमा घुम्न आएको घर्तीले बताए । पातिहाल्ने पुगेका पर्यटक रिगतालसम्म पुगेको उनले जानकारी दिए । यस वर्ष दोस्रोपटक हिमपात भएको पातीहाल्नेमा करिब डेढ फिट हिउँ जमेको छ । उनले भने, ‘लामो समय खडेरी पर्यो, गर्मी सुरु हुने बेला हिउँ परेपछि टाढाटाढाबाट हिउँ खेल्न सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आएका छन्, अझै चार–पाँच दिन हिउँ पग्लिदैन, हिउँ पग्लेर नसकिँदासम्म यस्तै चाप हुन्छ, तीनवटै जिल्लाबाट घुम्न आउने पर्यटकले यतिबेला पातिहाल्नेमा निकै रमाइलो भइरहेको छ ।’ बाक्लो हिउँ परेको हुँदा पातिहाल्ने पुगेका पर्यटक तिलाचन ताल पुग्न सकेका छैनन् । करिब आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने तिलाचन ताल क्षेत्र पनि हिउँले सेताम्य बनेको छ । हिउँले पातिहाल्ने क्षेत्र निकै मनोरम देखिएको गलकोटबाट घुम्न जानुभएका विकास क्षेत्रीले बताउनुभयो । यसभन्दा अगाडि पनि साथीसँग बर्खाको समयमा घुम्न आएको सुनाउँदै शनिबार सात जनाको समूह भएर हिउँ खेल्न पुगेको उनको भनाइ छ । ‘पहिले बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना निकै टाढा होला भन्ने लागेको थियो तर नजिक रहेछ, दुई घण्टामै यहाँ आउन सकिने रैछ, हिउँले पातिहाल्ने र माथिल्लो डाँडा ढपक्क हिँउले ढाकिएको देख्दा निकै रमाइलो भयो,’ उनले भने, ‘हामीहरू मोटरसाइकलमा गएका थियौँ, हिउँमा मोटरसाइकल चिप्लिएर समस्या हुँदोरहेछ, एकै दिन सयौँको सङ्ख्यामा हिउँ खेल्न पुगेका रहेछन् ।’ एक दशक अगाडिसम्म गुमनाम रहेको पातिहाल्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि चर्चामा छ । उच्च पहाडमा रहेको यस क्षेत्रमा पछिल्लो समय बस्तीसमेत बस्न थालेपछि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पातिहाल्ने जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब १३५ किलोमिटर पश्चिममा पर्छ ।
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताएका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विसं २०८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिए । नेता डा कोइरालाले महाधिवेशनपूर्व गर्नुपर्ने सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरणलगायत काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरे । उनले २०८२ भित्र पार्टीको महाधिवेशन सकेर २०८४ को आमनिर्वाचनमा एकताबद्ध भएर पार्टीलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
काठमाडौं विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने
काठमाडौं । काठमाडौं विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ । विदेशका विश्वविद्यालयमा विद्यार्थीहरूले भोग्नुपरेको समस्याका बारेमा विश्वविद्यालयका पदाधिकारी, विद्यार्थीहरूबीचको छलफलपछि यस्तो निष्कर्षमा पुगिएको विश्वविद्यालयका कार्यवाहक उपकुलपति अच्युत वाग्लेले जानकारी दिए । शुक्रबारसमेत यस विषयमा छलफल हुँदा विभिन्न विश्वविद्यालयमा एउटा सेमेष्टरमा कोर्ष पूरा गरेको प्रमाणित भएमा यहाँ बाँकी सेमेष्टर अध्ययन गर्न सहज हुने जानकारी गराइएको बताए । ‘अध्ययन शुल्कमा हामीले धेरै सोचेका छैनौँ, बाँकी रहेका सेमेष्टर यहाँ ट्रान्सफर गरेर अध्ययन गर्न सकिन्छ । डिग्री काठमाडौँ विश्वविद्यालयकै हुन्छ, पढ्न चाहनेलाई सहज बनाउने हाम्रो प्रयास हो, विभिन्न विश्वविद्यालयमा अध्ययन पूरा गरेकाहरूको यहाँ परीक्षा लिने व्यवस्थाका लागि पनि सहज व्इवस्था गर्नेछौँ,’ उनले भने । उपकुलपति वाग्लेले ओडिसास्थित केआइआइटी विश्वविद्यालयसँग काठमाडौं विश्वविद्यालयको औपचारिक सम्झौता नभए पनि अहिलेको समस्या समाधानका लागि कूटनीतिदेखि प्राज्ञिक छलफलका माध्यमबाट सहजीकरणका लागि पहल गरिनुपर्ने बताए । ‘कोर्ष ट्रान्सफर गरेर अध्ययन गर्न र परीक्षा दिन चाहनेलाई सहज हुने गरी शुल्क व्यवस्थापन हुनेछ, हरेक विद्यार्थीको समस्यालाई पहिचान गरेर समाधानको गर्न प्रयत्न गर्छौं,’ उनले भने । विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका सहडिन श्यामसुन्दर खड्काले विभिन्न विश्वविद्यालयमा कोर्ष अध्ययन पूरा गरेकाले परीक्षा दिन पाउने सहज व्यवस्था भएको बताउँदै नीतिगत कुरामा सहजीकरण गर्न सकिने बताए ।
८८ लाखमा बन्यो कैलाश र वैकुण्ठ जोड्ने जिपलाइन, लम्बाई १ हजार २०० मिटर
काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकाले कैलाश र वैकुण्ठ क्षेत्र जोड्ने गरी जिपलाइन निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले ८८ लाख रुपैयाँ लागतमा करिब एक हजार २०० मिटर लामो जिपलाइन निर्माण गरिएको बताए । वडा नं २ बैकुण्ठमा निर्मित कैलाश वैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षणसमेत सम्पन्न भएको र यसले धादिङको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका नागरिकसमेत लाभान्वित हुने उनको भनाइ छ । जिपलाइन र्मिाणमा सङ्लग्न प्राविधिकसहित गाउँपालिका अध्यक्ष मुक्तान, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, इन्जिनियर अनिल जोशीलगायतको टोलीले पहिलो चरणको परीक्षण गरेका हुन् । गाउँपालिका योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्टले पालिकाले बहुवर्षीय योजना बनाई दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरिएको उहाँले बताउनुभयो । अब चाँडै नियमित जिपलाइन नियमित सञ्चालनमा आउने उनले जानकारी दिए । जिपलाइन प्राविधिक एवं प्रशिक्षक बद्री घिमिरेले पहिलो चरणमा ब्रेकिङ सिस्टम (सोलोप) सम्बन्धी कार्यको परीक्षण गरिएको र अब दोस्रो चरणको परीक्षणपछि नियमित सञ्चालनमा ल्याइने बताए ।
जङ्गल फँडानी नगरी भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनलाई छिट्टै लालपूर्जा दिनेगरी सरकारले काम गरिरहेको बताएका छन् । आज सिन्धुलीमाढीमा भूमि समस्या समाधान आयोगका पदाधिकारी तथा सदस्यहरु र सहकारी अभियन्ताहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने पक्षमा सरकार रहेको बताउँदै उनले भूमि समस्या समाधान आयोगलाई अन्तिम आयोग बनाउने गरी काम गर्न आयोग सिन्धुलीका पदाधिकारी तथा सदस्यलाई निर्देशन दिए । मन्त्री अधिकारीले लालपूर्जा नपाएकालाई लालपूर्जा दिने कामलाई तीव्रता दिन र अन्य काम पनि छिटो गर्नसमेत आग्रह गरे । कानुनी बाधालाई हटाउने काम सरकारले गर्ने र त्यसका लागि नमिलेका कानुनलाई परिवर्तन गर्न अध्यादेश ल्याइएको उनको भनाइ छ । ‘लालपूर्जा दिने नारा कुनै पनि दलको चुनावी नारा हुँदैन, अहिलेको सरकार र आयोगप्रति उठेका भ्रमलाई चिर्नेगरी काम गर्नुहुन अनुरोध छ । सरकारको उद्देश्य बसोबास गर्दै, कमाउँदै आएको ठाउँमा नै जग्गा दिने हो, जीवनभर मेरो जग्गाको स्वामित्व चाहियो भनेर रुने अवस्थाको अन्य गर्नु हो । जोखिमयुक्त अवस्थामा बसोबास गरेका भूमिहीनलाई सुरक्षित स्थानमा सार्ने काम आयोगले गर्छ,’ मन्त्री अधिकारीले भने । सधैँ जग्गा पाइन्छ, जङ्गल फँडानी गर्न पाइन्छ भन्ने कुराको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले आयोगले जङ्गलको सीमा निर्धारण गर्ने र त्यो मिच्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनेगरी काम गर्न आयोगलाई आग्रह गरे । आयोगले जङ्गल फाँड्ने, नयाँ ठाउँ खोज्ने नभई सुरक्षित स्थान मात्र खोज्ने वातावरण बनाउने मन्त्री अधिकारीले उल्लेख गरे ।