विकासन्युज

बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार २५ अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी १० चैतमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

मुगु । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरेपछि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ । सडकमा बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै विजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका वडा न ५ का स्थानीय शिवचन्द्र कार्कीले बताए । कर्णाली राजमार्गको जिया–बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारी साधन बाटोमै रोकिएको नेपालगञ्जबाट आउँदै गरेको कार्कीले जानकारी दिए । सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटरसहित कर्मचारीहरु र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ । आज साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए । जिल्लाको भुलभुले, सिप्टिचौर, सातमोडका सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ । हिमपातका कारण मुगु जाने १७ वटा गाडी र यात्रुहरु तीन दिनदेखि बाटोमै अड्किएको यात्रु शिवचन्द्र कार्कीले टेलिफोनमार्फत जानकारी गराए ।

प्रथम डिएभी अन्तर कलेज फ्रेन्डली फुटसल टुर्नामेन्ट सम्पन्न

काठमाडौं । ललितपुर धोबिघाटस्थित डिएभी अन्तर्राष्ट्रिय कलेजको आयोजनामा संचालित प्रथम डिएभी फ्रेन्डली फुटसल टुर्नामेन्ट कलेज परिसरमा फागुन १० गतेसम्पन्न भएको छ । टुर्नामेन्टमा काठमाडौं उपत्यकाका ४ बिएससी  सिएसआइटी कलेजका विद्यार्थी समूह सहभागी रहेका थिए । प्रथम डिएभी फ्रेन्डली फुटसल टुर्नामेन्टमा सहभागी महर्षि कलेज, शिक्षालय कलेज र आयोजक डिएभी अन्तर्राष्ट्रिय कलेजलाई पछि पार्दै हिमालय कलेजले प्रथम फ्रेन्डली टुर्नामेन्टको ट्रफी पाएका थिए । पुरस्कार वितरण समारोहमा सहभागी कलेजका सम्पूर्ण खेलाडीहरुको प्रतिभा र रुचिलाई कदर गर्दै प्रमाणपत्रद्वारा समेत सम्मान गरिएको थियो । डिएभी बिएससी सिएसआइटीका प्रमुख शशिभुषण चत्तुर्बेदीका अनुसार टुर्नामेन्टको मुख्य उद्देश्य सिएसआइटी कलेजहरुबीच मित्रता र सहकार्य प्रर्वद्धन गर्नु रहेको थियो । कलेजले जारी गरेको बिज्ञप्ति अनुसार यस फुटसल प्रतियोगितालाई निरन्तरता दिँदै आगामी वर्षहरुमा काठमाडौं उपत्यकाका सम्पूर्ण बिएससी सीएसआइटी कलेजहरूलाई समेट्ने योजना रहेको छ ।

स्वास्थ्य मन्त्री भन्छन् : अबदेखि अस्पतालमा स्वास्थ्य बीमाको औषधी छैन भनेर बिरामीलाई फर्काउन पाइन्नँ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आइतबार अनुगमन गर्दै उनले स्वास्थ्य बीमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् । ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो, तोकिएका औषधि अनिवार्य राख्नुपर्छ, सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्नुपर्छ,’ उनले भने । उनले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको बताए । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ । बीमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनको भनाइ छ । जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनको भनाइ छ । इलाम अस्पतालका प्रमुख डा प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरे । सो विषयमा स्वास्थ्यमन्त्री पौडेलले सुगममा चिकित्सक बस्न रुचाउने गरेको बताए । ब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि बताए । अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए । अस्पताल तथा स्वास्थ्य चौकीहरूले समेत आफूले गर्न सक्ने मात्र काम गर्नेगरी मन्त्रालयमा माग गर्नुपर्ने बताए । पूर्वाधार र औजारका विषयमा समेत जिल्ला अस्पतालले माग गर्नुपर्ने उनको भनाइ छ । आवश्यकतानुसार माग भए सम्बोधन गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य चौकीमा एमआरआई र सिटी माग्दा हाल सम्बोधन गर्न नसकिने भन्दै उनले आवश्यकतानुसार माग हुनुपर्ने धारणा राखे । तीनै तहका सरकारले समन्वय गर्नुपर्ने उनको भनाइ छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले फरक–फरक नीति बनाएर काम हुन नसक्ने भन्दै उहाँले एउटै नीति अवलम्बन गरिनुपर्ने उनले धारणा राखे । इलाम अस्पतालले स्वास्थ्यमन्त्री पौडेललाई लिखित ज्ञापनपत्र बुझाउँदै अस्पतालको भौतिक संरचनाका विषयमा जानकारीसहित थप गर्नुपर्ने विषयमा माग गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए ।

अष्ट्रेलियामा बढ्यो गर्मी, जनजीवन र अर्थतन्त्रमा असर

काठमाडौं । अष्ट्रेलियामा अत्याधिक गर्मी बढ्न थालेसँगै जनजीवनमा प्रत्यक्ष असर परेको छ । धेरै शहरी क्षेत्रहरू अत्यधिक गर्मीको खतराको सामना गरिरहेका छन् । जलवायु परिषद्वारा प्रकाशन गरिएको अष्ट्रेलियाको तापक्रम तथ्यांकअनुसार लगभग एक तिहाइ अष्ट्रेलियाली समुदायहरूले प्रत्येक वर्ष ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम अनुभव गर्ने दिनहरूको संख्या २०५० सम्ममा दोब्बर हुनसक्नेछ । मानिसहरूको स्वास्थ्य, जीविकोपार्जन र अर्थतन्त्रलाई हानि पुर्याउने अत्यधिक गर्मी जलवायु प्रदुषणको सबैभन्दा प्रत्यक्ष परिणामहरू मध्ये एक हो । यो सबैभन्दा हानिकारक मध्ये एक पनि हो । १८९० पछि बाढी, आगलागी र अन्य सबै जलवायु–इन्धन प्रकोपहरू भन्दा बढी अष्ट्रेलियालीहरू गर्मीको लहरको परिणामस्वरूप मृत्यु वरण गरिरहेको बताइएको छ । शताब्दीको मध्यसम्ममा लगभग ४० लाख जनसंख्या भएको पश्चिमी सिड्नीका बासिन्दाहरूले ३५ डिग्री सेल्सियसभन्दा दोब्बर दिनहरू बढी तापक्रममा बिताउनेछन् ।

हुम्लाका ५ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन, कामकाज ठप्प

सिमकोट । जिल्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् । सिमकोट, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । सरकारले नियुक्त गरेका नयाँ प्रमुख प्रशासकीय अधिकृत हालसम्म गाउँपालिकामा आएका छैनन् । स्थानीय तहमा नयाँ कार्यकारी नआउँदा कामकाज ठप्प भएको छ । यी गाउँपालिकाले हिउँदे गाउँसभा पनि गर्न सकेका छैनन् । अदानचुली गाउँपालिकाले गत माघ २७ गते हिउँदे गाउँसभा गर्ने निर्णय गरे पनि नयाँ प्रशासकीय अधिकृत नआउँदा समस्या भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए । ‘प्रशासकीय अधिकृत नभएकै कारण विकास निर्माणदेखि अन्य दैनिक कामकाजमा समस्या भएको छ’, उनले भने । अधिकांश योजना सम्झौता भई काम सम्पन्न भएको भए पनि कार्यकारी नभएकै कारण भुक्तानी नभएकाले समस्या झेल्नुपरेको छ । गत पुस पहिलो हप्तामै कर्णाली प्रदेश सरकार अर्थ मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालयलगायत सङ्घीय मन्त्रालयबाट विनियोजित योजना गाउँपालिकाको कार्यालयमा सम्झौता भएका अधिकांश योजनाको काम सम्झौता भए पनि कार्यकारी नभएकै कारण भुक्तानी रोकिएको छ । गाउँपालिकाद्वारा विनियोजित र सङ्घ तथा प्रदेश सरकारद्वारा विनियोजित योजना ठेक्का प्रक्रियाद्वारा सञ्चालन गर्ने योजना भए पनि ती सबै योजना अलपत्र परेका छन् । नागरिकका दैनिक सिफारिसका कामसमेत प्रभावित भएका छन् । रासस

स्ट्रबेरी प्रतिकेजी ४०० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३३, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली (तराई) प्रतिकेजी रु २५, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ९० टाटे सिमी प्रतिकेजी रु ७०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ४०, परबर (लोकल) प्रतिकेजी रु २००, घिरौला प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ६०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ७०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ११०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३२०, कुरिलो प्रतिकेजी रु १,६०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ४५, चुकुन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु २००, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ६०, सेलरी प्रतिकेजी रु १५०, सौफको साग प्रतिकेजी रु ७०, पार्सले प्रतिकेजी रु ३००, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २८०, सुन्तला (भारतीय) प्रतिकेजी रु १४०, तरबुजा (हरियो), प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १६०, जुनार प्रतिकेजी रु १४०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ३५, रुख कटहर प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ७०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १४०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ३४०, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो अकबरे प्रतिकेजी २५०, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु २९०, लसुन सुकेको नेपाली प्रतिकेजी रु २००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ७०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, रुख टमाटर प्रतिकेजी रु १८०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० तोकेको छ ।

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय  विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन  बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् । इलामको सन्दकपुर गाउँपालिका–५ की पेमा तामाङ नौ वर्षकी भइन् । उनी भारतीय विद्यालयमा पढ्छिन् । घर नजिक विद्यालय नभएका कारण भारतमै बसेर पढ्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । तामाङ भारतमै छात्रावासमा बसेर पढ्दै आएकी छन् । नेपालतर्फ भएका विद्यालय पनि बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले बालबालिकालाई भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता रहेको स्थानीय दावा लामाले बताए । कतिपय अभिभावकले बालबालिकालाई छात्रावास त कतिपयले भारतमै कोठा भाडामा लिएर पढाउने गरेका छन् । नेपालतर्फ विद्याल विद्यार्थी अभावले बन्द भएका कारण समस्या भएको छ । मानेभन्ज्याङका विभिन्न विद्यालयमा सो क्षेत्रका धेरै विद्यार्थी पढ्ने गरेका छन् । उच्च शिक्षा हासिल गर्न पनि भारतीय विद्यालयकै भर पर्नुपरेको छ । प्राथमिक तहमा स–साना बालबालिका भारतमा पढाउनुपर्दा अभिभावक पिरोलिएका छन् । यता विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालय बन्द भएका छन् । सो क्षेत्रमा नेपालमा निजी विद्यालय छैनन् । भारतसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा गाउँगाउँमा भएका सामुदायिक विद्यालय बन्द भएका कारण उतै पढ्नुपर्ने बाध्यता छ । कम जनसङ्ख्या भएको सो क्षेत्रमा बालबालिकाको समेत कमी छ । उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिका सीमा क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएको छ । जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट नै पढाउन भारतीय क्षेत्रमा अभिभावकसँगै गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए । लेकाली क्षेत्र भएका कारण  बस्ती पातलो छ । जनघनत्व पनि कम छ । नौ वर्षअघि सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको स्थानीय डोमा शेर्पाले बताइन् । कक्षा ५ सम्मसम्म अध्यापन हुने सो विद्यालय विद्यार्थी अभावका कारण २०७२ सालमा बन्द भएको हो । जौबारीबाट मात्र हाल १४ विद्यार्थी भारत अध्ययनका लागि जाने गरेका छन् । भित्तेमा रहेको विद्यालयसमेत तीन वर्षअघि अन्यत्र सारिएको छ । सो विद्यालय बन्द भएपछि झन समस्या भएको स्थानीयको भनाइ छ । सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, माईजोगमाई–२ मेग्मामा सञ्चालित सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कै मजुवामा रहेको प्राथमिक विद्यालय बन्द छन् ।  नेपालतर्फ नजिक विद्यालय नभएको स्थानीय बताउँछन् । माईजोगमाई–२ स्थित ज्योति विद्यालय पुग्न चार घण्टा लाग्छ । अन्य गाउँपालिकाको केन्द्र नयाँ बजारमा जानुपर्ने बाध्यता छ । नयाँबजारको विद्यालय पुग्न पनि तीनदेखि चार घण्टा लाग्छ । लामो समय धाएर बालबालिकालाई विद्यालय पुर्‍याउँदा अभिभावकले काम गर्न भ्याउँदैनन् । घरका एक जना बालबालिकालाई विद्यालय पुर्‍याउन र घरसम्म ल्याउन खटिनुपर्ने उनीहरूको भनाइ छ । जौबारी, गुराँसे, मेग्मालगायतबाट करिब ३५  विद्यार्थी नेपालको विद्यालय जानबाट वञ्चित भएका माईजोगमाई गाउँपालिका–२ का वडाध्यक्ष डम्बर सुवेदीले बताउनुभयो । सूर्योदय नगरपालिकाको लामिधुरा क्षेत्रका बालबालिकाले समेत नेपालमा पढ्न पाउँदैनन् । उनीहरू पनि नजिकको भारतीय विद्यालय नै जानुपर्ने बाध्यता छ । ‘एउटै विद्यार्थीलाई पढाउन पनि धेरै खर्च हुन्छ । छात्रावास राख्नुपर्छ । नभए कोठा भाडामा लिएर बस्नुपर्छ’, स्थानीय फुर्वा शेर्पाले भने । सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै विद्यालय जाने गरेका छन् । कतिपयले बसमा विद्यार्थी पठाउने गरेका छन् । मानेभन्ज्याङ तुमलिङबाट ११ किलोमिटरको दूरीमा छ । केही अभिभावकले सो दूरीमा अन्य सवारीसाधन प्रयोग गरेर पनि विद्यालय पठाउने गरेका छन् । रासस