विकासन्युज

भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो । किसानले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानीलाई गुणस्तरीय ढङ्गले भण्डारण तथा विभिन्न परिकार बनाएर आन्तरिक तथा बाह्य बजारमा पठाउने लक्ष्यले कृषि ज्ञान केन्द्रले यहाँ प्रशोधन केन्द्र स्थापनाका लागि पहल थालेको हो । बढी उत्पादन भएको याममा किसानले राम्रो मूल्य पाउन नसकेको गुनासो बढेपछि यहाँ नै खुर्सानीको प्रशोधन तथा भण्डारण गरेर बाह्य बजारमा पठाउने लक्ष्यले प्रशोधन केन्द्र स्थापना गर्न लागिएको हो । भोजपुरमा अकबरे खुर्सानी प्रशोधन केन्द्र स्थापनाका लागि कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा कार्यक्रम माग गरेर पठाएको कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिए । मन्त्रालयबाट कार्यक्रम स्वीकृत भएर आएपछि यहाँ केन्द्र स्थापनाका काम अघि बढ्ने प्रमुख यादवले बताए । ‘पछिल्लो समय भोजपुरका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा अकबरे खुर्सानी रहेको छ’, उनले भने, ‘खुर्सानीको राम्रो उत्पादन भए पनि यहाँ प्रशोधन केन्द्र नहुँदा किसानलाई समस्या छ । किसानले उत्पादन गरेको खुर्सानीको सहज बजारीकरणसँगै उत्पादित वस्तुलाई गुणस्तरीय ढङ्गले बाह्य बजार पठाउन केन्द्र स्थापनाको तयारी गरेका हौँ ।’  जिल्लामा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको प्रमुख यादवको भनाइ छ । यहाँ छ सय हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा खुर्सानीखेती भइरहेको तथ्याङ्क रहेको प्रमुख यादवले जानकारी दिए । आगमी दिनमा क्षेत्र अझ विस्तार हुने उनको भनाइ छ । ज्ञान केन्द्रले बढी मात्रामा अकबरे खुर्सानीखेती हुने पौवादुङमा, टेम्केमैयुङ, अरुण गाउँपालिका, भोजपुर र षडानन्द नगरपालिकाका अगुवा खुर्सानी किसान, कृषि शाखा प्रमुख तथा सरोकारवाला पक्षसँग खुर्सानीखेतीमा देखिएका समस्या, यसको सम्भवना र बजारीकरणलगायत विषयमा छलफल गरेको छ । सरोकारवाला पक्षले किसानको राम्रो आम्दानीको स्रोतका रूपमा अकबरे खुर्सानी रहेकाले यहाँ प्रशोधन केन्द्र आवश्यक रहेको बताएका छन् । प्रशोधन केन्द्र स्थापनाका लागि कार्यालयले कार्यक्रम माग गरेकाले थप समन्वय तथा सहकार्य गर्नका लागि छ सदस्य समिति पनि गठन गरिएको छ । अरुण गाउँपालिकाका अगुवा किसान तोरण कार्कीको संयोजकत्वमा समिति गठन गरिएको हो । कृषि ज्ञान केन्द्रले यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अकबरे खुर्सानीको प्रवर्द्धन तथा विकासका लागि थालेको काम राम्रो रहेको पौवादुङमा गाउँपालिका किसान ध्रुव राईले बताए । प्रशोधन केन्द्र स्थापनापछि यहाँका किसानलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ । विगतबाट नै यहाँ खुर्सानी प्रशोधन केन्द्र माग भइरहेको किसान राईले बताए । ‘हामी धेरै किसानले व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेका छौँ’, उनले भने, ‘उत्पादन भएको खुर्सानीको राम्रो बजारीकरण हुन सकिरहेको छैन । यहाँ नै प्रशोधन केन्द्र स्थापना भएमा खुर्सानीलाई प्रशोधन गरेर बाह्य बजारमा पठाउन सकिन्छ । यसले किसानलाई राहत पुग्छ ।’ खुर्सानी किसानको ठूलो आवश्यकताका रूपमा रहेको प्रशोधन केन्द्र स्थापनाका लागि ज्ञान केन्द्रले थालेको काममा स्थानीय तहको तर्फबाट पहलकदमी गर्ने पौवादुङमा–१ श्यामशिला वडाध्यक्ष राजेन्द्र तामाङले बताए । अहिले यहाँ उत्पादन भएको खुर्सानी धरान विराटनगर काठमाडौँलगायत सहरमा मात्र जाने गरेको भए पनि प्रशोधन गरेर पठाएको खण्डमा विदेशमा सहज रूपमा पुग्ने वातावरण बन्ने उनले भने । ‘हामीले पनि किसानलाई खुर्सानी खेतीका लागि प्रोत्साहन गरिरहेका छौँ’, उनले भने, ‘धेरै मात्रामा खुर्सानी उत्पादन भएमा बजारीकरणमा समस्या हुन्छ । यहाँ नै प्रशोधन गरेर बाहिर पठाउन सकियो भने किसानले राम्रो मूल्य पाउने अवस्था बन्छ । किसानको हितमा हुन गइरहेको यो काम सफल बनाउन सबैले आफ्नो तहबाट भूमिका खेल्न आवश्यक छ ।’  रासस

हचुवाका भरमा बजेट नमाग्न मन्त्रालयलाई अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मार्गदर्शन तयार भएको छ । अर्थमन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम यो मार्गदर्शन तयार गर्दै जारी समेत गरेको हो । स्रोत व्यवस्थापनमा परेको दबाब तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि बिस्तार गर्नुपर्ने आवश्यकतालाई समेत दृष्टिगत गरी आयोजना तथा कार्यक्रम प्राथमिकीकरण गर्नुपर्ने अवस्था रहेकाले मार्गदर्शनलाई अर्थ मन्त्रालयले गम्भिरतापूर्वक लिन बजेट बनाइरहेका मन्त्रालयहरुलाई भनेको छ । अर्थसचिव घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा आगामी आर्थिक वर्षको बजेट तर्जुमालाई यथार्थपरक, कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन खर्चको दक्षता अभिवृद्धि हुनेगरी क्रियाकलाप निर्धारण गरी आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना तथा कार्यक्रमहरू मिति चैत्र १५ गते भित्र मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गर्न भनिएको छ । मार्गदशनअनुसार सीमा भित्र रही मन्त्रालयहरुले बजेट प्रश्ताव गर्नुपर्नेछ । प्राप्त बजेट सीमाभित्र रहेर वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव गर्नु पर्ने र कार्यान्वयनको क्रममा सामान्यतया रकमान्तर र कार्यक्रम संशोधन गर्न नपर्ने गरी यथार्थपरक बजेट प्रश्ताव गर्न मन्त्रालयहरुलाई अर्थमन्त्रालयले भनेको छ । त्यस्तै आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० अनुकुल हुनेगरी कार्यक्रम तथा आयोजना प्रश्ताव गर्नुपर्नेछ । साथै आयोजनागत विनियोजनको न्यूनतम सीमा समेत सोही बमोजिम कायम गर्नु भनिएको छ । विनियोजन दक्षता कायम गर्न आयोजनाको उद्देश्यसँग प्रत्यक्ष सम्बन्धित क्रियाकलापमा मात्र बजेट प्रश्ताव गर्नुपर्नेछ भने आयोजना तथा कार्यक्रममा दिर्घकालीन दायित्व सिर्जना गर्ने प्रकृतिका क्रियाकलाप समावेश नगर्नु अर्थमन्त्रालयले सबै मन्त्रालयलाई भनेको छ । चालु खर्चमा मितव्ययिता कायम गर्नेगरी अत्यावश्यक बजेट मात्र प्रश्ताव गर्नु, अनिवार्य दायित्वका खर्च शिर्षकमा पछि थप निकासा माग गर्न नपर्ने गरी पर्याप्त बजेट प्रश्ताव गर्न समेत भनेको छ । एकै प्रकृतिका क्रियाकलापहरू विभिन्न उपशिर्षक तथा कार्यक्रममा समावेश भएकोमा आगामी आर्थिक वर्षदेखि त्यस्ता क्रियाकलापलाई एकीकृत गरी व्यवस्थित गर्न समेत मार्गदर्शनबाट अर्थ मन्त्रालयले भनेको छ । आगामी बजेटको तयारी गरिरहेका मन्त्रालयहरुले नयाँ बजेटमा नयाँ आयोजना तथा कार्यक्रम प्रश्ताव गर्दा गुणस्तरीय आयोजना मात्र समावेश गर्नुपर्नेछ । नयाँ आयोजना तथा कार्यक्रम प्रश्ताव गर्दा पूर्वतयारी पूरा भएका तथा लागत लाभ विश्लेषणबाट कार्यान्वयनयोग्य देखिएका गुणस्तरीय आयोजना मात्र समावेश गर्न र हाल कार्यान्वयनमा रहेका आयोजनाहरू आगामी आर्थिक वर्षमा सम्पन्न हुने भएमा सोको लागि पर्याप्त बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा आयोजनाका लागि बजेट प्रस्ताव अर्थले भनेको छ । सीमित स्रोतको उपलब्धिमुलक उपयोग गर्न स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न समेत अर्थ मन्त्रालयले भनेको छ भने क्रमागत आयोजनाको संख्या घटाउने, कार्यान्वयन हुन नसक्ने तथा कम प्राथमिकताका आयोजना स्थगन गरी कार्यान्वयनयोग्य आयोजना मात्र प्रश्ताव गर्ने व्यवस्था मिलाउन समेत भनेको छ । आयोजना प्रश्ताव गर्दा राष्ट्रिय योजना आयोगको आयोजना बैंकमा प्रविष्ट भएका आयोजना मात्र समावेश गर्नुपर्ने, अध्ययन पूरा नभएका नयाँ आयोजनामा कार्यान्वयनको लागि बजेट विनियोजन नहुने हुँदा त्यस्तो आयोजनाको अध्ययन तथा तयारी कार्यको लागि मात्र बजेट प्रश्ताव गर्न समेत मार्गदशनबाट अर्थ मन्त्रालयले भनेको छ । स्रोतको सुनिश्चितता नगरी नयाँ आयोजना तथा कार्यक्रम प्रश्ताव नगर्न र चालु कार्यक्रम तथा आयोजनाहरूको हालसम्मको कार्यान्वयन अनुभवको आधारमा पुनर्संरचना तथा एकीकृत गर्नुपर्ने देखिएमा सो बमोजिम गरी व्यवस्थित एवं उपलब्धिमुलक बनाउनु समेत बजेट निर्माणमा लागिरहेका अधिकारीहरुलाई मन्त्रालयले मार्गदशनबाट भनेको छ । मार्गदशनअनुसार आयोजना प्रस्ताव गर्दा अन्तर–तह तथा अन्तर मन्त्रालय दोहोरोपना नपर्ने सुनिश्चित गर्नुपर्ने, विपद् संवेदनशिलताको आधारमा जोखिम न्युनिकरण गर्ने गरी अन्तरनिकाय समन्वय कायम गर्नुपर्नेछ भने विपद् पछिको पुनःनिर्माण कार्यलाई प्राथमिकता दिई बजेट प्रश्ताव गर्न भनिएको छ ।

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि रु ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो । योजनाको सर्वेक्षण, लागत अनुमान, विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सोमबार ठेक्का आह्वान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए । सङ्घीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १२–१२ करोड बजेट विनियोजन गरेको उक्त योजना गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो आयोजना हो । यसै वर्ष ठेक्का सम्झौता गरी कार्यक्षेत्रमा ठेकेदार परिचालन गर्ने लक्ष्य छ । उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष रु १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी रामसागर–बिएस धवलागिरि जेभीले करिब ५० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । म्याग्दीबाट ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई प्राथमिकता दिएको म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । ‘बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘यो योजनामार्फत अबको तीन वर्षभित्र दरवाङबाट मुनासम्मको सडकलाई पक्की बनाउने लक्ष्य छ ।’ म्याग्दीको मङ्गला, मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० मा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराएका थिए । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको बताए । सङ्घीय सरकारले मरेनीबाट जलजला ढोरपाटन जोड्ने सडकका लागि चालु आवमा विनियोजन गरेको रु छ करोड ५० लाख बजेटको योजनामार्फत सडकको मार्ग खोल्ने काम भइरहेको छ । रासस

नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधा तर्फको यो प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा दिएको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्राप्त गरेको हो । उक्त अवार्ड नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी र प्रमुख संचालन अधिकृत विकास आनन्द ले ग्रहण गरेका थिए । कार्यक्रममा मुख्य निर्णायक प्रा. डा. फत्त बहादुर केसीले अवार्ड प्रदान गरेका थिए भने शेयरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्सका अध्यक्ष मोहनराज ओझाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक को पनि उपस्थिति रहेको थियो ।

राष्ट्र बैंकको कार्यकारी निर्देशक बने गौतम र पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा २ जना बढुवा भएका छन् । राष्ट्र बैंक सञ्चालक समितिले राम प्रसाद गौतम र किरण पण्डितलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो । गौतम गत मंसिर २० गते बढुवा भएका हुन् भने पण्डित गत फागुन १ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । ३० वर्षे सेवा अवधि पुरा भएपछि देवकुमार ढकालले गत मंसिर ६ गते कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । ढकालले अवकाश पाएपछि निर्देशकको पहिलो वरियतामा रहेका गौतम स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका राष्ट्र बैंकले जनाएको छ । यस्तै, कार्यकारी निर्देशकमा ७ वर्ष सेवा अवधि पूरा भएपछि नेफिल मताङ्गी मास्केले गत माघ २६ गते अवकाश पाए । मास्केले अवकाश पाएपछि पण्डितलाई कार्यकारी निर्देशकमा बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ । कार्यकारी निर्देशकमा बढुवा भएपछि गौतमलाई वित्तीय व्यवस्थापन विभाग प्रमुख र पण्डितलाई भुक्तानी विभागको प्रमुखको जिम्मेवारी दिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसा कार्यकारी निर्देशक रिक्त रहेको १५ दिनभित्रमा पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था छ । निर्देशकको बढुवा भने तत्काल नभएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार डा. प्रकाश कुमार श्रेष्ठलाई भने गभर्नर कार्यालयमा सरुवा गरिएको छ । गभर्नर कार्यालयको कार्यकारी निर्देशक रिक्त भएपछि उनलाई सो ठाउँमा सरुवा गरिएको हो ।

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९० पैसा निर्धारण भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा कायम भएको बैंकले जनाएको छ । यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ आठ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ सात पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८ रुपैयाँ दुई पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ५३ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ १० पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६२ रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ९१ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अस्ट्रेलियाबाट पूर्व बैंकरको चिठ्ठी

 नेपालमा कार्यरत सम्पूर्ण बैंकर्स मित्रहरू  नमस्कार, म पूर्व बैंकर, सपनाको उडान भर्दै हाल अस्ट्रेलियामा बस्दैछु । अष्ट्रेलियाको बीएमसीटीमा काम गर्दैछु । तपाईं यो बीएमसीटी भनेको कुनै ठूलो कम्पनी सोच्दै हुनुहुन्छ होल, मल्टिकम्प्लेक्स ठान्नु भयो होला । हो, त्यस्तै त्यस्तै हो । तर, खास बीएमसीटीको अर्थ पछि भन्नेछु । आदरणीय नेपालमा कार्यरत बैंकर साथीहरु । म अर्थात कुनैदिन तपाईं जस्तै चिटिक्क परेको, टाई, कालो कोट, टिलिक्क परेको जुत्ता लगाएर अफिसको एसीभित्र बसेर काम गर्ने एक बैंकर र हाल पूर्व बैंकर । मान्छे प्रगतिवादी हुन्छ । आज जुन ठाउँमा हामी छौं भोलि योभन्दा एक पाइँला अगाडि आफूलाई देख्न खाज्छौं र यो स्वाभाभिक पनि हो । म नेपालकै एक प्रतिष्ठित वाणिज्य बैंकमा काम गरिरहँदा र त्यसमा पनि कर्जा शाखा र त्यस भित्र पनि खास गरेर मैले शैक्षिक कर्जा शाखा हेर्ने भएकोले मेरो विभागमा कर्जाको लागि अस्ट्रेलिया, क्यानडा र यूके जानका लागि विद्यार्थीको भीड हुनु स्वाभाविक थियो । मलाई थाहा थियो, नेपालको बैंकिङ क्षेत्र दिनहुँ टफ (गाह्रो) हुँदै थियो । दिनहुँ टार्गेट (व्यवसायको लक्ष्य)को सकस, बिदाको दिन पनि काम गर्नुपर्ने बाध्यता, कोरोनापछि खर्च कटौतीको बाहनामा बैंकरको सुविधा कटौती, पातलिँदै गएको बोनस, कर्जा असुलीमा समस्या, दुर्गा प्रसाई जस्ता अराजक ऋणिले कालोमोसो दल्ने खतरा र मर्जरको नाममा पद घट्ने डर । यी सबै कारणले अस्ट्रेलिया जान पाए हुन्थ्यो भन्ने लहड मेरो मनमा चलिरह्यो । अष्ट्रेलियामा गएपछि जीवनशैली धेरै राम्राे हुन्छ, उन्नत हुन्छ, सुविधायुक्त र दुःख मुक्त नै हुन्छ भन्ने विद्यार्थीको कुराले ममा पनि विदेसिने मोह जाग्यो । र, डिपेण्डेड भिसामा कागजी विवाह गरेर बैंकको नोकरी राजीनामा दिँदै म पनि हानिएँ सपनाको देश, सपनाको सहर अस्ट्रेलिया । घरमा बिहान ८ बजेसम्म सुतिरहने म । घरमा कुचोसम्म पनि नलगाएको म । जुठो गिलास र कचौरा पनि नमाझेको म । खानाको नाममा चियासम्म पकाउन नजान्ने म । अस्ट्रेलिया पुगेपछि कामको खोजीमा निक्कै महिना भौतारिरहेँ । कागजी विवाह भएकोले उसले (केटी) कलेजमा पढ्नुपर्ने र बदलामा उसको पढाइको सम्पूर्ण खर्च मैले व्यहोर्नु पर्ने सर्त थियो । त्यही कारणले ममा पैसा जसरी पनि कमाउनु पर्ने बाध्यता थियो । तर, नेपालमा भनिएजस्ताे अस्ट्रेलियामा जागिर सजिलै पाइने वा रुखमा पैसा फल्छ भनेजस्तो सजिलो नहुँदो रहेछ । अस्ट्रेलिया दुःखको देश रहेछ । दुःखीहरुको सहर रहेछ । हाल म बीएमसीटीको काम गर्दै सोच्दैछु । नेपालकै जागिर ठिक थियो । जागिर छोडेर नआएकै भए ठिक थियो । महिनैपिच्छे ५०/६० हजार रुपैयाँ तलब आइरहन्थ्यो । सस्तो ब्याजमा कर्मचारीलाई ‘होमलोन’ पाइरहेकै थियो क्यारे ! थोरै भएपनि बोनस आएकै थियो । सधैं नेपालको बैकिङ क्षेत्र अहिलेजस्तो नरहला नि ! अवस्था राम्रो भएपछि बोनस पनि मोटाउँदै जाने थियो होला । क्षणिक टारगेटको सकसले रन्थनिएर, बिदाको दिन पनि काम गनुपर्यो भनेर रिसको झोकमा राजीनामा दिए । अहिले धिक्कार छु म आफैलाई । खाइपाइ आएको त्यस्तो राम्रो एसीमा बसेर काम गर्ने नेपालको बैंकको जागिर छोडेर अष्ट्रेलिया आएँ । अहिले कसैले अस्टेलियामा के काम गर्छौ ? भनेर सोधे भने भन्न पनि लाज लाग्छ । तर, यहाँ काम गरिरहेको छु बीएमसीटीको । अर्थात् भाडा मस्काउने, चम्काउने र टल्काउने ।

आजको मौसम: सुदूरपश्चिममा हल्का वर्षा, कर्णाली र लुम्बिनीमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।