विकासन्युज

फरवार्ड माइक्रोफाइनान्सको १९ करोड बढीको सेयर बिक्रीमा, मूल्य ५३१ रुपैयाँ

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १९ करोड बढीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाको संस्थापक समूहको ३ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । साथै उक्त सेयरको मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ तोकिएको छ । सो आधारमा लघुवित्तले १९ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले पनि आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले चैत ३ गतेदेखि चैत १७ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कम्तिमा एक हजार कित्ता सेयरका लागि बोलपत्र पेश गर्नुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

११ कर्मचारीलाई १० जिल्लाको बजार अनुगमनको जिम्मेवारी

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको सात महिनामा ९ जिल्लामा ४२० वटा अनुगमन गरेर १३ लाख १० हजार रुपैयाँ जरिवाना सङ्कलन गरेको छ । उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अयोजना गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । कार्यालयका निमित्त प्रमुख सुनिल चौरसियाका अनुसार कार्यालयसँग ११ जना जनशक्ति भए पनि बजार अनुगमन भने १० जिल्लामा गर्नुपर्ने जिम्मेवारी छ । कार्यालयले मधेश प्रदेशका ८, बाग्मती प्रदेशका चितवन र मकवानपुर गरी १० जिल्लाको बजार अनुगमन गर्नु परिरहेको उनले जानकारी दिए । सीमित जनशक्तिका बाबजुद चालु आवका सात महिनामा ४२० पटक बजार अनुगमन गरिएको निमित्त प्रमुख चौरसियाको भनाइ छ । ‘कार्यालयसँग सीमित स्रोधसाधन र जनशक्ति छ । तर पनि १० जिल्लामा बजार अनुगमन गरिरहेका छौँ । सप्तरी जिल्लामा अनुगमन गर्न समस्या भएको छ,’ चौरसियाले भने, ‘‘‘सबैभन्दा धेरै बजार अनुगमन पर्सा जिल्लामा भएको छ । यहाँ १५७ पटक बजार अनुगमन गरेर ४ लाख ९५ हजार रुपैयाँ जरिवाना असुलउपर गरिएको छ ।’ बजार अनुगमनको जिम्मेवारी कार्यालयसँग मात्रै सीमित छैन । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय मातहत पनि नियमित बजार अनुगमन हुने गरेको छ । कार्यालयले गत आवमा ५११ पटक बजार अनुगमन गरेर ६ लाख ३० हजार रुपैयाँ जरिवाना सङ्कलन गरेको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले सबै सरकारी निकाय र उपभोक्ता आफैँ पनि जिम्मेवार भएर उपभोक्ता हित संरक्षणका लागि हातेमालो गरेर अघि बढ्न जरूरी रहेको बताए । ‘बजारलाई स्वस्थ र प्रतिस्पर्धी बनाउनको लागि बहुसरोकारवालाको भूमिका हुने गर्दछ । जिल्ला प्रशासन कार्यालयले पनि निरीक्षण अधिकारीका रूपमा र संयुक्त बजार अनुगमन टोलीमा सहभागी भएर भूमिका निर्वाह गर्दै आइरहेको छ,’ उनले भने । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता र उद्योगी दुवै ठगिएको बताए । ‘राज्यका निकायले विभिन्न समस्या देखाएर प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता र उद्योगी दुवै ठगिनुपरेको छ । प्रहरी र अन्य सरकारी निकायबाट विभिन्न समयमा अनुगमन भए पनि यसले समस्या समाधान हुनसकेको छैन । यसर्थ बजार अनुगमन गर्ने प्रणालीलाई व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने । उद्योग विभागका निमित्त महानिर्देशक रिमा साहले व्यापारी र उपभोक्ता दुवै सजग र सर्तक भएर वस्तु तथा सेवाको बिक्री तथा किनमेल गर्नुपर्ने बताए । उपभोक्ता हित संरक्षणमञ्च नेपाल पर्साका उपाध्यक्ष अजित भुजेलले उपभोक्ता संरक्षण ऐन, २०७५ आएको छ वर्षपछि उपभोक्ता अदालत सञ्चालनमा आउनु सकारात्मक रहेको बताए ।

आगामी निर्वाचनमा एक्लै चुनाव लड्छौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा माओवादी केन्द्र भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको राजनीतिक प्रशिक्षणमा अध्यक्ष दाहालले जनताको बलमा चुनावमा जाने बताए । विसं २०६४ को निर्वाचनमा आफ्नै मुद्दाको बलमा विजयी भएको स्मरण गर्दै उनले भने, ‘आगामी दिनमा माओवादी केन्द्रले कांग्रेस र एमालेसँग समीकरण गर्दैन, आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्छौँ ।’ पार्टीभित्र गुटबन्दी, अराजकतावादी तथा व्यक्तिवादी आत्मकेन्द्रित हुने प्रक्रिया बढेकाले पार्टीमा सङ्गठनात्मक गतिविधि जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो नबढेको अध्यक्ष दाहालको भनाइ छ। पार्टीका गतिविधि गतिशील बनाएर अघि बढ्दै यथास्थितिलाई तोडेर नयाँ यथार्थतिर र नयाँ प्रक्रियातिर जाने सङ्कल्प लिएको उनले बताए । लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र र जनताको समाजवादी गणतन्त्रबीच ठूलो वैचारिक सङ्घर्षको फाइदा उठाएर राजावादीहरूले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर प्रयास गरिरहेको बताए ।

लक्ष्य २ वर्षमा सक्ने, ९ वर्षदेखि अधुरै रह्यो कास्की र पर्वत जोड्ने मोटरेबल पुल

काठमाडौं । कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल ९ वर्षसम्म पनि अधुरै रहेको छ । सम्झौताको २ वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिरदेखि निर्माण थालिएको उक्त पुल ठेकेदारको लापारवाहीका कारण बन्न नसकेको हो । पर्वतको मोदी गाउँपालिका-१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका-८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत पनि भएको छैन । खोलाको एकातिर पुलको केही संरचना तयार भए पनि अन्य काम हुन सकेको छैन । ६ करोड १३ लाख रुपैयाँको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो । अहिलेसम्म १ करोड ५० लाख रुपैयाँ कार्यालयबाट भुक्तानी गरिएको छ । उक्त पुल २९ महिनामा सम्पन्न गर्नेगरी सञ्जीवनी निर्माण कम्पनीले जिम्मा लिएको हो । सडक डिभिजन कार्यालय बागलुङले २०७२ सालमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाको अहिले सडक डिभिजन कार्यालय पोखराले जिम्मेवारी लिएको छ । निर्माण कार्य थाल्न जनप्रतिनिधिले पटकपटक दबाब दिँदै आएका छन् । तर पुल निर्माणले गति लिएको छैन । ‘धेरै पटक हामीले पुलका बारेमा सरकारी निकायमा कुरा राखेपछि सडक डिभिजन कार्यालयले बल्ल काम सुरु गरेको छ, तैपनि सम्पन्न हुने/नहुनेमा आशङ्का छ । ढिलोगरी काम सुरु भएको छ,’ स्थानीय राजेन्द्र खड्काले भने । सडक डिभिजन कार्यालय पोखराले पुनः असार मसान्तसम्मको म्याद थप गरेर निर्माण व्यावसायीलाई निर्माणस्थलमा खटाएको छ । अहिले पुल निर्माणको काम धमाधम भइरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर ध्रुब पोखरेलले जानकारी दिए । अब निर्धारित समयमै सम्पन्न गर्न कार्यालयले निर्माण व्यावसायीलाई निर्देशनसमेत दिएको छ । स्थानीय तहको गठनअघि नै निर्माण सुरु भएको पक्की पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयवासी हैरानी व्यहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताए । स्थानीय तह, सङ्घीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटकपटक अटेर गरेकाले यस्तो समस्या भएको उनको भनाइ छ । यसैबीच निर्माणकार्य सुरु भएको उक्त आयोजनाको राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र प्रदेशसभा सदस्य भक्त कुँवरले स्थगलत अनुगमन गरेका छन् ।

फागनुमा बढ्यो घरजग्गा कारोबार, यी हुन सर्वाधिक कारोबार गर्ने ५ मालपोत कार्यालय

काठमाडौं । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुर २ अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ र पुँजीगत लाभकरबाट १ अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ सङ्कलन भएको छ । विभागले गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ, भदौमा ३ अर्ब ९ करोड रुपैयाँ, असोजमा ३ अर्ब ८ करोड १२ लाख रुपैयाँ, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ, मङ्सिरमा ३ अर्ब ८७ करोड रुपैयाँ, पुसमा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ र माघमा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । मालपोत कार्यालय कलङ्कीले गत फागुनमा २२ करोड ६१ लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार रुपैयाँ, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख रुपैयाँ तथा मालपोत कार्यालय खैरहनी, चितवनले ३ करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

ठेक्का सम्झौताको ७ महिना अगावै सम्पन्न भयो सडक पुल

काठमाडौं । गोरखाको पालुङ्टार नगरपालिका-९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन ७ महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो । फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए । सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उनले जानकारी दिए । ‘वैशाख र जेठमा काम भयो । असारको आधाआधी पनि काम भयो । असार, साउन, भदौ, असोज चार महिना केही पनि काम हुन सकेन,’ उनले भने, ‘कात्तिकपछि लगातार काम गरेर ४ महिनामै पुल तयार भयो । अब केही दिनभित्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।’ समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका लागि यो गतिलो पाठ भएको छ । अठार महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब ९ महिनाभित्र काम सम्पन्न गर्नु खुसीको कुरा भएको उनको भनाइ छ । ‘राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्छ, यहाँ त पाँच वर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरण छन्,’ कार्यालय प्रमुख सुवेदी भन्छन्, ‘तर ढुङ्गेटारी पुल यति छिटो बन्नु प्रशंसनीय काम हो । यसरी नै सबै योजना बन्ने होभने जिल्लाको विकास तीव्रगतिमा हुन्थ्यो ।’ २५ मिटर लामो र ८.४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुङ्गेटारीस्थित खारखोला पुलको लागत २ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्टलिष्ट, को-को सिफारिस भए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम छनोट (सर्टलिष्ट) गरेको छ । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणि चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरेको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभवको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तर्वार्ताका लागि छनोट गरिएको सीईओ सिफारिस समितिले जनाएको छ । साथै छनोट भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि चैत ६ गते अर्थमन्त्रालयमा बोलाइएको छ । व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । नेप्सेको सीईओ बन्न १० जनाले आवेदन दिएका थिए । नेप्सेको सीईओ पदका लागि सर्टलिष्ट भएका ५ जनासहित युवराज दाहाल, प्रविण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकन्दराज जोशीले सीईओका लागि आवेदन दिएका थिए । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागनु १२ गतेदेखि फागुन २५ गतेसम्म आवेदन आह्वान गरेको थियो । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेललाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओविहीन छ । कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो, ६९ मेगावाट क्षमताबाट ३४ मेगावाटमा झर्याे

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ ।नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताए । उनले भने, ‘हिउँ पग्लिएको छैन । मर्स्याङ्दीमा पानीको बहाव कम छ । पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ । हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ ।’ उक्त परियोजनामा २३/२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । ‘साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ,’ सहायक प्रबन्धक हुसेनले भने । मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।