विकासन्युज

सानिमा बैंकका ग्राहकलाई बस टिकट खरिदमा क्यासब्याक सुविधा

काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगमा उत्साहित गर्न बससेवासँग सहकार्य गर्दै आकर्षक क्यासब्याक योजना ल्याएको छ । यस अन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट टिकट खरिद गर्दा ग्राहकले नेपालभित्रको टिकटमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म र भारतको टिकटमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना २०८२ भदौ १५ देखि २०८२ फागुन १४ गतेसम्म लागू रहने बैंकले जनाएको छ । सानिमा बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ । हाल बैंकका सातै प्रदेशमा १३४ वटा शाखा र १२७ वटा एटीएम सञ्चालित छन् ।

दशैंका लागि नयाँ नोट भदौ २९ गतेबाट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट भदौ २९ गतेबाट साट्न पाइने बताएको छ । राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट (नयाँ नोट) साट्न पाइने जानकारी गराएको हो । राष्ट्र बैंकले केन्द्रीय बैंकसँगै सातवटै प्रदेश कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ । प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिनेछ । राष्ट्र बैंकसँगै क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।

शिव सुन्दर टोल सुधार सेवा समाजको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकालाई नमुना नगरको रूपमा विकास गर्ने आफ्नो संकल्प दोहोर्याएका छन् । शनिबार कागेश्वरी मनोहरा–९ कांडाघारीस्थित शिव सुन्दर टोल सुधार सेवा समाजको सातौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मेयर कार्कीले शिक्षा, स्वास्थ्य, खानेपानी, उद्यमशीलता र रोजगारीलाई प्राथमिकतामा राखी नगरपालिका अगाडि बढाइरहेको जानकारी दिए । उनले नगरकै मुख्य समस्या खानेपानी भएको उल्लेख गर्दै संघीय र प्रदेश सरकारको सहकार्यमा चालु आर्थिक वर्षमै सबै टोलमा खानेपानी पुर्‍याउने प्रतिबद्धता जनाए । शिक्षा सुधारका लागि विशेष कार्यक्रम अघि सारिएको र स्वास्थ्यतर्फ सुविधासम्पन्न अस्पताल निर्माण र दक्ष चिकित्सकमार्फत सेवा उपलब्ध गराउन पहल भइरहेको उनको भनाइ थियो । मेयर कार्कीले स्वास्थ्य बीमा अभियानलाई टोल समाजमार्फत जनस्तरसम्म पुर्याउन आग्रह पनि गरे । नगरमा उद्यमशीलताको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्ने योजनाबारे जानकारी दिँदै उहाँले टोल समाजमार्फत स्टार्टअप कार्यक्रम अघि बढाउने तयारी रहेको बताए । नगरपालिकाले अघि सारेका आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुदलगायतका योजनालाई सफल बनाउन टोल सुधार समाजको सक्रियता आवश्यक रहेको भन्दै उहाँले सहकार्यका लागि आह्वान गरे । सो अवसरमा मेयर कार्कीले समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर बुढाथोकी र संस्थापक उपाध्यक्ष भोजराज आचार्यलाई सम्मानपत्र प्रदान गरे । साथै करिब २७ जनालाई आजीवन सदस्यता प्रमाणपत्र हस्तान्तरण गरियो । संस्थाले हालसालै पाँच हजार रुपैयाँ एकमुष्ठ तिरेर आजीवन सदस्य बन्ने योजना अघि सारेपछि धेरै टोलवासी आकर्षित भएको समाजले जनाएको छ । कार्यक्रममा नगरपालिकाका पूर्व मेयर कृष्णहरी थापाले खानेपानी समस्याको समाधानका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए । अध्यक्ष रणबहादुर कार्कीले गत वर्ष सम्पन्न कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्दै नयाँ वर्षका योजनामा नगरपालिकाको सहयोग अपेक्षा गरे । सहसचिव विदुरचन्द्र लामिछानेले स्वच्छता, शिक्षा, सीप, आत्मनिर्भरता र सूचना प्रविधिको उपयोगमा समाजले जोड दिनुपर्ने धारणा राख्दै खानेपानी समस्यालाई प्राथमिकतामा राख्न आग्रह गरे । कार्यक्रममा विभिन्न टोल सुधार समाजका प्रतिनिधि, स्थानीय अगुवा र टोलवासीको उपस्थिति रहेको थियो ।

स्याङ्जाका युवाले व्यावसायिक कागतीखेतीबाट कमाए मनग्य आम्दानी

वालिङ । यहाँका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थालेका छन् । विसं २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’का बेला गाउँमै कागतीखेती थालेका उनले गत वर्षदेखि उत्पादन लिन थालेका हुन् । गल्याङ नगरपालिका–५ स्यालबासबाट एक सय बोट सुन कागतीका बेर्ना ल्याएर लगाएका थिए । कोरोनाका समयमा घरबाहिर हिँडडुल गर्न नभएपछि समयको सदुपयोग गर्दै कागतीखेती गर्ने योजना बनाएर काम सुरु गरेका रेग्मीको अहिले आम्दानीको गतिलो स्रोत नै कागती बन्न पुगेको छ । 'बाँदरको समस्याका कारण खेतीयोग्य जमिन बाँझिदै गएपछि विकल्पका रूपमा कागतीको सम्भावना देखेपछि कागती रोपेको हुँ', उनले भने, 'त्यतिबेला देखेको सपना अहिले आएर साकार हुँदै गएको छ, खुसी छु ।' खेतीपाती नभएपछि बाँझिएको जमिनलाई फाँडेर उनले गाउँमै पहिलोपटक व्यावसायिक रूपमा थालेको कागतीखेती आज नमूनाका रूपमा रहेको छ । कागतीखेतीसम्बन्धी प्राविधिक ज्ञान नभए तापनि युट्युबमा हेरेरै त्यसको प्रयोग गरिरहेको उनले बताए। 'एक सय बोटमध्ये ९० बोटले गत वर्षबाट राम्रो उत्पादन दिन थालेका छन्', उनले भने, 'गत वर्षको तुलनामा यस वर्ष झनै राम्रो उत्पादन छ, गत वर्षभन्दा उत्पादन दोब्बर बढी हुँदै गएको छ ।' झण्डै पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गरेका रेग्मीले गत वर्षमात्र झण्डै रु ६० हजारको कागती बिक्री गरेका थिए । यहाँ उत्पादन भएको कागती स्थानीय वालिङ बजारका होटलमा खपत हुँदै आएको छ । उनले कागती प्रतिकेजी रु दुई सयदेखि तीन सयका दरले बिक्री गर्दै आएका छन् । 'यहाँ उत्पादन भएको कागतीले बजार नपाउने भन्ने समस्या अहिलेसम्म छैन', उनले भने, 'कागती व्यापारीलाई नभई सिधैँ होटलमा बिक्री गर्ने भएकाले पनि बजार मूल्य राम्रो पाएको छु ।' खाली तथा बाँझिएको जमिनमा अझै नयाँनयाँ बोट थप्दै जाने योजनामा उनी छन् । गाउँमा व्यावसायिक रूपमा उनले कागतीखेती गरेर उत्पादनसँगै आम्दानी लिन थालेपछि अहिले त्यहाँका स्थानीयवासी पनि कागतीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउने तयारीमा छन् । रासस

पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध

जुम्ला । कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको जानकारी दिए ।  वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिएको उनले बताए  ।  त्यसैगरी, वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ– गिरेगडा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुङ्गा खसेर सडक अवरुद्ध भएको हो ।  अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको  भए पनि ढुङ्गाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।  पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको उपकरणले प्रयास गरे पनि पहिरोसँगै खसेको ढुङ्गाले गर्दा समस्या भएको उनले बताए ।        उनले भने, 'हिजो रातिसम्म जेसिभीले पहिरो पन्छाउन प्रयास गरे पनि ठूलो ढुङ्गाका कारण सम्भव हुन सकेन ।' आज स्काभेटरको सहायताले ढुङ्गा हटाइने र सडक सञ्चालन गरिने उनले बताए । बैतडीसहित सुदूरपश्चिममा आज गौरापर्व मनाइँदैछ । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्री बीच बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाएर यातायात सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

हिमालयन इन्भेष्टमेन्ट बैंकरको एचएलआई लार्ज क्याप फण्ड बिक्री खुला

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकरले आज भदौ १५ गतेदेखि एचएलआई लार्ज क्याप फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकरले ४ अर्ब रुपैयाँको पहिलो बन्दमुखी योजना बिक्री गरेको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ४० करोड इकाई बिक्रई गरेको हो । जसमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २० करोड इकाई कोष प्रबद्र्धक हिमालयन लाइफलाई सुरक्षित राखि बाँकी २ अर्ब रुपैयाँको २० करोड इकाई सर्वसाधारणक लगानीकर्ताहरुलाई बिक्री गरेको हो । उक्त म्युचुअल फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाईदेखि अधिकतम ४ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पूर्ण रुपमा सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनाको बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर रहेको छ । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

एशियन लाइफले भदौ २२ गतेदेखि साढे ३ लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साढे ३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि भदौ २९ गतेसम्म ३ लाख ५८ हजार ५१२ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको भएको हो ।  कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । अर्थात् कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।   उक्त अवधिमा विक्री नभएको संस्थापक समूहतर्फको ३० हजार ३८ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४७३ कित्ता गरी ३ लाख ५८ हजार ५१२ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो ।  कम्पनीको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकको ठिमी, कुमारी पाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही दाङ, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

बन्दीपुर केवलकारको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । बन्दीपुर केवलकार एवं टुरिजमको आईपीओमा आवेदन दिने आज भदौ १५ गते अन्तिम दिन रहेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।