एशियन थाई फुड्सले ल्यायो 'डेभील्स हट चिकेन नुडल्स'
काठमाडौं । पाँच वर्षदेखि लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता तथा २५ वर्षको सफल इतिहास बोकेको एशियन थाई फुड्सले नयाँ उत्पादन 'डेभील्स हट चिकेन नुडल्स' सार्वजनिक गरेको छ । ३० भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको कम्पनीले मसालाको सन्तुलन र स्वाद खोज्ने उपभोक्तालाई लक्षित गरी भदौ १६ गतेदेखि देशभर उपलब्ध हुने गरी यो नयाँ नुडल्स बजारमा ल्याएको हो । 'नेपालकै सबैभन्दा मिठो स्वादा, यो डेभिलीसिअस छ' भन्ने ट्यागलाइनसहित सार्वजनिक गरिएको नुडल्सले उपभोक्तालाई सन्तुलित मसालेदार स्वादको नयाँ अनुभव दिने कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक आशिष जाजुले यो साधारण तत्कालीन नुडल्स मात्र नभई स्वाद खोज्ने साहसी उपभोक्ताका लागि यो एक रोमाञ्चक स्वाद चुनौती पनि रहेको बताए । व्यवस्थापकीय निर्देशक महेश जाजुले निजी लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा रूपान्तरण भएको र आगामी आईपीओ तयारीको क्रममा रहेको जानकारी दिए । कम्पनीका अनुसार ५० रुपैयाँमा उपलब्ध यो नुडल्सको पाँच प्याकको फ्यामिली प्याक २५० मा पाइनेछ । प्रत्येक प्याकमा चकलेट वेफर समेत थपिएको छ, जसले तातो स्वादपछि मिठासको अनुभव दिनेछ । यो उत्पादन भाटभटेनीलगायत प्रमुख खुद्रा पसलहरूमा तथा दराजजस्ता अनलाइन प्लेटफर्ममार्फत नेपालका ठूला सहरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रभावकारी इन्भेस्टमेण्ट कम्पनी खोल्दै घरजग्गा व्यवसायी, सुरुवाती पुँजी ५ अर्ब रुपैयाँ
काठमाडौं । घरजग्गा व्यवसायीहरू एकीकृत भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत लगानी गर्ने भएका छन् । देशभरका व्यवसायीहरू एकजुट भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत देशका मुख्य सहरहरूमा लगानी गर्ने गरी तयारी भइरहेको हो । अहिले कम्पनी निर्माणसँगै पुँजी जुटाउने तयारी भइरहेको नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए । घिमिरेले देशभरका व्यवसायीहरू अहिले एकजुट हुने क्रम सुरु भएको जानकारी दिए । उनका अनुसार इन्भेस्टमेन्ट कम्पनी निर्माण भइसकेको छ । अब सोही कम्पनीमार्फत पुँजी संकलन गरिनेछ । सोही पुँजीबाट देशभर हाउजिङदेखि टाउन प्लानिङसम्ममा लगानी गर्ने तयारी छ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे अध्यक्ष घिमिरेले भने, ‘अहिले देशभरिका व्यवसायीहरू एकजुट भएका छौं । हामी सबै व्यवसायी एक ठाउँमा आएर काम गर्ने भनेर हामीले एउटा इन्भेस्टमेण्ट कम्पनी पनि खोलिराखेका छौं र त्यसमा हामीले कसले कति सक्छ, सक्ने जतिले त्यहाँ पैसा उठाएर त्यसबाट काम गर्ने भनेर हामी लागिराखेका छौं । यो हिसाबमा सफल हुने योजना छ ।’ उनले ४४–४५ वटा जिल्लामा महासंघका संघसंगठन रहेको बताए । ती संस्थामा रहेका व्यवसायीले ५ लाखदेखि २० लाखसम्म लगानी गर्न भनिएको छ । त्यो अनुसारको एउटा फण्ड जुटाइँदैछ र त्यो फण्डले चाहिँ प्रदेश सातवटा प्रदेशमा काम गर्ने योजना छ । घिमिरेका अनुसार कुन–कुन सहरमा नयाँ आधुनिक सहर बनाउने भन्नेबारे अहिले अनुसन्धान चलिरहेको छ । लगानी गर्ने सहरमा व्यवसायीहरू मिलेर काम गर्ने योजना छ । पाँच अर्ब रुपैयाँबाट काम सुरु गर्ने अध्यक्ष घिमिरेका अनुसार सुरुमा त लगभग पाँच अर्ब जतिबाट काम सुरु गर्ने योजना छ । एकैचोटि धेरै पुँजी नउठ्न पनि सक्छ । थोरै–थोरैबाट काम गर्दै जाने योजना छ । एक ठाउँमा काम गर्दै जाने र त्यो राम्रो हुँदै गए क्रमशः पुँजी थप संकलनसँगै नयाँ प्रोजेक्टहरु सुरु गर्ने योजना छ । घिमिरेले मुख्य–मुख्य सहरहरू अहिले ध्यान केन्द्रित गराउने उल्लेख गर्दै सरकारले बजेटमा पनि सात वटा प्रदेशमा एक लाख वटा घर बनाउने योजना अघि सारेकाले त्यसलाई पूरा गराउन अब व्यवसायीहरू योजनावद्ध तरिकाले लाग्ने बताए । उनले सातवटा प्रदेशमा टाउन प्लानिङ गरेर घरहरू निर्माण हुने जानकारी दिए । इन्भेष्टमेण्ट कम्पनीमार्फत घरजग्गामा लगानी गर्न खोजेपनि चुनौतीको चाङ रहेको घिमिरे बताउँछन् । उनका अनुसार अहिले कित्तकाटका कारण समस्या पैदा भइरहेको छ । अहिले राज्यका नीतिहरु स्पष्ट नहुँदा घरजग्गा व्यवसाय प्रभावित बनिरहेको छ भने नागरिकले समेत सास्ती खेप्नुपरेको छ । घिमिरेले भने, ‘अहिले स्थानीय तह, वडादेखि नै हाम्रा सरकार सुरु हुन्छ । यता काठमाडौं उपत्यका प्राधिकरण हुन्छ । सहरी मन्त्रालयदेखि लिएर भूमि सुधार मन्त्रालय सबै हुन्छ । यो यस्तो धेरै झन्झट नभइकन एकद्वार प्रणालीबाट काम भयो भने काम गर्न सजिलो हुन्थ्यो । हामीले पटक–पटक माग पनि यही गरेका छौं ।’ उनका अनुसार अब छिट्टै सहरी ऐन आउनुपर्छ । ऐनमा निजी क्षेत्रका कुराहरु समेटिनुपर्छ । विकसित देशहरूमा धेरै काम निजी क्षेत्रले गर्ने भएकाले नेपालमा त्यो अभ्यास कम छ । विदेशमा जस्तै टाउन प्लानिङदेखिका सबै काम निजी क्षेत्रले गर्न पाउने गरी सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ रहेको छ ।
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता, के भयो कुराकानी
तियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको तियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका दुई प्रधानमन्त्रीबीच आइतबार भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कुटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थि आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गरे । प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका निम्ति प्रेरक रहेको बताए । प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्नति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरे । उनले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गरे । भेटमा भ्रमण दलमा सहभागी मन्त्रीहरू, सांसदहरू र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।
नाडा अब महासंघ बन्ने, २४ गते बोलायो भेला
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले संस्थालाई विधानत: महासंघमा रूपान्तरण गर्ने एजेन्डासहित विशेष साधारण सभा आह्वान गरेको छ । गत भदौ ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि यस ऐतिहासिक निर्णयमा पुग्दै भदौ २४ गते, मंगलबार बिहान ११ बजे ललितपुरको झम्सिखेलस्थित द प्लाजा मा विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो । नाडाका अनुसार यो निर्णयले नाडालाई वास्तविक अर्थमा राष्ट्रिय स्तरको संस्था बनाउनेछ र सदस्यहरूको हकहितलाई अझ प्रभावकारी ढंगले संरक्षण गर्नेछ ।
डेल्टा अटोकर्पको फेस्टिभ अफरमा १० लाख नगद र थाइल्याण्ड भ्रमणको अवसर
काठमाडौं । नेपालका लागि भेस्पा–एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्पले दशैं, तिहार तथा छठ पर्वको अवसरमा 'डबल या तेब्बर बबाल' फेस्टिभ अफर सार्वजनिक गरेको छ । नेपालीहरूको महान पर्वलाई अझ उत्साहपूर्ण बनाउन ल्याइएको यस अफर अन्तर्गत भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत आकर्षक नगद पाउनेछन् । कार्डमा दिइएको क्युआर कोड स्क्यान गरी जितिएको रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिने कम्पनीले जनाएको छ । यससँगै, हरेक हप्ताको लक्की ड्रमार्फत ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन् । बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली ग्राहकले रु। १० लाख नगद प्राप्त गर्ने विशेष मौका पाउनेछन् । त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार रुपैयाँ मूल्याङ्कन पाउने र स्क्र्याच कार्डमार्फत थप १ लाख ५० हजारसम्म लाभ लिन सकिनेछ । ४.९९ प्रतिशत ब्याजदरमा इएमआइ सुविधा र शून्य सेवा शुल्कसहितका फाइनान्स सुविधाहरू पनि उपलब्ध छन् । अफर नेपालभरका सबै भेस्पा–एप्रिलिया शोरूममा लागू हुने कम्पनीले जनाएको छ । योजनाबारे जानकारी दिँदै डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, 'ग्राहकहरूलाई हरेक वर्ष नयाँ अनुभव र लाभ दिलाउने हाम्रो प्रयास हो । ‘डबल या ट्रिपल बबाल’ अफरले यसपटकको पर्वलाई थप रोचक र यादगार बनाउनेमा हामी विश्वास गर्छौं ।'
भरतपुर महानगरपालिकाले दियो निःशुल्क तालिम, ७ हजारभन्दा बढी लाभान्वित
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई निःशुल्क सीप विकास तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिंदै महानगरस्तरीय तथा वडा स्तरमा वैदेशिक रोजगार बोर्डको सहकार्यमा सञ्चालन गरिएका तालिममा पुरुष २ हजार ५९१ र महिला ४ हजार ६५० जनाले सहभागिता जनाएका थिए । महानगरको रोजगारी शाखाका अनुसार तालिममा प्लम्बिङ, केयर गिभर, मण्टेश्वरी, फेसन डिजाइन, इलेक्ट्रिसियन, ग्राफिक डिजाइन, ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाको आन्तरिक क्षमता वृद्धि, बुटिक, पोते, कौसी खेती, पञ्चेबाजा, मादल तथा खैंजडी, झोला, जुत्ता–चप्पल, अचार बनाउनेजस्ता सीप समावेश थिए। यस्तै, कृषि, बेकरी, साबुन, सरफ, भाँडा धुने झोल, फिनेल, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेकलेस, चुरा, ड्राइभिङ, एडभान्स ब्युटी पार्लर, कुक, सेनेटरी प्याड बनाउनेलगायत तालिम पनि सञ्चालन गरिएको थियो । यी तालिमहरू १५ दिनदेखि ३ महिना अवधिसम्म सञ्चालन गरिएको महानगरले जनाएको छ । श्रमलाई उत्पादनसँग जोड्दै सीप नभएकालाई सीपयुक्त बनाउन, सीप भएकालाई रोजगारी तथा स्वरोजगारमा प्रवर्द्धन गर्न र सीपयुक्त भए पनि व्यावसायिक स्तर नपुगेकालाई सुदृढ बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालले पूर्वाधार निर्माणसँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग बढेकाले निःशुल्क तालिमलाई प्राथमिकता दिएको बताइन् । 'यहाँका उद्योग, कलकारखाना लगायतका क्षेत्रमा भारतसहित अन्य देशबाट दक्ष जनशक्ति ल्याउनुपर्ने बाध्यता छ । त्यसलाई हटाउन हामी आफ्ना युवालाई सीपयुक्त बनाउँदैछौं,' प्रमुख दाहालले भनिन् । उनका अनुसार तालिममार्फत युवालाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको लक्ष्य रहेको छ । महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम कार्यक्रमलाई अझ विस्तार गर्ने योजना बनाएको पनि जनाएको छ ।
२२८ कम्पनीको सेयर मूल्य घट्यो, ६ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ घटेर २७४९ बिन्दुमा झरेको छ । आज २१ कम्पनीको सेयर मूल्य बढ्दा २२८ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, हिमालयन डिस्टीलरीको २६ करोड, नेपाल रिपब्लीक मिडियाको २१ करोड र पिपुल्स पावरको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशतले घटेको छ । बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशतले घटेका छन् ।
अमेरिकी अदालत भन्छ- ट्रम्पको ट्यारिफ गैरकानुनी
काठमाडौं । अमेरिकाको एक संघीय अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफलाई गैरकानुनी ठहराएको छ । अदालतले ट्रेड घाटा र सिमाना मुद्दालाई ‘राष्ट्रिय आपतकाल’ भनेर आफ्नो अधिकारको दुरुपयोग गरेको जनाएको छ । अदालतले भनेको छ कि हालका लागि ट्यारिफ लागू रहिरहनेछन् । ट्रम्प प्रशासनसँग सर्वोच्च अदालतमा अपील गर्ने मौका छ । अर्थात् व्यापारी, उपभोक्ता र चीन, भारतलगायतका देशहरू अझै लागू ट्यारिफको असरमा छन् । तर ट्रम्पमाथि दबाब बढिसकेको छ । अमेरिकी संसदको विदेश मामिलाको समितिले ट्रम्पको ट्यारिफमा कदम चाल्न सक्छ । ट्यारिफ ट्रम्पको सबैभन्दा ठूलो नेगोसिएसन हतियार थियो । उनी देशहरूलाई उच्च शुल्कको धम्की दिएर सम्झौता गराउँथे । यदि अदालतले यो हतियार खोस्यो भने ट्रम्पको शक्ति घट्छ र विश्वले अमेरिकी दबाबलाई बेवास्ता गर्न सक्छ । विशेष गरी यस्तो समयमा जब अमेरिकी ट्यारिफबाट पीडित धेरै देशहरू आपसमा नजिक हुँदैछन् । जुलाईसम्म अमेरिका यस ट्यारिफबाट १५९ अर्ब डलर संकलन गरिसकेको छ । यदि सर्वोच्च अदालतले यसलाई अवैध ठहरायो भने यो पैसा फिर्ता गर्नु पर्न सक्छ । न्याय विभागले चेतावनी दिएको छ कि यस्तो भए देशले ‘आर्थिक विनाश’ भोग्न सक्छ । ट्रम्पले सर्वोच्च अदालत जाने घोषणा गरेका छन् । उनले चेतावनी दिएका छन् कि यदि फैसला उनीविरुद्ध आयो भने यसले अमेरिका ध्वस्त पार्न सक्छ । यदि सर्वोच्च अदालत ट्रम्पको पक्षमा छ भने ट्यारिफ कायम रहिरहनेछ । नभए अरबौं डलर फिर्ता गर्नु पर्नेछ र अमेरिका नयाँ व्यापार नीति बनाउन बाध्य हुनेछ । ट्रम्पको अदालतमा हार पछि पनि ट्यारिफ बढाउने विकल्पहरू हुनेछन्, तर ती सीमित हुनेछन् ।