नेपाल आइडल सिजन-६ को विजेता बनिन् गङ्गा सोनाम, पाइन २५ लाख रुपैयाँ पुरस्कार
काठमाडौं । गङ्गा सोनाम नेपाल आइडल सिजन-६ को विजेता बनेकी छिन् । आइतबार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता बनेकी हुन् । विजेता सोनामले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् । त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौ भए । विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गरे । ‘नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो । यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँ नयाँ प्रतियोगिताहरु सुरु भएका छन् । नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रुपमा रहनेछ,’ उनले भने । ललितपुर महानगर प्रमुख चिरी बाबु महर्जनले अति महत्त्वपूर्ण कार्यक्रममा विजेता हुने सबैलाई बधाई दिँदै ठूलो कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे । एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यले ६ वटा सिजनसम्म पुग्दा नयाँ नयाँ प्रतिभाहरूको जन्म भएको उल्लेख गरे । २०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन-६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल छन् । ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुती बविता थापामगर, दोस्रो प्रस्तुति मिनल मानन्धर, तेस्रो प्रस्तुति गङ्गा सोनाम, चौथो प्रस्तुति दर्शना गान्धारी र पाँचौँ प्रस्तुति अभिनय खातीले प्रस्तुत गरेका थिए ।
कोशीमा खतराको सङ्केत पार, ब्यारेजका ३१ ढोका खोलिए
काठमाडौं । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे १ लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो । प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् । कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको वर्षाका कारण जल सतह बढ्दै गएको प्रहरी प्रवक्ता खतिवडाले बताए ।
एनआईसी एशिया बैंकको 'साथी घर कर्जा योजना' सार्वजनिक, ३ करोडसम्म कर्जा सुविधा
काठमाडौं । एनआईसी एशिया बैंकले घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, पुनःनिर्माण र घडेरी खरिद गर्न सक्ने उद्देश्यसहित नयाँ घर कर्जा योजना सार्वजनिक गरेको छ । 'एनआईसी एशिया साथी घर कर्जा' नाम दिइएको यस योजनाअन्तर्गत ग्राहकले न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोड रुपैयाँसम्मको कर्जा सहज प्रक्रियाबाट प्राप्त गर्न सक्नेछन्। ‘सपना तपाईंको, साथ हाम्रो' भन्ने नारासहित सार्वजनिक गरिएको यो योजना आकर्षक ब्याजदर र अन्य सेवासहित उपलब्ध हुनेछ । यस कर्जाको अवधि अधिकतम २५ वर्ष रहने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकलाई अधिकतम ८० प्रतिशतसम्म धितो सुरक्षणको आधारमा कर्जा उपलब्ध हुनेछ भने अन्य अवस्थामा अधिकतम ७० प्रतिशतसम्मको धितो सुरक्षणअनुसार कर्जा प्रदान गरिनेछ ।
१० ठूला बैंकको लेखापरीक्षण गर्न बङ्गलादेशको हाउल्याडरले साढे ६२ लाख रुपैयाँ लिने
काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न नेपाल राष्ट्र बैंकले बङ्गलादेशको लेखापरीक्षक कम्पनीसँग सम्झौता गरेको छ । १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले बङ्गलादेशको हाउल्याडर युनुस एन्ड कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । राष्ट्र बैंकका अनुसार हाउल्याडर युनुस एन्ड कम्पनीले १० ठूला बैंकको लेखापरीक्षण गरेबापत ६२ लाख ५४ हजार ९१२ रुपैयाँ (२ लाख ७१ हजार ६७० अमेरिकी डलर) शुल्क लिने भएको छ । उक्त रकम भ्याट बाहेक रहेको जनाएको छ । यससँगै हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० बैंकको सम्पत्ति गुणस्तर गर्नेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी उक्त कम्पनी छनोट गरेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागेको हो ।
नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि अब बैंकको एपमार्फत ग्राहकले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी देश र क्षेत्रका लागि डाटा ई–सिम लिन सक्नेछन् । बैंकका अनुसार विभिन्न देश र क्षेत्रमा भ्रमणमा जाने, विद्यार्थी तथा वैदेशिक रोजगारीमा जानेले बैंकको एपबाटै सम्बन्धित देशको अन्तर्राष्ट्रिय डाटा प्लान खरिद गर्न सक्नेछन् । विदेश जाने बित्तिकै इन्टरनेटको समस्या हुने, सिम खरिदका लागि केवाइसी फारम भर्नुपर्ने र विदेशी मुद्रा बुझाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी यो सम्झौता गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बजगाईंले बताए । साथै उनले एपबाटै सजिलै आफू अनुकुलको डाटा प्याकेज खरिद गर्न सकिने जानकारी दिए । यसका साथसाथै एनबैंक एपबाटै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि लिन सकिनेछ । बैंकका अनुसार संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने उक्त अनुमतिपत्र १९० भन्दा बढी देशका लागि मान्य हुन्छ । बैंकका ग्राहकले यसका लागि एपमार्फत १० मिनेटभित्रै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यो अनुमति पत्र लिनका लागि आफ्नो सवारी चालक अनुमतिपत्र अपलोड गर्नुपर्नेछ । यो माध्यमबाट अनुमति लिँदा परीक्षा दिन पर्दैन भने २४ घण्टामा विद्युतीय अनुमतिपत्र उपलब्ध हुन्छ । यसलाई डिजिटल वा फिजिकल कार्ड दुवै स्वरूपमा प्राप्त गर्न सकिने जनाइएको छ । निम्बजका निर्देशक तिमिल्सिनाले यो सेवाले विद्यार्थी, वैदेशिक रोजगारमा जाने तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई सीमापार आवागमनलाई सहज र तनावमुक्त बनाउने विश्वास व्यक्त गरे । निम्बज एक अग्रणी सुपरएप हो जसमा च्याट तथा भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटीटी मूभी, डिजिटल वालेट, क्विज, गेम तथा अन्य सुविधाहरू एकै प्लेटफर्ममा एकीकृत गरिएको छ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९औं वर्षमा प्रवेश
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापना दिवस अवसरमा आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले जीवन बीमा कारोबारको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक र जनजागरण कार्यक्रमहरू आयोजना गरेको हो । वार्षिकोत्सवमा महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरूमा रक्तदान तथा स्वास्थ्य शिविर, राजविराज, चितवन, सुन्दरबजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, बनेपा, इलाम शाखाहरूबाट विद्यालयलाई शैक्षिक सामग्री, वृद्धाश्रममा खाद्यान्न वितरण तथा सरसफाइ कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । केन्द्रीय कार्यालय, ज्ञानेश्वरबाट कर्मचारी र एडभाइजरहरूको सहभागितामा प्रभातफेरी समेत गरिएको थियो । सो प्रभातफेरि ज्ञानेश्वर–मैतीदेवी–डिल्लीबजार–पुतलीसडक–कृष्ण पाउरोटी हुँदै पुनः कार्यालयमा समापन गरिएको थियो । रिलायवल नेपाल लाइफले करिब ७० लाख बीमित, नियमनकारी निकाय, सेयरधनी, एडभाइजर, कर्मचारी तथा पत्रकार लगायत सबै सरोकारवालाप्रति आभार प्रकट गरेको छ । कम्पनीले ग्राहकमैत्री सेवा विस्तार गर्दै उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड नाफा आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड पुगेको छ भने कुल लगानी करिब २० अर्बमा पुगेको छ । सोही अवधिमा कम्पनीले १ अर्ब ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।
गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाकै प्रतिष्ठित इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड्समा उत्कृष्ट प्रदर्शन गर्दै ‘द बेस्ट बैंक’ अवार्ड प्राप्त गरेको छ । बैंकले ‘बेस्ट एआईरएमएल इम्प्लिमेन्टेसन’ विधामा समेत उत्कृष्ट अवार्ड जित्नुका साथै ‘बेस्ट एमएसएमई एण्ड एक्सेलेरेसन’ विधामा रनरअप बन्न सफल भएको हो । इण्डियन च्याम्बर अफ कमर्शले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंकलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाल, भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो । गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए । यसअघि सन् २०२४ मा सम्पन्न दोस्रो संस्करणमा पनि बैंकले बेस्ट एसेट म्यानेजमेन्ट विधामा रनरअप अवार्ड प्राप्त गरेको थियो । हाल गरिमा विकास बैंकले देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर, ५१ एटीएम र अत्याधुनिक डिजिटल बैंकिङ प्रणालीमार्फत सेवा प्रवाह गरिरहेको छ ।
माघभित्र काठमाडौं र पोखरामा फाइभजी परीक्षण सुरु हुने सञ्चारमन्त्री गुरुङको दावी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन् । चलचित्र विकास बोर्डको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषदबाट पारित भई कार्यान्वयनमा जाने उनको भनाइ छ । मन्त्री गुरुङले डिजिटल नेपाल नीति अन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापन लगायत आठ क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार सरकारको तयारी रहेको बताए । उनले कृत्रिम बौद्धिकत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने समेत बताए । उनले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको कारण सरकार प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे । आगामी वर्षभित्र फाइभजी विस्तार सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे । सातवटै प्रदेशमा आईटी डाटा सेन्टर तथा एआई केन्द्र स्थापना गर्न लागि समेत सरकार लागि परेको मन्त्री गुरुङको भनाइ छ । बैंकिङ ठगीका मुद्दाहरू बढिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि आवश्यक कानून निर्माण प्रक्रिया अघि बढिरहेको समेत बताए ।