विकासन्युज

अनुदानको २ सय बोरा मल लुकाएर राख्ने व्यापारी पक्राउ

काठमाडौं । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर गोदाममा भण्डारण गर्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी रहेका छन् । उनलाई पक्राउ गरी मंगलबार जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले भदौ १२ गते गरेको अनुगमनका क्रममा चौधरीको गोदाममा अनुदानको मल फेला परेको थियो । त्यसपछि मल शिलबन्दी गरी अनुसन्धान अघि बढाइएको हो । सर्वदलीय छलफलपछि उक्त मल किसानलाई वितरण गर्ने निर्णय भएको छ । निर्णयअनुसार वडा नं. १ देखि ७ सम्मका किसानलाई १७५ बोरा मल वितरण गरिने भएको छ । इलाका प्रहरी कार्यालयमार्फत मल सम्बन्धित वडामा पुर्याइएको डीएसपी बजगाईंले बताए । नगरपालिकाले वितरण गर्ने मलको मूल्य प्रतिबोरा एक हजार रुपैयाँ तोकिएको छ । किसानबाट संकलन हुने रकम राजस्व खातामा जम्मा गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

कजारिया टायल्सको नयाँ उपभोक्ता योजना सार्वजनिक, स्मार्टवाचदेखि सिंगापुर क्रुज प्याकेजसम्म जित्ने मौका

काठमाडौं । कजारिया टायल्सले ‘कजारियासँगै गृहप्रवेश, घुमौं देशविदेश’ नामक नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ । यस चाडपर्वको अवसरमा ग्राहकहरूले दैनिक लक्की ड्रमार्फत आकर्षक बोट्स स्मार्टवाच र सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज जित्ने मौका पाउनेछन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकले आधिकारिक डिलरबाट कम्तीमा एक हजार वर्गफिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । त्यसभन्दा बढी टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रमार्फत स्मार्टवाच जित्न योग्य हुने कम्पनीले जनाएको छ । कजारिया टायल्सले घर सजावटलाई मध्यनजर गरी यो योजना ल्याएको हो ।  योजना कात्तिक १५ सम्म लागू हुने छ र यस अवधिमा गरिएका सबै खरिद यस योजनामा स्वतः सहभागी हुनेछन् ।  

नेप्सेले अप्पर स्याङ्गे हाइड्रोको सेयर कारोबार फुकुवा गर्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ । वार्षिक साधारण सभा सम्बन्धी सञ्चालक समितिको निर्णय ढिलो पठाएको कारण नेप्सेले गत सोमबारदेखि कम्पनीको सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । नेप्सेले कानुनको पालना गर्ने प्रतिबद्धतासहित कम्पनीले चित्तबुझ्दो स्पष्टीकरण पेश गरेपछि कारोबार फुकुवा गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिले भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारण सभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय नेप्सेमा भदौ १६ गते मात्र पठाइएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना वा निर्णय भएमा कम्पनीले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

बुढाथोकी कोल्ड स्टोरको व्यापारमा उछाल, एक वर्षमा १ अर्ब बढीको कारोबार

काठमाडौं । बुढाथोकी कोल्ड स्टोरेजको व्यापारमा उछाल आएको छ । कोल्ड स्टोरेजका साथै मासु प्रशोधन गरी व्यवसाय गर्ने बुढाथोकी कोल्ड स्टोरेज प्रालिले एक वर्षमा १ अर्ब बढीको कारोबार गरेको हो । कम्पनीको तथ्याङ्क अनुसार सन् २०२५ को ९ महिनामा १ अर्ब ८ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार गरेको हो । यसअघि कम्पनीले सन् २०२४ मा १ अर्ब २ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । यस्तै, सन् २०२३ मा १ अर्ब १ करोड रुपैयाँ, सन् २०२२ मा ७६ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ४७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले जनाएको छ ।  सन् १९९६ मा स्थापित बुढाथोकी कोल्ड स्टोरेज शीत भण्डारण व्यवसाय मात्रै गरिरहेको थियो । सन् २०१५ पछि भने कम्पनीले कुखुराको मासु प्रशोधन प्लान्ट स्थापना गरेर मासु प्रशोधन गर्दै आएको छ । साथै कम्पनीले सन् २०२२ देखि बङ्गुर (पोर्क)को मासु पनि प्रशोधन प्लान्ट पनि सञ्चालन गरिरहेको छ ।  कम्पनीको मासु प्रशोधन प्लान्ट, शीत भण्डारण सुविधा र मुख्य कार्यालय काठमाडौंको सीतापाइलामा रहेको छ । कम्पनीमा बसन्त प्रकाश बुढाथोकीको ३६ प्रतिशत, मीना बुढाथोकीको ५१ प्रतिशत र बाँकी तामिब बुढाथोकीको १३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट १ अर्ब १७ करोड ८८ लाख रुपैयाँ कर्जा लिएको छ । कम्पनीका अनुसार हाल ७६ करोड ३८ लाख रुपैयाँ दीर्घकालीन ऋण र ४१ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । यसअघि कम्पनीले ४६ करोड ६ लाख रुपैयाँ दीर्घकालीन र ३७ करोड ९४ लाख रुपैयाँ अल्पकालीन गरी कुल ८४ करोड रुपैयाँ ऋण लिएको थियो । 

चीनको सैन्य परेडमा विश्वको नजर, अमेरिकासँग झन् बढ्दै तनाव

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार विश्व ‘शान्ति वा युद्ध’ र ‘संवाद वा सामना’ को विकल्पको दोबाटोमा रहेको बताएका छन् । दोस्रो विश्वयुद्धको समाप्तिको ८०औं वार्षिकोत्सवका अवसरमा चीनले आयोजना गरेको सबैभन्दा ठूलो सैन्य परेडमा उनले यस्तो बताएका हुन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’  मा लेख्दै चीनको स्वतन्त्रता सुरक्षित गर्न अमेरिकाले गरेको योगदानलाई स्वीकार गर्न आग्रह गरेका छन् । तर उनले बेइजिङ अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप समेत लगाएका छन् । ‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो तर्फबाट न्यानो शुभेच्छा दिनुहोस्, तपाईंहरूले संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै हुनुहुन्छ,’ ट्रम्पले भने ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसहित २० भन्दा बढी देशका नेताहरू बेइजिङस्थित तियानआनमेन चौकमा आयोजित ‘विजय दिवस’ सैन्य परेडमा सहभागी भएका छन् । चीनले परेडपछि भोज र साँझ विशेष सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरेको छ । एशिया सोसाइटीका चीन राजनीतिक विश्लेषक नील थोमसका अनुसार पुटिन र किमको उपस्थितिले अमेरिका–चीनबीच भइरहेको व्यापार वार्तालाई बाधा पुर्‍याउने सम्भावना न्यून छ किनभने दुवै पक्ष आगामी महिनामा सम्झौताको दिशातर्फ अघि बढ्ने इच्छुक देखिन्छन् । उनका अनुसार ‘क्षेत्रीय कूटनीतिमा चीनको बढ्दो प्रभाव यसको प्रगतिलाई देखाउँछ, विशेष गरी जब वाशिंगटनले एशियाली मुलुकहरूसँग व्यापार र लगानी सम्झौता गर्न इच्छुक छ वा छैन भन्ने अनिश्चितता बढेको छ।’ अप्रिल महिनामा अमेरिका–चीन तनाव ‘प्रतिवन्ध–प्रतिवन्ध’ को नयाँ चरणमा पुगेको थियो । तर दुवै देशले नोभेम्बरसम्म थपिएको अधिकांश भन्सार हटाउने सहमति गरेका छन् । आगामी महिनामा ट्रम्प र सीबीच प्रत्यक्ष भेटवार्ता हुने अपेक्षा गरिएको छ । सीले आफ्नो सम्बोधनमा चीनको सैनिक क्षमता अझ सशक्त बनाउने वाचा गरे । ताइवानको नाम नलिईकन उनले चीनको सार्वभौमिकता र भौगोलिक अखण्डतामा सेना महत्त्वपूर्ण रहेको प्रस्ट पारे । तियानआनमेन चौकमा आयोजित परेडमा मिसाइल, ट्यांक, स्वचालित सवारी, सैनिक ट्रक, अनुशासित सैनिक दस्ताबल र आकाशमा उड्ने लडाकु विमानसमेत देखाइएका थिए । यसले चीनको सैनिक शक्तिलाई प्रदर्शन गर्‍यो । आयोजकहरूले चीनले साइबर र सूचना सुरक्षामा गरिरहेका प्रयासलाई पनि जोड दिएका थिए । युरेशिया ग्रुपका वरिष्ठ विश्लेषक जेरेमी चानका अनुसार ‘यस परेडमा पश्चिमी नेताहरूको अनुपस्थिति र दक्षिणपूर्वी एशियाका आठ नेताहरूको सहभागिताले चीनको बढ्दो क्षेत्रीय प्रभावलाई देखाउँछ ।’ दक्षिण कोरियाका राष्ट्रपतिले चीनको निम्तो अस्वीकार गरेका थिए भने किमको अप्रत्याशित सहभागिता बेइजिङ–प्योङयाङ सम्बन्ध न्यानो भएको संकेत हो । चीनले प्योङयाङलाई नजिक राख्न खोजिरहेको अनुमान गरिएको छ, विशेष गरी उत्तर कोरिया–रूस सहकार्य र सियोल तथा वाशिंगटनको नयाँ कूटनीतिक पहलबीच । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रूसलाई समर्थनस्वरूप सैनिक पठाएको बताइएको छ । बेइजिङले भने रूसको आक्रमणलाई ‘आक्रमण’ भन्न अस्वीकार गर्दै आफूलाई शान्तिदूतको भूमिकामा देखाउन खोजेको छ । अमेरिकाले भने चीनमाथि रूसलाई सैन्य सहयोग दिएको आरोप लगाएको छ, जुन चीनले अस्वीकार गरेको छ। किमको छोरी पनि सहभागी उत्तर कोरिया सम्बन्धी विज्ञहरूले किम जोङ उनकी छोरी किम जु–ए को सहभागितालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । सियोलको सेजोङ इन्स्टिच्युटका उपाध्यक्ष चियोङ सेङ–चाङका अनुसार, ‘किम जु–एले बेइजिङमा विदेशमन्त्री वाङ यीसहित वरिष्ठ अधिकारीहरूसँगै उभिएर औपचारिक स्वागतमा भाग लिनु उनलाई उत्तर कोरियाको ‘दोस्रो दर्जाको नेतृ’ जस्तै प्रोटोकल दिएको प्रमाण हो ।’  यसअघि पनि पुटिनसहितका नेताहरू तियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) को विशाल सम्मेलनमा सहभागी भएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने परेडमा सहभागी भएनन्, तर तियानजिनमा पुटिन र शी सँग हाँस्दै गरेको उनको फोटो र भिडियो भाइरल भएको थियो । मंगलबार शी र पुटिनले बेइजिङमा भेट गर्दै वर्षौंदेखि रोकिएको ‘पावर अफ  साइबेरिया–२’ ग्यास पाइपलाइन परियोजनामा कानुनी सम्झौता गरेका थिए । चीनले यसअघि २०१९ मा कम्युनिस्ट पार्टीको ७०औं वार्षिकोत्सवमा ठूलो परेड आयोजना गरेको थियो। त्यतिबेला सीले ‘चिनिया जनतालाई कसैले रोकेर अघि बढ्न सक्दैन’ भनेका थिए । सी २०१३ मा राष्ट्रपति बनेका थिए र २०१८ मा कार्यकालको सीमा हटाएका थिए । चीनले यो पटकको परेडलाई ‘जापानी आक्रमणविरुद्धको विजय र विश्वको फासिवादविरुद्धको विजयको ८०औं वार्षिकोत्सव’ को नाम दिएको छ । अन्त्यमा परेड शान्तिको प्रतीकका रूपमा परेवा र रङ्गीन बेलुन उडाएर सम्पन्न गरिएको थियो । हाँसोभित्र लुकेको कुटनीति : पुटिन, मोदी र सी जिनपिङको तिआनजिन संवाद ‘शीतयुद्ध मानसिकता’ अस्वीकार, चिनियाँ राष्ट्रपति सीको एआईमा सहकार्य गर्न आह्वान

आन्दोलन शसक्त बनाउने तयारीमा विद्यालय सञ्चालक : २५ गते काठमाडौंमा बृहत् आन्दोलन गर्ने

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रमलाई थप शसक्त मनाउने निर्णय गरेका छन् । जसअन्तर्गत बुधबार सबै जिल्ला सदरमुकामहरूमा बृहत् खबरदारी सभा आयोजना गर्ने तयारी भएको प्याब्सनका महासचिव आरबी कटुवालले बताए ।  उनका अनुसार भोलि १९ गते सञ्चार माध्यमसँग अन्तरक्रिया गर्ने, २० र २१ गते प्रमुख राजनीतिक दलहरूसँग भेटघाट गर्ने, २२ गते निजी क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने र भाद्र २३ गते देशभरिका सबै निजी विद्यालयका सञ्चालकहरूलाई काठमाडौंमा केन्द्रित गर्ने कार्यक्रम तय गरिएको छ । प्याब्सन, ऐन प्याब्सन, हिसान, अपेन, र एनएएमए पाँच वटा संस्थाले संयुक्त रुपमा भाद्र २५ गते काठमाडौंमा बृहत् आन्दोलन कार्यक्रम गर्ने बताएका छन् । जसमा सबै निजी विद्यालय सञ्चालकहरू, प्रिन्सिपलहरू तथा शिक्षक कर्मचारीहरूको अनिवार्य सहभागिता हुनुपर्ने भनेको छ ।  निजी सञ्चालकहरूले कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई 'गैर नाफामूलक' बनाउने प्रावधान पूर्णरूपमा हटाइनुपर्ने,'पूर्ण छात्रवृत्ति' भन्ने शब्दावली हटाइनु पर्ने,  विद्यालयहरूमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा लगायतका सेवा/सुविधामाथि गरिएको अनावश्यक प्रतिबन्ध हटाइनु पर्ने  माग राखेको छ । यस्तै छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनु पर्ने र पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गरी लक्षित वर्गलाई वितरण गर्न सकिने व्यवस्था मिलाइनु पर्ने माग उनिहरूले राखेका छन् ।  नेपालको शिक्षा प्रणालीको समग्र विकासमा निजी क्षेत्रले निरन्तर योगदान गर्दै आएको अवगत गराउँदै सञ्चालकहरूले आफ्ना माग सबै पुरा गर्नुपर्ने अडान राखेको छन् । चार दशकदेखि निजी क्षेत्रले राज्यसँग सहकार्य गर्दै शिक्षामा व्यापक लगानी र स्रोत परिचालनमार्फत देशको शैक्षिक समृद्धिमा योगदान पुर्याएको यथार्थलाई अस्वीकार गर्ने ठाउँ नभएको भन्दै हाल संसदमा प्रेसित विद्यालय शिक्षा विधेयक २०८० का केही प्रावधानहरूले निजी क्षेत्रको अस्तित्व र योगदानमाथि प्रश्न उठाउने प्रयत्न गरेको भन्दै उनीहरूले आक्रोस पोखेका छन् ।

इजिप्टका सरकारी स्वामित्वका बैंकहरूले ब्याजदर घटाए

काठमाडौं । इजिप्टका दुई ठूला सरकारी स्वामित्वका बैंकहरू नेशनल बैंक अफ इजिप्ट र बैंक मिस्रले इजिप्टका पाउण्ड र अमेरिकी डलर दुवैमा मूल्याङ्कन गरिएका वचत उत्पादनहरूमा ब्याजदर घटाउने घोषणा गरेका छन् । इजिप्टको केन्द्रीय बैंकले गत बिहीबार प्रमुख ब्याजदरहरू २ प्रतिशतले घटाउने निर्णय गरेपछि यो कटौती गरिएको हो ।  यी कदमहरूले स्थानीय अर्थतन्त्रको विश्वव्यापी मौद्रिक विकाससँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ । यो पछिल्लो कटौती २०२५ को शुरुमा इजिप्टको केन्द्रीय बैंकद्वारा शुरू गरिएको कटौतीको श्रृंखलापछि आएको हो । यस वर्षको कटौतीले प्रमुख ब्याजदरहरू ५.२५ प्रतिशतले घटाएको छ ।  युक्रेन द्वन्द्व र विश्वभरका प्रमुख केन्द्रीय बैंकहरूले अपनाएको मौद्रिक कडाइ नीतिहरूबाट उत्पन्न दुई वर्ष लामो विदेशी मुद्राको अभावको बीचमा इजिप्टले आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ ।   

एक तोला सुनको मूल्य २ लाख ७ हजार ९०० पुग्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएकोमा सोमबार प्रतितोला दुई हजार रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।