विकासन्युज

निफ्रा बैंकको ६.३१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भर्दा १९ गते बसेको बैठकले ६.३१ प्रतिशत प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिने जनाएको छ ।

डेढ करोड बढीको लागतमा नयाँ वडा कार्यालय भवन निर्माण

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा वडा कार्यालय भवन निर्माण गरेको छ । तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा  छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए । केही दिनभित्रै नयाँ भवनबाट सेवा सुरु हुने उनले बताए। 

नबिकेको २ लाख कित्ता नेपाल इन्स्योरेन्सले भदौ २७ गतेदेखि लिलामीमा राख्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले भदौ २७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७ अनुपातमा जारी गरेको हकप्रदमा आवेदन नपरेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त समयमा कम्पनीको संस्थापक सेयरधनी समूहतर्फ ४ हजार ४६८ कित्ता सेयर र सर्वसाधारण सेयरधनी समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता गरी कुल १ लाख ९७ हजार ४२ कित्ता सेयरमा भने आवेदन परेको थिएन । उक्त सेयर लिलाम बढाबढमा बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयर लागि आवेदन दिनु पर्नेछ ।  इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय लाजिम्पाट तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ ।

आज देशभर बदली हुने, लुम्बिनी, सुदूरपश्चिम र तराईमा मध्यम वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भू-भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  त्यसैगरी, आज राति देशभर साधारण तथा बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

झापा इनर्जीको आईपीओ बिक्री खुला, ५ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । झापा इनर्जीले आज भदौ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले पहिलो चरणमा जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

दशैं अगाडि नै माछापुच्छ्रे बैंकका सेयरधनीलाई लाभांश, असोज १० गते डाक्यो २७औं भेला

काठमाडौं । माछापुच्छ्रे बैंकले दशैं अगाडि नै सेयरधनीहरूलाई लाभांश खुवाउने भएको छ । यस वर्ष दशैं असोज १६ गते दशैं परेको छ । बैंकले दशैं अगाडि नै सेयरधनीहरूको खल्तीमा लाभांश पुग्ने गरी प्रक्रिया अघि बढाएको हो ।  लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा २७औं वार्षिक साधारण सभा बिहान ११ बज बोलाएको हो ।  सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रतिसेयर १ सय रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, बैंकको अधिकृत पुँजी १५ अर्ब रुपैयाँलाई २० अर्ब रुपैयाँउने, बोनस सेयर माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयरको हदसम्म जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।  यस्तै, बैंक सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा वृद्धि गर्ने र सोही बमोजिम बैंकको नियमावलीको सम्बन्धित दफाहरु संशोधन गर्नेछ ।  बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको २७औ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल र माछापुच्छे सेक्युरिटिजको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ ।  आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक गर्न जी.पी. राजवाहक एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्स पुनः नियुक्त गर्ने र सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले साबिक सञ्चालकलाई बाँकी कार्यकालका लागि गरिएको नियुक्ति अनुमोदन गर्नेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

तयारी पोशाक उद्योग संघको अध्यक्षमा पाण्डे पुनः निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपति देव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोशाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यसअघि पनि संघको अध्यक्ष रहेका थिए । संघको निवर्तमान अध्यक्षमा चण्डिप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा बसन्त राज अधिकारी (हिमालयन कटन फेसन एण्ड इन्टरनेशनल प्रालि) र उपाध्यक्षमा भूपेन्द्र कुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा भिमकुमार गिरी (ब्ल्याक फेसन ई. प्रालि), सहसचिवमा थोमनाथ बस्याल (युनाइटेड फेसन निटिङ्ग ई.प्रालि) चयन भएका छन् भने कोषाध्यक्षमा संजय कुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित भएका छन् ।  साथै, कार्यसमिति सदस्यमा कृष्ण प्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट ई. प्रालि), सुरेश मान श्रेष्ठ (जम्फा निटिङ इण्डष्ट्रिज), हीराकाजी मुक्तान (लोगो फेसन ई. प्रालि), सतिस गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानाङ्ग (हिमालयन निट वेयर) र रमेश कुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रीत सदस्यमा सन्दिप पौडेल चयन भएका छन् ।

नाडाको विशेष साधारण सभा स्थगित

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को विशेष साधारण सभा स्थगित भएको छ । अर्काे सूचना जारी नभएसम्मको लागि विशेष साधारण सभा हाललाई स्थगित गरिएको महासचिव सुरेन्द्रकुमार उप्रेतिले जानकारी दिए ।  उनका अनुसार भदौ १९ गते बसेको नाडाको २२औँ केन्द्रीय कार्यसमिति बैठकले भदौ २४ गते ललितपुरमा विशेष साधारण सभा डाकिएको थियो । उपयुक्त समयमा अर्को सूचना पठाई विशेष साधारण सभा बोलाइने उनले बताए ।