विकासन्युज

जेनजीको टार्गेटमा भीआईपी नेता, घर-घरमा पुगेर तोडफोड

काठमाडौं । जेनजीको आन्दोलन भीआईपी नेता केन्द्रीत भएको छ । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित गरेका हुन् । मंगलबार बिहानै प्रदर्शनकारीहरु भीआईपी नेताको घर घेर्न पुगेका छन् । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी नै भएको छ ।  यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास अघि प्रदर्शन भइरहेको छ ।  देउवा निवास बुढानीलकण्ठस्थित देउवा चोकमा र प्रचण्ड निवास खुमलटारमा प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारी देउवाको निवास बूढानीलकण्ठ पुग्दा प्रहरीले उनीहरुलाई रोकेको छ । उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको हो । 

रुपन्देहीमा निषेधाज्ञा जारी

भैरहवा । रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । यसैगरी अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पुर्याउने जोकोहीलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिएको छ ।  

देउवा निवासमा पनि तोडफोडको प्रयास, अगाडि बढे प्रदर्शनकारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा पनि ताडफोड हुने प्रयास भएको छ । जेनजीहरु देउवाको घरतर्फ प्रस्थान भएर तोडफोड गर्ने प्रयास भएको हो ।  केही प्रदर्शनकारी देउवाको निवास बूढानीलकण्ठ पुग्दा प्रहरीले उनीहरुलाई रोकेको छ ।  उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको हो । 

निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन

काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पूँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो । उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ । सूचनामा भनिएको छ, ‘चक्रपथभित्र कर्फ्यू आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ । ‘

कृषिमन्त्रीबाट रामनाथ अधिकारीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री मनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार सार्वजनिक रूपमा आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दै वर्तमान सरकारको अलोकतान्त्रिक रवैयाप्रति गम्भीर आपत्ति जनाउँदै राजीनामा दिएका हुन् ।  अधिकारीले आफ्नो राजीनामा वक्तव्यमा भदौ २३ गते अर्थात् सोमबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा युवाहरूले शान्तिपूर्ण रूपमा सरकारको भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध प्रदर्शन गर्दा भएका दमन र हिंसात्मक कारबाहीहरूले स्तब्ध र चिन्तित भएको उल्लेख गरे । ‘लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो ।  त्यसको बदला व्यापक रूपमा दमन, हत्या र बल प्रयोग हुनु निकै दुःखद र निन्दनीय हो,’ अधिकारीले भने ।  उनले अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा कुनै सम्झौता हुन नसक्ने बताए ।  राजीनामा पत्रमा अधिकारीले सरकारमा बसिरहनु आफ्नो नैतिकता र पार्टीले प्रदान गरेको शिक्षाविरुद्ध भएको जनाउँदै, देश र जनतासमक्ष क्षमायाचना गर्दै पदबाट अलग हुने निर्णय लिएको स्पष्ट पारे । नेता अधिकारीले देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? भन्दै प्रश्न गरे । उनले साना बालबालिका र युवाहरूको दमन तथा हत्या भएको समाचारप्रति गहिरो दुःख व्यक्त गर्दै, वर्तमान सत्ताको यो प्रवृत्तिलाई तानाशाहीतर्फको संकेत भनेका छन् ।  ‘पटक-पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनुपर्छ । लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन,’ उनले भने ।

प्रचण्डको घरमा तोडफोड, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच मुडभेड

काठमाडौं । जेनजीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को घरमा तोडफोड गरेका छन् । नेताको घर र निवासमा तोडफोड गर्ने तयारीका साथ प्रदर्शनकारी प्रचण्डको घरमा तोडफोड गर्न पुगेका हुन् ।  प्रदर्शनकारीले तोडफोड गरेपछि सुरक्षाकर्मीसँग मुडभेड भएको छ । 

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी, आक्रामक बने जेनजी

काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । जेनजीले मन्त्री गुरुङको घरमा आगजनी गरेका हुन् ।  प्रहरीका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको बताइएकाे छ । 

सरकार छोड्ने तयारी कांग्रेस, शेखरले आफ्नो पक्षका मन्त्रीलाई दिए राजीनामाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले सरकार छोड्ने तयारी गरेको छ । अहिले दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार सञ्चालन भइरहेको छ । अब कांग्रेसले एमालेसँगको साझेदारी ताड्ने तयारी गरेको हो । त्यसको संकेत कांग्रेस महामन्त्री गगन कुमार थापाले गरेका छन् ।  उनले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दै नसक्ने उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ, पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन, अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ, प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,’ उनले भनेका छन् ।  यस्तै, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् ।  कांग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् ।