विकासन्युज

युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपालको प्रतिनिधित्व गर्दै एससिटीका सीईओ घिमिरे

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मनोज घिमिरेले युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपाल र दक्षिण एशियाको प्रतिनिधित्व गरेका छन् । यस प्रतिष्ठित मञ्चमा एशिया–प्रशान्त क्षेत्रका अग्रणी व्यक्तिहरू भेला भई डिजिटल भुक्तानीको भविष्य र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरिएको छ । कार्यक्रममा घिमिरेले क्षेत्रीय सहकार्यलाई अझ गहिरो बनाउने र भुक्तानी प्रणालीबीच आपसी पहुँच र प्रयोग बढाउने आवश्यकतामा जोड दिए । उनले सुरक्षित, समावेशी र जोडिएको भुक्तानी वातावरण निर्माणको महत्त्वबारे आफ्नो विचार प्रस्तुत गरे। उनले अष्ट्रेलियाको कमनवेल्थ बैंक, डीबीएस बैंक लिमिटेड (सिङ्गापुर), र इन्टर्नेसनल फाइनान्स संस्थाका प्रतिनिधिहरूसँगै उच्चस्तरीय छलफलमा वक्ताको रूपमा सहभागी हुँदै नयाँ भुक्तानी प्रवृत्ति, सहकार्यका अवसरहरू, र एशिया–प्रशान्त क्षेत्रमा भुक्तानी प्रणालीको विकासबारे आफ्नो दृष्टिकोण राखे । यससँगै घिमिरेले एससिटीको तर्फबाट अन्य महत्त्वपूर्ण संस्थागत प्लेटफर्महरू पीसीआई सुरक्षा मापदण्ड परिषद  र एससिटी–युनियनपे बोर्डमा पनि निरन्तर प्रतिनिधित्व गर्दै आएका छन् । उनको सक्रिय सहभागिताले डिजिटल भुक्तानी क्षेत्रमा एससिटीको नेतृत्वलाई मजबुत तुल्याएको छ र नेपालसहित क्षेत्रीय स्तरमा नवप्रवर्तन, सहकार्य, र दिगो विकासप्रति कम्पनीको प्रतिबद्धतालाई थप प्रष्ट पारेको छ ।

रमेश लेखकको घरमा पनि आगजनी

काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा पनि आगजनी भएको छ । जेनजी प्रदर्शनकारीले उनको घरमा आगजनी गरेका हुन् ।  अहिले प्रदर्शनकारी उनको घरको अगाडि प्रदर्शन गरिरहेका छन् । उनले सोमबार रातिमात्रै गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।  उनले सोमबार भएको प्रदर्शनबाट १९ जनाको मृत्यु भएको र सयौं घाइते भएको भन्दै नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।   

झापाको बिर्तामोडस्थित एमालेको कार्यालयमा आगजनी

काठमाडौं । झापामा एमाले कार्यालयमा आगजनी गरिएको छ । झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । हिजो पनि पार्टी कार्यालयमा तोडफोड भएको थियो । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेलिएका छन् । प्रदर्शनकारीले पुष्पलालको सालिक तोडफोड गरेका छन् । कोशी प्रदेशका इटहरी, विराटनगर लगायत शहरमा बिहानैबाट आन्दोलन जारी छ । 

कर्फ्यु तोड्दै सडकमा युवा: चर्किँदै आन्दोलन

काठमाडौं । नयाँ पुस्ताका युवामाथि प्रहरीले गरेको दमनको विरोधमा आज देशभर प्रदर्शनहरू भइरहेका छन् ।  कर्फ्यु आदेश जारी गरिएको अवस्थामा पनि देशका विभिन्न स्थानमा युवाहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् ।  काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा चक्रपथभित्र कर्फ्यु  आदेश लागु गरिएको भए पनि प्रदर्शन रोकिएको छैन । उपत्यकाका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शनहरू जारी छन् ।  यस्तै, ललितपुरमा सञ्चारमन्त्रीको निवासमा आगजनी भएको पुष्टि भएको छ । यद्यपि आगजनी कसले र कसरी ग¥यो भन्ने विषयमा विस्तृत जानकारी आउन बाँकी छ ।  सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा आज बिहानैदेखि फेरि प्रदर्शनहरू भइरहेका छन् । सातदोबाटो र कलंकीको चक्रपथ खण्डमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन् ।  प्रदर्शन बढ्दै गएकाले सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिन्छ भने केही स्थानमा स्थिति तनावपूर्ण बन्दै गएको छ । 

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा, आगजानीको प्रयास

काठमाडौं । जनकपुरधाम स्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगा मुढा प्रहार भएको छ । आज बिहानै बाटै आन्दोलनमा होमिएका युवाहरूले मुख्यमन्त्री कार्यालयमा ढुंगा मुढा गरेका हुन् । कार्यालयभित्र प्रदर्शनकारीले आगो लगाउने प्रयास समेत गरेका छन्, तर सुरक्षा कडा भएकाले सम्भव भएको छैन ।  हिजो सोमबार जेन–जीेले सुरु गरेको आन्दोलनमा सयौं जना घाइते भएका छन् भने १९ जनाले ज्यान गुमाएका छन् ।  आज देशभर आन्दोलन जारी छ । देशका विभिन्न ठाउँको अवस्था आन्दोलनमय भइरहेको छ ।   

घाइतेको ज्यान बचाउन सबै उपचार निःशुल्क, सिभिल इमर्जेन्सीमा स्वास्थ्यले थप चिकित्सक खटायो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइतेको ज्यान जोगाउन आवश्यक सबै उपचार निःशुल्क गर्न अस्पतालहरुलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा घाइतेहरुको जीवनरक्षाका लागि आवश्यक सबै उपचार निःशुल्क गर्ने गरी मन्त्रालयले अस्पतालहरुलाई पत्र पठाएको हो । आकस्मिक कक्षमा थप स्वास्थ्यकर्मी बिरामीहरुको उपचार भैरहेका अस्पतालका आकस्मिक कक्षमा परेको बिरामीको चाप मध्यनजर गर्दै जनशक्ति व्यवस्थापनमा मन्त्रालयले विशेष जोड दिएको छ । सिभिल अस्पतालको आकस्मिक कक्षमा सघाउन ४ चिकित्सकसहित ६ सुरक्षाकर्मी खटाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । वीर अस्पतालको ट्रमा सेन्टरले पूर्ण क्षमतामा बिरामीको उपचार गरिरहेको छ । रगत अभाव हुन नदिन २४ सै घण्टा हटलाइन १११५ मन्त्रालयले घाइते बिरामीहरुलाई रगत अभाव हुन नदिन मन्त्रालयको हटलाइन हेल्लो स्वास्थ्यलाई २४ सै घण्टा चलाउने भएको छ । कुनै पनि बिरामी वा अस्पतालले रगत अभाव भएमा १११५ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ । एम्बुलेन्स सेवा प्रभावकारी बनाउन सक्रियता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउने गरी आपतकालीन अपरेशन सेन्टरमार्फत व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि व्यवस्था मिलाइएको छ । मन्त्रालयले सबै चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ।  

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा छिरे प्रदर्शनकारी

काठमाडौं । जेनजी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । सुदूरपश्चिमका जेनजीले पनि आन्दोलन बढाएर सरकारी कार्यालय घेरिरहेका छन् ।  अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् । उनीहरूले सरकार विरुद्ध प्रदर्शन गरिरहेका छन् । मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले उच्च पदस्थ सुरक्षा निकायसँग छलफल गरेका थिए ।   

जेनजीको टार्गेटमा भीआईपी नेता, घर-घरमा पुगेर तोडफोड

काठमाडौं । जेनजीको आन्दोलन भीआईपी नेता केन्द्रीत भएको छ । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित गरेका हुन् । मंगलबार बिहानै प्रदर्शनकारीहरु भीआईपी नेताको घर घेर्न पुगेका छन् । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी नै भएको छ ।  यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास अघि प्रदर्शन भइरहेको छ ।  देउवा निवास बुढानीलकण्ठस्थित देउवा चोकमा र प्रचण्ड निवास खुमलटारमा प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारी देउवाको निवास बूढानीलकण्ठ पुग्दा प्रहरीले उनीहरुलाई रोकेको छ । उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको हो ।