जेनजीले प्रकाशमान सिंहको घरसहित ६ वटा गाडी जलाए
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा जेनजीले आगजनी गरेका छन् । जेनजीले सिंहको निवास र ६ वटा गाडी जलाएका हुन् । नेता सिंह र उनको परिवारका सदस्यहरूलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए । सिंह नेपाली सेनाको सुरक्षामा छन् । आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । त्यसपछि जेनजीले सिंह निवासमा आगो लगाएका थिए ।
भाटभटेनी सपिङ सेन्टरमा आगजनी
काठमाडाै । भाटभटेनी सपिङ सेन्टरमा पनि आगजनी गरिएको छ। मंगलबार प्रर्दशनकारीहरुले नक्सालस्थित भाटभटेनी सपिङ सेन्टरमा पनि आगजनी गरेका हुन् । जेनजी युवा पुस्ताले गरेको प्रर्दशनमा सरकारी कार्यालयदेखि धेरै सम्पतिमा क्षति पुगेको छ ।
थापाथलीस्थित सीजी मोटर्सको शोरूममा आगजनी
काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको सीजी मोटर्सको शोरूममा जेनजीहरूले आगजनी गरेका छन् । मंगलबार प्रदर्शनको क्रममा उनीहरूले शोरूममा आगो लगाएका हुन् । घटनाबारे थप विवरण आउन बाँकी छ । सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
पूर्वप्रधानमन्त्री झलनाथकी श्रीमतीलाई जिउँदै जलाइयो
काठमाडौं । प्रर्दशनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार शख्त घाइते भएकी छन् । मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन्। उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्याइएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
सिंहदरबारपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी
काठमाडौं । काठमाडौंमा जारी जेनजीहरुको प्रदर्शन चर्किंदै जाँदा राष्ट्रपति कार्यालय शीतलनिवासमा समेत आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी आन्दोलनकारीहरूले शीतलनिवासको एक भागमा आगो लगाएको छ । यसअघि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको निवास र कार्यालयहरूमा समेत आगजनी र तोडफोडका घटना भइसकेका छन् । संसद् भवन परिसरमा समेत जेनजीहरूले सुरक्षाकर्मीको बन्दुक खोसेर गोली पड्काएका थिए । सिंहदरबार आसपासमा सुरक्षाकर्मीहरूसँग झडप भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबीचमा राजीनामा गरिसकेका छन् । यद्यपि जेनजीहरूको आक्रोश अझै शान्त भइसकेको छैन, र उनीहरूले विभिन्न सरकारी तथा संवैधानिक निकायहरूमा आक्रमण जारी राखेका छन् ।
जेनजीद्वारा देउवा चोकलाई ‘जेनजी चोक’ नामाकरण
काठमाडौं । आन्दोलनका प्रदर्शनकारीहरूले बुढानिलकण्ठस्थित देउवा चोकलाई सांकेतिक रूपमा ‘जेनजी चोक’ नामाकरण गरेका छन् । मंगलबारको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सडक छेउको भित्तामा लेखेर देउवा चोकलाई नयाँ नाम दिएका हुन् । यसअघि प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका थिए। आक्रमणमा परेर देउवा दम्पती घाइते भएको बताइएको छ । ‘जेनजी’ आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीहरूले विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी निवास र सरकारी निकायहरूमा तोडफोड तथा आगजनी गरिरहेका छन् ।
जेनजीले सिंहदरबारमा पनि लगायो आगो
काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर जेनजीहरुले आगजनी गरेका छन् । जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही जेनजीहरु सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगजनी गरेका हुन् । उनीहरू गेटभित्र रहेको बगैँचासम्म पुगेका थिए । सुरूमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाले पनि पछि ठुलो समूहभित्र पसेको थियो । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी गरेका छन् भने सर्वोच्च अदालत र विशेष अदालतमा पनि आगजनी गरेका छन् । जेनजीहरूले पार्टी कार्यालय र नेताहरूको घर लक्षित आन्दोलन गर्दै तोडफोड र आगजनी गरिरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तोडफोड
काठमाडाै‌ । प्रर्दशनकारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तोडफोड गरेका छन् । जेन जी युवाहरुहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तोडफोड गरेका हुन् ।