युवा उद्यमी पाण्डेको प्रश्नः लाखौंलाई रोजगारी दिँदा पनि उद्योगी व्यवसायीका घरघरमा आक्रमण किन ?
काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले केही राजनीतिक नेतृत्वको गल्तीले उद्योगी व्यवसायीहरू निसानामा पर्ने गरेको बताएका छन् । लाखौं जनतालाई रोजगारी दिइरहेका उद्योगी व्यवसायीहरू आन्दोलनकारीको निसानामा पर्दा अन्योलको अवस्थामा रहेको उनले बताए । विगत दुई दिनको घटनाले सबै उद्योगी व्यवसायीहरू अन्योल र शून्यमा पुगेको उनको भनाइ छ । नियम परिधिमा व्यवसाय गरी राज्यलाई कर तिर्दा पनि निसानामा पर्ने गरेको उनले बताए । ‘विगत दुई दिनको घटनाक्रमले हामी सबै अन्योलमा छौ, बिचार शून्यमा छौ, हाम्रो मनोबल अत्यन्तै न्यून भएको छ । हामीले ऋण गरेर उद्योग व्यवसाय संचालन गरेका हौ, हामीले लाखौं जनतालाई रोजगारी दिएका छौ । हामीले राज्यको नियम परिधिमा व्यवसाय गरी राज्यलाई बुझाउनु पर्ने कर लगायत अन्य दायित्व पनि बुझाई रहेका छौं,’ उनले भने, ‘राजनीतिक नेतृत्वका केही नेताको गल्तीको सजाय हामी समग्र व्यवसायी लाई किन ? हाम्रा उद्योग व्यवसायमा निसाना किन ? हाम्रा घर घरमा आक्रमण किन ? के अब नेपालमा उद्योग नचाहिने हो ?’ १२ वर्षे माओवादी आन्दोलन, तराई आन्दोलन, २०६२/६३ को आन्दोलनलाई झेलेर नेपाल मै केही गर्नु पर्छ भनेर व्यवसाय गरिरहेको उनले बताए । ‘हाम्रो मनोबल यति कमजोर छैन । हामी दुई ठूला अर्थतन्त्र भएको मुलुकबीच रहेर पनि उद्योग व्यवसाय गरिरहेका व्यवसायी हौ, हामी कमजोर छैनौं, हामी अझ जुझारु भएर देशमा व्यवसाय गर्न सक्छौं,’ उनले भने । मनोबल उच्च राखी पुनः व्यवसाय गरेर देशमा रोजगारी श्रृजना गरेर देश विकासमा टेवा पुर्याउन सक्ने उनले बताए । तर, पहिलो सर्त शान्ति सुरक्षा र व्यक्तिगत जिउ धनको सुरक्षा रहेको उनको भनाइ छ ।
चार महिनामा साढे पाँच हजारभन्दा बढी विदेशी पर्यटक हुम्ला आए
सिमकोट । हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । नेपाल र चीनबीचमा पर्ने हुम्लाको हिल्सा नाका गत वैशाख १८ गते सञ्चालनमा आएपछि विदेशी पर्यटकको चाप बढेको हो । जेठदेखि भदौसम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय र अन्य देशका पाँच हजार ८४२ जना पुगेका छन् । जसमा भारतीय तीर्थयात्री पाँच हजार ५१७ र अन्य देशका ३२५ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए। उनका अनुसार नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ । मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमबोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको छ । चीनले हिल्सा नाकालाई हुम्लाबासीसहित भारतीय पर्यटकहरुका लागि खुला गरेपछि धार्मिक पर्यटकहरुको संख्या बृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीले बताए । उनले भने, 'मानसरोवर कैलाशको दर्शन गर्नका लागि हुम्लामा कोरोना संक्रमणपछिको यो ठूलो संख्या हो, भारतीय पर्यटक आउने क्रम निकै बढी छ ।' उनका अनुसार मौसम अनुकुल भएको अवस्थामा दैनिक पाँचदेखि दश वटासम्म नेपालगञ्जबाट यहाँ उडान हुने गरेको छ । जसमा सीता, समिट र तारा एयरले उडान भर्दै आएका छन् । सिमकोट विमानस्थलबाट हिल्साका लागि बिभिन्न हेलिकप्टरले पर्यटकलाई सेवा दिइरहेका छन् । गत जेठमा मानसरोवर कैलाशको दर्शनका लागि पर्यटक आउन सुरु गरेका थिए । कतिपय पर्यटकहरु गाडीमार्फत हिल्सा हुँदै मानसरोवर पुग्ने गरेको हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए। उनका अनुसार चार महिना यता सदरमुकाम सिमकोटसहित हिल्साका होटल पर्यटकले भरिभराउ छन् । जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क समेत उठाउँदै आएको छ । जसमा भारतीय पर्यटकलाई प्रतिव्यक्ति रु ११ सय र अन्य देशका पर्यटकको हकमा प्रतिव्यक्ति रु १५ सय तोकिएको छ । रासस
काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै
काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ । हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।
आज र भोली सेयर कारोबार नहुने
काठमाडौं । २ दिन सेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सूचना जारी गर्दै आज र भोली सेयर कारोबार नहुने जनाएको छ । हालको विषम परिस्थिति एवम् कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले भदौ २५ र २६ गते दुई दिन सेयर कारोबार स्थगन गरिएको प्रवक्ता मुराहरी पराजुलीले बताए । सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको उनको भनाइ छ ।
स्थानीय बासिन्दाले श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।
एमाले महासचिवले भने- संयमित बनौँ, हामी फेरि उठ्ने छौं
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेत्रलाल अभागीको कविता सेयर गर्दै संयमित बन्न आग्रह गरेका छन् । बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले धैर्य गर्न र संयमित बन्न आग्रह गरे । उनले आफूहरू फेरि उठ्ने विश्वास गरेका छन् । ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौं,’ उनले लेखेका छन् । 'आँधी र हुरी नचलेको बेला, वातावरण स्तब्ध र शान्त भएको घडीमा एउटा नर्कट पनि छाती खोलेर ठिङ्ग उभिन सक्छ,' उनले सेयर गरेको कवितामा उल्लेख छ । उनले अगाडि लेखेका छन्, ‘एउटा कायरले पनि बहादुरीका लामा लामा कुरा गर्न सक्छ तर, मेरा मित्र आँधी र हुरी चलिरहेको बेलामा, वातावरण गतिशील र अशान्त भएको घडीमा, पहाडको चुचुरोमाथि आँधी र हुरीसँग पौठेजोरी खेल्दै एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।’
आज देशका अधिकांश भागमा बदली हुने, यी ४ प्रदेशमा भारी वर्षा
काठमाडौं । हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको बताएको छ । आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली हुने छ भने राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
सुरक्षित भएर रहन नेपाली सेनाको आग्रह
काठमाडौं । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ । सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरूमा उच्छृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरू आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो । सूचनामा भनिएको छ, ‘केही उच्छृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ-आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरिन्छ ।’