विकासन्युज

त्रिभुवन विमानस्थल बुधबार साँझसम्म बन्द रहने

काठमाडौं । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ ।  विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।

सेनाले सुतेर बन्दुक ताकि रहे, कैदीलाई धामाधम सारियो {तस्बिरहरु}

काठमाडौं ।  डिल्लीबजार कारागारबाट कैदीबन्दीलाई सारिएको छ । कैदीबन्दीहरुले कारागारमै आगजनी गरेपछि कारागार प्रशासनले कैदीलाई अर्कै कारागारमा सारेको हो ।  कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी तथा तोडफोड गरेका थिए ।  कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ । कैदीबन्दीलाई सार्दा सेनाले बन्दुक नै तेर्साएर सुरक्षाको माहोल बनाइरहेको छ । तनावग्रस्त अवस्थामा सेनाले कारागारमा सुरक्षा दिइरहेको छ ।  कैदीलाई भाग्न नदिनका लागि उनीहरुले सुरक्षा सतर्कता अपनाएको बताएका छन् । आगो निभाउन दमकल पनि कारागारमा पुगेका छन् । 

डिल्लीबजार कारागारबाट कैदीबन्दी सार्ने तयारी

काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरूले आगजनी गरेका छन् । आफूहरूलाई पनि बाहिर निस्कन दिनुपर्ने माग गर्दै कैदीहरूले आगजनी गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा आगो फैलिन थालेपछि कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको कारागार प्रशासक बाबुराम अर्यालले जानकारी दिए । उनका अनुसार अहिले कारागारभित्र आगोको मुस्लो देखिएको छ । आगजनी र तोडफोडपछि कारागार परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको प्रशासनले जनाएको छ ।

सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ)को सार्वजनिक निष्काशन तथा बिक्री स्थगित गर्ने निर्णय गरेको छ । कम्पनीले भदौ २५ गतेदेखि आईपीओ खुला गर्ने गरी गत भदौ १७ गते आह्वानपत्र प्रकाशित गरेको थियो । तर, मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

डिल्लीबजार कारागाारमा कैदीले गरे आगजनी, अवस्था तनावग्रस्त

काठमाडौं । डिल्ली बजार काराबारगमा कैदीहरुले आगजनी तथा तोडफोड गरेका छन् । कारागार परिसरमा उपस्थित हाम्रा संवाददाताका अनुसार कैदीहरुले भित्र आगजनी तथा तोडफोड गरेका हुन् । कैदीहरुले कारागारभित्र तोडफोड गर्दा अहिले त्यहाँको माहोल तनावग्रस्त भएको छ ।  अहिले ठूलो संख्यामा नेपाली सेना परिचालन भएको छ । सेनाले माहोललाई आफ्नो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । 

देशभर कर्फ्यू आदेश, बिहीबार बिहान ६ बजेसम्म जारी रहने

काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आदेश लागू गरिएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यू रहने र त्यसपछि पनि निरन्तर भोलि बिहान ६ बजेसम्म आदेश जारी रहने सेनाको विज्ञप्तिमा उल्लेख छ । सेनाले आन्दोलनको नाममा अराजक व्यक्ति र समूहले सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि गर्दै आएको भन्दै यसलाई नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको स्पष्ट पारेको छ । यस्तै, व्यक्ति लक्षित हिंस्रक आक्रमण तथा बलात्कार प्रयासजस्ता आपराधिक गतिविधि हुने वा हुनसक्ने सम्भावना पनि रहेको सेनाले जनाएको छ । आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी तथा आक्रमणलाई दण्डनीय अपराध मानी कडा कारबाही गर्ने चेतावनी सेनाले दिएको छ । निषेधाज्ञा तथा कर्फ्यू अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन सञ्चालनमा कुनै रोकताेक नहुने जनाएको छ । आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ । यस्तै, सम्पूर्ण अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकलाई अफवाहमा नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न सेनाले आग्रह गरेको छ । राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सेनाले निरन्तर दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस् : भारतीय प्रधानमन्त्री

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताएका छन् ।  उनले सामाजिक सञ्जाल एक्समार्फत 'नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु', उनले उल्लेख गरेका छन् ।

युवा उद्यमी पाण्डेको प्रश्नः लाखौंलाई रोजगारी दिँदा पनि उद्योगी व्यवसायीका घरघरमा आक्रमण किन ?

काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले केही राजनीतिक नेतृत्वको गल्तीले उद्योगी व्यवसायीहरू निसानामा पर्ने गरेको बताएका छन् । लाखौं जनतालाई रोजगारी दिइरहेका उद्योगी व्यवसायीहरू आन्दोलनकारीको निसानामा पर्दा अन्योलको अवस्थामा रहेको उनले बताए । विगत दुई दिनको घटनाले सबै उद्योगी व्यवसायीहरू अन्योल र शून्यमा पुगेको उनको भनाइ छ । नियम परिधिमा व्यवसाय गरी राज्यलाई कर तिर्दा पनि निसानामा पर्ने गरेको उनले बताए ।  ‘विगत दुई दिनको घटनाक्रमले हामी सबै अन्योलमा छौ, बिचार शून्यमा छौ, हाम्रो मनोबल अत्यन्तै न्यून भएको छ । हामीले ऋण गरेर उद्योग व्यवसाय संचालन गरेका हौ, हामीले लाखौं जनतालाई रोजगारी दिएका छौ । हामीले राज्यको नियम परिधिमा व्यवसाय गरी राज्यलाई बुझाउनु पर्ने कर लगायत अन्य दायित्व पनि बुझाई रहेका छौं,’ उनले भने, ‘राजनीतिक नेतृत्वका केही नेताको गल्तीको सजाय हामी समग्र व्यवसायी लाई किन ? हाम्रा उद्योग व्यवसायमा निसाना किन ? हाम्रा घर घरमा आक्रमण किन ? के अब नेपालमा उद्योग नचाहिने हो ?’  १२ वर्षे माओवादी आन्दोलन, तराई आन्दोलन, २०६२/६३ को आन्दोलनलाई झेलेर नेपाल मै केही गर्नु पर्छ भनेर व्यवसाय गरिरहेको उनले बताए । ‘हाम्रो मनोबल यति कमजोर छैन । हामी दुई ठूला अर्थतन्त्र भएको मुलुकबीच रहेर पनि उद्योग व्यवसाय गरिरहेका व्यवसायी हौ, हामी कमजोर छैनौं, हामी अझ जुझारु भएर देशमा व्यवसाय गर्न सक्छौं,’ उनले भने ।  मनोबल उच्च राखी पुनः व्यवसाय गरेर देशमा रोजगारी श्रृजना गरेर देश विकासमा टेवा पुर्याउन सक्ने उनले बताए । तर, पहिलो सर्त शान्ति सुरक्षा र व्यक्तिगत जिउ धनको सुरक्षा रहेको उनको भनाइ छ ।