सर्वदलीय र सर्वपक्षीय सरकार गठन गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, धैर्य र सहमतिबाट मात्र निकास सम्भव हुने बताएका छन् । नेता खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनप्रति समवेदना तथा सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार गर्न माग गरे । आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाट र सर्वनाशका घटनाबाट मुलुक अहिले शान्तितर्फ फर्किरहेको उल्लेख गर्दै इतिहासमा जेनजी पुस्ताको आन्दोलनको समेत समीक्षा हुने भन्दै तात्कालिक अवस्थामा शान्ति कायम गरेर मुलुकलाई पुनःस्थापना र अग्रगतितर्फ लैजानै मुख्य कार्यभार रहेको बताए । शान्त, संयमित र धैर्यवान बन्न आग्रह गर्दै नेता खनालले मुलुकलाई नयाँ निकासतर्फ अघि बढाउन सर्वदलीय र सर्वपक्षीय प्रयास जरुरी रहेको उल्लेख गरे। उनले भेटघाट, वार्ता र सहमतिबाट संविधानलाई आधार बनाएर साझा नीति तथा कार्यक्रम निर्धारण गर्नुपर्ने विचार व्यक्त गरे । उनले सहमतिका आधारमा सर्वदलीय र सर्वपक्षीय सरकार गठन गरी देश, जनता र राष्ट्रलाई पुनः गठन, पुनःस्थापना, समृद्धि र समाजवादको दिशामा अघि बढाउन आग्रह गरे ।
राष्ट्रपति र सभामुखबीच भेटवार्ता, संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए । सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उनीहरूबीच छलफल भएको थियो । सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताए । यही भदौ २३ गतेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपति पौडेल र सभामुखबीच छलफल भएको र उपयुक्त निकासका बारेमा विचारविमर्श भएको बताइन्छ । उनीहरूबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ ।
भाटभटेनीले भन्यो : हामी छिट्टै उठ्दै छौं, थप मजबुद बन्दैछौं
काठमाडौं । भाटभटेनी डिपार्टमेन्टल स्टोरले छिट्टै लयमा आउने बताएको छ । डिपार्टमेन्टल स्टोरले सामाजिक सञ्जालमार्फत् आन्दोलनमा धेरै स्टोहरु ध्वस्त भए पनि छिट्टै उपभोक्ताको सेवामा समर्पित हुने बताएको हो । भाटभटेनीले भनेको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो स्टोरहरु ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् । भाट–भटेनी फेरि उभिनेछ । तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’ जेनजी आन्दोलनमा भाटभटेनीका १२ वटा स्टोर आगजनी गरिएका छन् भने ९ वटामा लुटपाट भएको जानकारी दिएको छ । नक्साल भाटभटेनी, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयर हाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानमा रहेका स्टोरमा लुटपाट र आगजनी गरी पूर्ण नष्ट गरिएको भाटभटेनीले जानकारी दिएको छ ।
सेनाले फेरि जारी गर्यो निषेधाज्ञा र कर्फ्यू आदेश, अत्यावश्यक काम गर्ने समय पनि तोकियो
काठमाडौं । नेपाली सेनाले फेरि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ । सेनाले अहिले सूचना जारी गर्दै काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी दिएको हो । सार्वजनिक भएको विज्ञप्तिका अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । सेनाले बिहान र साँझ अतिआवश्यक कामका लागि बाहिर निस्कन पाइने बताएको छ । बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने सूचनामा उल्लेख छ ।
आज पनि ‘भोलि आउनु’ भन्दै सेनाले जेनजीलाई घर पठायो, नेतृत्व चयन गर्ने विषय पेचिलो बन्दै
काठमाडौं । अन्तरिम सरकारको नेतृत्व कसलाई दिने भन्नेबारे अन्यौल कायमै रहेको छ। जेनजीबीच बिहीबार पनि कसलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा अन्यौलता बढेको हो । बिहीबार साँझ जेनजीले ७ वटै प्रदेशबाट एक–एक जना प्रतिनिधि छनोट गर्ने र ती प्रतिनिधिलाई छलफलका लागि जङ्गीअड्डा पठाउने विषयमा छलफल भएको थियो । तर, अन्ततः कुरा नमिलेपछि सेनाले भोलि आउन भन्दै घर पठाएको छ । आज जङ्गगीअड्डा पुगेका युवाहरूबीच नेतृत्वको विषयमा विवाद चर्किएको थियो । उनीहरुबीच केही समय आपसमा हानाहान समेत भएको थियो । जेनजी आन्दोलनका केही समूहले धरानका मेयर हर्क साङपाङलाई प्रधानमन्त्री बनाउने भन्दै नारा लगाएका थिए । केहीले कुलमानको नाम अघि सारेका थिए भने केहीले शुशीला कार्की हुनुपर्ने अडान राखिरहेका थिए । यसअघि जेनजी पुस्ताले लामो छलफलपछि कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । तर, सैनिक मुख्यालय पुगेको केही समयमै देखिएको विभाजनले सहमतिको स्थायित्वमा रूपान्तरण हुन अझै समय लाग्ने संकेत दिएको छ। नेतृत्व चयनको बहसले आन्दोलनको प्राथमिक एजेन्डा ओझेलमा पर्ने खतरा बढेको छ भने कतिपयले यो बहसलाई लोकतान्त्रिक अभ्यासको रूपमा हेरिरहेका छन् । आजै एक जेनजीको समूहले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेतृत्व दिन प्रस्ताव गरेको छ । तर, त्यसमा पनि सहमति जुट्न सकेन । बुधबार पनि जङ्गी अड्डाले बिहीबार बिहान आउनुभन्दै जेनजीलाई घर पठाएको थियो । बिहीबार पनि बुधबारकै परिवेश दोहोरिएको हो । अन्तरिम सरकारको नेतृत्व चयनको विषय थप पेचिलो र रहस्यमयी बन्दै गएको छ ।
क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न बीमक संघको आग्रह
काठमाडौं । नेपाल बीमक संघले हाल देशभर उत्पन्न प्रतिकूल परिस्थितिका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले विज्ञप्ति जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ । संघले क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी सहयोग लिन आग्रह गरेको छ । केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बीमा कम्पनीहरू दाबी व्यवस्थापन गर्न सक्षम र प्रतिबद्ध रहेको पनि संघले स्पष्ट पारेको छ ।
कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीले गर्यो अनुरोध
काठमाडौं । प्रहरीले देशभरिका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सम्पर्कमा आउन अनुरोध गरेको हो । जेनजीको प्रदर्शनको क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाई तथा कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो ।
हेटौंडामा जनजीवन सामान्य बन्दै
काठमाडौं । हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन थालेको हो । नेपाली सेनाले कर्फ्युमा केही खुकुलोपन ल्याएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई बाहिर निस्कने अनुमति दिइएको छ । सो अवधिमा बजारमा केही चहलपहल देखिएको छ भने मानिसहरू आवश्यक सामग्री खरिद र अन्य कामका लागि बाहिर निस्किएको देखिन्छ । त्यसपछि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पुनः निषेधाज्ञा जारी गरिएको छ । जसअन्तर्गत सुरक्षाको लागि कडा निगरानी अपनाइएको छ । बेलुका ५ देखि ७ बजेसम्म भने निषेधाज्ञा केही खुकुलो पारिने जानकारी दिइएको छ । नेपाली सेनाले सुरक्षाकर्मी, सञ्चारकर्मी, पानी आपूर्ति तथा सरकारी कर्मचारीलाई परिचयपत्रका आधारमा आवतजावतको अनुमति दिएको छ । समग्रमा सेनाको नेतृत्वमा शान्ति सुरक्षा मजबुत बन्दै गएकाले हेटौंडाको जनजीवन पुनः सामान्यतातर्फ उन्मुख भएको देखिन्छ ।