विकासन्युज

भुजुङ्ग हाइड्रोले माघ १२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कर्मचारीलाई २० हजार कित्ता र सामूहिक लगानी कोषलाई ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।

३ रुपैयाँ घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेल १ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।  यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्य सूची निर्धारण गरेको हो ।

८५ आयोजनाको बजेट सुरक्षित, ८० प्रतिशत विश्व बैंकको लगानी, २ दर्जन योजना अलपत्र

काठमाडौं । चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितताको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा आयोजनाले मात्र बजेट पाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव बदलिने समस्याले गर्दा काम ढिला भएको मन्त्रालयले बताउँदै आएको छ । यसपटक सबैभन्दा बढी झोलुङ्गे पुलको स्रोत सुनिश्चित भएको छ । प्रदेशमा सबैभन्दा बढी बजेट भएको मन्त्रालयका रूपमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई लिइन्छ । स्रोत सुनिश्चित पनि सबैभन्दा बढी यही मन्त्रालयको हुने गरेको छ । जिल्ला कार्यालयबाट बजेट सुरक्षित गरिएका आयोजनाको बोलपत्र गर्ने तयारीका साथ काम तीव्र बनाएको मन्त्रालयका प्रवक्ता इन्जिनियर प्रेम बहादुर वलीले जानकारी दिए । सडकहरूमा सबैभन्दा बढी कच्ची कटानका रहेका छन् । चालु आवमा पठाएका आयोजनाको बोलपत्र गरेर अन्तिम चरणमा पुर्याई भौतिक निर्माणको काम सुरु भइसकेको अवस्था छ । पुराना आयोजनाको प्रगति बढाउनका लागि छलफल पनि जारी राखेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बताए । हालसम्म स्रोत सुनिश्चित गरेका आयोजनाको कार्यान्वयन गर्न जिल्ला कार्यालयलाई मन्त्रालयले पत्राचार गरिसकेको उनकाे भनाइ छ । १० जिल्लामा पुलको समस्या भोगिरहेको नागरिकको समस्यालाई मध्यनजर गर्दै २० वटा पक्की पुल निर्माण गर्न जिल्लामा पत्राचार गरिएको छ । त्यस्तै, ४८ वटा ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न पनि जिल्ला कार्यालयलाई अख्तियारी प्रदान गरिएको मन्त्री बुढाले बताए । १६ ठाउँमा रहेका सडक निर्माण गर्न अख्तियारी प्रदान गरिएको छ । त्यस्तै मन्त्रालयले एउटा बेलिब्रिज निर्माण गर्न  स्रोत सुनिश्चित गरेर बोलपत्र खोल्न निर्देशन पठाएको छ  । कुन जिल्लामा कति भौतिक संरचना निर्माण ? सुर्खेतमा ४ वटा सडक, ७ वटा पक्की पुल, ५ झोलुङ्गे पुल निर्माण गर्न बजेट व्यवस्थापन गरी पूर्वाधार विकास निर्देशनालयलाई काम गर्न अख्तियारी प्रदान भइसकेको छ । जाजरकोटमा २ वटा सडक, ६ वटा पक्की पुल, ३ वटा झोलुङ्गे पुल र एउटा बेलिब्रिज निर्माण गर्न निर्देशन मन्त्रालयले पठाइसकेको छ । दैलेखमा १ सडक, २ वटा मोटरेबल पुल, १० वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । रुकुम पश्चिममा १ सडक, ३ वटा पक्की पुल र १ झोलुङ्गे पुल निर्माण गर्न बजेट सुरक्षित गरिएको छ । मुगुमा १ सडक, ९ वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । त्यसैगरी, सल्यानमा १ सडक, १ मोटरेबल पुलका लागि बजेट सुरक्षित गरिएको छ । जुम्लामा १ सडक र ४ झोलुङ्गे पुल निर्माण गर्न बजेट सुनिश्चित गरिएको प्रवक्ता वलीले जानकारी दिए । हुम्लामा १ सडक र ४ वटा झोलुङ्गे पुल निर्माण गर्न बजेट सुनिश्चित गरिएको छ । कालिकोटमा १ सडक र ५ वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । डोल्पामा ३ वटा सडक, २ वटा पक्की पुल र सात झोलुङ्गे पुलका लागि बजेट सुनिश्चित गरिएको छ । १०९ वटा आयोजनाको स्रोत सुनिश्चित गर्नुपर्नेमा हालसम्म ८५ वटा आयोजनाको स्रोत सुनिश्चित भएको वलीले बताए  । चालु आवमा नै बोलपत्र आह्वान गरेर काम सुरु हुने उनकाे भनाइ  । विश्व बैंकको प्रतिनिधिमण्डलसँग छलफल विश्व बैंकको आर्थिक सहयोगमा कर्णालीमा निर्माण भइरहेको भौतिक पूर्वाधारका कामको समीक्षा भएको छ । कर्णालीका १० जिल्लामा रहेका विभिन्न ठाउँमा सडक पूर्वाधारको काममा विश्व बैंकको लगानी छ । प्रदेश सरकारको समन्वयमा बैंकले पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको छ । विगतमा कार्यान्वयन आएका कामको प्रभावकारी र भावी दिनमा लगानी गर्ने विषयमा पनि छलफल भएको मन्त्री बुढाले जानकारी दिए । छलफलमा विश्व बैंकका नेपाल प्रमुख रेनु अनेजा, मन्त्रालयका सचिव अर्जुन कुमार बम, प्रादेशिक आयोजना व्यवस्थापन एकाइ सुर्खेतको टिम लगायतको सहभागिता थियो । छलफलमा जिल्लामा विकास निर्माणका काम गर्दा आइ परेका समस्या तथा चुनौतीका विषयमा छलफल भएको थियो । हाल हुम्ला, कालिकोट, दैलेखमा काम भइरहेका छन् । प्रदेश सरकारले काम गरिरहेका ठाउँमा ८० प्रतिशत बजेट विश्व बैंकले लगानी गर्दै आएको छ । अन्य जिल्लामा पनि पूर्वाधारका काम गर्न प्रक्रियागत काम भइरहेको मन्त्री बुढाले बताए । पालिकाको केन्द्रलाई सडक पूर्वाधारले जोड्ने मुख्य उद्देश्य छ । प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन एकाइबाट कर्णालीमा काम भइरहेको छ । कर्णालीका १० जिल्लामा काम भए पनि कार्यालयको असहयोगका कारण गति लिन नसकेको भन्दै विश्व बैंकको नेपाल सेक्टर हेर्ने अनेजाले गुनासो गरेका थिए । 

यस्तो रहने छ आजको मौसम

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाले हुस्सुका कारण  दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

राष्ट्रिय स्वाधिनताका लागि सङ्घर्षका उतारचढावबाट डराउनु हुँदैनः अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गरेका छन् ।  नेकपा (एमाले) द्वारा ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफूहरु नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका साथ अहिले पनि लागिरहेको स्पष्ट पारे ।  लोकतान्त्रिक आन्दोलनका क्रममा पिस्कर काण्ड एक ऐतिहासिक तथा वीरतापूर्ण घटना भएको स्मरण गर्दै उनले सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर निडरताका साथ लाग्न आग्रह गरे ।  फरक प्रसङ्गमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्धा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति आपत्ति जनाए ।       कार्यक्रममा वामनेता मेघराज पौडेललाई सम्मान गरिएको थियो भने विमोचित पुस्तकका सम्बन्धमा समालोचक डा देवी नेपालले टिप्पणी गरेका थिए ।   सिन्धुपाल्चोकको पिस्करमा २०४० पुस ३० गते माघे सङ्क्रान्ति मेला मनाउनेहरुमाथि तत्कालीन सरकारले दमन गर्दा केही व्यक्ति सहिद हुनुका साथै र दर्जनौं व्यक्ति घाइते भएका थिए ।  

सचिव केशव शर्मा शिक्षा मन्त्रालयमा, विश्वबाबु भौतिकमा सरुवा

काठमाडौं । सरकारले दुई सचिवहरूको कार्यक्षेत्रमा हेरफेर गर्दै नयाँ जिम्मेवारी तोकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव केशव कुमार शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । उनले अब शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।  विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा लामो अनुभवी शर्मालाई सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ उचाइ दिन यो जिम्मेवारी सुम्पिएको जनाइएको छ ।  यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको रूपमा कार्यरत विश्वबाबु पुडासैनीलाई भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको छ । प्राविधिक र प्रशासनिक दख्खल राख्ने पुडासैनीले अब देशको भौतिक पूर्वाधार विकासको मुख्य मन्त्रालयको कमाण्ड गर्नेछन् ।

जेनजी विद्रोहबाट अर्थहिन निर्वाचनमात्रै पायौँ : मिराज ढुंगाना

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले जेनजी विद्रोहबाट अर्थहिन निर्वाचनमात्रै पाएको बताएका छन् । बिहीवार माईतीघरमा प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन् ।  उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको उपलब्धि अर्थहीन निर्वाचन भएको टिप्पणी गरे । उनले अहिले नयाँ भन्नेहरूले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको बताए । अहिले नेपालमा पात्र मात्र नभइ प्रणाली पनि गलत रहेको जिकिर गरे । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको भन्दै युवाका भावना नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको दाबी गरे ।  उनले भने, ‘पात्र मात्र गलत होइनन् यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ । यसलाई नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको छ । व्यक्ति र पात्रमा मात्र होइन, संविधानमा पनि समस्या छन् । अहिले आएका केही नयाँ पात्रहरुले के भन्नुहुन्छ भने संविधान मान्य छैन भन्नुहुन्थ्यो अलि पहिला भने अहिले निर्वाचन नजिँकिँदै गर्दा आफ्नो स्वार्थका लागि संविधान एकदम उत्कृष्ट छ भन्नुहुन्छ ।’ उनले अहिलेको संविधानले गर्न खोज्ने मानिसको पनि हात बाँधिदिने बताए ।   

पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना आन्तरिक एवं वाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमण गरेका हुन् । यसमा पाँच हजार ८८४ विदेशी र २६ हजार ७८७ पर्यटक रहेका छन् । चालु आर्थिक वर्षमा यो सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई तीन हजार र नेपालीलाई एक सय रुपैयाँका दरले प्रवेश शुल्क लाग्ने व्यवस्था रहेको स्पष्ट गर्दै निकुञ्जका अभिलेखकर्ता केशव ढडारीले पछिल्लो छ महिनामा रु दुई करोड ३९ लाख ८८ हजार ६६० राजस्व संकलन भएको जानकारी दिए । काठमाडौँ उपत्यकाबाट नजिक रहेको हिमाली जिल्ला रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै विशेषगरी गोसाइँकुण्ड तथा लाङ्टाङ र स्याफ्रु क्षेत्रमा चहलपहल बढी स्थानीय होटल व्यवसायी, किसान, कामदारसहित समग्रपक्ष लाभान्वित भएको जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् । रासस