विकासन्युज

पुनः निर्माण तत्काल अगाडि बढाउने, सरकारका कर्मचारीले बैठक भत्ता नलिने

काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनः निर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।  सोमबार भएको बैठकले विद्यमान खरिद ऐन तथा नियमावलीले छिटो र सरल विधिबाट खरिद गर्न अप्ठ्यारो पर्ने देखिएमा ऐन नियमावलीको संशोधनको प्रक्रिया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय/सार्वजनिक खरिद अनुगमन कार्यालयले तत्काल अगाडि बढाउने प्रस्ताव अघि सारेको छ ।  बैठकले भनेको छ, ‘क्षतिग्रस्त संरचनाबारे प्रकोपपश्चातको आवश्यकता मूल्याङ्कनका लागि राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा अघि बढाउन प्रस्ताव गर्नुपर्छ ।’ सचिव बैठकले वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्ने जिम्मेवारी पाएको सन्दर्भमा तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा आम निर्वाचन गराउने कार्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको छ । यस विषम परिस्थितिमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, खानेपानी, स्वास्थ्य उपचार, सार्वजनिक यातायात, खाद्यान्न तथा औषधि आपूर्ति, टेलिफोन, विद्युत्, न्याय सम्पादनलगायत अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन सम्बद्ध निकायहरूले तत्काल आवश्यक प्रबन्ध मिलाउने निर्णय गरिएको छ । निर्णयमा भनिएको छ, ‘२३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति हुन पुगेका भौतिक संरचना, यन्त्र, उपकरण, सवारीसाधन, फर्निचर, सूचना प्रणाली लगायतको वास्तविक क्षति तथा नोक्सानीको यथार्थ विवरण सम्बन्धित मन्त्रालय/निकायले तयार गर्नका साथै क्षतिपूर्तिका लागि गर्नुपर्ने कार्यको विस्तृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय/निकायले तत्काल कार्य प्रारम्भ गर्नेछ ।’ यस्तै, हालको विषम परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने, सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने, कार्यालयले गर्ने राष्ट्रियस्तरका सबै गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रिया जस्ता कार्यक्रम सरकारी भवन तथा हलमा आयोजना गर्ने गराउने र प्रदेश तथा स्थानीय तहको हकमा समेत सोही अनुसार गर्न गराउन अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकले चालु आर्थिक वर्षमा स-साना रकम विनियोजन भएका आयोजना (टुक्रे आयोजना) को हकमा दायित्व सिर्जना भइ नसकेका आयोजना सबै मन्त्रालय तथा निकायले कार्यान्वयन नगर्ने र त्यस्ता आयोजनामा विनियोजित रकम क्षतिग्रस्त संरचनाको पुनः निर्माण/मर्मत सम्भार तथा यन्त्र उपकरण खरिदका लागि रकमान्तर/स्रोतान्तर गर्ने निर्णय पनि गरेको छ ।  आन्दोलनका क्रममा ध्वस्त भई नयाँ खरिद गर्नुपर्ने फर्निचरलगायतका सामान खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, ‘जेनजी’ युवा पुस्ताको चाहना बमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रक्रिया चुस्त, मितव्ययी र प्रभावकारी बनाउन बाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिका तत्काल खारेजी वा संशोधनको प्रक्रिया अगाडि बढाउने र नागरिकलाई प्रत्यक्ष सेवा प्रवाह गर्नुपर्ने कार्यालयमा कर्मचारी दरबन्दी रिक्त रहेको भए सम्बन्धित कार्यालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल पदपूर्ति गर्ने बैठकले निर्णय गरेको छ । सरकारले प्रदर्शनका क्रममा विभिन्न सरकारी निकाय, संस्थान र निजी घर तथा व्यावसायिक प्रतिष्ठानबाट चोरिएका/लुटिएका सामान सम्बन्धित निकाय वा नजिकको प्रहरी चौकीमा फिर्ता बुझाउन सार्वजनिक आह्वान गर्ने निर्णय भएको बैठकपछि जारी विवरणमा उल्लेख छ ।

कोरला नाकामा ३ सय कन्टेनर आईपुगे, थप १ हजार ५ सय कन्टेनर दसैँका सामान लिन जाँदै

काठमाडौं । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोरला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौंमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोरला नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालन हुन थालेको हो । भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । बेनी, जोमसोम हुँदै कोरला नाकामा करिब ३ सय कन्टेनर पुगेका र थप १ हजार ५ सय कन्टेनर दसैँका सामान लिन कोरला जाने क्रममा रहेको उनले बताए ।  ‘कोरला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरू उत्साही भएका छौँ । गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरलाबाट सामान ल्याउँदा सस्तो पर्छ,’ उनले भने । कोरला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दसैँका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरू बोकेका कन्टेनरहरू रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरलामा आएका बताए ।  समुद्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा प्रदेश सरकारले गत वर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको प्रमुख खड्काले बताए । नाकामार्फत चीनबाट १५१ वटा विद्युतीय गाडी आयात भएका छन् । नेपालबाट भने मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन् । दसैँका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ । रसुवा नाका गत असार २४ गते आएको बाढी र पहिरोका कारण बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतमा ढिलाइ हुँदा तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ । दशैँको मुखमा कच्चा पदार्थ र तयारी सामान नपाउँदा समस्यामा परेका उद्योगी र व्यापारीहरूलाई कोरला नाका सञ्चालन भएपछि राहत मिलेको छ ।

राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरुप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरुप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपाल भरका सरकारी कार्यालय, विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकारबाट निर्णय भएको छ ।’

पूजा आराधना गरी विश्वकर्मा पूजा पर्व मनाइँदै, आज औजारको पूजा गरे धेरै समय टिक्ने

काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधि पूर्वक पूजा गर्न लागिएको हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधि पूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहान स्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकको रुपमा मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद  द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तु शास्त्री शिव पोखरेल बताउँछन् ।  यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इन्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्त प्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ । यसैले गर्दा अहिले वास्तु विद्याको महत्व बढेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराईका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा बाँकी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

कर बुझाउन एक महिना समय थप, ‍जरिवाना पनि नलाग्ने

काठमाडौं । अर्थ मन्त्रालयले कर विवरण र कर रकम बुझाउने म्याद असोज २५ गतेसम्म बढाउने निर्णय गरेको छ । जेनजी आन्दोलनका कारण देशभर कफ्र्यू र निषेधाज्ञा लाग्दा करदाताले समयमा विवरण पेश गर्न असुविधा भएको भन्दै मन्त्रालयले कर बुझाउने समयसीमा सार्ने निर्णय गरेको हो । मन्त्रालयले भदौ २५ सम्ममा पेस गर्नुपर्ने विवरणको म्याद बढाएर असोज २५ सम्म पुर्‍याएको हो । २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी (शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम) २०८२ असोज २५ गतेसम्म दाखिला गर्न सकिने गरी नेपाल सरकार (अर्थमन्त्रीस्तरबाट) मंगलबार निर्णय भएको हो । थप गरिएको अवधिभित्र विवरण तथा विवरण बमोजिमको कर दाखिला गरेमा सम्बन्धित ऐन बमोजिम लाग्ने विलम्ब शुल्क, शुल्क, व्याज, थप दस्तुर वा जरिवाना नलाग्ने गरी आन्तरिक राजस्व विभागले एकीकृत कर प्रणालीमा आवश्यक व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयको ट्वीटर ह्याण्डल विष्णु रिमालको कब्जामा, सूचना प्रवाहमा समस्या

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक एक्स (ट्वीटर) ह्याण्डल विष्णु रिमालले आफ्नो कब्जामा राखेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्री कार्यालयको एक्स आईडीको युजर नेम र पासवर्ड नदिँदा समस्या भएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।  कार्यालयको एक्स आईडी निस्क्रिय हुँदा सरकारी सूचना प्रवाहमा समस्या भएको स्रोतको भनाइ छ ।  प्रधानमन्त्रीको सन्देश, गतिविधि र आधिकारिक धारणा सार्वजनिक गर्ने प्रमुख माध्यमकै रूपमा रहेको ट्वीटर ह्याण्डल सञ्चालनमा नआएपछि समाचार र अद्यावधिक जानकारी लिन खोज्नेहरु अनिश्चित बनेका छन् ।  यस विषयमा प्रधानमन्त्री कार्यालयले आधिकारिक प्रतिक्रिया भने दिएको छैन । जेनजी आन्दोलनपछि यसअघिको सरकारले राजीनामा दिएको थियो भने अहिले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की बनेकी छन् ।   

भोलि शोक दिवस मनाइँदै राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने भएको छ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने भएको हो ।  आज गृह मन्त्रालयले सूचना निकाल्दै भोलि सार्वजनिक बिदा दिएको जनाएको छ। सार्वजनिक बिदाको दिन राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको छ । गत सोमबार बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद्‌को पहिलो बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।