विकासन्युज

गरिमा विकास बैंकले सुरु गर्‍यो ‘गरिमा डिजी बटुवा’ एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा मोबाइल बैंकिङ एप 'गरिमा डिजि बटुवा' मार्फत भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । यससँगै बैंकका ग्राहकहरूले आफ्नै मोबाइलमार्फत नयाँ प्रकारको डिजिटल भुक्तानी सुविधा उपभोग गर्न सक्ने भएका छन् । ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपछि उक्त सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सक्रिय गर्न सक्नेछन् । भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे नेटवर्कमा उपलब्ध कुनै पनि क्यूआर कोडमार्फत सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यो भर्चुअल क्रेडिट कार्डमा न्यूनतम १० हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्मको क्रेडिट सीमा रहनेछ । साथै, ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न सक्नेछन् । हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प पनि उपलब्ध छ । भौतिक कार्ड नभई मोबाइल बैंकिङ एपमार्फत भर्चुअल रूपमा उपलब्ध हुने यस सेवाले ग्राहकलाई थप सुरक्षित, सहज र आधुनिक डिजिटल बैंकिङ अनुभव दिलाउने विश्वास बैंकले व्यक्त गरेको छ । गरिमा विकास बैंकले हाल देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटिएमसहित नवीनतम डिजिटल बैंकिङमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

रौतहटमा प्राइम सिरामिकको १.३ मेगावाट सौर्य ऊर्जा परियोजना कार्यान्वयन सुरु

काठमाडौं । हरित टाइल उत्पादक प्राइम सिरामिकले शून्य कार्बन उत्सर्जनतर्फ थप कदम चालेको घोषणा गरेको छ । कम्पनीले रौतहटस्थित आफ्नै कारखानामा १.३ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना स्थापना गर्ने कार्य सुरु गरेको हो । यस प्लान्टबाट वार्षिक १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । यसले करिब ८ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण गर्नेछ भने हरेक वर्ष २१ हजार रुख बचत गर्ने बराबरको योगदान पुग्ने कम्पनीले जनाएको छ । उत्पादित स्वच्छ ऊर्जा प्रत्यक्ष टाइल उत्पादन प्रक्रियामा प्रयोग हुने भएकाले यसले प्राइम टाइल्सको वातावरणीय योगदानलाई थप उच्च स्तरमा पुर्याउने विश्वास गरिएको छ । 'दिगोपनासँग घर फर्कनुहोस्... आफ्नो घरलाई प्राइम टाइल्सले सजाउनुहोस्' भन्ने मूल नारासहित कम्पनीले यस परियोजनाबाट हरित प्रवर्द्धनमा अग्रणी भूमिका खेल्ने लक्ष्य लिएको छ। सौर्य ऊर्जा परियोजनाको कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले डीकेटीआइ कार्यक्रमअन्तर्गत वित्तीय सहयोग उपलब्ध गराएको छ । सहयोग सम्झौता कार्यक्रममा एइपिसीका कार्यक्रम अधिकृत निरज सापकोटा, कार्यकारी निर्देशक नवराज ढकाल, प्राइम सिरामिकका अध्यक्ष आशिष गर्ग, प्राइम रिन्यूएबल्सका वरिष्ठ प्रबन्धक सञ्जय शाह र प्राइम सिरामिकका वरिष्ठ प्रबन्धक गोपाल मिश्राको उपस्थितिमा हस्ताक्षर गरिएको थियो ।

सवारीसाधन लोन टु भ्यालु अनुपात ८० प्रतिशत पुर्‍याउन नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी मुलुकको वर्तमान जटिल अवस्थाबारे छलफल गरेको छ । छलफलमा अध्यक्ष चौधरीले देशको शान्ति, अमनचयन र व्यवसायीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिँदै खस्किँदो अर्थतन्त्रलाई उकास्न सरकारले व्यवसायीमैत्री नीतिहरु ल्याउनुपर्ने बताए । उनले अटोमोबाइल क्षेत्रले भन्सार राजस्वमा २७ प्रतिशत योगदान दिँदै आएको उल्लेख गर्दै, नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ कार्यान्वयनपछि मूल्यवृद्धि हुने र लगानीकर्ताहरू नेपालमा विश्वस्त हुन नसक्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरे । नाडाले सरकारलाई २२ बुँदे सुझाव प्रस्तुत गर्दै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनका लागि बैंकबाट प्रवाह हुने हायर पर्चेज लोनको लोन टु भ्यालु अनुपात ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्‍याउन आग्रह गर्‍यो । छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक बिग्रनुका कारण तातोपानी भन्सारबाट सवारीसाधन नेपाल प्रवेशमा अवरोध भएको भए पनि चाँडै सञ्चालन हुने जानकारी दिए । साथै, प्रदूषण मापदण्ड कार्यान्वयनका असरबारे वन तथा वातावरण मन्त्रालयसँग छलफल हुने र व्यवसायीका लागि प्रोत्साहन प्याकेज ल्याइने आश्वासन समेत दिए । अर्थमन्त्री खनालले व्यवसायीहरूले राखेका सुझावलाई मनन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनबाट भएको क्षति सम्बन्धी तथ्याङ्क संकलन गरी आवश्यक कदम चालिने बताए। उनले बैंक तथा वित्तीय संस्थाबाट आवश्यक सुविधा उपलब्ध गराइने र कर प्रणालीमा राहतका उपायबारे मन्त्रिपरिषदमा छलफल गरिने जानकारी दिए । उक्त छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति उपस्थित थिए ।

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।   त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ ।  

पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो । बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । 

नोटबन्दीलाई हल्का रुपले नलिउ, सोच्दै नसोचौँ:  अर्थविद् डा. गौचन

काठमाडौं । अर्थविद् डा. विश्वास गौचन नोटबन्दीको बारेमा सोच्दै नसोच्नु पर्ने बताएका छन् । केही नेताहरूको घरमा ठूलो मात्रामा नोट जलेको अवस्थामा भेटिएपछि ५ सय र १ हजारको नोटबन्दी गर्नु पर्ने धारणा आइरहेको बेला उनले भने नोटबन्दी आवश्यक नरहेको बताए । साथै, केही व्यक्तिले नष्ट भएको मुद्राको हिस्सा २० प्रतिशतदेखि २५ प्रतिशतसम्म अर्थात् १ खर्ब ३५ रुपैयाँदेखि १ खर्ब ७० अर्ब रुपैयाँसम्म रहेको आँकलन गर्नु अत्यन्तै हास्यास्पद एवं अतिरञ्जित भएको उनको भनाइ छ । यस्ता गम्भीर विषयमा बिना अध्ययन एवं प्रमाण प्रतिशत नै तोकेर आँकलन गर्नु उपयुक्त नहुने र यस्ता सूचनाले गलत निर्णय लिन सक्ने गम्भीर अवस्था सृजना हुन सक्ने उनले बताए ।   कालो धन जोड्ने, लुकाउने वा सोलाई सेतो बनाउने अन्य विविध सहज उपायहरू रहेको र ठूला नोट लुकाएर राख्नु मात्र विकल्प नभएको उनले बताए ।  राष्ट्र बैंकको वासलात अनुसार २०८१ असार मसान्तमा नेपालको अर्थतन्त्रमा कुल ६ खर्ब ८० अर्ब रुपैयाँ बराबरको मुद्रा परिचालन भएको देखिन्छ । नेपालको सन्दर्भमा कालोधनलाई ठूला नोट कै रुपमा राखेको भए पनि कुल मुद्रामा यसको अंश अत्यन्तै सानो हुने उनले आँकलन गरेका छन् । साथै, तीमध्ये केही पछिल्लो घटना क्रममा खरानी भइसकेको उनको बुझाइ छ ।  ‘नोटबन्दी गरे पनि हाम्रो सिस्टम यति भ्रष्ट एवं निकम्मा छ कि कुनै न कुनै माध्यम तथा प्रक्रियाबाट ती नोट पुनः सिस्टममा फर्कने छ र भारतमा जस्तै सो कदम पूर्ण रुपले असफल हुने छ,’ उनले भने, ‘नोटबन्दी भनेको सरकारले लिने अत्यन्तै कठोर कदम हो, यसलाई हल्का रुपले लिने गल्ती गर्नु हुँदैन ।’  उनका अनुसार अवैध रुपमा ठूला नोटको परिचालन मार्फत हुने कालो धन निष्क्रिय पार्ने प्रमुख लक्ष्य सहित अन्य केही कारण देखाई सन् २०१६ मा भारतमा गरिएको नोटबन्दी ९९.३ प्रतिशत मुद्रा पुन औपचारिक सिस्टममा आएसँगै भारत सरकारको सो कदम पूर्ण रुपले असफल भएको थियो । नोटबन्दी जस्तो कठोर कदम लागू गर्ने क्रममा भारतको अर्थतन्त्रमा सर्वत्र गम्भीर नकारात्मक असर पर्नुको साथै लामो समय सम्म सर्वसाधारणले अत्यन्तै कठिन अवस्था झेल्नु परेको थियो ।

लाभांश पारित गर्न कामना सेवा विकास बैंकले डाक्यो १९ औँ साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कामना सेवा विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले १९ औँ वार्षिक साधारण सभा असोज २४ गते, काठमाडौंमा बिहान ११ बजे डाकेको छ ।  बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७८ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।  साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, चालु आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । 

जेनजी आन्दोलनकर्ताले लुटे बैंकको १८ केजी सुनसहित ३८ करोड, राष्ट्र बैंकको डिभिजनमा पनि क्षति

काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरकाे नगद र सुन लुटिएको बताए ।  उनका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी सुन गरेर ३७/३८ करोड रुपैयाँ लुटिएको छ । राष्ट्र बैंकको केही डिभिजनमा पनि क्षति पुर्याएको उनको भनाइ छ ।  ‘राष्ट्र बैंक परिषर बाहिर एनआरएनए भवनमा आक्रमण हुँदा सो भवनमा रहेका डिभिजनमा क्षति पुगेको छ । तर, कोर काम भएको ठाउँमा भने आक्रमण भएको छैन । तर, बैंकका ६८ वटा शाखा कार्यालय र ६९ वटा एटीएम मेसिनमा क्षति पुगेको छ,’ उनले भने, ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी सुन गरी ३७/३८ करोड रुपैयाँ लुटिएको छ ।’  सो शाखाबाट लुटपाट गर्नको अनुसन्धान भइरहेको बताउँदै उनले भने, ‘लुटेर पनि कहाँ लैजाला र ? सिसिटिभी हेरिरहेका छौं ।’ यस्तै, नबिल बैंकको चाबहिल शाखा, राष्ट्रिय वाणिज्य बैंककै दुहबी शाखा आक्रमण गर्न गएपनि धेरै क्षति नभएको उनले बताए । तर, अन्य ठाउँमा बैंकलाई लक्षित गरेर भन्दा पनि सरकारी कार्यालय र विजनेश कम्प्लेक्समा आगजनी र तोडफोड गर्दा बैंकका शाखा, काउण्टर र एटीएम मेसिनमा क्षति पुगेको उनको भनाइ छ ।  ‘बैंकहरू नै लुट्ने नै भन्दा पनि भाटभटेनीभित्र रहेको एटीएम तोडफोड गरिएका छन् । उनीहरुको उद्देश्य एटीएम भन्दा पनि भाटभटेनी थियो,’ उनले भने, ‘सरकारी कार्यालय र विजनेश कम्प्लेक्समा रहेका बैंकको शाखा र एक्सटेन्सन काउण्टरमा आक्रमण भएको छ । तर, बैंक नै आक्रमण गरौं भनेर गएको भने देखिँदैन ।’ जेनजी आन्दोलनको समयमा भुक्तानी प्रणाली नियमित र डिजिटल पेमेन्ट एकछिन पनि नरोकिएको उनको दाबी छ । उनका अनुसार निक्षेपकर्ताहरुको निक्षेप सुरक्षित छ । लकरमा राखिएको पैसा सुरक्षित छ । बैंक खातामा राखेको रकम जोखिममा छैन ।