विकासन्युज

लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी फिर्ता

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि लुटपाट गरिएको नगद रकम, सुन र चाँदी फिर्ता गरिएको छ ।  राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरिएको दुई लाख ५२ हजार रुपैयाँ नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि, समाजसेवीको पहल तथा इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियतामा फिर्ता गरिएको इप्रका, कोहलपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिए । राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार एक लाख १७ हजार र ८४ हजार रुपैयाँ भारतीय रुपैयाँ इलाका प्रहरी कार्यालय, कोहलपुरमा फिर्ता गरेको उनले बताए । उक्त रकम, सुन र चाँदी पीडित परिवारलाई फिर्ता गरिएको छ ।  ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो । प्रहरीले आइतबार पनि कोहलपुर नगरपालिका–२ बाट सात लाख ६६ हजार रुपैयाँसहित कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ का २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो ।  

गैंडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

चितवन । चितवन कारागारबाट एकसिङ्गे गैंडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैंडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए । तीमध्ये दुई जनाबाहेक अरू सबै भागेका थिए ।  कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ । जसमध्ये ६० जना सम्पर्कमा छैनन् ।  गैंडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ ।  सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरुको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ । गैंडा तस्करीमा लागेकाहरू पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रूपमा लिएको छ ।   

सुकिला नोट सटहीमा छैन खासै सर्वसाधरणको चासो

काठमाडौं । दशैँका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही शुरु गरेपनि नोट सटहीमा सर्वसाधरणको चासो कम छ । राजनीतिक संक्रमणको अवस्थाका कारण पनि नोट सटहीमा चहलपहल कम देखिएको हो ।  विगतको दशैँहरुमा नयाँ नोट सटहीको लागि सर्वसाधरणको भीड लाग्ने गर्दथ्यो । नेपाल राष्ट्र बैंकले आईतवारदेखि सुकिला नोट वितरण गर्न शुरु गरेको छ । असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैंकले प्रति प्याकेट १८ हजार पाँच सय रुपियाँको सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैंक, राष्ट्र बैंकका प्रदेश कार्यालयहरुबाट सुकिला नोट वितरण भइरहेको छ ।  राष्ट्र बैकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट समेत सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गएर नोट सटही गर्नसक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसअघि राष्ट्र बैंकले दशैका लागी भनेर नयाँ नोट छाप्ने गरेको थियो तर गत वर्षदेखि भने खर्च व्यवस्थापनको लागी भन्दै नयाँ नोटलाई बन्द गरेको हो ।  यस पटक पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैकले झुत्रा, जलेका तथा दाबी नोटहरु भने दशैँ पछाडी मात्रै वितरण गरिने जानकारी दिएको छ । 

मन्त्री आवासको प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु

ललितपुर । ललितपुर महानगरपालिका–१८ भैँसेपाटीस्थित सङ्घीय मन्त्री आवास, प्रदेश प्रमुख र मुख्यमन्त्री आवासमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु भएको छ । सङ्घीय सचिवालयका अनुसार भदौ २४ गतेको घटनामा क्षति पुगेका संरचनाको विवरण एक हप्ताभित्र तयार हुने अनुमान गरिएको छ । सचिवालयका सुपरिटेन्डिङ इञ्जिनियर चक्रवती कण्टका अनुसार प्रारम्भिक विवरण सङ्कलन अघि बढाइएको हो । भैँसेपाटीस्थित ९६ रोपनी १० आना क्षेत्रफलमा निर्माण गरिएका सङ्घीय मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि बनेका २७ वटा अत्याधुनिक सुविधासम्पन्न भवन पूर्ण रूपमा जलेका छन् । गत असारमा मात्र मन्त्रीहरू सो आवासमा सरेका थिए । त्यसैगरी, २७ रोपनी १२ आना क्षेत्रफलमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेका सम्पर्क कार्यालयमा पनि आगजनी भएको छ । हाल भैँसेपाटीस्थित ती सङ्घीय मन्त्री आवास र प्रदेश सम्पर्क कार्यालयमा नेपाली सेनाले सुरक्षा दिएको छ । आवास क्षेत्रमा बस्ने परिवारका सदस्यलाई मात्र परिचयपत्र देखाएर भित्र प्रवेश दिइएको छ । सङ्घीय सचिवालयले क्षति विवरण नआएसम्म सरसफाइलगायतका कार्य अघि नबढाइने जनाएको छ ।

निजामती कर्मचारी अस्पतालमा घाइतेको उपचार हुँदै

काठमाडौं । नेपाल निजामती अस्पताल मीनभवनमा ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा घाइतेको उपचार भइरहेको छ । हालसम्म यहाँ ४६१ जना उपचारका लागि पुगेका थिए । अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भइ पुगेकामध्ये ४४ जनालाई उपचारका लागि अन्य अस्पताल ‘रिफर’ गरिएको र ३६६ जना सामान्य उपचारपछि घर फर्किका जनाएको छ । हाल अस्पतालमा नौ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । उपचारका क्रममा उक्त अस्पतालमा ६ जनाको ज्यान गएको थियो ।  

सुनको मूल्य तोलाको दुई लाख १७ हजार

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा एक हजार ९०० रुपैयाँ बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।  

आन्दोलनमा लुटिएका कार्यालय सामग्री बुझाउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्दोलनका क्रममा तोडफोड, आगजनी र चोरी भएका जिन्सी सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणका अनुसार भदौ २४ गते भएको आन्दोलनका क्रममा बबरमहलस्थित प्रधान कार्यालयसहित देशभरका नागरिक उड्डयन कार्यालयहरूमा तोडफोड र लुटपाटका घटना भएका थिए । उक्त क्रममा टेलिभिजन, कम्प्युटर सेट, माइक्रोओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, प्रिन्टर, मोनिटर, ल्यापटप, हेडसेट र फर्निचरजस्ता कार्यालयका सामग्री चोरी भएका छन् । प्राधिकरणले सीसीटीभी फुटेजमार्फत संलग्न व्यक्तिहरूको पहिचान भइरहेको जनाएको छ । साथै, चोरी वा हराएका सामान कोही कसैसँग परेमा काठमाडौंको हकमा जिल्ला प्रहरी परिसर काठमाडौं वा प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा, र मातहतका कार्यालयहरूको हकमा त्यही कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ । प्राधिकरणले तोकिएको समयमा सामान फिर्ता नभए कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ ।

धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम

काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।  २०८१ साउन मसान्तमा बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रहेको थियो । २०८१ को साउन मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ८३.४८ प्रतिशत रहेकोमा २०८२ साउनमा ७६.२४ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टले देखाएको छ ।  राष्ट्र बैंककाअनुसार २०८२ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७४ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९२ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । २०८१ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.१ प्रतिशत रहेको छ । यस्तै, २०८१ साउन मसान्तमा ३०००.८१ रहेको नेप्से सूचकाङ्क २०८२ साउन मसान्तमा २७८८.३७ कायम भएको छ ।  राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ साउन मसान्तमा सूचीकृत ८ अर्ब ८८ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ७५ अर्ब ३३ करोड रहेको छ ।  आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ५० करोड बराबरको साधारण सेयर,.७१ करोड ८५ लाख बराबरको बोनस सेयर र  २ करोड २५ लाख बराबरको हकप्रद सेयर गरी कुल ८ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ४७ करोड १५ लाख बराबरको साधारण सेयर गरी कुल १० अर्ब ३३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको राष्ट्र बैंकले जनाएको छ ।