पर्यटन पुनःउत्थानमा ५ वर्ष लाग्ने गरेको छ, यस पटक छोटो अवधिमै उदाहरणीय काम गर्नुपर्छ
काठमाडौं । मुलुकको पर्यटन पुनः उत्थान गर्न सरकार र निजी क्षेत्रले सामूहिक ऐक्यबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा सोमबार भएको छलफलमा सरोकार भएका सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले सबै मिलेर पर्यटन पुनः उत्थानमा लाग्ने बताए । ‘जेनजी’ आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो क्षति र चुनौती थपिएको उल्लेख गर्दै सहभागीले त्यसका बाबजुद पर्यटन क्षेत्र पुनःस्थापना र प्रगतिको मार्गमा अघि बढिरहेको धारणा राखे । मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि नीतिगत अड्चन फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए । ‘पर्यटन क्षेत्रको पुनः उत्थानका लागि आवश्यक सुधार गर्न तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय विदेशमा फैलाउन आवश्यक पहल गर्न हामी काम गरिरहेका छौँ,’ उनले भने । सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको सुरक्षित आवागमनको सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिए । ‘यस घटनाले हामीलाई धेरै सिकाएको छ । प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् विस्तार हुने क्रम सुरु भएसँगै राम्रो सन्देश विश्वभर पुगेको छ । हामी आशावादी भएर काम गरिरहेका छौँ,’ उनले भने । पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउन ‘पर्यटन प्याकेज’ सार्वजनिक गर्नुपर्ने बताए । दूतावास, गैर आवासीय नेपाली र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताए । पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण सङ्कलनका लागि समन्वय भएको उल्लेख गर्दै त्यहाँ आवागमन गर्ने पर्यटकलाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताए । उनले भने, ‘हाम्रा ट्रेकिङ रुटहरू सुरक्षित छन् । साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरु भइसकेको छ । त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकलाई कुनै समस्या हुँदैन, आवश्यक सहजीकरणका लागि हामी तयार छौँ ।’ होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने बताए । साहसिक पर्यटनका क्षेत्रमा खासै असर परेको छैन । यो क्षेत्र सुरक्षित भएकाले पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित रहेको सन्देश व्यापक बनाउनुपर्ने बताए । प्राकृतिक विपद् र हालको सङ्कट फरक भएकाले दीर्घकालीन समस्या समाधानका लागि काम गर्नुपर्ने उनको धारणा छ । पर्यटन बोर्डका सदस्य ऋषि भण्डारीले पुनः उत्थानका लागि निरन्तर प्रयत्न आवश्यक रहेको बताए । ‘हरेक सङ्कटपछि नेपालको पर्यटन पुनः उत्थानमा ५/५ वर्ष लाग्ने गरेको छ । यस पटक हामीले छोटो अवधिमै उदाहरणीय काम गर्नुपर्छ,’ उनले भने । यस्तै, बोर्ड सदस्य तथा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का महासचिव नरेन्द्र देव भट्टले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेश स्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरूसँग समन्वय बढाउनुपर्नेमा जोड दिए । टान अध्यक्ष सागर पाण्डे र कैलाश टुर अपरेटर एसोसिएसनका अध्यक्ष विमल नहर्कीले कैलाश यात्रामा सहजीकरण गर्नुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्डले स्थिति सामान्य भएसँगै आइतबार पनि पर्यटनसँग सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । उक्त छलफलका क्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न सङ्कटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनः उत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ सक्रिय बनाउन लाग्नुपर्ने धारणा व्यक्त गरे । यसैगरी बोर्डले आज नेपालमा रहेका पाँच तारे र चार तारे होटलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ । छलफलका क्रममा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायीहरू पाहुनालाई स्वागत गर्न तयार रहेको होटल व्यवसायीले बताए । यी विभिन्न छलफलका क्रममा सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र पर्यटन पुनःस्थापनाका लागि एकमत देखिएको छ । हाल सिर्जना भएका चुनौतीलाई अवसरमा बदल्ने र नेपाललाई अझ सुरक्षित, आकर्षक र सहज गन्तव्यका रूपमा स्थापित गर्न सामूहिक पहल गर्ने सहभागीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहिदका परिवारलाई १५ लाख रुपैयाँ, पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन
‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय काठमाडौं । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । नवगठित मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले सहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसैगरी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिको सम्मानमा आगामी असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय भएको छ । सरकारले सहिदका परिवारलाई क्षतिपूर्ति बापत नियमित दिँदै आएको १० लाख रुपैयाँ र अन्य खर्चबापत थप ५ लाख रुपैयाँ थप गरी १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको उनले बताए । उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई प्रदान गरिने छ । बैठकले घाइतेको निःशुल्क उपचार, शव सम्बन्धित स्थानमा लैजानु परेमा निःशुल्क व्यवस्था र दाहसंस्कारमा सघाउने निर्णय गरेको छ । बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षति र ज्यादतीको छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए । सोही आयोगको प्रतिवेदनका आधारमा आवश्यक काम गरिने उनको भनाइ छ । यसैगरी सहादत प्राप्त गर्ने सहिदको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय भएको छ । बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा पेस भएका तर निर्णय नभएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णयसमेत गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।
उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नुस्: आपूर्ति मन्त्रालय
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उपभोग्य वस्तुको माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्यधिक वस्तु अनावश्यक सञ्चित नगर्न/नगराउन सबैमा अनुरोध गरेको हो । बजार अनुगमनलाई प्रभावकारी बनाउने र उपभोक्ता अधिकार हनन तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति शृङ्खलामा अवरोध गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ । आसन्न चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर साेमबारदेखि १५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट समग्र उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको प्रभावका साथै नजिकिदै गएको चाडपर्वमा गर्नुपर्ने आपूर्ति तथा बजार व्यवस्थापनका सम्बन्धमा मन्त्रालयले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो । छलफलमा सरकारी संरचना र निजी व्यावसायिक संस्थामा भएको आगजनी, तोडफोड र क्षतिको एकीकृत विवरण तयार गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी संरक्षण र प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल उकास्ने र क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका सम्बन्धमा छलफल भएको उनले बताए ।
अवरुद्ध बेनी-जोमसोम सडक खुल्यो, कोरला नाकाबाट सामान लिएर आएका कन्टेनर हिँडे
काठमाडौं । बेनी-जोमसोम-कोरला सडक आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रे भिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा आइतबार बिहानदेखि सिधा यातायात अवरुद्ध भएको थियो । नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरेर सडकमा थुप्रिएका ठूला ढुङ्गा फुटाउने र डोजरको सहायताले पहिरो पन्छाएर गए राति १० बजे सडक खुलाएको घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीले बताए । ‘बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयका प्राविधिक कर्मचारी, नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले रातिसम्म काम गरेर सडक खुलाएका हौँ,’ उनले भने, ‘सडक खुलेसँगै मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।’ सडक अवरुद्ध हुँदा कोरला नाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर बजार हिँडेका माल बाहक ट्रक घाँसामै रोकिएका थिए । सोह्र श्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिन देशका विभिन्न ठाउँ र भारतबाट आएका तीर्थ यात्री, स्थानीय वासी र पर्यटक गन्तव्यतर्फ लागेका छन् । सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि दशैँका लागि नेपाली बजारमा आवश्यक सामान मुस्ताङको कोरला नाकाबाट ल्याउन थालिएकाले बेनी-जोमसोम सडकमा सवारीसाधनको चाप बढेको छ ।
असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने, रातिको अवरोध हट्यो
काठमाडौं । यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाई स्वीकृत सडक सुरक्षा कार्ययोजना बमोजिम निर्णय गरिएको समितिले जनाएको छ । कार्यालयद्वारा जारी सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । मनसुनमा बाढी पहिरोको जोखिमका कारण बीपी राजमार्ग अन्तर्गत प्रस्थान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपाल थोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो । यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो । कार्यालयले पटकपटक सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाउँदै सतर्कता अपनाउन सार्वजनिक आह्वान गर्दै आइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । मनसुनको समयमा बीपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । उनका अनुसार काभ्रेपलाञ्चोकको काभ्रे भञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रे भञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपाल थोकमा रोकिएको थियो । यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तर जिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बीपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म तथा साउन महिनाभर साँझ ५ देखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो । गत वर्ष असोजको बाढी पहिरोले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकी डाँडाबाट सिन्धुलीको वर्षे खोलासम्मको ८ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो । बाढी पहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्ड अन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पुर्याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा घि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन् ।
देशभित्रै सुविधा सम्पन्न शैक्षिक संस्था, अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड
काठमाडौं । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड रुपैयाँ व्यय भएकामा गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड रुपैयाँ थियो । चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब ३९ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.७ प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ अर्ब ७७ करोड रुपैयाँ थियो ।
'नाकाबाट ठूलो मात्रामा सामान भित्रिरहेको छ, उच्च मनोबलका साथ अगाडि बढ्नुहोस्'
काठमाडौं । सरकारले उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा.रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गरेको छलफलमा मुलुकलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनीहरूले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको प्रतिबद्धता जनाए । सचिवद्वयले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै आवश्यक खाद्यान्नलगायत सामग्री पर्याप्त मौज्दात रहेकाले कुनै अभाव नहुने जानकारी दिए । उनीहरूले माग, आपूर्ति र प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न÷नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, बिक्रेतालगायत सरोकार भएका सबैलाई अनुरोध गरे । मन्त्रालयले आपूर्ति व्यवस्थामा ठूलो असर नपर्ने देखिएकाले वस्तु अनावश्यक रूपमा सञ्चित नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । परिस्थिति सामान्य बन्दै गएकाले निजी क्षेत्रलाई आफ्ना उद्योग व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको छ । मन्त्रालयले आयात सहज गर्न कोरला नाका खुला गरिएको तथा सो नाकाबाट ठूलो मात्रामा सामान भित्रिरहेको जानकारी गराउँदै तातोपानी नाका खुलाउन प्रयास भइरहेको जनाएको छ । साथै दक्षिणतर्फको नाकासमेत नियमित सञ्चालनमा आइसकेको सचिवद्वय घिमिरे र राउतले जानकारी दिए । छलफलमा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अहिलेको विषम परिस्थितिमा मुलुक अप्ठ्यारोमा परेकाले अर्थतन्त्र उकास्न सबैसँग सहकार्य र समन्वय गरी सहज वातावरण बनाउन आवश्यक रहेकामा जोड दिए । उत्पादन मूलक उद्योग, होटल तथा रिटेल चेन तथा साना व्यवसाय तथा उद्योगी व्यवसायीका निजी आवास तथा भवनमा भएको आगजनी, लुटपाट तथा तोडफोड गरी निजी क्षेत्रलाई निराश बनाए पनि नयाँ हौसलासहित उठ्ने प्रयास गरिएको उनको भनाइ छ । सरकारसँग नजिक रहेर काम गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको बताउँदै उनले निजी क्षेत्रलाई आत्मविश्वासिलो बनाउनुपर्नेमा जोड दिए ।
बीमा रकम दुरुपयोग गर्ने ३ कर्मचारी बर्खास्त, नाम गोप्य
काठमाडौं । कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत ३ जना कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको हो । बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी छन् । अस्पताल प्रशासनले ती कर्मचारीका बारेमा थप अनुसन्धान गरिरहेको जनाउँदै नाम सार्वजनिक भने गरेको छैन । ती कर्मचारीले औषधि कम आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, बिरामीका नाममा ठूलो मात्रामा औषधि देखाउने जस्ता अनियमिततामा संलग्न भएको पाइएपछि सेवाबाट बर्खास्त गरिएको जनाइएको छ । मोरङका एक क्यान्सर पीडित बिरामीले उजुरी दिएपछि उपचार रकमको दुरुपयोगको घटना बाहिर आएको हो । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा चिकित्सकले सात दिनका लागि औषधि लेखिदिँदा पनि ती बिरामीको बीमा खाताबाट एक महिनाको औषधि बराबर रकम कटाइएको थाहा पाएपछि ती बिरामीले अस्पताल प्रशासनमा उजुरी दिएका थिए । लिखित उजुरी प्राप्त भएपछि अस्पतालले छानबिन समिति गठन गरी अनुसन्धान गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले बताए । उनले भने, ‘हामीलाई पहिले पनि कतिपय बिरामीले बीमाको औषधि दुरुपयोगबारे गुनासो गरेका थिए, तर यसपटक लिखित उजुरी नै आयो, उजुरीमा उल्लेखित मात्र होइन, अघिपछि काटिएका बिलसमेत परीक्षण गर्दा अनियमितता पुष्टि भएपछि उनीहरूलाई बर्खास्त गरिएको हो ।’ अस्पताल प्रशासनले बर्खास्त गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि छानबिन समितिको प्रतिवेदनमा उनीहरूको प्रत्यक्ष संलग्नता प्रमाणित भएको उल्लेख छ । कोशी अस्पतालमा दैनिक करिब एक हजार बिरामी सेवा लिन आउँछन् । ती मध्ये आधाभन्दा बढी स्वास्थ्य बीमा सदस्य हुने गरेका छन् । बीमित बिरामीमध्ये सबैभन्दा धेरै दीर्घरोगका बिरामी छन् । अस्पतालको बीमा शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार बीमित बिरामीमध्ये अधिकांश मेडिकल विभागमा उपचारका लागि पुग्ने गरेका छन् । आर्थिक वर्ष २०८१/८२को तथ्याङ्कका अनुसार अस्पतालमा उपचार सेवा लिन आएका ३ लाख १७ हजार ७१८ बिरामीमध्ये १ लाख २३ हजार ९८३ बिरामी स्वास्थ्य बीमामार्फत उपचार सेवा लिएका छन् । तीमध्ये उच्च रक्तचाप, दम, मधुमेह, ग्यास्ट्राइटिस, तल्लो पेट दुखाइलगायत रोगको उपचार गर्ने बिरामी धेरै छन् । मेडिसिन विभाग प्रमुख डा. दीपक सिग्देलका अनुसार हाल सबैभन्दा बढी देखिने उच्च रक्तचाप, दम, मधुमेह, मुटुरोग र मष्तिष्कसम्बन्धी समस्या रहेका छन् । उनले भने, ‘पहिलेको दिनमा पाको उमेरका मानिसलाई मात्र हुने यो रोग अहिले युवापुस्तामा पनि देखिन थालेका छन् । लामो समयसम्म औषधि खानुपर्ने रोग बढ्दै गएकाले बीमा सेवा लिनेको चाप दिनानुदिन बढिरहेको छ ।’