विकासन्युज

२ महिनामा ३९.१५ अर्ब रुपैयाँ राजस्व सङ्कलन, जेनजी आन्दोलनले १ दिन ठप्प

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको २ महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले चालु आवको २ महिनासम्म कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९०.९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।  ‘साउन महिनामा कार्यालयले १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । जेनजी समूहको आन्दोलनले भदौ महिनाको १ दिन राजस्व सङ्कलन ठप्पजस्तै हुँदा पनि राजस्व सङ्कलनमा वृद्धि भएको छ । भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३.९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ,’ उनले भने ।  वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा २ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते १ खर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  त्यस्तै भदौ २८ गते १ अर्ब ७१ करोड रुपैयाँ र भदौ ३१ गते भने १ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  त्यस्तै जेनजी समूहको प्रदर्शनका दिन भदौ २४ गते ३ करोड रुपैयाँ, भदौ २५ गते भने शून्य राजस्व सङ्कलन भएको छ । त्यस्तै भदौ २६ गते ६ करोड रुपैयाँ र भदौ २७ गते भने ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्याे भने भदौ महिनामा भने २० अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सिप्रदी र नाडाको सहयोगमा उपत्यकाका १५ ठाउँमा यात्रु सहायता कक्ष, चाडपर्व दुर्घटना रहित बनाउने

काठमाडौं । नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा काठमाडौं उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गर्न लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार नयाँ बसपार्क, नाग ढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो । उक्त स्थानको यात्रु सहायता कक्ष आजदेखि सञ्चालनमा आउनेछ । ‘यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटना रहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गर्न लागिएको हो,’ उनले भने ।  यात्रु सहायता कक्षमा खटिएको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायीसहितको टोलीले तोकिएको भाडा दरभन्दा बढी भाडा लिए-नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए/नभएको जाँच गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।  यस्तै, यात्रु सहायता कक्षले प्रत्येक टिकट काउण्टरमा भाडा दर टाँस्न लगाउनेछ । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्‍याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिगामीहरु व्यवस्था उल्टाउन खोज्दैछन्, सचेत बनौँ: मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पछिल्लो समय प्रतिगामीहरू गणतन्त्र उल्टाउन दुष्प्रयासमा लागेको बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीरेन्द्रनगर कमिटीद्वारा बिहीबार सुर्खेतमा आयोजित भेलामा उनले ७० वर्ष लामो सङ्घर्षपछि ल्याइएको गणतन्त्र र संविधानमाथि प्रहार गर्न थालेकाले नागरिक सचेत हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री कँडेलले राजनीतिक परिस्थिति नयाँ मोडतर्फ गएको र संविधान अर्ध मृत अवस्थामा पुगेको भन्दै नागरिकस्तरबाटै होसियार रहनुपर्ने बताए ।  ‘७ दशकको त्याग, बलिदान र सङ्घर्षपछि ल्याइएको संविधान समस्यामा छ । यसलाई जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरुरी छ,’ उनले भने, ‘सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्था कार्यान्वयनमा कमजोर देखिएका कारण यो अवस्था आएको हो । अब सबै सुध्रिनुपर्छ ।’ पार्टी कार्यकर्तालाई जनस्तरमा मजबुत सम्बन्ध बनाउन, विश्वास जगाउन र सङ्गठनलाई बलियो बनाउन आह्वान गर्दै कँडेलले व्यक्तिगत विषयभन्दा परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्ने बताए । संविधान दिवसलाई विशेष रूपमा मनाउनुपर्ने उनको भनाइ छ । 

१४.०७ अर्बमा कालीगण्डकी करिडोरको २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट-राम्दी-मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माण सम्पन्न भएका छन् भने ६ वटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गैँडाकोट-राम्दी-मालढुङ्गा सडक योजना पाल्पाको तथ्याङ्कअनुसार बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र कालीगण्डकी लोकमार्ग मिर्मि-सेतीवेनी-फलेवास-अर्मादी-कुश्मा खण्डको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको उक्त  खण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना सुरु भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालोपत्र गर्न र पुलहरू निर्माणका लागि १४ अर्ब ७ करोड रुपैयाँ खर्च भएको करिडोर आयोजनाका इन्जिनियर उत्सव बस्यालले जानकारी दिए । आर्थिक वर्ष २०६६/६७ मा सुरु गरिएको आयोजना र २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त २९३ किमी खण्डमा हालसम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ । इन्जिनियर बस्यालले हालसम्म १४५ किमी सडक सम्पन्न भएर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरि सकिएको जानकारी दिए । उक्त खण्डमा पहिरोको ठेक्का व्यवस्थापन, ०.४२ किमी सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको उनले बताए ।  करिडोर गैँडाकोट-राम्दी-मालढुङ्गा खण्ड चार जिल्ला र कालीगण्डकी लोकमार्ग मिर्मि-सेतीवेनी-फलेवास-अर्मादी-कुश्मा खण्ड दुई जिल्लामा फैलिएको रहेको छ । करिडोरको नवलपुरमा ७७.९७ किमी, पाल्पामा ८६.२७ किमी, गुल्मीमा ४१.०६ किमी, बागलुङमा ३४.७० किमी, स्याङ्जामा १० किमी र पर्वतमा ४३ किमी पर्दछ ।

संविधान दिवसमा टेलिकमको अफर, ७८९ रुपैयाँमा ‘फेस्टिभ कम्बो प्याक’

काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यस अन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ । यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जिबी, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जिबी, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जिबी र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ । टेलिकमले यही अफरअन्तर्गत ७८९ रुपैयाँमा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध छ ।

बससेवाले खुलायो दशैंका लागि टिकट बुकिङ : ५ जनालाई खसी उपहार, १ सय जनालाई फ्री बस टिकट

काठमाडौं । बससेवाले दशैंका लागि टिकट बुकिङ खुलाएको छ । ​बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीआर खनालले जानकारी दिए । उनका अनुसार बससेवाको मोबाइल एप र बससेवा डटकममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाका लागि मोबाइलबाटै बस र हवाइजहाजको टिकट सहजै काट्न सकिनेछ । ‘बससेवाको सिस्टममा पर्याप्त टिकट छन् । यात्रुहरूले मोबाइलबाटै टिकट बुकिङ गरी सहजै यात्रा गर्न सक्नुहुनछ,’ उनले भने । हवाई टिकट काट्दा पाँच सयसम्म क्यास ब्याक मोबाइल एप्लिकेशन बससेवा र बससेवा डटकमबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने छन् । बससेवाका सीइओ खनालका अनुसार क्यास ब्याकको अफर मंसिर महिनसम्म रहनेछ । यात्रुहरूले हवाई उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेबसाइटबाट लिन सक्नेछन् । बससेवाबाट टिकट काट्ने पाँचजनालाई खसी उपहार बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई खसी उपहारसमेत दिने भएको छ । अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरूप खसी दिने घोषणा कम्पनीले गरेको हो । सय जनालाई फ्री बस टिकट बससेवामार्फत टिकट काट्ने यात्रुहरूलाई अन्य विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सयजनालाई निःशुल्क टिकट, ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेलको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

नष्ट भएका संरचना बनाउन सिमेन्टको माग बढ्ने, बढ्ला त मूल्य ?

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका सरकारी तथा निजी कार्यालयदेखि विभिन्न पूर्वाधारसम्म जलेर नष्ट भए । ती भवनहरू र संरचनाहरू भग्नावशेषमा परिणत भएका छन् जसका कारण खर्बौंको क्षति भएको अनुमान छ । जानकारहरूका अनुसार ठूलो स्तरमा भएको क्षतिपछि पुनःनिर्माणका लागि सिमेन्टको माग उल्लेख्य रूपमा बढ्ने देखिएको छ । कुनै समय विदेशी सिमेन्ट आयातमा निर्भर रहनुपर्ने अवस्था भए पनि हाल स्वदेशी सिमेन्ट उत्पादन पर्याप्त मात्रामा भइरहेको छ र घर, भवन, पुल, विमानस्थल तथा जलविद्युत आयोजनासम्मका विकास परियोजनामा स्वदेशी सिमेन्टकै प्रयोग व्यापक छ । विमानस्थल, जलविद्युत आयोजना, पुल वा बहुमञ्जिला भवनलगायत सबै प्रकारका परियोजनाहरू नेपाली सिमेन्टकै भरमा अगाडि बढिरहेको पाइन्छ । यति मात्रै होइन, भारतजस्ता छिमेकी देशहरूमा समेत नेपाली सिमेन्टको निर्यात र खपत भइरहेको छ।  जेनजीहरूको आन्दोलनले क्षति भएका संरचनाको पुननिर्माणमा सिमेन्टको माग बढ्ने तर मूल्य नबढ्ने व्यवसायीहरू बताउँछन् । नेपालको सिमेन्ट बजारमा आपूर्ति बढी भएकाले मूल्यमा ठूलो उतारचढाव नआउने अनुमान व्यवसायीहरूको छ। माग बढ्ने भएपनि सिमेन्टको मूल्यमा भने खासै ठूलो परिवर्तन नआउने नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष तथा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारुले बताए । पुनः निर्माणका लागि आवश्यक फण्डको अभाव र मागभन्दा बढी आपूर्ति भएका कारणले मूल्यमा ठूलो घटबढ नगराउने उनको भनाइ छ । अध्यक्ष मारुले भने, ‘पुनःनिर्माणको आवश्यकता एकदमै जरुरी छ । देशका यति धेरै सरकारी र निजी संरचनाहरू ध्वस्त भएका छन् । पुनः निर्माणमा सिमेन्टको प्रयोग अपरिहार्य छ । तर मूल्यमा त्यति धेरै फरक नपर्ला ।’ व्यवसायीहरूले सिमेन्टसँगै ग्रिल, स्टिल, सिसा, फर्निचर लगायतको खपत बढ्ने आँकलन गरेका छन् । हाल सिमेन्टको माग स्थिर अवस्थामा रहेको छ । सिमेन्ट व्यवसायीहरूका अनुसार ओपीसी सिमेन्टको मूल्य ६ सय ३० देखि ८ सय रुपैयाँसम्म रहेको छ भने पीपीसी सिमेन्टको मूल्य ५ सय ९० देखि ६ सय ५० सम्म छ ।  दशैं-तिहार नजिकिदै गर्दा संरचनाको निर्माण कार्य चाडपर्व पछाडि सुरु हुने अध्यक्ष मारुले अनुमान गरे ।  नेपालको माग स्वदेशी सिमेन्ट उद्योगले मजाले पूरा गर्न सक्ने उनले ले दावी गरे। ‘नेपाली सिमेन्ट उद्योगको क्षमता २० मिलियन टन रहेको छ । माग सजिलै धान्न सक्छ,’ उनले भने । जेनजी आन्दोलनले निजी सम्पत्तिहरू जस्तै भाटभटेनीमा भएको क्षतिले उद्योगीहरूको मनोबल धेरै खस्किएको र लगानी गर्ने सोच्न सक्ने अवस्थामा नरहेको अध्यक्ष मारुको भनाइ छ ।  ‘भाटभटेनीजस्ता सुपर स्टोरहरू हाम्रो देशको गौरव थिए । आज जसरी जलाइयो, यसबाट उद्योगीहरूको मनोबल धस्किएको छ,’ उनले भने ।  उनले लगानीको सुरक्षा हुन नसकेमा भएको लगानी पनि बाहिरिनेमा चिन्ता व्यक्त गरे ।  यसैगरी, होङ्सी सिमेन्टका कृष्ण अधिकारी पनि सिमेन्टको मूल्य सामान्य रूपले बढ्न सक्ने बताउँछन् ।  उनले भने, ‘ठूला-ठूला संरचनाहरू भत्किएका छन् । तिनीहरूलाई पुनः निर्माण गर्न केही हदसम्म सिमन्टको माग त बढ्छ नै । तर मूल्यमा भने त्यति धेरै असर पर्दैन ।’ सिमेन्ट उत्पादक संघका पूर्वमहासचिव तथा सिमेन्ट उद्योगी केशव उप्रेती पनि माग बढेपनि मूल्यमा त्यतिधेरै फरक नपर्ने बताउँछन् । ‘माग त स्वतः नै बढ्छ तर, मूल्य बढ्ने अथवा घट्ने कुरा भने हुँदैन,’ उनले भने । आगामी केही महिनासम्म सिमेन्टको कारोबार राम्रो हुने उनको आंकलन छ । 

जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएका उद्योगहरूको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।  बुधवार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो माग गरेका हुन् । उनले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भीर क्षति पुर्‍याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए ।  अध्यक्ष ढकालले राज्यले उद्योग, व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि स्मरण गराए ।  उनले भने, ‘आगामी दिनमा जुन सुरक्षा दिने कुरा छ, यो एकदमै महत्त्वपूर्ण छ । जबसम्म सुरक्षाको इन्स्योरेन्स हुँदैन तबसम्म लगानीको सम्भावना छैन । अहिले भएको आगजनी तथा तोडफोडको निष्पक्ष ढंगले छानविन गरेर कारबाही गर्नुपर्छ । २०४६ यताका सबै प्रकारका आन्दोलनमा निजी क्षेत्रलाई टार्गेट गरेर गरिएको छ ।’ महासंघले उद्योग व्यवसाय सञ्चालनका लागि सरकारले लगानीको लागि उचित वातावरण बनाउन नसकेको गुनासो पनि गर्दै आएको छ ।  अध्यक्ष ढकालले निजी क्षेत्र अब अझै उच्च मनोबलका साथ अघि बढ्ने विश्वाससमेत व्यक्त गरे ।