विकासन्युज

विन नेपाल लघुवित्तको सीईओमा दिपेन्द्र खतिवडा

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् ।  भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको रहने कम्पनीले जनाएको छ । खतिवडाले असोज २ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।उनी यसअघि सोही संस्थामा कामु सीईओ थिए ।  

गरिबीले थिचेपछि चाडपर्वको बेलामा पनि रोजगारीका लागि भारत धाउँदै नेपाली

दोधारा चाँदनी । हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ । विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो । दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ । हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको सङ्ख्या बढी छ । चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन् । परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लागेका डोटीको जोरायल गाउँपालिका–२ का करन थापा मङ्गलबार गड्डाचौकी नाकामा भेटिए । 'साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दसैँ हुन्छ', उनले भने, 'पैसा भयो भने तिहार मनाउन आउँछु । यसपटक घरमा बसेर दसैँ मनाउन पाइएन ।' थापाले दशैंको समयमा बालबच्चाको विद्यालय बिदा भएका कारण परिवारका सबैजना काम खोज्दै हिमाञ्चलन प्रदेश जान लागेको बताए । थापा मात्रै होइन डोटीको बाजिलेकका २५ जनाको परिवार काम खोज्दै भारतको हिमाञ्चल प्रदेश गएका छन् । बाजिलेकका मीनादेवी थापाले स्वदेशमा रोजगारी नपाएपछि श्रीमान्सहित मजदुरीका लागि भारतको सिमला जान लागेको सुनाइन् । 'हाल सिमलामा स्याउ टिप्ने काम पाइने भएकाले त्यहाँ जान लागेका हौँ', उनको भनाइ थियो, 'भारतमा मजदुरी गरेर कमाएको पैसाले तिहार मनाउँछौँ, तिहारमा घर फर्किंन्छौँ ।' लालाबालासहित काम खोज्दै भारत जान लागेका बाजिलेककै बलबहादुर थापाले दसैँको मुखमा आफूहरू बाध्यताले विदेश जान लागेको बताए । 'पैसा नभई दसैँ चल्दैन, यहाँ मजदुरी गर्नसमेत नपाइएपछि के गर्नु ! एक महिना मजदुरी गरेर तिहार मनाउन फेरि गाउँ फर्किने सोच छ', उनले भने । गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा सुदूरपश्चिमका नाका भएर दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । कैलालीको बौनियाका कृष्ण सेरलाले विद्यालयको बिदाको समय सदुपयोग गर्न भारत जान लागेको बताए । 'बुबाआमा भारतमै रोजगारी गर्नुहुन्छ, विद्यालय बिदा भएपछि म पनि उतै जान लागेको हुँ', उनले भने । भारत सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसहरूका लागि रोजगारी प्रमुख गन्तव्य हो । रासस

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत  दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ । राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए । यसअघि मङ्गलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो ।  

सागर डिष्टिलरीको आईपीओ खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । भदौ ३० गतेदेखि बिक्री खुला गरिएको कम्पनीको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताहरुले असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ सय प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।  बैंकले २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् बैंकको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २ सय रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो । त्यसैले भदौ ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । बैंकको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा र नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् ।  यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन, कोरला नाकासम्म पुग्ने इभीलाई राहत

काठमाडौं । जोमसोम-कोरला राजमार्ग सडक अन्तर्गत उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । चार्जिङ स्टेसनको बुधबार लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले शुभारम्भ गरे ।  अध्यक्ष विष्टले पछिल्लो चार्जिङ स्टेसन सञ्चालनमा आएपछि उपल्लो मुस्ताङ र कोरला नाकासम्म पुग्ने विद्युतीय सवारीसाधनका लागि ठूलो सहयोग मिलेको बताए ।  जोमसोमदेखि माथिल्लो क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन नहुँदा कोरलासम्म जाने यात्रुले जोमसोममै विद्युतीय सवारी छाडेर जानुपर्ने अवस्था थियो । चार्जिङ स्टेसन ओमडा एण्ड जेको नेपाल कम्पनीले सञ्चालनमा ल्याएको हो । उक्त कम्पनीका प्राविधिक कृष्ण पोखरेलले चराङमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी क्षमताको प्रसारण लाइन नभएकाले तत्कालका लागि सामान्य चार्जिङ स्टेसन स्थापना गरिएको बताए ।  स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफलपछि चार्जिङ स्टेसन स्थापना गरिएको पोखरेलले बताए । चार्जिङ स्टेसन स्थापनाले स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै वातावरणमा पनि सहयोग पुग्ने उनको विश्वास छ ।

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारेका छन् । एमालेका केन्द्रीय विभागको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए । महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख गरे । सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहिदप्रति उनले श्रद्धाञ्जली अर्पण गरे ।  एमालेले असोज ३ गते संविधान दिवस मनाउने तयारीका लागि पार्टीको विभागीय बैठक राखेको थियो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आगामी असोज ३ गते संविधान दिवस भव्यता पूर्वक मनाउने जानकारी दिए । महासचिव पोखरेलले परिपत्र गर्दै संविधान दिवस भव्यताका साथ मनाउन प्रदेश कमिटी र जिल्ला कमिटी अध्यक्षलाई निर्देशन दिइसकेका छन् । 

२६.३१ प्रतिशत लाभांश बाँड्ने नबिलको घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले ८ करोड १० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १.३१ प्रतिशतका दरले ४२ लाख ६३ हजार १५७ रुपैयाँ नगद गरी कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न असोज २४ गते बिहान ११ बजे काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन स्वीकृत गर्ने र आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।  यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको पुनर्नियुक्ति लगायत सञ्चालक समितिमा भएका परिवर्तनलाई अनुमोदन गर्नेछ ।