विकासन्युज

बीमा कम्पनीहरूमा २२ अर्ब २५ करोड रुपैयाँभन्दा बढी बीमा दाबी, ओरिएन्टलमा मात्रै ५ अर्ब २२ करोड

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिमा २२ अर्ब २५ करोड रुपैयाँभन्दा बढी बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज ५ गतेसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको २ हजार ४७८ वटा परेको परेको हो । आन्दोलनको कारण सबैभन्दा बढी दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा २२ करोड ९८ लाख रुपैयाँको ७३ वटा दाबी परेको छ । दोस्रो धेरै दाबी पर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीमा ५ अर्ब ८ करोड २८ लाख रुपैयाँको २७९ वटा दाबी परेको छ । त्यस्तै तेस्रोमा आइजीआई प्रुडेन्सियलमा २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको १७० वटा दाबीप रेको छ ।   शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको) मा १ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १  अर्ब १५ करोड ६२ लाख रुपैयाँको दाबी परेको छ ।  त्यस्तै, नेको इन्स्योरेन्समा १ अर्ब ११ करोड ८३ लाख, सानिमा जिआईसी इन्स्योरेन्समा ८१ करोड ७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ५१ करोड ३४ लाख, नेपाल इन्स्योरेन्समा ४७ करोड ९ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्समा ४५ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ४० करोड ९९ लाख रुपैयाँ, प्रभु इन्स्योरन्समा २० करोड ३६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा ६ करोड ८४ लाख रुपैयाँको दाबी परेको छ ।  लघु निर्जीवन बीमा कम्पनीहरूमा प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख, स्टार माइक्रोमा ७२ लाख, ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोमा ४१ करोड रुपैयाँको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

दशैंमा पनि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा दशैं बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ ।   दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।     अदालतको सूचनामा भनिएको छ, 'न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'  

गण्डकीका ४६१ कैदीबन्दी अझै फरार

पोखरा । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकीका विभिन्न कारागारबाट भागेका १ हजार १९५ कैदीबन्दीमध्ये आइतबारसम्ममा  ७३४ कैदीबन्दी कारागार फर्किएका छन् ।  ४६१ कैदीबन्दी अझै फरार अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।  उनका अनुसार कारागार कार्यालय, कास्कीबाट भागेका ७७३ कैदीबन्दीमध्ये ३८१, तनहुँ कारागारबाट भागेका ३२७ मध्ये २७६, म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ६७ जना र पर्वत कारागारबाट भागेका १९ मध्ये १० जना कैदीबन्दी कारागार फर्किएका हुन् ।  कास्की कारागारबाट भागेका ३९२, तनहुँ कारागारका ५१, म्याग्दी र पवर्त कारागारका नौ/नौ जना अझै पक्राउ पर्न नसकेको सूचना अधिकारी कार्कीले बताए ।  कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको उनको भनाइ छ ।  भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।  जेनजी आन्दोलनका क्रममा चारवटै कारागारमा रहेका कुल १ हजार २ ८१ कैदीबन्दीमध्ये १ हजार १९५ जना भागेका थिए ।  प्रदेशका अन्य केही कारागार कार्यालयबाट पनि कैदीबन्दी भाग्न खोजेपनि कडा सुरक्षा व्यवस्थाका कारण उनीहरू भाग्न सकेका थिएनन् ।   जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए ।  उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए । यस्तै कास्कीको सराङकोटमा रहेको बाल सुधारगृहबाट भागेका एक सय छ जना बाल बन्दीमध्ये ४६ जना सुधारगृहमा फर्किएको जनाइएको छ ।  कारागार र प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई आफै कारागार फर्कन सुरुदेखि नै आग्रह गरेका छन् ।  टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी वा थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोध गरिएको सूचना अधिकारी बस्नेतले बताए ।  कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर उनीहरूलाई फर्काउने योजना बनाएको छ ।

काठमाडौंमा सुरु भयो दोस्रो पक्कु फेस्टिवल

काठमाडौं । प्रेसिडेन्ट बिजनेस ग्रुपद्वारा आयोजित दोस्रो पक्कु फेस्टिवल २०८२ सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । सोमबार ९ः४५ बजे नवरात्रको प्रथम दिन नौ कन्याहरूबाट पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा विशेष महत्वसहित नव कन्याहरूलाई भोजन र टीका लगाई कन्याहरूका हातबाट कार्यक्रम शुभारम्भ गरिएको अध्यक्ष टिआर भण्डारी (शंकर) ले जानकारी दिए । वि.सं. २०६३ सालमा सुन्धाराबाट सुरु भएको प्रेसिडेन्टको व्यवसायिक यात्राले हाल १९ वर्ष पार गरिसकेको छ हाल प्रेसिडेन्ट होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट र प्रेसिडेन्ट बेकरीसहित मुलुकका १६ स्थानबाट सेवा दिइरहेको समूहले वि.सं. २०६८ सालदेखि ‘प्रेसिडेन्ट बिजनेस ग्रुप’ नाममा ब्रान्डिङ गर्दै आएको छ । गत वर्ष आयोजित पहिलो पक्कु फेस्टिवल–२०८१ को सफलतापछि यस पटक दोस्रो पटक यो फेस्टिवल आयोजना गरिएको हो । प्रेसिडेन्ट सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट, महाराजगञ्जमा आयोजना भएको यस फेस्टिवलमा दशैंसँग सम्बन्धित स्थानीय हस्तकला, सांस्कृतिक बाजा, परम्परागत परिकार र पक्कु खानाको प्रदर्शनी हुने जनाइएको छ ।  फेस्टिवलले विशेषगरी नयाँ पुस्तालाई संस्कृति, रहनसहन, खानपान र परम्परासँग जोड्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। साथै, शहरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै गाउँ टाढिएका मानिसलाई पर्वको माहोल दिने उद्देश्य पनि रहेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले भने, ‘आर्थिक व्यापारभन्दा बढी यो फेस्टिवलले मनोरञ्जन, परम्परा र हाम्रो मौलिकताको जगेर्नामा जोड दिनेछ ।’  

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

काठमाडौं । सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । 'सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छ', राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ । आरटिजिएस ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।  

साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् ।   जबकी गत आवको दुई महिनाको अवधिमा भने एक खर्ब २२ अर्ब ३२ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात र निर्यात दूवैमा वुद्धि भएको जानकारी दिए । ‘गत आवको दुई महिनाको तुलनामा चालु आवमा २४ अर्ब ३२ करोड बढी सामान भित्रिएका छन्,’ उनले भने, 'आयात मात्रै होइन् राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ ।' वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ ।  गत आवको दुई महिनामा ६ अर्ब पाँच करोड मूल्यको सामान विदेशीमूलक निर्यात भएको थियो । तर, चालु आवको दुई महिनामा यो नाका हुँदै रु १७ अर्ब तीन करोड मूल्य बराबरको सामान निर्यात भएको छ । गत आवको दुई महिनाको तुलनामा चालु आवमा १० अर्ब ९८ करोड बढीको सामान निर्यात भएको देखिन्छ ।  

१७ वर्षको यात्रापछि वारेन बफेटले चीनको बीवाईडी छाडे

काठमाडौं । वारेन बफेटको बर्कशायर हाथवे चीनको बीवाईडीबाट पूर्ण रूपमा बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । वारेन बफेटको बर्कशायर हाथवेले चिनियाँ अटोमेकर बीवाईडीबाट पूर्ण रूपमा लगानी फिर्ता लिएको फाइलिङमा देखाइएको छ ।  यससँगै १७ वर्षको लगानी अन्त्य भएको छ, जसको मूल्य यस अवधिमा २० गुणाभन्दा बढी बढेको थियो । बर्कशायरको ऊर्जा सहायक कम्पनीको फाइलिङअनुसार २०२५ मार्च अन्त्यसम्म बीवाईडीमा गरिएको लगानीको मूल्य शून्य देखाइएको छ, जुन २०२४ अन्त्यमा ४१५ मिलियन डलर थियो । बफेटको कम्पनीले सन् २००८ मा सेन्जेनमा आधारित बीवाईडीमा करिब २२५ मिलियन सेयर खरिद गर्दै २३० मिलियन डलर लगानी गरेको थियो, जसले त्यतिबेला कम्पनीमा करिब १० प्रतिशत स्वामित्व दिएको थियो  । २०२२ मा बर्कशायरले ती सेयर बेच्न सुरु गर्यो, जब बीवाईडीको सेयर मूल्य २० गुणाभन्दा बढी बढिसकेको थियो। सोमबार टिप्पणीका लागि गरिएको अनुरोधमा बर्कशायरले तत्काल प्रतिक्रिया दिएको छैन । सीएनबीसीले आइतबार बर्कशायरले आफ्नो हिस्सेदारी बिक्री पूरा गरेको समाचार पहिलो पटक दिएको थियो । बीवाईडीका ब्रान्डिङ र सार्वजनिक सम्बन्धका महाप्रबन्धक ली युनफेईले आफ्नो आधिकारिक वेइबो खातामा पोष्ट गर्दै बर्कशायरलाई ‘गत १७ वर्षमा गरेको लगानी, सहयोग र साथका लागि’ धन्यवाद दिएका छन् । उनीहरूले यस हिस्सेदारी बिक्रीलाई ‘सामान्य’ सेयर लगानीको कारोबारको रूपमा वर्णन गरेका छन् । थप टिप्पणीका लागि गरिएको अनुरोधमा बीवाईडीले तत्काल प्रतिक्रिया दिएको छैन । टेस्लाको सबैभन्दा ठूलो प्रतिस्पर्धी बीवाईडीको साढे तीन वर्षपछि पहिलो पटक त्रैमासिक नाफा घटेको छ, किनकि मूल्ययुद्धविरुद्धको सरकारी अभियानबीच यसको विस्तारमा अवरोध आएको छ । बीवाईडीको घरेलु बिक्री, जसले यसको विश्वव्यापी आपूर्तिको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ, अगस्त महिनामा लगातार चौथो पटक घटेको छ ।  रोयटर्सका अनुसार कम्पनीले वार्षिक बिक्री लक्ष्य १६ प्रतिशतसम्म घटाएर ४.६ मिलियन गाडी बनाएको छ । विशेषज्ञहरूका अनुसार बर्कशायरले लामो समयपछि नाफा काट्ने रणनीति अपनाएको र चीनको बजारमा बढ्दो प्रतिस्पर्धा तथा राजनीतिक जोखिमलाई ध्यानमा राखी सेयर बिक्री गरेको अनुमान गरिएको छ । चीन–अमेरिका सम्बन्धमा चिसोपन बढ्दै जाँदा विदेशी लगानीकर्ताहरू सतर्क देखिएका छन् । बीवाईडी हाल विश्वकै ठूलो विद्युतीय गाडी उत्पादक कम्पनीमध्ये एक बनेको छ र टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धामा छ । तर हालको मूल्यांकन उच्च भइसकेको र भविष्यमा मुनाफा घट्नसक्ने सम्भावनाले बर्कशायरले लगानी फिर्ता गरेको हुनसक्ने विश्लेषण गरिएको छ । बर्कशायर हाथवे विश्वकै सबैभन्दा सफल लगानी कम्पनीमध्ये एक मानिन्छ। प्रारम्भमा कपडा उद्योगका रूपमा स्थापना भएको यो कम्पनीलाई बफेटले सन् १९६५ मा नियन्त्रण लिएर लगानी होल्डिङ कम्पनीमा रूपान्तरण गरेका थिए । हाल बर्कशायर हाथवेले बीमा, रेल्वे, ऊर्जा र उपभोक्ता उत्पादन क्षेत्रमा ठूलो लगानी गरेको छ । यसका पूर्ण स्वामित्वका कम्पनीहरूमा गाइको, बीएनएसएफ रेल्वे , डेरी क्विन र ड्युरासेल जस्ता प्रसिद्ध ब्रान्डहरू छन् ।  साथै एप्पल, कोका–कोला, अमेरिकन एक्सप्रेस र बैंक अफ अमेरिका जस्ता बहुराष्ट्रिय कम्पनीमा यसको ठूला हिस्सेदारी रहेको छ । संसारकै सबैभन्दा महँगो सेयरको रूपमा चिनिने बर्कशायर हाथवेका क्लास–ए सेयरको मूल्य लाखौं अमेरिकी डलरसम्म पुग्छ । दीर्घकालीन लगानी रणनीतिका लागि चिनिने वारेन बफेटलाई ‘ओराकल अफ ओमाहा’ नामले समेत पुकारिन्छ । हुवावेको एटलस ९५० : एनभीडीयालाई हल्लाउने ‘एआई बम’ !  

सुन प्रतितोला दुई लाख १७ हजार ८०० पुग्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा सोमबार सात सय रुपैयाँ बढेको हो । त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।