काँकरभिट्टाबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात
भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ १० करोड ६१ लाख २८ हजार रुपैयाँ अर्थात् तीन दशमलव ६० प्रतिशतले घटेको छ । यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व शून्य दशमलव ५० प्रतिशत अर्थात् ६४ लाख तीन हजार रुपैयाँले बढेको उनले बताए । कार्यालयको तथ्याङ्कअनुसार गत साउन भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु एक अर्ब ४२ करोड ७२ लाख मूल्य बराबरको १६ हजार ३५२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी ८४ करोड ४२ लाख रुपैयाँ मूल्य बराबरको नौ हजार चार किलोलिटर डिजेल आयात भएको छ । यसैगरी ४० करोड ४९ लाख मूल्यबराबरको चार हजार २३३ मेट्रिक टन एलपी ग्यास, १३ करोड २८ लाख मूल्य बराबरको एक हजार ४८८ किलोलिटर एटिएफ र दुई करोड २२ लाख रुपैयाँ मूल्यबराबरको दुई सय ४८ किलोलिटर मट्टितेल आयात भएको छ ।
ललितपुर-मकवानपुर-सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन
ललितपुर । चाडपर्वमा हुने भीडभाडलाई लक्षित गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ हुँदै मकवानपुर-सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको आवागमनसम्बन्धी विशेष व्यवस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले असोज ७ देखि असोज २१ गतेसम्म (कोजागत पूर्णिमा) सवारी सञ्चालनका लागि समयसीमा तोक्दै आवागमनलाई सहज बनाउन व्यवस्था मिलाएको हो । उक्त अवधिमा ३० टनभार वहन क्षमता र अधिकतम १० चक्के सवारीसाधनमात्र बेलुका ९ः०० बजेसम्म तोकिएका प्रवेश तथा प्रस्थान बिन्दुमा पुगिसक्नुपर्ने प्रावधान गरिएको छ । प्रशासनका अनुसार मकवानपुर जिल्लाबाट ललितपुर प्रवेश विन्दु बगुवा (बागमती गाउँपालिका–२) र ललितपुर जिल्लाबाट प्रस्थान विन्दु टीकाभैरव (गोदावरी नगरपालिका–६) तोकिएको छ । साथै मनसुन वर्षा अझै सक्रिय रहने भएकाले पहिरो तथा अन्य जोखिम कायम रहेको भन्दै प्रशासनले यात्री र चालकलाई सतर्कतासाथ यात्रा गर्न आग्रह गरेको छ । सुरक्षाकर्मीले दिने निर्देशनानुसार मात्र सवारी सञ्चालन गर्न, लेन अनुशासन पालना गर्न र सम्भावित जोखिमलाई ध्यानमा राख्न विशेष अनुरोध गरिएको छ ।
आधा दर्जन कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?
काठमाडौं । विभिन्न ६ कम्पनीले लाभांश घोषणा गरेका छन् । शिवम होल्डिङ्ग्स, सनलाइफ क्यापिटल, नेशनल फण्ड म्यानेजमेन्ट, नबिल स्टक डिलर, हिमालयन ब्रोक्रेज र सुन्धारा सेक्युरिटिजले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । शिवम होल्डिङ्ग्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते बिहान ११ बजे काठमाडौंमा चौथो वार्षिक साधारण सभा डाकेको छ । सनलाइफ क्यापिटलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ९ प्रतिशतका दरले २ करोड १४ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २९ गते बिहान ९ बजे काठमाडौंमा चौथो वार्षिक साधारण सभा डाकेको छ । नेशनल फण्ड म्यानेजमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ८१ करोड रुपैयाँको ४ प्रतिशतका दरले ३ करोड २४ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले १७ लाख ५ हजार रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज ३० गते बेलुका ५ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभाले २० प्रतिशत आईपीओ जारी गर्ने, ५० रुपैयाँ अंकित मूल्यलाई १ सय रुपैयाँ कायम गर्ने लगायत प्रस्ताव पारित गर्नेछ । नबिल स्टक डिलरले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते बिहान ११ बजे काठमाडौंमा चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । हिमालयन ब्रोक्रेज कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २९ गते दिउँसो ३ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले हकप्रद सेयर निष्काशन र मर्जर प्रस्ताव पनि पारित गर्नेछ । सुन्धारा सेक्युरिटिजले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २९ गते बेलुका साढे ५ बजे काठमाडौंमा १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा कटौती
काठमाडौं । सरकारले राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा कटौती गरेको छ । सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनर्उत्थानका र राहत समेतका लागि विकास आयोजनाको प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता गर्न यस्तो निर्णय गरेको अर्थमन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा कटौती गरिएको हो । यस्तै, अर्थ मन्त्रालयका अनुसार सरकार, प्रदेश, स्थानीय तह, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाइएको छ । सरकारको प्रतिनिधित्व सम्बन्धित निकायबाट हुनसक्ने अवस्था भएमा सम्बन्धित नियोगलाई नै अख्तियारी दिइनेछ । सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहेनछन् । यस्तै, मन्त्रालय अन्तर्गत पुँजीगत खर्चमा विनियोजित रकम मध्ये मन्त्रालयगत बजेट सूचना प्रणालीमा नयाँ प्रविष्टि भएका, पुर्व तयारी नभएका र दोहोरो प्रविष्टि भएका कम महत्वका स-साना आयोजना कार्यक्रमहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २१ बमोजिम रोक्का राख्ने निर्णय गरेको छ । विभिन्न मन्त्रालय अन्तर्गत रहेका बजेट शीर्षकमा बजेट विनियोजन भए तापनि उद्देश्यभन्दा बाहिरका र कम महत्वका क्षेत्रमा रहेको बजेट विनियोजन, भैपरी वा अन्य शीर्षकमा एकमुष्ट बजेट राखी आयोजनाहरू पहिचान नभएको हुँदा उपयोगिता नदेखिएको बजेट, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने प्रकृतिका स-साना खुद्रे टुक्रे आयोजना समेतमा विभिन्न मन्त्रालयमा भएको विनियोजनलाई रोक्का राख्ने भएको छ ।
२ महिनामा ७ अर्ब बढीका सवारी साधन भित्रिए, साढे ४ अर्ब रुपैयाँ राजस्व सङ्कलन
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख रुपैयाँ बराबरका सवारीसाधन तथा पार्ट पुर्जा आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट १ अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्ट पुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवको उक्त अवधिमा ५ अर्ब २५ करोड रुपैयाँ का सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए । कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको २ महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए । ‘गत आवको २ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ,’ उनले भने । गत आवको २ महिनामा सवारीसाधनको आयातबाट ४ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालु आवको २ महिनामा सवारीसाधनको आयातबाट ६ अर्ब १३ करोड ९२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आवको २ महिनामा ४३ करोड ५२ लाख रुपैयाँका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा ५१ करोड ६२ लाख रुपैयाँका २९५ वटा जीप, कार र भ्यान आयात भएको थियो । चालु आवको २ महिनामा २ अर्ब ७९ करोड रुपैयाँका २० हजार ६२० थान अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा १ अर्ब ८५ करोड रुपैयाँका १४ हजार ७६६ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको २ महिनामा ६६ करोड ४३ लाख रुपैयाँका ३१८ वटा अन्य बस ट्रकका चेसिस आयात भएको कार्यालयको भनाइ छ ।
साझा यातायातको दशैंमा काठमाडौं-नारायणगढ-काठमाडौं बस सेवा सञ्चालन
काठमाडौं । साझा यातायातले दशैंमा काठमाडौं-नारायणगढ-काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंमा यात्रुहरूको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र चितवनबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो । काठमाडौं-नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ मात्रै तोकिएको साझा यातायातले जनाएको छ । साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरू नारायणगढ प्रस्थान गर्ने छन् । कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ । त्यसपछि क्रमशः ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् । नारायणगढ पुगेपछि बसहरू यात्रुहरू लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् । साझाका अनुसार सिटमा बाहेक उभिएर वा मुडामा बसेर यात्रा गर्न पाइने छैन ।
कामना सेवा र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन, कतिमा हुनेछ कारोबार ?
काठमाडौं । कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ८ गते एक दिनका लागि बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कामना सेवा विकास बैंकको १० प्रतिशत र यूनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन गरेको हो । समायोजनपश्चात कामनाको सेयर मूल्य ४७७.७३ रुपैयाँ र यूनिभर्सल पावरको ३८०.२८ रुपैयाँ कायम भएको छ । यहि मूल्यमा नै सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो दिन अर्थात मंगलबार कामनाको सेयर मूल्य प्रतिकित्ता ५२५.५० रुपैयाँ र यूनिभर्सलको ४१४.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७८ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले असोज २४ गते काठमाडौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा डाकेको छ । यस्तै, यूनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान १० बजे ललितपुरमा वार्षिक साधारण सभा बोलाएको छ ।
मञ्जुश्री फाइनान्सको १५ प्रतिशत लाभांश घोषणा, यस्तो छ लाभांश इतिहास
काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव विकास राज शाक्यले जानकारी दिए । यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ६.३५ प्रतिशत, आव २०७९/८० मा ५.२६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा ४६ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा २३.५ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ११.५५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा २.९ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ६.०३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आव २०७२/७३ मा १४.७४ प्रतिशत, आव २०७१/७२ मा १२ प्रतिशत, आव २०७०/७१ मा ७.५ प्रतिशत, आव २०६८/६९ मा ८ प्रतिशत र आव २०६७/६८ मा १२.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।