विकासन्युज

चीनको गुइझोउमा विश्वको सबैभन्दा अग्लो पुल यातायातका लागि खुल्यो

काठमाडौं । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा आइतबार बिहान विश्वको सबैभन्दा अग्लो पुल ट्राफिकका लागि खुलेको छ । जसले तीन वर्षको निर्माणपछि गहिरो घाटी पार गर्ने यात्रा समय दुई घण्टाबाट घटाएर केवल दुई मिनेटमा ल्याएको छ ।  गुइझोउको पहाडी भूभागमा बेइपान नदीभन्दा ६२५ मिटर माथि रहेको हुआजियाङ ग्रान्ड क्यान्यन पुल सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिजभन्दा लगभग नौ गुणा अग्लो छ । गुइझोउ प्रान्तीय अधिकारीहरूका अनुसार १ हजार ४ सय २० मिटरको मुख्य स्प्यानको छ । यो परियोजना पहाडी भूभागमा विश्वको सबैभन्दा लामो स्प्यान स्टील ट्रस गर्डर सस्पेन्सन ब्रिज बनेको छ ।  पृथ्वीको दरार भनेर चिनिने हुआजियाङ ग्रान्ड क्यान्यनमा फैलिएको २ हजार ८ सय ९० मिटर लामो संरचना विश्वको दोस्रो ठूलो अर्थतन्त्रको द्रुत गतिमा विस्तार भइरहेको पूर्वाधार नेटवर्कमा पछिल्लो थप हो । बेइपान नदीमाथि फैलिएको पहिलेको विश्वको सबैभन्दा अग्लो पुल हुआजियाङ ग्रान्ड क्यान्यन पुलबाट १ सय किलोमिटरभन्दा केही टाढा अवस्थित छ । २०१६ मा खोलिएको अघिल्लो रेकर्ड होल्डरमा पुलको डेकबाट तल नदीको सतहसम्म ५६५.४ मिटरको ठाडो क्लियरेन्स छ ।  वर्षौंको दौडान, चीनको सबैभन्दा कम विकसित प्रान्तहरू मध्ये एक गुइझोउले आफ्नो पहाडी भूभागमा ३० हजार ००० भन्दा बढी पुलहरू निर्माण गरेको छ । जसमा विश्वका तीनवटा अग्ला पुलहरू पनि समावेश छन् । यो प्रान्त विश्वका १०० अग्ला पुलहरू मध्ये लगभग आधाको घर हो ।  

अविरल वर्षा र पहिरोले ६ ठाउँमा राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न ६ ठाउँमा सोमबार पनि राजमार्ग बन्द रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका छ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए ।  उनका अनुसार अहिले बिहान ९ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाएँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका-३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको उनले बताए । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ ।  रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल-चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । आज रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपािलका-७ एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ बाह्रकिलोमा सोमबार खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।  प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार परिोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा ल्याइएको छ ।  

अनियमिततामा मुछिँदा प्रमुख र लेखापाल मन्त्रालयमा तानिए, छानबिन पनि थालियो

काठमाडौं । अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् । सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ ।  कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ । कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका कार्य हुन्छन् ।  कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो । त्यसपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।  मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा सङ्लग्न कार्यालय प्रमुख, लेखापाल एवम् अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छ ।  छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन र अनुसन्धान गर्ने, कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यदेश दिइएको छ ।   

नख्खु कारागारबाट फरार ६५१ कैदीबन्दी फर्कन बाँकी

ललितपुर । गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा नख्खु कारागार, ललितपुरमा भएको तोडफोड, आक्रमण र आगजनीका कारण एक हजार २८० जना कैदीबन्दी भागेका थिए ।  फरार कैदीमध्येमा हालसम्म पाँच सय ८७ जना स्वेच्छाले कारागारमा फर्किएका छन् भने केही देशका विभिन्न कारागारमा पुनःस्थापित भएका छन् । अझै ६५१ जना फरार कैदी नख्खु कारागार प्रशासनले सूचनामार्फत फर्कन आह्वान गरे पनि फर्किएका छैनन् । कारागार व्यवस्थापन विभागले फरार रहेका सबै कैदीबन्दीलाई स्वेच्छाले फर्कनका लागि असोज २० गते सोमबारसम्मको समय दिएको छ । तोकिएको समयसीमाभित्र नफर्किए कारागार ऐन, २०७९ अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने कारागार व्यवस्थापन विभागले जनाएको छ ।  विभागले फरार कैदीलाई खोजी गर्न तथा फिर्ता ल्याउन सहयोग पुर्‍याउन कैदीबन्दीका परिवारजन, स्थानीय तह, सुरक्षा निकाय, सञ्चार माध्यम र अन्य सरोकारवाला निकायसँग सहकार्यका लागि आग्रह गरेको छ । फरार कैदीहरूले तोकिएको म्यादभित्र आफैंँ नजिकको प्रहरी कार्यालय, कारागार वा सम्बन्धित निकायमा सम्पर्क गरेर आत्मसमर्पण गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।    

दसैँमा बैंकका कुन-कुन शाखा खुल्छन् ? (सूचीसहित)

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडा दसैँको रौनकता छाइरहेको छ । घरको आँगनमै दसैँ आइपुगिसकेको छ । घटस्थापनादेखि दसैँको रौनक सुरु भएदेखि विभिन्न स्थानमा विभिन्न काम विशेषले रहेका मान्छे आ-आफ्नो घरतर्फ लागिरहेका छन् । यसपटक दसैँमा असोज १३ गते (फूलपती)देखि असोज १८ गतेसम्म सार्वजनिक बिदा रहेको छ । नेपाल राष्ट्र बैंकले पनि सार्वजनिक बिदाको सूची २०८२ अनुसार दसैँ अवधिमा घटस्थापना (असोज २ गते) र फूलपाती (असोज १३ गते)देखि निरन्तर असोज १८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूका लागि बिदा रहने जनाएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले दसैँ अवधिमा पनि सीमित शाखा तथा काउण्टर खुला राखेर ग्राहकलाई वित्तीय सेवा प्रदान गर्ने भएका छन् । नेपाल बैंक  नेपाल बैंकले दसैँमा कोशी प्रदेशका मेची भन्सार यात्रु शाखा काउण्टर, मुख्य काउण्टर खुला र कृष्णनगर भन्सार काउण्टर खुला राख्ने जनाएको छ । उक्त काउण्टर बिहान ६ बजेदेखि राती १० बजेसम्म खुला रहने बैंकले जनाएको छ ।  बैंकका अनुसार बागमती प्रदेशको काठमाडौं बैंकिङ अफिस न्युरोडको विदेशी मुद्रा सटही काउण्टर खुला रहनेछ । बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले असोज १३ गतेदेखि असोज १८ गतेसम्म ७ वटा ठाउँका शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकका अनुसार सुख्खा बन्दरगाह विराटनगर, मुख्य शाखा कार्यालय, वसन्तपुर काठमाडौं, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भैरहवा, सुख्खा बन्दरगाह भैरहवा, धनगढी र इटहरी शाखा खुला रहने छन् । बिहान १० बजेदेखि २ बजेसम्म कारोबार समय रहेको बैंकले जनाएको छ । दसैँको दिनमा भने सबै शाखा बन्द रहने बैंकले जनाएको छ ।  नबिल बैंक  नबिल बैंकले दसैँ अवधिभर ३१ वटा शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकले कोशी प्रदेशमा ७ वटा, मधेश प्रदेशमा २ वटा, बागमती प्रदेशमा १५ वटा, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ वटा, कर्णाली र सुदूरपश्चिममा १/१ वटा शाखा तालिका अनुसार खुला रहनेछन् ।  खुला रहने शाखाले बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिने बैंकले जनाएको छ । दसैँ होलिडे काउण्टरमार्फत १० लाख रुपैयाँसम्म रकम जम्मा गर्न र २ लाख रुपैयाँसम्म रकम निकाल्न सक्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले दसैँ अवधिमा उपत्यकाभित्र २१ वटा र उपत्यका बाहिर २५ वटा शाखा तथा काउन्टर खुला रहने जनाएको छ । बैंकका अनुसार असोज १३ गते २६ वटा, असोज १४ गते १२ वटा, असोज १५ गते ६ वटा, असोज १६ गते १ र असोज १७ गते २३ वटा शाखा खुला रहने छन् । शाखा कार्यालय खुला रहने समय भने फरक फरक तोकेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकले दसैँ अवधिमा खुला रहने शाखाको सूची सार्वजनिक गरेको छ । बैंकका अनुसार असोज १३ गते नयाँ बानेश्वर, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी शाखा खुला रहेनछन् ।  यस्तै, असोज १४ गते नयाँ बानेश्वर, विराटनगर, पोखरा शाखा, असोज १५ गते नक्साल र धरान शाखा, असोज १७ गते न्युरोड काठमाडौं र विराटनगर शाखा खुला रहनेछन् । दसैँमा खुला रहने शाखाले बिहान १० बजेदेखि १ बजेसम्म वित्तीय सेवा दिने बैंकले जनाएको छ । हिमालयन बैंक  हिमालयन बैंकले असोज १३ गते ९ वटा, असोज १४ गते ७ वटा, असोज १५ गते ७ वटा, असोज १७ गते ६ वटा शाखा खुला राख्ने जनाएको छ । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रवाह हुनेछ ।  बैंकका अनुसार २६५ दिन खुल्ने हिटी दरबार, पाटन र न्युरोड शाखा असोज १३ गतेदेखि असोज १८ गतेसम्म नियमित बिदाको काउण्टर खुल्ने समयमा बन्द रहनेछन् । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकले दसैँ अवधिमा १४ वटा शाखा कार्यालय खुला राख्ने भएको छ । खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा लिन सकिने बैंकले जनाएको छ । ​​​​​​​ एभरेष्ट बैंक एभरेष्ट बैंकले दसैँमा बागमती प्रदेशको न्युरोड र पुल्चोक शाखा खुला रहने जनाएको छ । उक्त शाखाबाट ग्राहकहरूले नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप, विदेशी मुद्रा विनिमय सुविधा (उपलब्धताको आधारमा) लिन सक्ने बैंकले जनाएको छ । शाखा कार्यालय बिहान १० बजेदेखि अपरान्ह १:३० बजेसम्म खुल्नेछन् ।  बैंकका अनुसार वीरगंज भन्सार कार्यालय, आईसीडी तथा आईसीपी र नेपालगन्ज भन्सार कार्यालय, भन्सार कार्यालयको तालिका अनुसार संचालनमा रहने छन् । राजस्व काउन्टरहरु माथि उल्लेखित समयमा सरकारको निर्णय अनुसार खोलिने छन् ।  एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले दसैँमा १६ वटा शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, बिर्तामोड, दमक, मधेश प्रदेशका वीरगञ्ज र जनकपुर, बागमती प्रदेशका भक्तपुर, पुल्चोक, कमलादी, न्युरोड (खिचापोखरी), थानकोट, नारायणगढ शाखा, गण्डकी प्रदेशका महेन्द्रपुल पोखरा, लुम्बिनीमा बुटवल र नेपालगञ्ज, कर्णालीमा सुर्खेत र सुदूरपश्चिममा धनगढी चौराहा शाखा खुला रहेनछन् । खुला रहने शाखाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र न्युरोड खिचापोखरी शाखा २ बजेदेखि ५ बजेसम्म सेवा दिने छन् ।  माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले दसैँमा विभिन्न शाखा कार्यालय खुला राख्ने जनाएको छ । असोज १३ गते १० वटा, असोज १४ गते ११ वटा, असोज १५ गते ८ वटा र असोज १७ गते ७ वटा शाखा खुला रहने बैंकले जनाएको छ । शाखा कार्यालय बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् ।  कुमारी बैंक कुमारी बैंकले दशैँमा विभिन्न शाखा कार्यालय खुला राख्ने जनाएको छ । बैंकका अनुसार असोज १३ गते १४ वटा, असोज १४ गते १५ वटा, असोज १५ गते ११ वटा र असोज १७ गते १२ वटा शाखा खुला रहने बैंकले जनाएको छ । शाखा कार्यालयबाट बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा लिन सकिनेछ । लक्ष्मी सनराइज बैंक  लक्ष्मी सनराइज बैंकले दसैँमा खुल्ने शाखाबाट कार्यालय बिहान १० बजेदेखि २ बजेसम्म सेवा प्रवाह हुने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशमा असोज १३ गते इटहरी, तिनपैनी, बिर्तामोड शाखा, असोज १४ गते विराटनगर (पुष्पलाल चोक), दमक, इनरुवा, असोज १५ गते विराटनगर (हनुमान दास रोड), धरान, काँकडभिट्टा र असोज १७ गते विराटनगर (हनुमान दास रोड) शाखा खुला रहने छन् ।  यस्तै, बागमती प्रदेश (उपत्यका भित्र) असोज १३ गते हात्तीसार, गैह्रीधारा, भक्तपुर (सुकुलढोका), पुल्चोक सामाखुशी, कालिमाटी असोज १४ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, सुकेधारा, टेकु, लगनखेल पाटन अस्पताल, भक्तपुर (सल्लाघारी), असोज १५ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, तिनकुने, पेप्सीकोला, असोज १७ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, मुलपानी (पिपलबोट), खुसिबु हात्तीसार र असोज १८ गते हात्तिसार र गैह्रीधारा शाखा खुला रहेनछन् । बागमती प्रदेश (उपत्यका बाहिर) भने नारायणघाट (लायन्स चोक) शाखा खुला रहेनछ । मधेश प्रदेशमा जनकपुर (वजरङ्ग चोक), वीरगंज (आदर्शनगर) जनकपुर (भानु चोक) वीरगंज (लिङ्ग रोड), गण्डकी प्रदेशमा पोखरा चिप्लेढुङ्गा) बाग्लुङ, पोखरा औद्योगिक क्षेत्र, दमौली पोखरा (न्यूरोड), रजहर, पोखरा (अमरसिंह), वालिङशाखा खुला रहेनछन् । कर्णाली प्रदेशमा विरेन्द्रनगर (यरि चोक), विरेन्द्रनगर (विरेन्द्रनगर चोक) छिञ्चु र श्रीनगर शाखा खुला हुनेछन् । सुदुरपश्चिम प्रदेशमा धनगढी (शहिदगेट), धनगढी (लक्ष्मी नारायण चोक), महेन्द्रनगर र लुम्बिनी प्रदेश नेपालगंज (कारकाँदो चोक), भैरहवा घोराही, बुटवल (मिलन चोक) शाखा खुला हुनेछन् । बैंकका अनुसार एटिएम कार्ड तथा अन्य डिजिटल बैंकिङ्ग सम्बन्धी सहायताका लागि चौविसै घण्टा उपलब्ध हुनेछन् ।  सिद्धार्थ बैंक  सिद्धार्थ बैंकले दसैँ अवधिभर २७ वटा शाखा खुला रहने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, नाम्चे, इटहरी, धरान, बिर्तामोड, दमक शाखा, मधेश प्रदेशका वीरगंज, जनकपुर शाखा खुल्नेछन् ।  यस्तै, बागमति प्रदेशका हात्तिसार, कुमारीपाटि, सूर्यविनायक, गंगबु, बौद्ध, स्वयम्भू, न्युरोड, तिनकुने नारायणघाट, हेटौडा शाखा, गण्डकी प्रदेशको पोखरा (सभागृह चोक), लुम्बिनी प्रदेशको नेपालगञ्ज, तुलसीपुर, बुटवल शाखा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चि प्रदेशको धनगढी, अत्तरिया, टिकापुर, महेन्द्रनगर शाखा खुला हुनेछन् । बैंकका शाखाबाट बिहान १० बजेदेखि १ बजेसम्म सेवा लिन सकिनेछ ।  कृषि विकास बैंक कृषि विकास बैंकले दसैँ अवधिमा बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिने छ । बैंकका अनुसार फुलपातीका दिन २२ वटा शाखा, महाअस्टमीका दिन २६ वटा शाखा र एकादशीका दिन २० वटा शाखा खुला हुनेछन् । नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ हाउसको नियम बमोजिम बैंकका आरटीजीएस, ईसीसी र राष्ट्र ऋण भुक्तानी लगायतका सेवाहरु सञ्चालन हुने बैंकले जनाएको छ ।  ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिनेछ । बैंकका अनुसार असोज १३ गते ५७ वटा शाखा, असोज १४ गते २४ वटा, असोज १५ गते १६ वटा, असोज १६ गते ३ वटा, असोज १७ गते २५ वटा र असोज १८ गते १८ वटा शाखा खुला रहनेछन् । सिटिजन्स बैंक सिटिजन्स बैंकले असोज १३ गते १५ वटा, असोज १४ गते १६ वटा, असोज १५ गते १० वटा, असोज १७ गते ७ वटा र असोज १८ गते ५ वटा शाखा खुला रहेनछन् । दसैँ अवधिमा खुला रहने शाखाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । प्राइम बैंक प्राइम बैंकले असोज १३ गते १४ वटा, असोज १४ गते १२ वटा, असोज १५ गते १० वटा, असोज १७ गते ११ वटा शाखा खुला रहने छन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । एनएमबि बैंक एनएमबि बैंकले असोज १३ गते ११ वटा, असोज १४ गते ४ वटा, असोज १५ गते ८ वटा, असोज १७ गते ९ वटा शाखा खुला रहनेछन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । नेपाल राष्ट्र बैंकको सूचना बमोजिम दसैँको बिदाको दिन बबरमहलस्थित सेन्ट्रल ट्रेड अप्रेसन बिहान १० बजेदेखि १ बजेसम्म खुला रहेनछ ।  प्रभु बैंक  प्रभु बैंकले दसैँको समयमा बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिनेछ । काठमाण्डौ उपत्यका भित्र मुख्य शाखा, बबरमहल, कमलादी, ललितपुर (जावलाखेल) र भक्तपुर शाखा खुला हुनेछन् । यस्तै, उपत्यका बाहिर बिराटनगर (गोल्छाचोक) इटहरी, बिरगंज (आदर्शनगर), जनकपूर, नारायणगढ, हेटौडा, कावासोती, बागलुङ, दमौली, गोरखा पोखरा (रत्नचोक), नेपालगञ्ज, भैरहवा र धनगढी शाखा खुला हुनेछन् ।   सानिमा बैंक  सानिमा बैंकले असोज १३ गते २६ वटा, असोज १४ गते २४ वटा, असोज १५ गते २४ वटा, असोज १७ गते २१  वटा शाखा खुला रहने छन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् ।

मुस्ताङमा १ लाख ८ हजार विदेशी पर्यटक भित्रिए​​​​​​​

काठमाडौं । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा १ लाख ८ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा यहाँ १ लाख २ हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।  गत वर्षको तुलनामा ५.३२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल १ लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यो अनुपात कायम राख्न सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा थप २७ हजार ३३ जना अर्थात् १९.९१ प्रतिशत विदेशी पर्यटक वृद्धि हुनुपर्छ । तर, यस यामको अनुकूल पर्यटक ‘सिजन’मा प्रतिकूल मौसम र युवाहरुको जेनजी आन्दोलनको उत्पन्न परिस्थितिका कारण कम विदेशी पर्यटक आएका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले बताए । उनका अनुसार सन् २०२४ को सप्टेम्बरमा ११ हजार ७८५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत यहाँका पृथक भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमिन्दर, माने छोर्तेन, पुराना मानव निर्मित गुम्बा र यहाँको मनोरम हिमशृङ्खला अवलोकन गर्न विदेशी पर्यटक भित्रिने गरेका छन् । उपल्लो मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताल लगायतका पर्यटकीय गन्तव्यहरु यहाँका महत्वपूर्ण पर्यटकीय सम्पदाहरु रहेको एक्यापले उल्लेख गरेको छ ।

आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याउने गरिन्छ ।  नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद अर्थात् सहायक हुन्,’ उनले भने । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यकता नपर्ने पनि प्रा डा भट्टराईले जानकारी दिए । हनुमानढोका दरबारको दसैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौँबाट गएका ६ जना ब्राम्हणले ल्याउने परम्परा छ ।  जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्ड बाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँ घरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकोमा गणतन्त्र स्थापनापछि संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । यस वर्षको फूलपाती सोमबार अपरान्ह साँढे चार बजे भित्र्याइने कार्यक्रम छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरूको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ गरिँदै, राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने

काठमाडौं । नेपाली सेनाले  सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ ।  संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति छन् । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह-२०८२’ लेखिएको ब्यानर प्रदर्शन र  पुष्पवृष्टि गरिने छ ।  फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँ घरमा साइत जुराएर भित्रयायसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।  समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीलगायत विशिष्ट व्यक्ति सहभागी हुने छन् । बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।