तुईन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा साेमबार पुनः सुक्खा पहिरो खसेको छ । अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार पहिरो निरन्तर झरिरहेको छ । उनका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ । अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उनको भनाइ छ । गत हप्ता पनि पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो ।
निर्जीवन बीमा व्यवसायमा सम्पतिको हिस्सा धेरै, कुन क्षेत्रको हिस्सा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (भदौ) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ४ लाख ९० हजार ३०७ बीमालेख जारी गरेर उक्त रकम बराबरको बीमा शुल्क संकलन गरेका हुन् । बीमा कम्पनीहरूले संकलन गरेको कुल व्यवसायमा सम्पति बीमाको हिस्सा सबैभन्दा धेरै रहेको छ । दुई महिनामा बीमा कम्पनीहरूले सम्पति बीमामार्फत २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पति बीमाको हिस्सा ३०.३२ प्रतिशत रहेको छ । विगतमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै हुँदै आएको थियो । पछिल्लो केही समययता भने दोस्रो धेरै व्यापार गर्ने क्षेत्रमा मोटर बीमा रहेको छ । तथ्यांकअनुसार कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा २७.८१ प्रतिशत रहेको छ । कम्पनीहरूले दुई महिनाको अवधिमा मोटर बीमामार्फत कुल २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । भदौसम्ममा कम्पनीहरूले इन्जिनियरिङ र ठेक्कातर्फ १ अर्ब ९ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा १३.२२ प्रतिशत हो । यसैगरी कुल निर्जीवन बीमा व्यवसायमा विविधको हिस्सा १२ प्रतिशत रहेको छ । विविधतर्फ कम्पनीहरूले ९९ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यस्तै बीमा कम्पनीहरूले सामुन्द्रिकतर्फ ५३ करोड ९ लाख रुपैयाँ, हवाईतर्फ ३५ करोड २९ लाख रुपैयाँ, कृषितर्फ ३२ करोड ४२ लाख रुपैयाँ र लघुतर्फ १६ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमाको कुल व्यवसायमा सामुद्रिकको ६.४० प्रतिशत, हवाईको ४.२६ प्रतिशत, पशुपन्छी तथा कृषिको ३.९६ प्रतिशत र लघुको २.०२ प्रतिशत हिस्सा रहेको छ ।
पूर्वराजा ज्ञानेन्द्रले दसैँको शुभकामना दिदैं भने - युवापुस्ताको देशभक्ति र नवीन सोचले मात्र राष्ट्र बलियो हुन्छ
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले एक सन्देशमार्फत उनले आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रुपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराएका छन् । पूर्वराजा शाहले पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको उल्लेख गरेका छन् । युवा पुस्ता भविष्यका आधारस्तम्भ भएको र उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने उनको भनाइ छ ।
निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बडा दसैंका पावन अवसरमा सोमबार जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी हुन् । साथै उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताएकी छन् । प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउनुहुने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरेकी छन् । यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।
फागुन २१ मै चुनाव निर्वाचन सम्पन्न गर्न राष्ट्रपति पौडेलको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमता र सहयोग गर्न अपिल गरेका छन् । बडादशैं–२०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, 'तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गर्दछु । यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछु ।' गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । प्रतिनिधि सभाबाट अर्को सरकार गठनको अवस्था नबनेपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । नयाँ निर्वाचन आगामी फागुन २१ गते तोकिएको छ । यस सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने आवश्यकता औंल्याउँदै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । मुलुकमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति र सरकारी तथा निजी क्षेत्रमा परेको भौतिक क्षतिलाई उपयुक्त व्यवस्थापन गर्न सबै पक्षको सहकार्य अपरिहार्य भएको पनि उनले बताएका छन् । दसैँ पर्वको संरक्षण र सम्बर्द्धनले राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेम जागृत हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले बडादशैं–२०८२ सबै नेपालीमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा भर्ने शुभकामना व्यक्त गरेका छन् ।
दशैंको शुभकामना दिदैं देउवा भन्छन् - जेनजी आन्दोलन इतिहासकै अकल्पनिय र दु:खद
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम् परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेका छन् । सोमबार बडादसैँ २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गरे । सन्देशमा भनिएको छ, 'नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो, हामीमा निहीत बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ, विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो, हरेक बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति,व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउंदै आएको छ ।' उनले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद् क्षणमा ती वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सभापति देउवाले भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपाराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयलगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर, डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै सबै निजी तथा सार्वजनिक संरचनाको तोडफोड, आगजनी र लुटपाटबाट खबौँको क्षति भएको र यो नेपालको इतिहासमा अत्यन्त अल्कपनीय र दुःखद घटना भएको सन्देशमा उल्लेख गरेका छन् । संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने सभापति देउवाले सन्देशमा स्पष्ट पारेका छन् । उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित भएको बताए । सन्देशमा भनिएको छ ,'नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ, यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।' उनले दसैँ अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको बताए । सभापति देउवाले बडादसैँ २०८२ को अवसरमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
चाडपर्वमा पनि तलब नपाएको ५०० भन्दा बढी गुनासो, छानबिन गर्ने मन्त्री पुनको घोषणा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैं, तिहार र छठ जस्ता चाडपर्वमा समेत शिक्षक र कर्मचारीले तलब नपाएको गुनासो आएको भन्दै छानबिन गर्ने बताएका छन् । मन्त्री पुनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ५०० भन्दा बढी गुनासो आफूलाई फोन र इमेलबाट प्राप्त भएको जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै गुनासो मधेश प्रदेशबाट आएको छ । उनले लेखेका छन्, 'तलब पाइएन भनेर मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ। वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडपर्वको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाइ तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन र इमेलबाट आयो । शिक्षा मन्त्रालयले सबै पालिकालाई पैसा पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु ।' मन्त्री पुनले पालिकाबाट देखिएको ढिलासुस्ती र गैरजिम्मेवारीकै कारण शिक्षाकर्मी प्रभावित भएको भन्दै तत्काल छानबिन प्रक्रिया अघि बढाइने बताएका छन् ।
क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा बीमा क्षेत्रको सामाजिक उत्तरदायित्वको रकम खर्च गर्ने
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणमा बीमा क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले आइतबार बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० दोस्रो संशोधन गर्दै उक्त निर्देशन जारी गरेको छ । बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ ले दिएको अधिकार प्रयोग गरी सञ्चालक समितिले सो निर्देशन जारी गरेको हो । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० को दफा ४५ को उपदफा (२) को खण्ड (घ) पछि देहायको खण्ड (ङ) थप गरिएको छ प्राधिकरणले जनाएको छ । जसमा प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जन प्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा दाखिला हुने गरी गरिएको खर्च गरिने उल्लेख छ ।