विकासन्युज

भारत-चीन सम्बन्ध सामान्य बन्दै, ५ वर्षपछि प्रत्यक्ष उडान गर्दै

काठमाडौं । भारत र चीनबीच ५ वर्षदेखि रोकिएको प्रत्यक्ष उडान सेवा फेरि सुरु हुने भएको छ । दुई देशबीच लामो समयदेखि चिसिएको सम्बन्ध विस्तारै सहज हुँदै जाँदा दुवै देशले पुनः प्रत्यक्ष हवाई सम्पर्क बहाल गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले बिहीबार जानकारी दिएका हुन् । सन् २०२० मा कोभिड-१९ महामारी सुरु भएपछि दुवै मुलुकबीचको प्रत्यक्ष उडान स्थगित गरिएको थियो । त्यसपछि पनि बेइजिङ र नयाँदिल्लीबीच सीमा विवादका कारण सम्बन्धमा तनाव रहँदा उडान सेवा निरन्तर निलम्बित रह्यो । चीनका लागि भारतीय दूतावासले सामाजिक सञ्जाल वीच्याटमा प्रकाशित एक विज्ञप्तिमा तोकिएका केही प्रमुख सहरहरूबीचको प्रत्यक्ष उडान अक्टोबर महिनाको अन्त्यसम्ममा पुनः सुरु हुने उल्लेख गरेको छ । तर यो निर्णय कमर्सियल विमान सेवाहरू अर्थात् एयरलाइनहरूको अन्तिम सहमति र तयारीमा आधारित हुने जनाइएको छ । दूतावासले यसलाई भारत सरकारले अवलम्बन गरेको ‘भारत-चीन सम्बन्धलाई क्रमिक रूपमा सामान्यीकरण गर्ने नीति’ अन्तर्गतको महत्त्वपूर्ण कदम भएको पनि स्पष्ट गरेको छ । यसबीच, भारतको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी इन्डिगोले बिहीबार घोषणा गर्दै अक्टोबर २६ देखि भारतको कोलकाता र चीनको ग्वान्झाउबीच प्रत्यक्ष उडान सेवा पुनः सञ्चालन गर्ने बताएको छ । यो विकास हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सात वर्षपछि चीन भ्रमणसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । प्रधानमन्त्री मोदीले गत महिना एक क्षेत्रीय सुरक्षा सम्मेलनमा सहभागी हुन चीनको यात्रा गर्नुभएको थियो, जसलाई दुई देशले आपसी सम्बन्धलाई पुनः सहज बनाउने प्रयासका रूपमा हेरिएको छ । स्मरणीय छ, सन् २०२० मा भारत-चीन सीमा क्षेत्रमा हिमाली क्षेत्रमा भएको झडपपछि दुवै देशबीचको सम्बन्धमा गम्भीर गिरावट आएको थियो । त्यस घटनामा चार जना चिनियाँ सैनिक र २० जना भारतीय सैनिकको ज्यान गएको थियो, जुन दशकमै भएको सबैभन्दा भीषण हिंसात्मक झडप मानिएको थियो । त्यसपछिका वर्षहरूमा उच्चस्तरीय राजनीतिक सम्पर्क र सहकार्यमा ठप्प अवस्था देखिएको थियो ।

पहिरो खसेपछि नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुंगा सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड र मुग्लिन-नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ ।  नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको हो । वर्षा नरोकिएका कारण पहिरो पन्छाउने कार्य सुरु गरिएको छैन ।

४० मेगावाट क्षमताको ​​​​​​​राहुघाट आयोजना ९० प्रतिशत सम्पन्न

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेक्काको सम्झौताको तेस्रो पटक थपिएको म्याद सन् २०२५ नोभेम्बर २७ सम्म छ ।  सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको आयोजनाको विद्युतगृहमा उपकरण जडान थालिएको रघुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले बताए । ठेकेदारले दसैँको समयमा पनि ५०० जना भन्दा बढी मजदुर परिचालन गरेर निर्माणलाई निरन्तरता दिएको उनले बताए । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो र सन् २०२२ फेब्रुअरीमा दोस्रो पटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो । कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो । विसं २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युतगृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ । कार्ययोजनाअनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माणसम्पन्न हुने आयोजना व्यवस्थापक बिष्ट बताए । रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झीँ को फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशत सकिएको छ । भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ । 

आज ४ प्रदेशका यी नदीमा बहाव बढ्न सुरु हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ ।  विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए ।  ‘शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदी नालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ,’ उनले भने ।  उनका अनुसार आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ । आइतबार रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिए । उल्लिखित पूर्वानुमानअनुसार बाढी र डुबान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता आवश्यक रहेको उनको भनाइ छ । 

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मुलुकको अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको तथा पहिरो र बाढीको उच्च जोखिम रहने जनाएको छ । सडक विभागले विशेषगरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बीपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी-स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानहरूमा रातिको समयमा (बेलुकी ८ देखि बिहान ५ बजेसम्म) यात्रा नगर्न विभागले आग्रह गरेको छ  । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले प्रभावित क्षेत्रका अवरुद्ध सडक खण्डहरूमा आवश्यक उपकरण परिचालन गरी तत्कालै मर्मत तथा पहिरो हटाउने कार्य अघि बढाइने जानकारी दिए ।  विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागले सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्पूर्ण सडक प्रयोगकर्तालाई सतर्क रहन अनुरोध गरेको छ ।

देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह

काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ ।  प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले हिमपातको सम्भावना रहेकाले पदयात्रीहरूलाई सो आग्रह गरेको हो ।  विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत क्षेत्रमा पदयात्रामा नजानका लागि सार्वजनिक सूचनामार्फत सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।  उनले भने, ‘उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । त्यसैले जीउज्यानको सुरक्षालाई ध्यान दिएर ‘ट्रेकिङ’का लागि पदयात्रा क्षेत्रका कुनै पनि स्थानमा ननिस्कन भनेर आग्रह गरेका हौँ ।’ दसैँको बिदाका कारणले विगतका वर्षहरूमा यहाँका पदयात्रा क्षेत्रमा पदयात्रीहरूको भीड लाग्ने गरेको थियो । यस वर्ष प्रशासनले भारी वर्षा तथा हिमपातको पूर्वानुमानसहित पदयात्रामा नजान अनुरोध गरेपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ । दसैँ र तिहारको बिदामा पदमार्गहरूका होटल तथा रेष्टुराँ पर्यटकहरूले भरिभराउ हुने गरेका थिए । यसैगरी प्रशासनले वर्षाका कारण बाढीपहिरो, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन तथा घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी एकाइ, सुरक्षा निकायमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । 

काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ देखिनै काठमाडौंका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ । सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै  चोभार, बल्खु, बालाजु, माछापोखरी र वनस्थली लगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस इलाकाका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धार आवश्यक परेमा १११४ मा तत्काल फोन गर्न समेत आग्रह गरेको हो । यसैबीच, सशस्त्र प्रहरीले सम्भावित जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यका लागि देशभरका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी अवस्थामा राखेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको सहप्रवक्ता थापाले जानकारी दिए ।  विपद्को अवस्थालाई मध्यजनर राख्दै सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्सलगायत उपकरण तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । विपद् पूर्वतयारी र प्रतिकार्यबारे गृहमन्त्रीको चासो  यसैबीच, आजै गृहमन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बलको उपत्यकास्थित इकाईको विपद् प्रतिकार्य पूर्वतयारी एवं परिचालनसम्बन्धी जानकारी लिए । सो अवसरमा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यका स्थित युनिटका कमाण्डरहरुले विपद पूर्वतयारीबारे गृहमन्त्रीलाई जानकारी गराएको सहप्रवक्ता थापाले जानकारी दिए ।