विकासन्युज

ग्रामीण अस्पतालमै सम्भव भयो जटिल प्रसूति, आमा र शिशु सुरक्षित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसास्सिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशुको सफल प्रसूति गराइएको छ । मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सुत्केरी बेथा सुरु भएको सात घण्टापछि शुक्रबार बिहान १०ः३० मा मालिका गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा आएका थिए । ती किशोरी पहिलोपटक आमा बनेकी हुन् । अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक यमन नेपालीका अनुसार पहिलोपटक सुत्केरी भएकी किशोरीको ३७ हप्ता एक दिनको गर्भमा शिशु उल्टो अवस्थामा थियो । आमाको उमेर कम र गर्भ उल्टो भएकाले आमा र शिशुको जीवन जोखिममा रहेको थियो । गर्भ उल्टो हुँदा शिशु जन्मँदा टाउको अड्किएको र जन्मिँदा निसास्सिएर शरीर नीलो भएको थियो । 'शिशु उल्टो भएको र पूरै घर खुुलिसकेको रिफर गर्दा थप समस्या हुने देखेर जोखिम मोलेरै भए पनि सुत्केरी गराउन ढिलाइ गर्न नहुुने निर्णय लियौँ', उनले भने, 'निसास्सिएर शरीर नीलो, मुटुको घड्कनको गति १०० भन्दा कम, स्वासप्रस्वासको दर न्यून भएको र शरीर पनि नचल्ने अवस्थामा जन्मिएको शिशुलाई करिब दुई घण्टाको प्रयासमा सामान्य अवस्थामा फर्कायौँ ।' जनस्वास्थ्य निरीक्षक नेपाली र सिनियर अनमी दीपा परियारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला र बेनी अस्पतालका चिकित्सकहरूको परामर्श तथा निर्देशनमा प्रसूति गराएका हुन् । 'जटिल अवस्थामा जन्मिएको शिशुलाई डा बास्तोलाको अनलाइन परामर्शको आधारमा हरसम्भव उपचार प्रयास गरियो', नेपालीले भने, 'ब्याग एण्ड मास्क’को सहायताले करिब १२र१३ पटक हावा दिएपछि शिशुको ओठ पनि गुलाबी हुँदै रुन थालेपछि खुसीको सीमा रहेन ।' स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका अनुसार गर्भमा उल्टो भएका र निसास्सिएर जन्मिएका शिशुलाई बचाउन कठिन हुन्छ । वीरलै मात्र नवजात शिशुलाई बचाउन सकिन्छ । सहरका सुविधा सम्पन्न अस्पतालमा यस्तो अवस्था शल्यक्रियामार्फत प्रसूति गराइन्छ । ग्रामीण क्षेत्रमा रहेको दरवाङ अस्पतालका स्वास्थ्यकर्मीहरूले सीमित स्रोत र साधनका बाबजुत जटिल किसिमको प्रसूति सेवा दिएका हुन् । शिशुको तौल दुई किलोग्राम ५०० ग्राम छ । हाल आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । थप निगरानी तथा व्यवस्थापनको लागि बेनीमा रहेको प्रदेश अस्पतालमार्फत पोखरा पठाइएको जनस्वास्थ्य निरीक्षक नेपालीले बताए । रासस  

बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’

काभ्रेपलाञ्चोक । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल,  काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको  छ ।  यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।  यसैबीच, पहिरोका कारण बिहानदेखि  अवरुद्ध अरनिको राजमार्ग एकतर्फी  सञ्चालन भएको छ । धुलिखेल–खावाखण्डअन्तर्गत तिरतिरे धारामा पहिरो खसेकाले राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ । 

२ दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

काठमाडौं । मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण गाउँपालिका-४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए ।  ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ को भूगोलमा पर्छ । दसैँको बिदा सुरु भएपछि पदमार्ग र आधार शिविरमा घुमघामका लागि दैनिक १०० जनाको हाराहारीमा पर्यटकहरू जाने गरेका थिए । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सार्वजनिक सूचना जारी गरेर वर्षा नरोकिँदासम्म पुनहिल, घोडेपानी, मोहरेडाँडा, गुर्जा, ढोरपाटन, धौलागिरि चक्रीय पदमार्गलगायत पर्यटकीयस्थलको भ्रमणमा नजान अनुरोध गरेको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आगामी सोमबारसम्म साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू-भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै म्याग्दीमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए । 

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन ३ दिन बन्द

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरेको छ । बढ्दो वर्षा र बाढी, पहिरोको प्रकोपलाई ध्यानमा राखेर काठमाडौं भित्रिने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको प्राधिकरणले जनाएको छ ।  ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधन नचलाउन भनिएको छ । साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारी साधन आवतजावत बन्द गर्न तथा गराउन एवं सो को निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन निर्देशन गरिएको छ ।     

प्रतिकूल मौसमका कारण आन्तरिक उडान बन्द

काठमाडौं । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तर्फका उडानहरू स्थगन गरिएका छन् । खराब मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए ।  उनले भने, ‘मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिक तर्फ भने अहिले उडान स्थगन गरिएको छ ।’ अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडान तर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौंसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।

नाकाहरूमा प्रहरीको माइकिङ, जोखिम छ, उच्च सतर्कता अपनाउनुहोला

काठमाडौं । देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सबै सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन माइकिङ सहित आग्रह गर्न थालेको छ । ३ दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाएको र विभिन्न नाकाहरूमा माइकिङ गर्ने कार्य भइरहेको जनाइएको छ । वर्षात्का बेला सडक चिप्लो हुने, दृश्यता कम हुने र पहिरो तथा बाढीको जोखिमसमेत उच्च हुने भएकाले चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह सहित माइकिङ गर्न थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी बताए ।  उनले भने, ‘हालैको मौसम पूर्वानुमान अनुसार ३ दिनसम्म मनसुन सक्रिय रहने देखिएकाले यस्तो समय सवारी सञ्चालनमा जोखिम रहन्छ । त्यसैले चालकहरूलाई सचेत गराउनका लागि उपत्यकाका प्रमुख नाका तथा व्यस्त स्थानहरूमा माइकिङ सुरु गरेका छौँ ।’ विशेषगरी उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुङ्गा, साँगा, थानकोट, बालाजु, सातदोबाटो लगायतका स्थानहरूमा ट्राफिक प्रहरी परिचालित गरी गए रातिदेखि चालकहरूलाई मौखिक सूचना, माइकिङ गर्न थालिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।  नागढुङ्गाबाट बाहिरिने लामो दूरीका सवारी चालकहरूलाई राति र पानी परेको समयमा एक्लै यात्रा नगर्न, सकेसम्म समूहमा यात्रा गर्न र नियमित रूपमा सवारी साधनको प्राविधिक परीक्षण (ब्रेक, टायर, लाइट आदि) गराउन समेत आग्रहसहित माइकिङ गरिएको उनको भनाइ छ ।  उनले भने, ‘विशेषगरी पहाडी तथा पहिरोको जोखिम भएका मार्गहरू जसमा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्गलगायत पर्छन्, त्यहाँ जोखिम अझ बढी हुन्छ । त्यसैले त्यस्ता क्षेत्रतर्फ जाँदा झनै सतर्क रहनु आवश्यक छ ।’ वर्षातका समयमा पहिरो, सडक कटान र सडकमा ढल्किने पानीका कारण सडक अवरुद्ध हुने, सवारी साधन बिग्रने वा दुर्घटना हुने सम्भावना बढी हुने भएकाले ट्राफिक प्रहरीले विगत वर्षहरूमा देखिएका समस्याबाट पाठ सिक्दै यसपालि सुरुआतदेखि नै सतर्कता अपनाएको जनाएको छ । ट्राफिक प्रहरीले हाल देशभरका मुख्य सडक र राजमार्गहरूमा नियमित गस्ती, ट्राफिक पोस्टमार्फत सूचनाको आदानप्रदान तथा विपद्को स्थिति आउँदा तत्काल सूचना प्रवाह र उद्धार कार्यका लागि तयारी अवस्थामा ट्राफिक टोलीलाई राखेको जनाइएको छ । सडक प्रयोगकर्ताहरूसम्म यथासमय सूचना पुगोस् भनेर ट्राफिक प्रहरीले सामाजिक सञ्जालहरू, जस्तै फेसबुक, ट्विटर (एक्स) र विभागीय वेबसाइटमार्फत मौसम अपडेट, सडक स्थिति, तथा आकस्मिक सडक बन्द सम्बन्धी जानकारीहरू प्रकाशित गर्दै आइरहेको छ । देशभरका सडकहरूमा बढ्दो ट्राफिक चाप, अपायक मौसम, र कमजोर भौतिक पूर्वाधारका कारण दुर्घटनाको जोखिम स्वाभाविक रूपमा बढ्ने भएकाले यस्तो समयमा सवारी चालक, यात्री तथा सरोकारवालाबीच आपसी समन्वय र सचेतना अत्यावश्यक हुने उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।  उनले भने, ‘सावधानी अपनाऔँ, दुर्घटनाबाट बचौँ' भन्ने नारालाई व्यवहारमा उतार्दै सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्ने आवश्यकता आजको दिनमा झनै बलियो रूपमा महसुस गरिएको छ । सोही अनुसार ट्राफिक प्रहरी सक्रिय रूपमा सडकमा खटिएको छ ।’

उपत्यकासहित देशभर वर्षा, पछिल्लो एक घण्टामा कुन ठाउँ कति वर्षा भयो ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ । बिहानदेखि भने वर्षा बढ्न थालेको छ । लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौंमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ । पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिन भर कायस्थले जानकारी दिए । उनका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । रातिमा अझ धेरै वर्षा हुने जनाइएको छ । हाल विशेष गरी बागमती प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ ।

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुङ्गा सडक खण्ड एकतर्फी सञ्चालन

काठमाडौं । पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन-नागढुङ्गा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।  धादिङ बेनिघाट रोराङ-१० जवाङ खोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना-५ तुइन खोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।  पहिरो पन्छाइने र सवारी साधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानी पूर्वक यात्रा गर्न उनले आग्रह गरे । पानी परिरहेको र ढुङ्गा-माटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ ।