बालेनले भने– सिंहदरबार जलाएको आरोप झुटो हो, देशलाई साँचो कुराको खाँचो छ
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबार जलाएको आरोपको खण्डन गरेका छन् । सिंहदरबार जलाउने बालेन शाह हो भन्ने प्रश्न र आरोप लागिरहेका बेला उनले उक्त आरोप झुटो भएको बताए । ‘सत्य बुझौँ, अफबाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवता प्रधान समाज बनाऔँ,’ उनले भने, ‘अन्त्यमा देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको हैन ।’ साथै, सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो ? तीन दिनसम्म जलेको हेरेर बस्यो भन्ने आरोपको समेत उनले खण्डन गरेका छन् । ‘हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन । तर पनि हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुस्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु,’ उनले लेखेका छन्, ‘गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला । त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो, एक हिसाबले भनौं त्यो बेला राज्य नै ठप्प थियो ।’ उनका अनुसार त्यो दिन देशमा सरकार त थिएन तर स्थानीय सरकार काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन । यस्तो छ बालेलको स्पष्टीकरण “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?” “तीन दिनसम्म जलेको हेरेर बस्यो?” “सिंहदरबार जलाउने नै बालेन शाह हो!” यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्। हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवस्यक जो सुकैले सुचनाको हकको आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि। तर पनि, हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुस्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु। गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौ त्यो बेला “राज्य” नै ठप्प थियो।त्यो दिन देशमा सरकार त थिएन तर स्थानिय सरकार काठमान्डौ महानगर आफ्नो दायित्वबाट पछाडी हटेको थिएन । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र , न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौ मान्छे समेत हिडडुल गर्न सक्ने अवस्था थिएन ,तरपनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरुको उपचार, कुरुवा र बिरामीको लागि खाना,लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन,रगत व्यवस्थापन, औसधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरुको तथ्याङ्क संकलन,जलेका गाडीहरुको व्यवस्थापन ,फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकाय हरु संगको समन्वयमा व्यस्त थियो। जिउज्यानको जोखिम मोल्दै फिल्ड मा खटिनुहुने सम्पूर्ण प्रति सम्मान ब्यक्त गर्दछु। सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो। हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन। काठमान्डौ महानगरको न्युरोडमा २ वटा, बालाजु मा २ वटा र रामहिटी मा १ वटा गरि जम्मा जम्मा ५ वटा दमकल संचालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरि जम्मा ४४ जनाको टिम ले ३ शिफ्ट मा काम गर्नुहुन्छ , १ शिफ्ट मा १ दमकल मा बढीमा ३ जना मात्र जनशक्ति मार्फत दमकल संचालन गरिएको छ। २३ गते केहि स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो ।महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। अब कुरा गरौ दमकल को ५/२३ गते दिउसो १:३० देखि ५ बजे सम्म संसद भवन अगाडी आगो लागिरहेको एम्बुलेन्स मा न्युरोड र रामहिटी दमकल ले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकल ले सुन्धारा र शान्तिनगर बिजुली को पोल मा आगो निभाइरहेको थियो, २४ गते बिहानै देखि कुनै पनि दमकल संचालन मा आउन सकेको थिएन , २४ गते राति ८ बजे देखि १ बजे सम्म बिशाल बजार जनसेवा प्रहरी वृत , हिमालयन बैंक र रास्ट्रीय बाणिज्य बैंक बानेश्वोर मा मा न्युरोड दमकल ले तथा नयाँ बसपार्क मा बालाजु र रामहिटी दमकल ले आगो निभाई रहेको थियो। २४ गते नै राति ८:१५ देखि ९:४५ सम्म, २४ गते को राति २५ गते बिहान १:४५ देखि ३:०० बजे सम्म, २६ गते दिउसो ३:३० देखि ६:५० सम्म र सोहि दिन साझ ५ बजे देखि ६ बजे सम्म सिंहदरबार मा आगो निभाइरहेका थिए।२५ गते दिउसो १२:२० देखि १:३० सम्म संसद भवन, २५ गते नै दिउसो ३:३० देखि ४:३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय, डिल्लीबजार कारागार लगायत का स्थानमा, २६ गते बिहान ९:२५ देखि १०:१५ सम्म, २७ गते बिहान ८:०० देखि ९:१५ सम्म, सोहि दिन साझ ४ बजे देखि ६ बजे सम्म सर्बोच्च अदालत परिसर मा आगो निभाएको त्यहाको महत्वपूर्ण कागजहरु बचाएको प्रमाण हामी सङ सुरक्षित नै छ । त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गते देखि २८ गते सम्म हाम्रो दमकल माथि उल्लेखित र काठमान्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय,बबरमहल जिल्ला अदालत,चुच्चे पाटि भाटभटेनी, जिल्ला प्रसासन कार्यालय, यातायात व्यवस्था बिभाग, शहरी बिकास बिभाग, ग्राण्डि अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एन सेल डाटा सेन्टर, बालाजु प्रहरी वृत, स्वयम्भु प्रहरी वृत, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वोर घर मा, चाक्सीबारी घर मा, बालुवाटार भाट भटेनी गोदाम मा, रानीपोखरी प्रहरी, कोटेश्वोर भाटभटेनी, गुणस्तर बिभाग भाटभटेनी नक्साल मन्दिर पछाडी फर्निचर, सडक बिभाग लगायतका स्थान मा ५५ पटक भन्दा धेरै हाम्रो दमकल पुगेको छ।जसको बिस्तृत विवरण यहि राखेको छु। संगसंगै हिल्टन होटल, बनबासा होटल लगायत बाट सेना समेत को सहकार्य मा उद्धार कार्य गरिएको थियो। अब कुरा गरौ स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र सहिदहरुको लास व्यवस्थापन को ,संघिय सरकार ले घोषणा गर्नुपूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताल लाइ निशुल्क उपचारको लागि समन्वय,अस्पतालको लागि आवस्यक औसधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन , बिरामी तथा बिरामी कुरुवाहरुको लागि निशुल्क खाजा/खाना, अन्य आवस्यक लजिस्टिक,सुत्नको लागि म्याट लगायत अन्य सामाग्रीको व्यवस्थापन मा महानगरको सचिवालय,नगरप्रहरी, स्वास्थ्यकर्मी लगायत को टिम रात दिन खटिएको थियो।उपचारको लागि अभिभाबक नभएका सम्पूर्ण बिरामीहरुको अभिभाबक हाम्रो टिम बनेको थियो एति सम्म कि, अपरेसन गर्दा Informed Consent Formमा समेत हाम्रो नगरप्रहरी ले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ।लास व्यवस्थापन को लागि परिवार लाइ आउने जाने, खाने बस्ने व्यवस्थापन पनि महानगर ले गरेको थियो , येतिसम्मकि नेपालि सेना लगायत अन्यको सहकार्यमा लासलाइ घर सम्मै पुर्याउने व्यवस्था समेत गरेका थियौ। अन्त्यमा, प्रिय आमा बुवा,दाजु भाइ, दिदि बहिनि, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरु सङ सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउछ। मिडियाका मित्रहरूमा विशेष अनुरोध ; कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्। हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौ ,मलाई यसको कुनै जस चाइएको छैन कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाइ त सम्मानजनक दृष्टिले हेर्नुहोस । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालिन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं। सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ। अन्त्यमा देशलाई एकता र साचो कुराको खाचो छ हल्ला र झुटको हैन ।।
जेनजी आन्दोलनका मृतकका परिवारको जाहेरी आयोगमा
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जेनजी आन्दोलनका मृतकका परिवारको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ मा पठाएको छ । मृतकका परिवारमध्ये ४/५ जनाले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप पक्रिया अघि बढाउने अध्यक्ष गौरी बहादुर कार्कीले जानकारी दिए । गृह मन्त्रालयले यही असोज ९ गते विज्ञप्ति जारी गरी आन्दोलनको अवधिमा भएका घटनाका सम्बन्धमा आयोगले छानबिन गर्ने जनाएको थियो । आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न उक्त आयोग गठन भएको थियो । आयोगले यही असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ ।
बालेन शाह र सुदन गुरुङविरुद्धको जाहेरी प्रहरीले बुझ्यो, दर्ता भएन
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्ध दिएको किटानी जाहेरी प्रहरीले बुझेको छ । मेयर बालेन शाह र गुरुङलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए । अखिलका नेताहरूले दिएको जाहेरी प्रहरीले बुझेपनि दर्ता भने भएको छैन । सरकारी वकिल कार्यालयसँग कानुनी सल्लाह लिएर मात्रै दर्ता गर्ने वा नगर्ने निर्णय प्रहरीले गर्नेछ । बालेन र सुदनमाथि सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरेको, निजी सम्पत्तिमा क्षति पुर्याएको र प्रहरीहरूको हत्या गरेको आरोप लगाइएको छ ।
क्वान्टम मेकानिकल टनेलिङमा योगदानका लागि ३ वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार
स्टकहोम । जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा अग्रगामी अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका छन् । क्लार्कले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा आफ्नो अनुसन्धान गरेका हुन् भने मार्टिनिसले क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बार्बरामा र डेभरेटले येल विश्वविद्यालय र सान्ता बार्बरामा काम गरेका थिए । 'सामान्य शब्दमा भन्नुपर्दा यो मेरो जीवनको सबैभन्दा ठूलो आश्चर्य हो', क्लार्कले आफ्नो जितबारे पत्रकारहरूसँग फोनमा प्रतिक्रिया व्यक्त गरे । नोबेल समितिका अनुसार तीनै वैज्ञानिकको अनुसन्धानले ‘क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरहरूजस्ता क्वान्टम प्रविधिको अर्को पुस्ता’ विकास गर्न महत्त्वपूर्ण आधार तयार गरेको छ । नोबेल कमिटी फर फिजिक्सका अध्यक्ष ओले एरिक्सनले भने, 'शताब्दी पुरानो क्वान्टम मेकानिक्सले निरन्तर नयाँ चमत्कारहरू प्रदान गर्दै आएको छ । यो सबै डिजिटल प्रविधिको आधार भएकाले यसको योगदान असाधारण रूपमा उपयोगी छ ।' यो भौतिकशास्त्र पुरस्कार प्रदान गरिएको ११९औँ पटक हो । गत वर्ष कृत्रिम बुद्धिमत्ताका अग्रणी जोन हपफिल्ड र जेफ्री हिन्टनले मेसिन लर्निङका आधारभूत संरचनामा योगदानका लागि फिजिक्स पुरस्कार प्राप्त गरेका थिए । यसअघि सोमबार मेरी ई. ब्रन्को, फ्रेड रामस्डेल र डा. शिमोन सकागुचीले कसरी मानव शरीरको प्रतिरक्षा प्रणालीले रोगजनकहरूलाई आक्रमण गर्छ र आफैँलाई पहिचान गर्छ भन्ने खोजीका लागि चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए । नोबेल पुरस्कारको घोषणा बुधबार रसायनशास्त्र, बिहीबार साहित्य, शुक्रबार शान्ति पुरस्कारका लागि हुँदै जानेछ । अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार अक्टोबर १३ मा घोषणा गरिनेछ । पुरस्कार वितरण समारोह डिसेम्बर १० मा स्विडेनका उद्योगपति तथा पुरस्कारका संस्थापक, डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको (निधन सन् १८९६) को पुण्यतिथिमा आयोजना हुनेछ । विजेताहरूलाई एक करोड १० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) सहित प्रतिष्ठित सम्मान प्रदान गरिनेछ । रासस
दोलखामा भीषण पहिरो
काठमाडौं । दोलखामा भीषण पहिरो गएको छ । दोलखाको लामाबगर-लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । लामाबगर-लप्ची जाने बाटोमा भीषण पहिरो गएको जानकारी आएको प्रहरीले जनाएको छ । पहिरो बिहान ९ बजे गएको प्रहरीले जनाएको छ । दोलखा जिल्लाका आन्तरिक सडकहरु अवरुद्ध भएपनि अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ । पहिरोको थप विवरण आउन बाँकी छ ।
जाँचबुझ आयोगले भन्यो - अपराध अनुसन्धानका लागि प्रतिवेदन कुर्नु पर्दैन
काठमाडौं । जेनजी प्रदर्शनमा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले फौजदारी अपराधका अनुसन्धानका लागि आफ्नो प्रतिवेदन पर्खिनु नपर्ने स्पष्ट पारेको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनाबारे तत्काल अनुसन्धान अघि नबढाउन गृहमन्त्रालयले प्रहरीलाई दिएको निर्देशनप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिमा जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले अनुसन्धान तत्काल नगर्न भनिएको थियो । तर आयोगले भने उक्त निर्देशनविपरीत अपराध अनुसन्धान तत्काल सुरु गर्न सकिने जनाएको हो । आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।' आयोगले आफ्नो भूमिकालाई तथ्यसंगत छानबिन, प्रतिवेदन तयार पार्ने र सिफारिस गर्नेमा सीमित राख्दै नियमित प्रहरी अनुसन्धान र कानुनी प्रक्रिया अबिलम्ब अघि बढाउन सकिने उल्लेख गरेको छ ।
बालेन्द्र र सुदन विरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीकोमा पुग्यो अनेरास्ववियु
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीकोमा पुगेको छ । मेयर बालेन शाह र गुरुङलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन् । बालेन र सुदनमाथि सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरेको, निजी सम्पत्तिमा क्षति पुर्याएको र प्रहरीहरूको हत्या गरेको आरोप लगाइएको छ । अखिलका महासचिव दीपक धामीले जेनजी आन्दोलनलाई योजनाबद्ध राजनीतिक हिंसा भन्दै निष्पक्ष छानबिनको माग गरे । न्यायिक प्रक्रियामार्फत दोषीलाई कारबाही गर्नुपर्ने र राजनीतिका नाममा अराजक गतिविधि सह्य नहुने उनको चेतावनी छ ।
भारी उपकरणको सहयोगमा सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि मंगलबारदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ । आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको छ । हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको छ । जलेका सवारीसाधनको व्यवस्थापन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा गरिएको छ । सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले जानकारी दिए ।