विकासन्युज

सोलार प्यानलबाट चार्जिङ स्टेसन, एकैपटक १५ वटा मोबाइल फोन चार्ज गर्ने मिल्ने

काठमाडौं । तमानखोलाको गुर्जाघाटबासीले अब लेकमै पनि सोलारबाट मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । करिब २ सय अस्थायी र ५ घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका-१ र २ मा पर्ने गुर्जाघाटका स्थानीयको घरमा अहिलेसम्म बिजुली पुगेको छैन । यहाँका स्थानीय अहिले पनि धुपीको दियालोको उज्यालोको भरमा छन् । ५ सयभन्दा बढी जनसङ्ख्या रहेको यस क्षेत्रका नागरिकले मोबाइल फोन बोके पनि चार्ज गर्न भने गाउँपालिको केन्द्र आसपासको गाउँमा आउनुपर्छ । यहाँ आउनका लागि पैदल २ दिन जति लाग्छ । गाउँपालिकाका अधिकांश नागरिक पशुपालनमा आबद्ध रहेको हुँदा बर्खाको ५ महिना गुर्जाघाटमा जान्छन् । तमानखोलाका २ सयभन्दा बढी घर परिवार जेठ महिनादेखि नै घुर्जाघाट उक्लिन सुरु गर्छन् । बर्खाभरी लेक (घुर्जघाट)मा बसेर असोज/कात्तिक तिर मात्रै बेसी (गाउँ) झर्छन् । असोज लागेपछि चिसो सुरु हुने हुँदा बेसी झर्ने उनीहरुको परम्परा जस्तो बनेको छ । तर ५ घर परिवार भने स्थायी रुपमा गुर्जाघाटमा बस्छन् । गुर्जाको भेगमा मात्र २५ हजारभन्दा बढी भेडापालन हुँदै आएको छ । स्थानीयले गाईभैँसी पनि पाल्छन् । स्थानीय र गोठालालाई मात्र होइन पछिल्लो समय ढोरपाटन हुँदै त्यहाँ पुग्ने पर्यटकलाई समेत मोबाइल फोन चार्ज गर्न समस्या थियो । गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट ४ वटा सोलर प्यानल जडान गरेर एक साथ १५ वटा मोबाइल फोन चार्ज गर्ने मिल्ने व्यवस्था मिलाएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए । गाउँपालिकाले करिब २ लाख रुपैयाँ लागतमा गत साता सोलार प्यानल जडान गरेको उनको भनाइ छ । अध्यक्ष बुढा मगरले भने, ‘घुर्जाघाटमा धेरै वर्ष अगाडिदेखि तमानखोलाका नागरिकहरू बस्दै आएका छन्, खासगरी बर्खाको बर्खामा सयौँ मानिसहरू यहाँ बस्ने र परिवारसँग टाढा हुँदा टेलिफोन गर्नेका लागि समस्या थियो, विद्युत् पुर्याउन निकै गाह्रो छ, त्यसले गर्दा यस वर्ष गाउँपालिकाले मोबाइल चार्ज गर्नका लागि सोलार प्यानलबाट भए पनि चार्जिङ स्टेसन राखेका छौँ, यसबाट हाम्रा नागरिक मात्रै नभई घुम्न आउने पर्यटकलाई समेत सहज हुने अपेक्षा लिएका छौँ ।’ ढोरपाटन सिकार आरक्ष र म्याग्दीको धौलागिरि गाउँपालिकासँग सिमाना जोडिएको गुर्जाघाटमा नेपाली सेनाको क्याम्पसमेत छ । स्थानीयले कतिपय अवस्थामा सेनाको क्याम्पमा पुगेर मोबाइल फोन चार्ज गर्नुपर्ने अवस्था थियो । आफू पनि भेडापालक किसान रहेको हुँदा गुर्जाघाटमा बस्ने सञ्चारबाट टाढा हुनु परेको भन्दै सोलार प्यानलबाट मोबाइल चर्जा गर्न मिल्ने भएपछि सहज भएको गाउँपालिकाका कार्यपालिका सदस्य ढालेन्द्र छन्त्यालले बताए ।  गाउँपालिकाले गुर्जाघाटमा स्थायी रुपमा बसोबास गर्दै आएका लोकबहादुर छन्त्यालको घरमा सोलर प्यानल जडान गरेको हो । यसको रेखदेख र संरक्षणको जिम्मा समेत लोकबहादुरलाई दिइएको छ ।

देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो । बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण सङ्कलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरिने छ । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनपछि तथ्याङ्कको आधारमा किसानले गरेको योगदानको मूल्याङ्कन गरी सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ । मन्त्रालयले किसानले बाली तथा पशु धनमा बिमा गरेको भए त्यसको सहजीकरण मल, बिउ विजन, प्रविधि, प्राविधिक सीप लगायतमा सहयोग उपलब्ध गराउने तथा आवश्यकता भएको स्थानमा क्षतिपूर्ति समेत उपलब्ध गराउने जनाएको छ । विवरण प्राप्त भएपछि तथ्याङ्कका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण र कार्यान्वयन गरिने सूचना अधिकारी जोशीले जानकारी दिए । 

मनसुन क्रमशः कमजोर हुँदै, कोशी, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ । आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको दैनिक मौसम बुलेटिनमा उल्लेख छ । 

एम्बार्क अनम्याथ ग्लोबल म्याथ डिबेटको दोस्रो संस्करण हुने, हजारौं विद्यार्थीलाई जोड्दै

काठमाडौं । शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिकाउने र सिक्ने तरिकालाई नै बदल्दै आएको छ । गणितका कठिन कुराहरूलाई रचनात्मक र दैनिक जीवनसँग जोडेर सिकाउने यो संस्थाले अहिले आफ्नो सबैभन्दा नयाँ र रोमाञ्चक कार्यक्रम ग्लोबल म्याथ डिबेट लिग (जीएमडीएल) मार्फत नेपालमा पहिलो पटक गणितीय सोच र बहसलाई एकसाथ ल्याएको हो ।  यसको मुख्य उद्देश्य भनेको गणितको भाषालाई विश्वभर फैलाउनु हो । गणित शिक्षालाई नयाँ रूप दिँदै ग्लोबल म्याथ डिबेट लिगले गणितलाई विचार, तर्क र कुराकानीलाई बोल्ने र बुझाउने भाषा बनाउँछ । यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितलाई समस्या समाधानको माध्यमको रूपमा मात्र नभई आफ्ना विचार व्यक्त गर्ने र नयाँ कुरा सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गर्न चुनौती दिन्छ । एम्बार्क अनम्याथका सह-संस्थापक दिवेश बठिजाले भने, ‘ग्लोबल म्याथ डिबेट लिगले हाम्रो दृष्टिकोणलाई झल्काउँछ कि गणित भनेको अङ्क र हिसाबभन्दा धेरै माथिको कुरा हो । यो लिग एउटा खास राष्ट्रिय मञ्च हो जहाँ विद्यार्थीहरूले देखाउन सक्छन् कि गणित भनेको तार्किक सोच र समस्या समाधानको रोमाञ्चक क्षेत्र हो, जुन परम्परागत कक्षाकोठाभन्दा धेरै उन्नत र गतिशील छ ।’ गणित र सोचको लागि राष्ट्रिय मञ्च यस वर्ष, ग्लोबल म्याथ डिबेट लिगले नेपाल भरका विद्यालयबाट ५ हजार भन्दा बढी विद्यार्थीहरूलाई एक संरचित, बहु-चरणको प्रतियोगितामा जोड्दैछ । जसले बहसमार्फत गणितीय तर्कको शक्ति देखाउँछ । प्रतियोगिता तीन चरण स्क्रीनिङ  राउण्ड, क्षेत्रीय छनोट र राष्ट्रिय राउण्डमा हुनेछ । यसले सहकार्य, रचनात्मकता र आलोचनात्मक सोचको लागि मञ्च तयार गर्नेछ । यस प्रक्रियामा विद्यार्थीहरूले आफ्नो विचार शील सोच तीखो पार्छन्, सार्वजनिक स्थानमा बोल्ने क्षमता बढाउँछन् र गणितले वास्तविक जीवनका समस्याहरूमा कसरी लागू हुन्छ भन्ने कुरा गहिरो रूपमा बुझ्छन् । भविष्यको बारेमा सोचविचार गर्नेहरूलाई सशक्त बनाउँदै गणित र कुराकानीको कलालाई जोडेर, ग्लोबल म्याथ डिबेट लिगले अर्को पुस्ताका नेतृत्वकर्ताहरू तयार गर्दैछ । जसले विश्लेषणात्मक रूपमा सोच्न र प्रभावकारी रूपमा कुराकानी गर्न सक्छन् । यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक आधार बलियो बनाउनुका साथै गणितलाई रचनात्मकता, नवप्रवर्तन र नेतृत्वको माध्यमको रूपमा मनाउँछ ।  नेपालमा यस किसिमको पहिलो कार्यक्रमको रूपमा, ‘जीएमडीएल’ले युवा सोचविचार गर्नेहरू, बहस गर्नेहरू र समस्या समाधानकर्ताहरूको राष्ट्रव्यापी समुदाय सिर्जना गर्दैछ जसले गणितलाई विषय मात्र नभई जीवनको लागि एउटा सोचाइको रूपमा हेर्छन् ।  सन् २०१२ मा स्थापित उन्म्याथ स्कुल एउटा अग्रणी शैक्षिक संस्था हो जसले विद्यालयहरूमा गणित सिकाउने तरिकालाई नयाँ रूप दिइरहेको छ । एम्बार्क उन्म्याथ यसै विश्वव्यापी मिशनको विस्तार हो, जसले ग्लोबल म्याथ डिबेट लिग, म्याथ म्याराथन, र स्पेस म्याथ जस्ता कार्यक्रमहरू मार्फत सबै उमेरका विद्यार्थीहरूलाई गणितप्रति रोचक, अर्थपूर्ण र परिवर्तनकारी बनाउँछ ।

सिद्धार्थ बैंकका ग्राहकलाई इजी डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले इजी डेन्टल क्लिनिक प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका हुन् ।  बैंक र इजी डेन्टल क्लिनिकबीच ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार चाबहिल स्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उप्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सीईओहरुलाई सुवेदीले भने- बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, समयमै एडभान्स दिनु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीमकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । प्रमुख अधिकृतहरूसँग हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ । छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको दाबी छिटोभन्दा छिटो भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । सुवेदीले  बीमा दाबी भुक्तानी योग्य भएको र दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीहरूको हुने हुँदा छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएको जानकारी दिए । कार्यकारी निर्देशक सुवेदीले दाबी भुक्तानीका सम्बन्धमा बीमकहरूलाई कानूनी तथा व्यावहारिक समस्यामा भएमा प्राधिकरणले सहजीकरण गर्ने बताए । उनले भने, ‘बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्दै जानुपर्यो, बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, दाबी भुक्तानी दिएको बारेमा आम रूपमा जानकारी दिनुपर्यो, बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमै एडभान्स रकम दिनुपर्यो ।’  बीमकले प्रवाह गर्ने बीमा दाबी र दाबी भुक्तानी सम्बन्धी तथ्याङ्क सही हुनुपर्ने र गलत तथ्याङ्क दिने बीमकमाथि प्राधिकरण कडाइका साथ प्रस्तुत हुने उल्लेख गर्दै कार्यकारी निर्देशक सुवेदीले तरलतालाई उच्च प्राथमिकतामा राखेर बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए । छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका सीईओहरुले  आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिन कम्पनी सक्षम रहेको र यसमा समस्या नभएको बताएका छन् । उनीहरुले साना बीमा दाबीहरूको भुक्तानी गर्दै आएको, ठूला दाबीको हकमा नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीहरूले सक्रिय रूपमा सहयोग गर्नुपर्ने र तरलता व्यवस्थापनमा समेत पुनर्बीमकले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् । कम्पनीहरूले क्षतिको प्रतिवेदन तयार गर्न फिल्डमा बीमा सर्भेयरहरू खटाइसकेको र सर्भेयरहरूबाट प्रतिवेदन आउनेक्रम समेत जारी रहेको छलफलमा सीईओहरुले जानकारी दिएका छन् । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले पुनर्बीमा बापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको थप प्रष्ट पार्दै पुनर्बीमा बापतको रकम आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई यथाशीघ्र उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक ध्रुव तिमिल्सिना, निर्देशक शाम्भराज लामिछाने तथा निर्देशक निर्मल अधिकारी र निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

पाँचकिलोमा बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा ३ जना नाबालकसहित २० जना घाइते भएका छन् ।  रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०३-००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मङ्गलबार साँझ  दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएपछि प्रहरीचौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सात जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । उद्धारपछि सबै घाइतेलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको छ । हालसम्म बसमा सवार यात्रुको सङ्ख्या यकिन भएको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक माधवराज खरेलले सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिए । 

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेकी छिन् ।  सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको जनाइएको छ । आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र आयोगका तफर्बाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सहभागी थिए । यसअघि यही असोज ७ गते पनि प्रधानमन्त्री कार्कीसँग निर्वाचनका विषयमा आयोगका पदाधिकारीले छलफल गरेका थिए । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गर्दै आवश्यक स्रोतसाधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।  ‘त्यस अवसरमा निर्वाचनमा नागरिकको अधिकतम सहभागिता सुनिश्चितता, निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलसँग तिहारअघि नै छलफल गर्ने विषयमा पनि छलफल भएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘यसअघि सम्पन्न संसदीय निर्वाचनका समयमा प्रयोग भएका स्रोतसाधनको प्रारम्भिक अनुमान गरी निर्वाचनका लागि थप आवश्यक स्रोतसाधन माग गर्ने विषयमा पनि छलफल भएको छ ।’ यसअघि आयोगको आग्रहमा तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधन भई मतदाता नामावली सङ्कलन भइरहेको छ ।