वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजस्व सकंलन
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । कार्यालयले चालु आवको दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको जानकारी दिए । यहाँको भन्सार आयातमा निर्भर रहेको छ । जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा भने महत्त्वपूर्ण छ । यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने छ अर्ब १४ करोड रुपैयाँ अर्थात् १५ दशमलव ६८ प्रतिशत रहेको छ । त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट भने दुई अर्ब ५४ करोड रुपैयाँ अर्थात् छ दशमलव ४९ प्रतिशत राजस्वको हिस्सा रहेको छ । सबै प्रकारका कपडाबाट एक अर्ब ९८ करोड रुपैयाँ अर्थात् पाँच दशमलव ०६ प्रतिशत हिस्सा ओगटेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा ३९ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद लाभांश घोषणा गरेको छ । बैंककाे सञ्चालक समिति असोज २५ गते बसेकाे बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १३.५ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत र आर्थिक वर्ष २०६८/६९ मा १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् । तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ । तर मागअनुसार फूल उत्पादन किसानले भने उचित मूल्य पाउन सकेका छैनन् । गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् । किसान शहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गरे । पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनले बताए । उनकाअनुसार १० वर्ष अगाडीसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला विक्री हुने गरेको उनले बताए । किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताए । २० वर्षदेखि मखमलीको खेती गर्दै आएकी उनले मालामा खासै नाफा कमाउन नसकेको बताइन् । उनले मालाको मूल्य निधारण गर्न सरकारसँग माग पनि गरे । सरकारले दशैँमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्ने बताए । उनले यहाँका किसानले मागअनुसार फूलको उत्पादन गरेको पनि दाबी गरे । उनले मखमली फूलको बीउमा समेत समस्या रहेको बताए । किराले काट्ने, धेरै पानी परेमा नउम्रिने, कुहिने लगायतको समस्या हुने उनको भनाई छ । किसान निर्मला बस्नेतले गतवर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको बताए । माला लिनको लागि व्यापारीहरु घरमा नै आउने उनको भनाई छ । उनले यसवर्ष १ हजार २ सय वटा माला बेचिसकेको जानकारी दिए । उनले गतसाल दुई हजार माला बेचेका थिए । राधा थापा र अनिता बस्नेतले मालाको निश्चित मूल्य निर्धारण गर्नपर्नेमा जोड दिए । मालाको निर्धारित मूल्यदर नहुँदा विचौलियाहरुलाई मात्रै फाइदा भएको उनहरुको गुनासो छ । फूल उत्पादक किसानले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । उनहरुले विचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरु मंहगोमा पर्ने समस्या खडा भएको बताए ।
हिल्सा हुँदै मानसरोवर पुगे साढे ६ हजार तीर्थयात्री, ७२ लाख राजस्व संकलन
सिमकोट । हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए । काठमाडौं, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उनले बताए । कोरोना सङ्क्रमणपछि भारतीय तीर्थयात्रीको धेरै सङ्ख्या हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन् । सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको लामाले बताए । एउटा होटलले १० लाखभन्दा बढी कमाई गरेका छन् । अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एकदुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ । साढे छ हजार विदेशी पर्यटक हुम्ला भित्रिए चीनसँग नेपालको हुम्ला हिल्सानाका गत वैशाख १८ गते खुलेपछि छ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका जनाइएको छ । जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने छ करिब छ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनले भने, ‘अन्य देशका ४५० जना र भारतका ५९५७ सहित ६४०७ विदेशी पर्यटक हुम्ला पुगेका हुन् । जेठको दोस्रो हप्ताबाट हुम्ला भएर मानसरोवर दर्शका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए ।’ मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको यो सङ्ख्या यस वर्षको अब अन्तिम हो । मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो दूरीमा पर्ने भएकाले जेठ, असार, साउन, भदौ र असोजको पहिलो सातासम्मका दैनिक दिन सिमकोट विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो । चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाबाट खटिएका दीपेन्द्र भण्डारीले बताए । उनले भने, ‘मानसरोवर कैलाशको दर्शन गर्न हुम्लामा कोरोना सङ्क्रमपछिको यो उल्लेखनीय सङ्ख्यामा भित्रिएका हुन् ।’ जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ । भारतीय प्रतिव्यक्ति तीर्थयात्रीबाट एक हजार १०० राजस्व सङ्कलन गर्दै आएको छ भने अन्य देशका पर्यटकबाट एक हजार ५०० शुल्क लिने गरेको छ । मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका ५९५७ जनाबाट ६५ लाख ५२ हजार शुल्क र अन्य देशका पर्यटकबाट ६ लाख ७५ हजार गरी ७२ लाख २७ हजार राजस्व सङ्कलन भएको छ । व्यस्त सिमकोट विमानस्थल सुनसान पर्यटक आउँदाको समय दैनिक बिहानदेखि बेलुका ५ः०० बजेसम्म व्यस्त देखिएको सिमकोट विमानस्थल यतिबेला सुनसान देखिएको छ । जेठ, असार, साउन र भदौमा सिमकोट विमानस्थल निकै व्यस्त देखिनुका साथै नागरिकको समेत बाक्लो चहलपहल देखिए पनि असोजको दोस्रो हप्तादेखि सुनसानजस्तै देखिन थालेको छ । मानसरोवर कैलाश दर्शन यात्रा सकिएसँगै निजी जहाज पूर्वमा उडान भर्दा विमानस्थलमा चहलपहल कम देखिएको हो । रासस
श्रीनगर एग्रीटेकको आईपीओ बिक्री खुला, १० हजार कित्ता आवेदन दिन मिल्ने
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आज असोज २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री पश्चात् आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोष र १ लाख २३ हजार ९७५ कित्ता कर्मचारीलाई बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले बाँकी रहेको २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँको २५ लाख १० हजार ४९३ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए कात्तिक ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुनमा कति ?
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आइतबार (असोज २६ गते)देखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरी सार्वजनिक गरेको छ । बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण बचत र विशेष बचत र एनसीबीएल समुन्नत बचत खातामा १ प्रतिशत, सुपर बचतमा १ प्रतिशतदेखि १.१५ प्रतिशत तोकिएको छ । एनसिबिएल प्रिमियम बचत खाातामा १ प्रतिशत, अनिवार्य नियमित बचतमा ४ प्रतिशत र क्रमिक बचतमा ३.२० प्रतिशतदेखि ३.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम १.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । त्यसैगरी बैंकले कर्जातर्फ न्यूनतम ४.९९ प्रतिशतदेखि अधिकतम ६.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा कृषि तथा कृषि परियोजना कर्जा (आवधिक÷चालुपूँजी) न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यवसायिक आवधिक कर्जाको लागि ६.८५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, व्यावसायिक कर्जा (चालु पूँजी) ७.५० प्रतिशत, इन्फास्ट्रक्चर डेभलपमेन्ट कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, लघु तथा गरिबी निवारण कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, साना तथा मझौला कर्जा ६.५० प्रतिशत निर्धारण गरिएको छ । यस्तै हायर पर्चेज कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, पर्यटन प्रवद्र्धन कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, तरलता व्यवस्थापन कर्जा ६.९९ प्रतिशत, महिला सशक्तीकरण कर्जा ४.९९ प्रतिशत, एनसीबीएल सहज कर्जा ६ प्रतिशत, उज्यालो नेपाल कर्जा ६.९९ प्रतिशत, दीगो तथा सबल सहकारी कर्जामा ७.२५ प्रतिशत, सदस्य सम्बन्धी कर्जा ६ प्रतिशत र मुद्दती निक्षेप कर्जामा थप २ प्रतिशत तोकिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । अपाङ्ग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुने गरी प्रदान गरिने छैन ।
सिटि होटलको हकप्रद सेयरमा लगानी गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटि होटलको हकप्रद सेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ । गत भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०।८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
रिभर फल्स पावरको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । रिभर फल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ । भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका ७० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।