कैलाली उद्योग वाणिज्य संघको नेतृत्व पुष्कर ओझालाई, रोचक प्रतिस्पर्धामा ६१ मतको जित
काठमाडौं । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पदमा पुष्कर ओझा विजयी भएका छन् । कुल १ हजार ९४० मत खसेकोमा ओझाले ९५० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी रुपेश स्वाँरलाई ६१ मतको झिनो अन्तरले पराजित गरे । स्वाँरले ८८९ मत ल्याए । चुनावको प्रारम्भदेखि नै ओझा र स्वाँरबीच कडा टक्कर चलेको थियो । अन्तिमसम्म पनि अग्रता परिवर्तन भइरहेकै अवस्थामा ओझाले निर्णायक मत ल्याउँदै अध्यक्ष पद प्राप्त गरेका हुन् । यो निर्वाचनमा दुवै उम्मेदवार आफ्ना-आफ्ना प्यानलसहित चुनावी मैदानमा होमिएका थिए। निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिका निभाएका ओझाको नेतृत्वमा प्रस्तुत प्यानलका अधिकांश सदस्यहरू विजयी भएका छन् । यस जितसँगै ओझाले आगामी कार्यकालमा कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । संघभित्र आर्थिक, व्यापारिक र नीतिगत सुधारका अपेक्षा बढिरहेका बेला नयाँ नेतृत्वबाट सदस्यहरू आशावादी छन् । ओझा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का उपाध्यक्षसमेत हुन् ।
ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु गर्यो साइकलमैत्री आकाशे पुल
ललितपुर । ललितपुर महानगरले चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ ।उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरेका हुन् । पुलको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख महर्जनले चक्रपथको धोबीघाट क्षेत्र पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै, उक्त जोखिम घटाउनका लागि आकाशे पुल निर्माण गर्न लागिएको बताए । उनले भने, 'सडक सुरक्षित नभएकै कारण यो ठाउँमा दर्जनभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । दुर्घटना हुन नदिनका लागि पुल बनाउन लागेका हौं ।' महर्जनले नख्खु खोलामा तीनवटा पुल निर्माण सम्पन्न भइसकेको र चक्रपथको यातायात नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै, कर्मनाशा खोलामा पनि पुल निर्माणको काम अघि बढाइएको र धापाखेलस्थित महादेव खोलामा समेत पुल निर्माण भइरहेको बताए । महानगर प्रमुख महर्जनका अनुसार, चक्रपथ क्षेत्रमा सानो किलाकाँटा ठोक्न पनि संघीय सरकारको स्वीकृति लिनुपर्ने भएकाले समय लाग्ने गरेको छ । उनले भने, 'पुल निर्माणका लागि धेरैअघि नै माग आएको थियो तर स्वीकृति पाउन ढिलाइ भएकाले काम ढिलो सुरु भएको हो ।' उनले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरे । सुशासन तथा संस्थागत विकास समितिका संयोजक र वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तह नागरिकको मर्म बुझ्ने सरकार भएको बताए । उनका अनुसार, स्थानीयको मागअनुसार पुल निर्माणका लागि महानगरले धेरैअघि नै प्रक्रिया अघि बढाए पनि सडक विभागको स्वीकृति ढिलो पाएकाले काम सुरु हुन ढिलाइ भएको हो । उनले विकास निर्माणका काममा स्थानीयले महानगरसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । ललितपुर महानगर अन्य पालिकाभन्दा पृथक रहेको उल्लेख गर्दै, सुशासन र अनुशासन कायम राख्न सबैलाई आग्रह गरे । वडा नं. ४ का अध्यक्ष सन्तोष खड्काले धोबीघाटमा निर्माण भइरहेको साइकलमैत्री पुलले पैदलयात्रीलाई सजिलो र सुरक्षित बनाउने बताए । त्यसैगरी, ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर प्रदीप पौडेलले चक्रपथको धोबीघाटमा पैदलयात्रीको सुरक्षाका लागि पुल निर्माण गरिएको बताए । उनका अनुसार, सडक वारपार गर्दा भएका दुर्घटनामा धेरैले ज्यान गुमाएकाले पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राखी निर्माण कार्य सुरु गरिएको हो । महानगरका अनुसार, पुल निर्माणको सम्झौता रकम ५ करोड ४ लाख ४८ हजार रुपैयाँ रहेको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुने यो पुलले दमकल–सुन्दरीघाट मार्गका पूर्व र पश्चिम क्षेत्रलाई जोड्ने भएकाले चक्रपथ वारपार गर्न सजिलो हुने बताइएको छ ।
राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उनी अस्पतालमा भर्ना भएकामा उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएका हुन् ।
टाटा मोटर्सको धनतेरस अफर : विद्युतीय र आईसीई मोडलमा छुट र उपहार
काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले शुभदिपावली र धनतेरस पर्वको अवसरमा देशव्यापी रूपमा 'धनतेरस टाटा उत्सव' कार्यक्रम सुरु गरेको छ । हर्ष र उल्लासले भरिएको यो पर्वलाई लक्षित गर्दै सुरु गरिएको कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरसँगै 'सुनको असर्फी' बम्पर उपहार जित्ने सुनौलो मौका पाउने भएका छन् । सिप्रदीका अनुसार, नेपालभर रहेका टाटा शोरुमहरूमा आज (असोज २६ गते) देखि सुरु भएको यो विशेष कार्यक्रम कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रम अन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टियागो ईभी, पंच ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीका साथै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा विविध छुट र उपहारका सुविधाहरू प्राप्त गर्न सक्नेछन् । त्यस्तै, अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष सुविधाहरू समावेश छन् । सिप्रदी ट्रेडिङले यस पर्वलाई 'सुनौलो र अविस्मरणीय बनाउने' उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताएको छ। कम्पनीका अनुसार, भाग्यशाली ग्राहकले बम्पर उपहारका रूपमा सुनको असर्फी प्राप्त गर्ने अवसर पनि पाउनेछन् ।
जलविद्युत् र सडकले ल्यायो मकरीगाडमा आर्थिक क्रान्ति
दार्चुला । सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौं पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ । विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले यहाँको आर्थिक रूपान्तरणलाई गति दिएको छ । विसं २०६० देखि मकरीगाडमा व्यापार गर्दै आएका धनसिंह लोथ्याल सडक पुगेपछि अहिले मकरीगाडमा बजार व्यवसाय बढेको बताउँछन् । ‘यो क्षेत्रमा २२ वर्षदेखि होटल व्यवसाय गर्दै आएको छु, पहिले खाना खाने र बास बस्नेमात्रै व्यापार थियो,’ लोथ्याल भन्छन्, ‘तर अहिले सबै किसिमको व्यापार मकरीगाडमा भइरहेको छ, बिहानदेखि साँझसम्म चहलपहल बढेको छ ।’ सडक पुगेपछि जिप र मालबाहक ट्रक दैनिक रूपमा मकरीगाडसम्म पुग्न थालेका छन् । पहिला मार्मा गाउँपालिकाको लटिनाथ–सेलविसा हुँदै हुने व्यापार अहिले मकरिगाडमा केन्द्रित भएको छ । लोथ्यालका अनुसार पारिबगरदेखि मकरीगाड सडक खण्डमा खुलेका अधिकांश होटल पसल बन्द भएका छन् । अपिहिमालका वडा नं १ देखि ५ सम्मका स्थानीयका लागि मकरीगाड अहिले मुख्य बजार केन्द्र बनेको छ । पहिले लटिनाथबाट पिठ्युँमा सामान बोकेर आउनुपर्ने बाध्यता हटेको छ । पहिले मार्माको सेलविसासम्म मात्रै सडक थियो । स्थानीय लटिनाथबाट पिठ्युँमा समान बोकेर आउँथे । सडक पुगेपछि सामान सबै यहीँ सहज पाउन थालेको लोथ्याल बताउँछन् । उहाँका अनुसार यहाँ व्यापारिक चाप बढेको छ। धनगढीबाट रात्रिकालीन आउने यात्रु जिपमार्फत बिहानै मकरीगाड पुग्छन् । अहिले विटुले–पारिबगर–मकरीगाड सडकखण्डमध्ये मार्माको पारिबगरसम्म सडक ग्राभेल गरिएको छ । पारिबगर क्षेत्रसम्म बस सेवा सञ्चालनमा छ । पारिबगरदेखि मकरीगाडसम्म सडक कच्ची भए पनि सामान बोकेका ट्रक मकरीगाडसम्म नियमित सञ्चालन हुने गरेका छन् । मकरीगाडभन्दा माथि सडक नहुँदा पनि अहिले यस क्षेत्रमा व्यापार व्यवसाय बढेको मकरीगाडमा व्यापार व्यवसाय गर्दै आएका विसनसिंह धामी बताउँछन् । अहिले यो क्षेत्र सबै प्रकारको व्यापारका लागि केन्द्रबिन्दु बनेको छ । स्थानीयले आफ्नो उत्पादन मकरीगाडसम्म बिक्री गर्न ल्याउँछन् । खण्डेश्वरी घुसाबाट स्थानीयले हरियो साँग, दूध दही मकरीकगाड बजारमा व्यापार गर्ने अवस्था बनेको छ । तराई क्षेत्रबाट खाद्यान्न लत्ताकपडा सहजै यहाँ पुग्ने गरेको छ । यहाँका होटल तथा पसल राम्रो चलेका छन् । ‘विद्युत् नबनेको भए सायदै अहिले नै सडक पुग्थ्यो,’ धामीले भने, ‘यो सडक कालोपत्र भयो भने अझै यहाँको व्यापार राम्रो हुन्थ्यो ।’ अहिलेको भन्दा सस्तो मूल्यमा सामान मकरीगाडमा उपलब्ध हुनेछ । खाद्यान्न उत्पादन न्यून हुने अपिहिमालका चार वडाका लागि अहिले तराईबाट सहजै खाद्यान्न मकरीगाड पुग्ने गरेको छ । विकास निर्माणमा चाहिने छड, सिमेन्टदेखि दैनिक उपभोग्य सामानको सहज उपलब्धता मकरीगाडमा पुगेको व्यापारी धनसिंह जागरी बताउँछन् । अहिलेको अवस्थामा अझै सडक स्तरोन्नतिको खाँचो छ । व्यापारी जागरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सिमेन्ट, छडलगायत दैनिक उपभोग्य सामग्री मकरीगाडमै सहज उपलब्ध छन् । सडक स्तरोन्नति र भाडादर समायोजनको आवश्यकता अझै रहेको उनले बताए । तराईबाट आउने ट्रकहरूले अहिले अपिहिमालमा उत्पादित राज्मा, भटमास, आलु, कोदो, स्याउ र जडीबुटी धनगढीसम्म लैजान थालेका छन् । यसरी पहाड र तराईबीच दोहोरो व्यापार सहज बनेको छ । तराईबाट समान लिएर आउने ट्रकले सिजनमा पहाडको उत्पादन तराई पु¥याउन थालेका छन् । अपिहिमालमा उत्पादन हुने राज्मा, भटमास, कोदो, आलु, स्याउ र जडीबुटी तराई पठाउन सहज भएको जागरीले बताए । पहाडको आलु, दाल, स्याउ धनगढीसम्म पुग्न थालेको छ । यो क्षेत्रमा सडकका कारण दोहोरो व्यापार सहज बनेको छ । सडक माथि उक्लिँदै गर्दा व्यापार पनि माथि सर्ने गर्छ । पहिले लटिनाथ सेलविसा व्यापारिक केन्द्र चहलपहल हुन्थ्यो । अहिले मकरीगाड बनेको छ । मकरीगाडबाट झण्डै एक दशमलव पाँच किलोमिटर सडक माथि उक्लिएको छ । अपिहिमालको केन्द्रसम्म सडक पुग्यो भने व्यापार फेरि माथि सर्नेछ ।
खाता अन्य बैंकमा, भुक्तानी सिटिजन्स बैंकमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलो पटक ‘क्रस बैंक टेलर क्युआर’ प्रणालीको सुरुवात गरेको छ । यस सेवामार्फत अन्य बैंकका ग्राहकहरूले पनि नजिकैको सिटिजन्स बैंक शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बैंकिङ प्रयोग गरेर क्रस बैंक टेलर क्युआर स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यो प्रविधिले भुक्तानी प्रक्रिया अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्य लिएको छ । नयाँ प्रणालीले डिजिटल भुक्तानीको दायरा विस्तार गर्दै ग्राहकलाई बैंकिङ सेवामा सहज पहुँच र समयको बचत गराउने विश्वास सिटिजन्स बैंकले व्यक्त गरेको छ ।
टिकटकदेखि दुर्लभ खनिजसम्म : ट्रम्प–सी बीचको ‘ट्रेड वार’ झन् गहिरिँदै
काठमाडौं । चीनले दुर्लभ खनिज (रेयर अर्थ) निर्यात नियन्त्रणलाई ‘वैध’ भन्दै अमेरिकाको नयाँ शुल्क कदमको कडा आलोचना गरेको छ, जसले ट्रम्प–सी भेट हुने वा नहुने अवस्थालाई अनिश्चित बनाएको छ । आइतबार चीनले दुर्लभ खनिजमा नयाँ निर्यात नियन्त्रणलाई अन्तर्राष्ट्रिय कानुनअनुसारको ‘वैध कदम’ भन्दै अमेरिकाले लगाएको ‘आर्थिक दबाब’ का आरोपहरू अस्वीकार गरेको हो । वाशिङ्टनले चीनमाथि व्यापक प्रतिशोधात्मक शुल्क र निर्यात प्रतिबन्ध घोषणा गरेपछि चीनको यो प्रतिक्रिया आएको हो । चीनको वाणिज्य मन्त्रालयले अक्टोबर ९ मा जारी ती नियन्त्रणहरूलाई आफ्नो निर्यात नियन्त्रण प्रणाली सुदृढ गर्ने र ‘विश्व शान्ति तथा क्षेत्रीय स्थायित्वलाई संरक्षण गर्न’ उठाइएको कदम बताएको छ । मन्त्रालयका अनुसार यो निर्णय विश्व सुरक्षा अवस्थाको अस्थिर पृष्ठभूमिमा गरिएको हो । यी नयाँ कदमहरूले दुर्लभ खनिज मात्र होइन, त्यससँग सम्बन्धित बौद्धिक सम्पत्ति र प्रविधिलाई पनि समेटेका छन् । यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सम्भावित भेट हुनुअघि केही साताअघि गरिएको हो । ‘यी नियन्त्रणहरू निर्यात प्रतिबन्ध होइनन्। निर्धारित मापदण्ड पूरा गर्ने आवेदनहरू स्वीकृत गरिनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘चीनले यी कदमहरूको आपूर्ति शृंखलामा पर्ने प्रभावको पूर्ण मूल्यांकन गरिसकेको छ र प्रभाव अत्यन्तै सीमित हुनेमा विश्वस्त छ ।’ नयाँ नियमअनुसार अब विदेशी कम्पनीहरूले ०.१ प्रतिशतभन्दा बढी चिनियाँ स्रोतबाट प्राप्त दुर्लभ खनिज भएका वा चीनको खनन, प्रशोधन, चुम्बक निर्माण वा पुनःप्रयोग प्रविधि प्रयोग गरी बनेका उत्पादनहरू निर्यात गर्न विशेष अनुमति लिनुपर्नेछ । हतियार वा सैन्य प्रयोजनका लागि प्रयोग हुन सक्ने वस्तुहरूका लागि आवेदन अस्वीकृत गरिनेछ । बेइजिङले यी नियन्त्रण कडा बनाएको केही समयमै चीनस्थित युरोपेली वाणिज्य मण्डलले निर्यात अनुमति पत्रका आवेदनहरू रोकिने अवस्थाको जानकारी दिँदै नयाँ नियमहरूले ‘दुर्लभ खनिज आपूर्ति शृंखलामा थप जटिलता’ थपेको बताएको छ । यसको जवाफमा ट्रम्पले अक्टोबर १० मा चीनबाट आयात हुने वस्तुहरूमा हालको भन्दा ‘अतिरिक्त १०० प्रतिशत शुल्क’ नोभेम्बर १ देखि लागू हुने घोषणा गरे । उनले सोही मितिदेखि ‘महत्त्वपूर्ण सफ्टवेयरहरू’ मा पनि अमेरिकी निर्यात नियन्त्रण लागू हुने बताएका थिए । ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेखेको सन्देशपछि विश्व बजारमा ठूलो गिरावट आयो — जसले करिब २ ट्रिलियन डलर बराबरको बजार मूल्य नष्ट गर्यो । उनले भनेका थिए, ‘चीनलाई दुर्लभ खनिज नीतिमार्फत विश्वलाई ‘बन्धक’ बनाउन दिइनु हुँदैन ।’ चीनको वाणिज्य मन्त्रालयले अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाउँदै भन्यो — ‘अमेरिकाको नियन्त्रण सूचीमा ३ हजारभन्दा बढी वस्तु छन्, जबकि चीनको सूचीमा १ हजारभन्दा कम छन् ।’ विश्वको करिब ७० प्रतिशत दुर्लभ खनिज आपूर्ति चीनले गर्छ र उसले यी आवश्यक खनिजहरूलाई बारम्बार व्यापारिक वार्तामा दबाबका रूपमा प्रयोग गर्दै आएको छ । तनाव थप चुलियो दुर्लभ खनिज निर्यात नियन्त्रण कडा बनाएलगत्तै चीनले अक्टोबर १४ देखि अमेरिकी जहाजहरूले चिनियाँ बन्दरगाह प्रयोग गर्दा शुल्क तिर्नुपर्ने घोषणा गर्यो । यो कदम अमेरिकाले पनि सोही मितिदेखि चिनियाँ जहाजहरूलाई लाग्ने नयाँ शुल्क घोषणा गरेसँगै आएको हो । रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका अनुसार विश्व जहाज निर्माण बजारमा अमेरिकाको हिस्सा ०.१ प्रतिशत मात्र छ भने चीनको ५३.३ प्रतिशत छ । चीनले आफ्नो निर्णयलाई ‘आवश्यक र रक्षात्मक प्रतिक्रिया’ बताउँदै अमेरिकाको कदमले ‘दुवै देशबीचको आर्थिक र व्यापारिक वार्ताको वातावरणलाई गम्भीर रूपमा नोक्सान पुर्याएको’ जनाएको छ । ट्रम्पले सुरु गरेको विश्वव्यापी व्यापार युद्धपछि पहिलो पटक अमेरिकी र चिनियाँ वरिष्ठ अधिकारीहरू मे महिनामा जिनेभामा व्यापार वार्तामा बसेका थिए । जुन महिनामा लण्डनमा भएको दोस्रो वार्तामा व्यापार ‘ढाँचा’मा सहमति भएको थियो । तेस्रो चरणको उच्चस्तरीय वार्ता जुलाईमा भयो, जहाँ दुवै पक्षले प्रगति भएको संकेत दिएका थिए । सेप्टेम्बरमा म्याड्रिडमा सम्पन्न पछिल्लो वार्तामा टिकटकको अमेरिकी स्वामित्व फिर्ता सम्बन्धी ‘आधारभूत सहमति’ भएको थियो । सेप्टेम्बर १९ मा ट्रम्प र सीबीच टेलिफोन वार्ता भए पनि टिकटकबारे अन्तिम निर्णय भएन । त्यसपछि ट्रम्पले घोषणा गरे कि उनी र सी अक्टोबरको अन्तिम साता दक्षिण कोरियाको ग्येओन्जुमा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) सम्मेलनको क्रममा भेट्नेछन् । चीनले आगामी भेटबारे मौनता साधेको भए पनि ट्रम्पले आगामी वर्ष चीन भ्रमण गर्ने र त्यसपछि सी अमेरिका आउने बताएका थिए । तर, चीनले दुर्लभ खनिजमा नयाँ निर्यात नियन्त्रण कडा बनाएपछि ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो सीसँगको आगामी भेट रद्द गर्ने चेतावनी दिएका छन्।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?
काठमाडौं । गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज तीन हजार रुपैयाँले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ । सोही दिन एक तोला चाँदी तीन हजार ८५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार १२५ रुपैयाँमा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।