प्रधानमन्त्री कार्यालयले उद्योगीको पत्र लिन गर्यो अस्वीकार
काठमाडौं । देशका ठूला उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनमार्फत प्रयोग गरिएको बिजुलीसम्बन्धी बक्यौता विवादमा स्पष्ट धारणा दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रयास असफल भएको छ । शुक्रबार २६ वटा प्रमुख उद्योगका प्रतिनिधिहरूले संयुक्त हस्ताक्षरसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउन लागेको पत्र कार्यालयले दर्ता नै नगरी अस्वीकार गरिदिएको हो । त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिकसहितका उद्योगहरूले समेटिएको उक्त पत्रमा महशुल विवादको यथार्थतालाई बुझ्न प्रधानमन्त्रीलाई आग्रह गरिएको थियो । तर, कार्यालयले पत्र नबुझी ऊर्जा मन्त्रालयमा ‘फर्वार्ड’ गरेर पन्छिएको छ । ‘हामी हरेक महिना करोडौं रुपैयाँ बराबरको शुल्क बुझाउँदै आएका छौं । समयमा तिरेको महसुललाई बक्यौता भन्नु अन्याय हो,' उद्योगीहरूले भने । उद्योगीहरूको दाबी अनुसार, उनीहरूले कुनै पनि किसिमको बक्यौता नरहेको भन्दै प्रस्टिकरण दिँदै आएका छन् । तर, नेपाल विद्युत प्राधिकरण भने ती उद्योगहरूलाई बक्यौता छ भन्दै किस्ताबन्दीमा रकम असुल्न थालेको छ । हालसम्म आधा दर्जनभन्दा बढी उद्योगहरूले किस्ताबन्दीमा तिर्न थालेका छन् । उद्योगीहरूको भनाइमा, मुलुकको आर्थिक विकास, रोजगारी र राजस्वमा महत्वपूर्ण योगदान दिइरहेका उद्योगहरूलाई दोषी करार गर्दै अनावश्यक दवाव सिर्जना गरिँदैछ । सरकारको यस्तो व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले भनेका छन्,‘सरकारले व्यवसायीको आवाज सुन्ने नखोज्नु गम्भीर प्रश्नको विषय हो । हामी कानुनी र तथ्यमा आधारित न्यायको अपेक्षा गरेका हौं ।’
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका-९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिए । गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताए । सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । 'पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले उहाँको कसैसँग पनि सम्पर्क छैन', तामाङले भने । पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मङ्गलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनले बताए । बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन् । पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राससलाई जानकारी दिए । उनको खोजीका लागि दूतावालले सक्दो पहल गरिरहेको राजदूत पौडेलले बताए । क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए । रासस
१५.७८ प्रतिशत लाभांश बाँड्ने लक्ष्मी सनराइजको घोषणा
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज असोज ३० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते बिहान ११ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
पशुपालक किसानलाई आत्मनिर्भर बनाउन ८० लाख अनुदान
पर्वत । पर्वतका पशुपालक किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु विकास तथा दूध उत्पादनमा किसानलाई प्रोत्साहन गर्न ८० लाख अनुदान वितरण गर्ने भएको छ । निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार विभिन्न छ प्रकारका कार्यक्रमका लागि उक्त अनुदान रकम उपलब्ध गराउने तयारी कार्यालयले गरिरहेको छ। आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसान, फार्म, कम्पनी, समूह, समिति वा सहकारी संस्थालाई उक्त अनुदान रकम उपलब्ध गराइनेछ। बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाईभैँसी, भेडा, बाख्रा, बंगुर, माछा र कुखुरा पालिरहेका किसान वा फार्म दुईवटालाई अधिकतम ९० प्रतिशत अनुदान दिनेगरी २० लाख वितरण गरिने पशु विकास अधिकृत सुवेदीले बताए। किसान समूह, समिति वा सहकारीमार्फत प्राप्त गर्न सकिने अनुदान प्राप्त गर्नका लागि कम्तीमा ५० वटा माउ पालन गरिरहेको तथा कम्तीमा दैनिक दुई सय लिटर दूध उत्पादन गरिरहेको हुनुपर्नेछ । यदि भेडाबाख्रा पालेको भएमा दुई सय ५० वटा, बंगुर पालेको भएमा ५० वटा ब्रिडर माउ वा एक सय वटा फ्याटनर बंगुर, ग्रामीण कुखुराको हकमा कम्तीमा पाँच सय, हाँस भए तीन सयवटा तथा माछापालन भएमा कम्तीमा २० रोपनी क्षेत्रफल र रेन्बो ट्राउटका लागि कम्तीमा एक हजार वर्गमिटर क्षेत्रफलको जलाशय हुनुपर्ने शर्त राखिएको छ । दूध उत्पादनका आधारमा प्रोत्साहन सहयोगअन्तर्गत चारपटकका लागि ३० लाख अनुदान उपलब्ध कार्यालयले गराउनेछ । यो अनुदानअन्तर्गत प्रतिलिटर अधिकतम पाँचका दरले पाइनेछ। आवेदक दुग्ध उत्पादनसँग सम्बन्धित सहकारी संस्था हुनुपर्ने, दैनिक कम्तीमा दुई सय लिटर र वार्षिक कम्तीमा दुई सय दिन दूधको कारोबार गरेको हुनुपर्ने भनिएको छ । कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत दुईवटालाई अधिकतम ९० प्रतिशत अनुदान हुनेगरी २० लाख दिने कार्यालयको तयारी छ। किसान समूह, समिति वा सहकारीले पाउने यो अनुदान प्राप्त गर्नका लागि गाईभैँसीको हकमा कम्तीमा ५० वटा माउपालन गरेको र कम्तीमा दैनिक दुई सय लिटर दूध उत्पादन गर्ने गरेको, भेडाबाख्राको हकमा कम्तीमा दुई सय ५० वटा पालन गरेको, बंगुरको हकमा कम्तीमा ५० वटा ब्रिडर माउ वा एक सय वटा फ्याटनर भएको हुनुपर्नेछ। ग्रामीण क्षेत्रमा कम्तीमा पाँच सयवटा कुखुरा पालेको, तीन सय वटा हाँस पालेको वा माछाको हकमा कम्तीमा २० रोपनी क्षेत्रफल र रेन्बो ट्राउटका लागि कम्तीमा एक हजार वर्गमिटर क्षेत्रफलको जलाशय हुनेगरी पालन गरेको भएमा पनि यो अनुदान पाउन सकिनेछ । तर यो अनुदान प्राप्त गर्नका लागि कालीगण्डकी करिडोरमा पर्ने स्थानीय तह हुनुपर्ने शर्त केन्द्रले राखेको छ । त्यसैगरी, फार्म तथा पशुजन्य व्यवसायमा यान्त्रिकीकरण सहयोग कार्यक्रमअन्तर्गत एकपटकका लागि किसानको २५ प्रतिशत लागत साझेदारी रहनेगरी सात लाख अनुदान उपलब्ध हुनेछ । कृषि ऋणमा ब्याज अनुदान कार्यक्रमको निरन्तरताअन्तर्गत एकपटकका लागि ब्याजमा पाँच प्रतिशत अनुदान दिनेगरी डेढ लाख पैयाँ दिइनेछ। डेरी पसल, मासु पसल, बधस्थल निर्माण तथा सुधारका लागि छवटा पसललाई ५० प्रतिशत लागत साझेदारीमा तीन लाख लगानी केन्द्रले गर्नेछ । फार्म, समूह, समिति वा सहकारी संस्थाले यो अनुदान पाउनका लागि माछामासु तथा डेरी पसल कम्तीमा ८० वर्गफिट क्षेत्रफलमा सञ्चालन गरेको हुनुपर्ने, विगत एक वर्षदेखि माछामासु वा डेरी पसल सञ्चालन गरिरहेको हुनुपर्ने भनिएको छ । रासस
एनआईएमबिको १० प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । ब्रोकर नम्बर ७५ अर्थात् एनआईएमबि स्टक मार्केट्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले चुक्ता पुँजी ६० करोड रुपैयाँको करसहित १० प्रतिशतका दरले ६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कात्तिक २८ गते दिउँसो साढे २ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ । एनआईएमबि स्टक मार्केट्स कम्पनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को १ सय प्रतिशत लगानी रहेको सहायक कम्पनी हो ।
सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या
काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए । घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ । घटनास्थलबाट दुईवटा गोलीका खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको छ ।
१४ वटा मेसिन परिचालन गरेर २ सातापछि मेची राजमार्ग सञ्चालन
काठमाडौं । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक खण्ड मर्मत सम्भार पश्चात् शनिबार राति ९ बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई साताको प्रयासपछि सडक खुलाउन सफल भइएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । उनका अनुसार पहिरो पन्छाउन कार्यालयले ६ वटा एक्स्काभेटर, १ जेसिबी, ६ वटा टिफर र १ वटा लोडर परिचालन गरेको थियो । ‘निकै ठूलो पहिरो खस्नाका साथै दिनहुँ भाँसिने समस्याले हामीलाई पहिरो पन्छाउन समय लाग्नुका साथै सास्ती पनि भयो,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘निरन्तरको प्रयासले सडक खुलाउन सफल भएका छौँ, पहिरो क्षेत्रमा ठूला सवारीहरू एक पटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन सरोकार भएका सबैलाई अनुरोध गर्दछौँ ।’ राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउने यात्रु तथा सवारीलाई सहज भएको प्रमुख भट्टराईले बताए । मेची राजमार्ग अवरुद्ध हुँदा यसअघि साना सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा बुधबारदेखि तिल्केनी-सिमलगोलाई सडक खण्ड सञ्चालन गरिएको थियो । सो सडक खण्ड अन्तर्गत माईजोगमाई गाउँपालिका-४ नामसालिङ र इलाम नगरपालिका-१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण गरेर सडक सञ्चालन गरिएको उनले जानकारी दिए । वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) भने अझै सञ्चालनमा आउन सकेको छैन । सो सडक अन्तर्गत पुवाखोला खोलाको बेलिब्रिज बाढीले बगाउनाका साथै बेलासेस्थित माईखोलाको पक्की पुल भाँचिएपछि हालसम्म अवरुद्ध छ ।
तिहार ‘फ्लोरा एक्स्पो’मा १ करोडको कारोबार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ५ दिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ शनिबार सकिएको छ । एक्स्पो नेपाल नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको उक्त एक्स्पोमा १ करोड रुपैयाँको कारोबार भएको छ । सङ्घकी उपाध्यक्ष एवं एक्स्पो संयोजक लक्ष्मी महर्जनले ३५ हजार बढीले अवलोकन गरेकाे एक्पोमा एक करोडको कारोबार भएको जानकारी दिइन् । फ्लोरा समापन कार्यक्रममा सहभागी पूर्ववातावरणमन्त्री गणेश साहले ‘वातावरण जोगाऊ’ अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । नायिका मनीषा कोइरालाले परम्परागत रैथाने बिरुवाहरूको संरक्षण र संवर्द्धन गर्नुपर्ने भन्दै यसले वातावरणमा सन्तुलन काय राख्ने धारणा राखिन् । सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आगामी दिनमा आयोजना गरिने एक्स्पोमा परम्परागत स्थानीय रैथाने नर्सरी बिरुवालाई समेत प्राथमिकता दिने प्रतिबद्धता जनाए । व्यवसायीहरूलाई प्रोत्साहन गर्न घरघरमा राखिएका नर्सरी तथा फूललाई पनि आगामी दिनमा प्रतिस्पर्धा गराउने योजना रहेको उनले जानकारी दिए । एक्स्पोमा ६२ वटा व्यावसायिक स्टलसहित वनस्पति विभाग, पुष्प विकास केन्द्र लगायतको अफिसियल चारवटा स्टल तथा प्रतिस्पर्धाका चार स्टल गरी ७० स्टल रहेका आयोजकले जनाएको छ । व्यवसायीको हौसला बढाउन पुरस्कृत गरिएको थियो । एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक फूलका साथै मलखाद, अग्र्यानिक एवं रासायनिक विषादी, बीउबिजन, औजार उपकरण तथा प्रविधिको स्टल राखिएको थियो । एक्स्पोको प्रवर्द्धन पुष्प विकास केन्द्र र वनस्पति विभागले गरेका हुन् । सङ्घले तिहारलक्षित तिहार फ्लोरा एक्स्पो र चैतमा हर्टिकल्चर एक्स्पो गरी वर्षमा दुई वटा मेला गर्दै आएको छ ।