विकासन्युज

सातौं संसदीय यात्रामा ओलीको दोस्रो ब्रेक, देउवासँग बराबरी गर्ने अवसर गुमाए

काठमाडौं । नेपालको संसदीय राजनीतिमा लामो समयदेखि प्रभावशाली भूमिका खेल्दै आएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रामा २०८२ सालको प्रतिनिधिसभा निर्वाचन एउटा महत्त्वपूर्ण मोड बनेको थियो । छैटौंपटक संघीय संसद् प्रवेश गर्ने लक्ष्यसहित सातौंपटक निर्वाचनको मैदानमा उत्रिएका ओली यसपटक पराजित भएपछि उनको संसदीय यात्रामा दोस्रो ठूलो ब्रेक लागेको छ । २०४८ सालदेखि सुरु भएको ओलीको संसदीय यात्रामा यो दोस्रो हार हो । यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले पराजय भोगेका थिए । त्यसपछि पुनः चुनाव जित्दै संसदीय उपस्थितिलाई निरन्तरता दिँदै आएका ओलीका लागि २०८२ को निर्वाचन निर्णायक अवसरका रूपमा हेरिएको थियो । तर परिणाम उनको अपेक्षाअनुसार आएन । यो हारले ओलीलाई नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको सातपटक निर्वाचन जित्ने ऐतिहासिक कीर्तिमानसँग बराबरी गर्ने अवसरबाट वञ्चित गराएको छ । ओलीको संसदीय यात्राको सुरुवात केपी शर्मा ओलीको संसदीय राजनीति २०४८ सालको आमनिर्वाचनबाट औपचारिक रूपमा सुरु भएको थियो । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय लोकतन्त्र पुनःस्थापना भएपछि भएको पहिलो संसदीय निर्वाचनमा उनी पहिलोपटक संसद् प्रवेश गरेका थिए । त्यसयता उनले नेपाली राजनीतिमा निरन्तर सक्रियता देखाउँदै आएका छन् । २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालका निर्वाचनहरूमा उनले विजय हासिल गरेका थिए । तर २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनले अप्रत्याशित हार बेहोर्नुपरेको थियो । त्यो समय देशभर माओवादी लहर चलिरहेका कारण धेरै स्थापित नेताहरूले पराजय भोगेका थिए । ओली पनि त्यसबाट अछुतो रहेनन् । त्यसपछि भने उनी पुनः चुनावी प्रतिस्पर्धामा फर्किए र सफल हुँदै आए ।यसरी हेर्दा ओलीले हालसम्म आठ पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् जसमा पाँच जित र तीन हारको नतिजा देखिन्छ । २०८२ सालको निर्वाचनमा जित हासिल गरेका भए उनी छैटौं जितसँगै सातौं पटक संसद् प्रवेश गर्ने अवस्थामा पुग्ने थिए । तर निर्वाचन परिणामले उनको संसदीय यात्रालाई नयाँ प्रश्नचिन्ह सहितको मोडमा ल्याइदिएको छ । २०८२ सालको प्रतिनिधिसभा निर्वाचन नेकपा एमालेका लागि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको थियो । पार्टीले चुनावी रणनीति बनाउँदा अध्यक्ष ओलीलाई केन्द्रमा राखेको थियो । एमालेभित्र ओली अझै पनि सबैभन्दा प्रभावशाली नेता मानिन्थे । संगठनमाथिको उनको पकड, चुनावी अभियान सञ्चालन गर्ने क्षमता र जनतामाझको पहिचानले उनलाई पार्टीको मुख्य चुनावी अनुहार बनाएको थियो । एमालेले पनि यसै कारण ओलीलाई चुनावी अभियानको केन्द्रमा राखेर रणनीति बनाएको थियो । तर चुनावी परिणामले एमालेको अपेक्षा पूरा हुन सकेन । दोस्रो हारले रोकिएको ऐतिहासिक अवसर २०८२ सालको निर्वाचनमा भएको हारले ओलीलाई एउटा ऐतिहासिक अवसरबाट वञ्चित गराएको छ । यदि उनले यसपटक जित हासिल गरेका भए नेपाली राजनीतिमा २०४६ को परिवर्तनपछि सात पटक निर्वाचन जित्ने नेताको सूचीमा पुग्ने थिए । त्यो उपलब्धि अहिले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नाममा मात्र छ । ओलीले विगतमा जस्तै चुनाव जित्दै आएको भए देउवासँग बराबरी गर्ने सम्भावना बलियो देखिएको थियो । तर अहिलेको हारले त्यो सम्भावनामा ठूलो ब्रेक लागेको छ । राजनीतिक वृत्तमा धेरैले यसलाई ओलीको संसदीय यात्रामा निर्णायक मोडका रूपमा हेरेका छन् । कतिपय विश्लेषकहरूका अनुसार यो हारले ओलीको सक्रिय संसदीय राजनीतिमा भविष्यबारे नयाँ बहस पनि सुरु गरेको छ । धेरै मान्छेहरू यस पराजयसँगै ओलीको संसदीय यात्रामा पूर्णविराम ठान्छन् । देउवाको सात जितको दुर्लभ कीर्तिमान नेपाली संसदीय राजनीतिमा सबैभन्दा धेरै पटक लगातार निर्वाचन जित्ने कीर्तिमान नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नाममा छ । देउवाले २०४८ सालदेखि २०७९ सालसम्म भएका सातवटा निर्वाचनमा लगातार प्रतिस्पर्धा गरेर सबैमा विजय हासिल गरेका थिए । उनले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनहरूमा लगातार जित हासिल गरेका थिए । यो उपलब्धि नेपाली लोकतान्त्रिक इतिहासमा निकै दुर्लभ मानिन्छ । लगातार सात निर्वाचन जित्नु केवल व्यक्तिगत लोकप्रियता मात्र होइन, स्थिर राजनीतिक आधार र दीर्घकालीन जनसमर्थनको संकेत पनि हो । देउवाले विभिन्न राजनीतिक उतारचढावका बीच पनि आफ्नो निर्वाचन क्षेत्रको समर्थन कायम राख्न सफल भएका थिए । त्यसैले उनलाई नेपाली संसदीय इतिहासको सबैभन्दा सफल चुनावी नेताका रूपमा पनि हेरिन्छ । २०८२ मा देउवाको अनुपस्थिति २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा भने शेरबहादुर देउवाले प्रतिस्पर्धा नगर्ने निर्णय गरे । यसले उनको सात जितको कीर्तिमान यथावत राखेको थियो । यसै कारण ओलीका लागि त्यो कीर्तिमानसँग बराबरी गर्ने ऐतिहासिक अवसर खुलेको थियो । राजनीतिक विश्लेषक पर्शुराम घिमिरेका अनुसार यदि ओलीले यसपटक जित हासिल गरेका भए नेपाली राजनीतिमा दुई प्रभावशाली नेताको कीर्तिमान समान हुने अवस्था आउने थियो । उनका अनुसार यसलाई एकैसमयका दुई नेताहरूको चुनावी सफलताको संगमका रूपमा हेरिन्थ्यो । तर चुनावी परिणामले त्यो सम्भावनालाई रोकिदिएको छ । ओलीको हारको राजनीतिक अर्थ ओलीको पराजय केवल व्यक्तिगत हार मात्र होइन, एमालेको राजनीतिक रणनीतिमा पनि प्रभाव पार्ने घटना मानिएको छ । एमालेले चुनावी अभियानमा ओलीलाई प्रमुख अनुहार बनाएको थियो । उनको नेतृत्वमा पार्टीले चुनावी अभियान सञ्चालन गरेको थियो । तर अपेक्षित परिणाम नआएपछि एमालेभित्र पनि भविष्यको नेतृत्व र रणनीतिबारे बहस सुरु हुनसक्ने अनुमान गरिएको छ । कतिपय विश्लेषकहरूले यसलाई एमालेभित्र पुस्तान्तरणको बहसलाई बल दिने घटनाका रूपमा पनि हेरेका छन् । ओलीको संसदीय यात्राको सम्भावित अन्त्य ? २०४८ सालको आम निर्वाचनबाट सुरु भएको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको संसदीय यात्रा २०८२ सालको प्रतिनिधिसभा निर्वाचनपछि सम्भावित अन्त्यतर्फ पुगेको विश्लेषण गरिएको छ । सातौं पटक संसद् प्रवेश गर्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका ओली यसपटक पराजित भएपछि उनको तीन दशकभन्दा लामो संसदीय यात्राको भविष्यबारे राजनीतिक वृत्तमा व्यापक बहस सुरु भएको छ । ओलीले २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालका निर्वाचनहरू जित्दै संसदीय उपस्थितिलाई निरन्तरता दिएका थिए । तर २०६४ सालको संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए । त्यसपछि पुनः चुनाव जित्दै सक्रिय संसदीय राजनीतिमा फर्किएका ओलीले २०८२ को निर्वाचनलाई आफ्नो राजनीतिक यात्राको अर्को महत्त्वपूर्ण मोडका रूपमा लिएका थिए । तर यसपटकको हारले उनको संसदीय यात्रामा दोस्रो तथा अन्तीम ब्रेक लागेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार उमेर, राजनीतिक अनुभव र बदलिँदो राजनीतिक परिवेशका कारण ओलीका लागि आगामी निर्वाचनमा पुनः प्रतिस्पर्धा गर्ने सम्भावना कमजोर देखिन्छ ।  यसले उनलाई शेरबहादुर देउवाको सात निर्वाचन जित्ने ऐतिहासिक कीर्तिमानसँग बराबरी गर्ने अवसरबाट रोकिदिएको छ । तर ओलीको राजनीतिक यात्रा भने नेपाली राजनीतिमा अत्यन्त प्रभावशाली अध्यायका रूपमा रहिरहनेछ । तीन दशकभन्दा लामो संसदीय अनुभव, प्रधानमन्त्रीका रूपमा भूमिका र एमालेको नेतृत्वमार्फत उनले नेपालको राजनीतिक इतिहासमा गहिरो छाप छोडेका छन् । २०८२ सालको निर्वाचनले केवल एउटा चुनावी परिणाम मात्र दिएको छैन, यसले नेपाली राजनीतिमा पुस्तान्तरण, नेतृत्वको निरन्तरता र लोकतान्त्रिक प्रतिस्पर्धाको नयाँ चरणबारे पनि बहस सुरु गराएको छ ।

सर्लाही-१ मा रास्वपाकी नीतिमा कार्की ३६ हजार ३१० मतान्तरसहित निर्वाचित

काठमाडौं । सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित भएकी छिन् । निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार भण्डारी ३६ हजार ३१० मतान्तर अर्थात् ४४ हजार १८१ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ प्राप्त गरेका छन् ।  यहाँ नेकपा (एमाले) का मनोजकुमार देवकोटाले ६ हजार १०१, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले ५ हजार ४९८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका रामप्रकाश चौधरीले ३ हजार ९९१ मत प्राप्त गरेका छन् । यहाँ ७९ हजार २०७ मत खसेको थियो ।

कैलाली-३ मा रास्वपाका जगतप्रसाद जोशी विजयी

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी निर्वाचित भएका छन् । जोशीले २० हजार ३५९ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी भीम बडुवालले ९ हजार ७०६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका उम्मेदवार वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याएका छन् भने नेकपा एमालेका गौरीशंकर चौधरी ४ हजार ७५२ मतसहित पछि परेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का विक्रम चौधरीले ६ हजार ७४७ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र समाजवादी पार्टी (राप्रसप) का वीरेन्द्रबहादुर बमले २ हजार ३४७ मत प्राप्त गरेका छन् । अन्तिम मतपरिणामसँगै कैलाली-३ मा रास्वपाका जोशी विजयी भई प्रतिनिधिसभामा पुग्न सफल भएका छन् ।

सिन्धुली-१ मा धनेन्द्र कार्की र २ मा आशिष गजुरेल विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं १ र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)० का उम्मेदवार निर्वाचित भएका छन् ।  सिन्धुली क्षेत्र नं १ रास्वपाका धनेन्द्र कार्कीले १६ हजार २६५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृत निमा घिमिरेले जानकारी दिइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदीपकुमार कटुवाल क्षेत्रीले १५ हजार ६६८, नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बरालले १५ हजार २, नेपाली कम्युनिष्ट पार्टीका डेकेन्द्रप्रसाद सुवेदीले ४ हजार ६५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का रामनारायण अधिकारीले ४९८ मत प्राप्त गरेका छन् ।  सिन्धुली-१ मा कुल खसेको ५९ हजार ३०२ मतमध्ये ५६ हजार २० मत सदर भएको र ३ हजार २८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सिन्धुली-२ मा गजुरेल विजयी सिन्धुली क्षेत्र नं २ मा रास्वपाका आशिष गजुरेलले १७ हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचित भएका गजुरेल यातायात विज्ञका रुपमा चिनिन्छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजजङ्ग थापाले ११ हजार ६०६, नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कमल राज विष्टले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा कुल ५६ हजार ८०३ खसेकामा ३ हजार १४२ मत बदर भएको छ ।

सर्लाही-४ मा रास्वपाका अमरेश सिंह अघिअघि गगन थापा पछिपछि

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले मतगणनामा बलियो अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उनलाई पछ्याइरहेका छन् । हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार सिंहले २१ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् भने गगन थापाले १२ हजार ९ सय ९३ मत पाएका छन् । दुवैबीचको मतान्तर अहिले ८ हजार ३ सय ८४ रहेको छ । यस निर्वाचन क्षेत्रमा कुल १ लाख २१ हजार १२ मतदाता रहेका थिए । तीमध्ये ७७ हजार ९ सय ३१ मत खसेको थियो । हालसम्म ४६ हजार २ सय १ मत गणना भइसकेको छ भने अझै ३१ हजारभन्दा बढी मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी

काठमाडौं । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिए ।  राष्ट्रिय स्वतन्त्र पार्टीका बखत शाहीले ६ हजार ७९७, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीले ३ हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखत थापाले १ हजार ५१२ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी बबिता शाहीले ३३७ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी) का कमल सिंहले ३३७ र राष्ट्रिय जनमोर्चाका कमल बरै मगरले १०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनलाई हराउँदै झापा ३ मा रास्वपाका प्रकाश पाठक विजयी

काठमाडौं । झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक भारी मतान्तरले निर्वाचित भएका छन् । ३७ वर्षीय पाठकले ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् ।  निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २ सय ९४ मत प्राप्त गरे । ​ त्यसैगरी नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरे ८ हजार ९ सय ९९ मतका साथ तेस्रो स्थानमा रहे भने एमालेका हरि बहादुर राजवंशीले ७ हजार ४ सय ९२ मत प्राप्त गरे ।

रुपन्देही १ मा सुनिल लम्साल र ५ मा तौफिक अहमद खान विजयी

काठमाडौं । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् ।  रुपन्देही-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम परिणामअनुसार लम्साल ५४ हजार ८४५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गरे । यस क्षेत्रमा १ लाख ४३ हजार ८२४ मतदाता रहेकामा ६६ हजार ३७७ ले मतदान गरेका थिए ।  यस्तै, रुपन्देही-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार खानले ३८ हजार ८०६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खीमलाल भट्टराईले १३ हजार १००, नेपाली कांग्रेसका भरत कुमार शाहले १२ हजार ६२४, नेपाल कम्युनिष्ट पार्टीका मोहम्मद वकिल मुसलमानले छ हजार १७६ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८१ हजार ३५ मत खसेको थियो ।