विकासन्युज

मेची भन्सारबाट अलैंचीको निर्यात ३३ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको हो । ३ महिनामा १ हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा १ अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको उनले बताए । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ३ महिनामा चियाको निर्यात ४०.९० प्रतिशतले घटेको छ । उक्त अवधिमा १ अर्ब १ करोड २१ लाख ८६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा १ अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट १२६ प्रतिशत, छुर्पी ६१.८० प्रतिशत, प्लाइउड सतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ७१.४० प्रतिशत, धातुका अन्य अवशेष सतप्रतिशत, मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।  यसैगरी अदुवा ३२.३० प्रतिशत र अम्रिसो निर्यातमा २४ प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा ४ अर्ब ८० करोड ३९ लाख २४ हजार रुपैयाँको माल वस्तु निर्यात भएको छ ।

पर्यटकीयस्थल दुधकुण्ड जाँदा बाटो हराएपछि १० घण्टा बेपत्ता

सुवास दर्नाल काठमाडौं । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो,’ ओखलढुङ्गाका डेनिस मगरले यसरी यर्थाथ सुनाए ।  सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा मगरसहितको टोली करिब १० घण्टा बेपत्ता भएका थिए । गत सोमबार सल्लेरीबाट हिँडेको मगरसहितको एक टोली सोलुदुधकुण्ड नगरपालिका-१ कै कामोडाँडा क्षेत्र पार गर्दै दुधकुण्डतर्फ लाग्दै थियो । बिहानै उकालो लागेका उनीहरू पदमार्गको दोबाटोमा पुगेपछि गलत दिशातर्फ हिँडे । केही समयपछि बाटो भिरको टुप्पोमै हरायो । मोबाइल सिग्नल समेत हराएसँगै टोली नै कामोडाँडाभन्दा माथिल्लो क्षेत्रमा बेपत्ता भयो । स्थानीय होटल व्यवसायी मिलन कार्की भन्छन्, ‘साङ्केतिक बोर्ड र दिशानिर्देश नभएपछि पर्यटकले गलत बाटो समात्ने समस्या बढ्दै गएको छ ।’ भौगोलिक कठिनाइ र कमजोर सञ्जालका कारण खोज तथा उद्धारमा स्थानीयलाई निकै कठिनाइ भएको थियो । स्थानीय पर्यटन व्यवसायी र युवाहरूको सहयोगमा मगर र उहाँका साथीहरूको करिब १० घण्टापछि उद्धार गर्न सफल भयो । दुधकुण्ड क्षेत्रमा पर्यटकहरू हराउने गरेको घटना सामान्य बन्दै गएको छ । पछिल्ला वर्षहरूमा दुधकुण्ड क्षेत्रमा बाटो भुल्ने, हराउने र उद्धारमा ढिलाइ हुने घटना बारम्बार भइरहेको स्थानीय बताउँछन् । दुधकुण्ड पुग्ने मुख्य पदमार्गमा पर्ने ३ हजार ८६० मिटर उचाइमा अवस्थित कामोडाँडा यस्ता घटनाको केन्द्रविन्दु बनेको छ । यहीँबाट बायाँतर्फ मोडिनुपर्ने बाटो नै दुधकुण्ड पुग्ने मुख्य मार्ग हो । तर कतिपय स्वदेशी तथा विदेशी पर्यटक सो मोड थाहा नपाएर लुक्ला जाने बाटोतर्फ उकालो लाग्ने गर्छन् । त्यसपछि उनीहरू घण्टौँसम्म जङ्गल र भिरालो भूभागमा भौतारिन्छन् ।  ‘पदमार्गमा स्पष्ट देखिने कुनै सङ्केत छैन । कुन बाटो कुन ठाउँ जान्छ भन्ने थाहा नहुने भएकाले धेरैजसो भ्रमणकर्ता बाटो भुल्छन्,’ स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पाले भने ।  कमजोर नेटवर्क दुधकुण्ड क्षेत्र हिमालको फेदमा पर्ने भिरालो भूगोलमा पर्छ । यहाँ टेलिफोन सञ्जाल अत्यन्त कमजोर छ । भिरालो बाटो, हिउँले ढाकिएको पदमार्ग, कुहिरो र हावाका कारण दृश्य कम हुने भएकाले पर्यटकहरूलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ । स्थानीय मिङ्मार शेर्पा भन्छन्, ‘कसैले हरायो भने तुरुन्त खोजी सुरु गर्न सकिँदैन । नेटवर्क नै नचल्ने ठाउँ छ । उद्धारका लागि मानिस पैदलै हिँड्नुपर्छ ।’ भौगोलिक कारणले सञ्चार सम्पर्क कमजोर हुँदा उद्धारमा कठिनाइ हुने गरेको स्थानीय जानकारहरू बताउँछन् । ‘दुधकुण्ड पुग्ने बाटो अत्यन्त कठिन छ । हिँड्दा लाग्छ हिमाल बोल्दैछ, तर बाटो देखिँदैन । बाटोमा कुनै जानकारीमूलक बोर्ड छैन,’ सुनसरीको धरानबाट दुधकुण्ड पुगेका भक्तजन भविस्वर साम्पाङले भने । नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले भने, ‘दुधकुण्ड धार्मिकमात्र होइन, अन्तर्राष्ट्रियस्तरको ट्रेकिङ र आध्यात्मिक केन्द्र बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो । तर सम्बन्धित निकायले अझै प्राथमिकता दिएको छैन ।’ धनकुटाका अमृत पौडेलले भने, ‘हामी दुधकुण्ड पुगेका थियौँ, तर बाटोमा बोर्ड नभएका कारण करिब छ घण्टा जङ्गलतिर भुल्यौँ । अहिले पनि यस्तो अवस्थामा पर्यटक हिँड्नुपर्ने ?’ दुधकुण्डः दूधजस्तो सेतो ताल र आस्थाको केन्द्र समुद्री सतहबाट ४ हजार ७०० मिटर उचाइमा अवस्थित दुधकुण्ड सोलुदुधकुण्ड नगरपालिका–१ मा पर्दछ । यो ताल नुम्बुर हिमाल (६,९५८ मिटर) को फेदमा रहेको छ । जसलाई स्थानीयले ‘नुम्बुर हिमाल माताको काख’ भन्छन् । यहाँको कुण्डमा दूधजस्तो सेतो पानी भएकाले यसलाई ‘दुधकुण्ड’ नाम दिइएको हो । प्रत्येक वर्ष जनैपूर्णिमा पर्वका समयमा हजारौँ भक्तजन यहाँ पुग्छन् । धार्मिक विश्वासअनुसार यो तालमा स्नान गर्दा पाप नाश हुने, मनोकामना पूरा हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बी सबैका लागि यो स्थान पवित्र मानिन्छ । दुधकुण्ड केवल प्राकृतिक दृश्य होइन, यो आस्थाको प्रतीक, श्रद्धा र प्रकृतिको मिलनस्थल हो । नुम्बुर हिमाल हाल खुला आरोहणका लागि अनुमति दिइएका हिमालहरूमध्ये एक प्रसिद्ध हिमाल हो । यस हिमालमा गत कात्तिक ५ गते तीन विदेशी आरोहीले पहिलोपटक सफलतापूर्वक आरोहण गरेका छन् । सेभेन समिट ट्रेकका इटालियन नागरिक हर्भ, जर्मन फेलिक्स र पोल्याण्डका आडमले १५ घण्टाको आरोहणपछि सफलतापूर्वक शिखर चुमेका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार यो आरोहणले दुधकुण्ड क्षेत्रलाई अन्तरराष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने नयाँ ढोका खोलिदिएको छ । स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पा भन्छन्, ‘नुम्बुर हिमाल, दुधकुण्ड र वरिपरिको ग्रामीण जीवनशैली एकसाथ अनुभव गर्न सकिने गन्तव्य विश्वमै दुर्लभ छ । यसलाई व्यवस्थित गर्नसके सोलुखुम्बु अर्को ‘पवित्र ट्रेकिङ सर्किट’ बन्न सक्छ ।’ सोलुदुधकुण्ड नगरपालिकाले केही वर्षअघि दुधकुण्ड पुग्ने पदमार्गमा लगानी गरेको थियो । तर त्यसपछि सूचना–साङ्केतिक प्रणाली, उचाइ जानकारी, सुरक्षा चेकपोस्टजस्ता आवश्यक पूर्वाधार निर्माण हुनसकेको छैन । नगर उपप्रमुख गान्धिमाया तामाङ भन्छन्, ‘नगरपालिकाले पदमार्ग स्तरोन्नति र प्रचारमा ध्यान दिइरहेको छ । तर विस्तृत पर्यटन नक्सा र सङ्केत प्रणाली बनाउनतर्फ भने ध्यान जानसकेको छैन ।’ उनका अनुसार यसै आर्थिक वर्षभित्र ‘दुधकुण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सङ्केत बोर्ड र पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । तर स्थानीय पर्यटन उद्यमीहरूका अनुसार योजनााई कार्यान्वयनमा ढिलाइ हुँदा परिणाम देखिँदैन । दुधकुण्ड क्षेत्रले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने क्षमता बोकेको छ । यहाँको पर्यटनले स्थानीय होटल, ढाबा, यातायात र हस्तकला उद्योगलाई प्रत्यक्ष फाइदा पुर्याउन सक्छ । तर असुरक्षित पदमार्ग र सूचना अभावका कारण कतिपय पर्यटक बीचैबाट फर्किन्छन् । यदि स्थानीय सरकार र निजी क्षेत्रले संयुक्त रूपमा लगानी गरे यस क्षेत्रले धार्मिक–पदयात्रा पर्यटन र हिमाली ट्रेकिङ दुवैलाई जोड्ने राष्ट्रिय गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायी बल दर्नालको भनाइ छ । ३ तहको सरकार, एउटै दृष्टिकोण आवश्यक  ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा भन्छन्, ‘दुधकुण्ड सर्किट ट्रेक हिमाल, ताल र संस्कृति । यी तीनै तत्वलाई एकसाथ देखाउने दुर्लभ गन्तव्य हो । यसको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै दृष्टिकोणमा उभिनुपर्छ ।’ यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्थायी सङ्केत बोर्ड, आपत्कालीन उद्धार केन्द्र र नियमित गाइड तालिम अपरिहार्य छन् । दुधकुण्ड केवल एउटा ताल होइन । यो नेपाली पहिचान र आस्थाको हिमाली प्रतीक हो । यसको संरक्षण र व्यवस्थापन हाम्रो सामूहिक जिम्मेवारी हो ।  यदि समयमै सङ्केत बोर्ड, सुरक्षा पूर्वाधार र सञ्चार सञ्जालमा सुधार गरिए यो हिमाली भूभाग केवल पर्यटकको चुनौती होइन आस्थाको यात्राको गौरवशाली गन्तव्य बन्न सक्छ । यसको विकासमा सबै तहको सरकार र निजी क्षेत्रको समेत चासो हुने हो भने जिल्लाको मात्र नभई देशकै अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने निश्चित रहेको पर्यटन व्यवसायी आङ फुर्वा शेर्पाले बताए । धकुण्डको विकासका लागि विशेष खाका तयार गरेर अघि बढ्न सक्ने हो भने स्वदेशी तथा विदेशी धार्मिक तथा दृश्यावलोकन गर्ने पर्यटकलाई एकै स्थानमा उतार्न सकिने स्थानीय जानकारहरूको तर्क छ । रासस

सिँचाइका १२ रूग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु

सिँचाइका १२ रूग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइ तर्फका १२ रूग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रूग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रूग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।  सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतबार सार्वजनिक सूचनामार्फत १६ जेठ २०८१ र १ साउन २०८१ मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइएपनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ । कार्यालयबाट पटक पटकको अनुरोध तथा सार्वजनिक सूचना जारी गर्दा समेत काम गर्न कुनै ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लिखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको जनाएको छ ।  साथै, सार्वजनिक खरिद कानुनको व्यवस्था बमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच एवं  बाँकी कामको मूल्याङ्कन गर्न १५ दिनभित्र सम्पन्न गर्न जानकारी गराइएको छ । रद्द गरिएका ठेक्का आर्थिक वर्ष २०६८/६९, २०६९/७०, २०७३/७४ र २०७४/७५ मा गरिएका थिए । सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ४० रूग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगन्जले आइतबार आफू मातहत रूग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । तुम्लिङ्टारले १७, इलामले १२, हेटौंडाले ७ र नेपालगन्जले ४ ठेक्का गरी ४० ठेक्का ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् । विभिन्न सडक डिभिजन कार्यालयले यस अघि रूग्ण रहेका ६८ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइसकेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिए । ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमा समेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाइ निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्य स्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत  रुपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाइ ठेक्का सम्झौता उल्लङ्घन  गरिएको जनाइएको छ । सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिव कारण भए सत्य तथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।  उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

पोखरा भरिभराउ: लामो बिदाले बढायो आन्तरिक पर्यटन

जमुना वर्षा शर्मा काठमाडौं । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँ तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ भने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ । अन्नपूर्ण हिमशृङखलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा । यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय आन्दोलन र प्रतिकूल मौसमले खस्केको पोखराको पर्यटन अहिले मौसममा सुधार र लामो बिदाका कारण पुनर्जीवित भएको छ । ‘विभिन्न मारमा परेको पोखराको पर्यटन क्षेत्रमा अहिले केही राहत महसुस भएको छ । विशेषगरी तिहारको समयमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक पनि सन्तोषजनक मात्रामा आइरहेका छन्,’ होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका भने, ‘लामो बिदा, अनुकूल मौसमले अहिले लेकसाइडका ९० प्रतिशत होटेल अकुपेन्सी रहेको छ, पोखरा हुँदै आसपासका पर्यटकीय गन्तव्यमा अन्नपूर्ण पदयात्रादेखि मुस्ताङसम्मको यात्रामा निस्केका आन्तरिक तथा केही बाह्य पर्यटकको आगमनले उत्साह थपेको छ ।’ अहिले पोखरामात्र नभई गण्डकी प्रदेशकै पर्यटनमा सकारात्मक प्रभाव पारेको सुवेदीले बताए । अध्यक्ष सुवेदीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल करिब ८ खर्ब रुपैयाँ बराबरको लगानी भएको छ । सोमध्ये करिब ६ खर्ब रुपैयाँ होटल व्यवसायमै लगानी भएको छ । प्रत्यक्ष रूपमा करिब १५ हजार व्यक्ति यस क्षेत्रको रोजगारीमा आश्रित छन् । पोखरामा करिब १ हजार २०० पर्यटकीयस्तरका होटल सञ्चालनमा छन्, जसमा ७०० वटा लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन् । एक रातमा करिब ४० हजार पाहुना समायोजन गर्न सक्ने क्षमता पोखराका होटलमा रहेको छ । हाल पोखरामा एउटा फाइभस्टार, ६ फोरस्टार र करिब ३० थ्री, टु र वन-स्टार लक्जरी होटल सञ्चालनमा छन् । आन्तरिक पर्यटकमा पदयात्राप्रति पनि उत्साह देखिएको छ । पोखरा पदयात्रा (ट्रेकिङ) का लागि एक महत्त्वपूर्ण प्रवेशद्वार हो । अन्नपूर्ण बेस क्याम्प ट्रेक, मर्दी हिमाल ट्रेक, घोरेपानी-पुनहिल ट्रेकजस्ता विश्व-प्रसिद्ध पदमार्ग पोखराबाटै सुरु हुन्छन् । यी पदमार्गले हरेक वर्ष हजारौं ट्रेकरलाई आकर्षित गर्छन्, जसले पोखराको पर्यटनमा थप विविधता ल्याएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्यले भने, ‘पोखरा नेपालका लागि पदयात्राको प्रवेशद्वार हो । अन्नपूर्ण क्षेत्रमा रहेका अनगिन्ती सुन्दर पदमार्गले यस क्षेत्रलाई विश्वभरका ट्रेकरका लागि आकर्षक गन्तव्य बनाएका छन् । अहिले आन्तरिक र बाह्य पर्यटकको आगमन उत्साहजनक देखिएको छ ।’ उनले पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन यी पदमार्गको संरक्षण र प्रवर्द्धनमा सरकारले चासो बढाउनुपर्ने बताए । उनले भने, ‘यस याममा पोखरामा पर्यटकको चाप बढ्नु स्वाभाविक हो, तर हामी समग्र वर्षभरि नै पदयात्रा पर्यटनलाई सक्रिय राख्न चाहन्छौं ।’ आचार्यले यसका लागि नयाँ ट्रेकिङ रुटहरूको पहिचान, अवस्थित रुटको स्तरोन्नति, ट्रेकर सुरक्षाका लागि आवश्यक पूर्वाधार विकास र पथप्रदर्शकको क्षमता अभिवृद्धिमा सक्रियतासँगै हालैमात्र अन्नपूर्ण नर्थ जसलाई मौरिस हर्जोग ट्रेल भनेर टानले प्रवर्द्धन गरेको बताए । आचार्यका अनुसार केही दिनयता कास्कीको छोमरोङ, पोथना, विरेठाँटी लमजुको बँेसीसहर, म्याग्दीको घासा गरेर पाँच चेकपोष्टबाट विदेशी पर्यटक दैनिक हजारदेखि १ हजार २०० र नेपाली चार हजारदेखि ४ हजार ४५ सम्म पदयात्रामा जाने गरेका तथ्याङ्क छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले पनि लामो समयपछि पोखरामा पर्यटकको आगमन उत्साहजनक देख्न पाएकामा खुसी व्यक्त गरे ।  ‘दसैँभन्दा तिहारमा पर्यटकको आगमन राम्रो छ । रेस्टुरेन्ट र बारमा पनि पर्यटकको चहलपहल बढेको छ । यसले हामी व्यवसायीलाई थप ऊर्जा दिएको छ,’ उनले भने ।  पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले यो मौसममात्र पर्यटनको आगमनले पर्यटन क्षेत्रको लगानी थेग्न नसक्ने भन्दै सबै मौसममा पर्यटन भित्र्याउने दीर्घकालीन योजना सरकारसँग हुनुपर्ने बताए । आन्तरिक तथा बाह्य बजारमा पोखराको सुन्दरता र विविधतालाई चिनाउन विशेष पहलको खाँचो छ । ‘पोखरा प्राकृतिक, साहसिक र सांस्कृतिक पर्यटनको गन्तव्य हो, पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउन सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयको खाँचो छ,’ उनले भने ।  उनका अनुसार प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता र महामारीको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा पर्ने भएकाले राज्यले दिगो पर्यटन रणनीति अवलम्बन गरेर पर्यटन क्षेत्रलाई सुरक्षित राख्नुपर्ने बताए । पोखरालाई साहसिक पर्यटनको हबका रूपमा विकास गर्ने, नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने र पूर्वाधार विकासमा सहयोग पुर्याउने योजनाको भुजेलले खाँचो औंल्याए ।  सांस्कृतिक विविधता, र साहसिक गतिविधिको अनुपम सङ्गम, फेवातालमा डुङ्गा सयर, सराङकोटबाट सूर्योदयको दृश्यावलोकन, विश्व शान्ति स्तूपा भ्रमण, डेभिस फल्स र गुप्तेश्वर गुफाको अवलोकन, अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयजस्ता आकर्षणले पर्यटकलाई सधैँ लोभ्याउने गरेकाले यसलाई व्यवस्थित गर्नुपर्ने भुजेलको भनाइ छ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विदेशी पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ । विशेषगरी फेवातालको किनारमा रहेका रेस्टुरेन्ट, क्याफे र पसलले साँझमा जीवन्त वातावरण सृजना गरिरहेका छन् । तालमा गरिने डुङ्गा सयर, ताल किनारमा साइक्लिङ वा पैदलयात्रा गर्दा पर्यटकले शान्ति र आनन्दको अनुभव गर्ने गर्दछन् । तालको बीचमा रहेको तालबाराही मन्दिरले पनि सांस्कृतिक महत्व बोकेको छ । रासस

नारायणपुर–राजपुर खण्ड बनाउन ६ अर्ब रुपैयाँ लाग्ने, स्रोत सुनिश्चित नहुँदा सडक अधुरो

काठमाडौं । राप्ती सोनारी गाउँपालिका-३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडक खण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा छ । नारायणपुर-राजपुर सडक निर्माण गर्न निर्देशनालयले केही वर्षअघि नै डिपिआर तयार गरिसके पनि निर्माणकार्य सुरु हुनसकेको छैन । डिपिआरअनुसार यो खण्ड निर्माण गर्न करिब ६ अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले सो खण्डमा सडक निर्माण नगरिए हुलाकी राजमार्ग अधुरै रहने निष्कर्षसहित निर्माण प्रक्रिया अगाडि बढाइएको बताए । प्रमुख भण्डारीका अनुसार यो खण्डमा निर्माणकार्य अगाडि बढाउन स्रोत सुनिश्चितका लागि सम्बन्धित निकायमा फाइल पेस गरिसकिएको जनाउँदै केही समयमै स्रोत सुनिश्चित हुने र सोपश्चात ठेक्का व्यवस्थापनको काम अगाडि बढाइने छ । यो खण्डको करिब ३५ किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्न करिब ४ वर्ष समय लाग्ने र सो सडक खण्डमा १५ पुल निर्माण गर्नुपर्ने देखिएको उनले बताए ।  सडक खण्डको ३५ किमी क्षेत्रमध्ये आधाभन्दा बढी अर्थात् १८ किमी जङ्गल क्षेत्र रहेको छ । छोटो दूरी र सहजताका कारण निर्माण सम्पन्न भइसकेको नेपालगन्जदेखि अगैयासम्मको स्थानमा सर्वसाधारणका सवारीसाधनले हुलाकी सडक नै प्रयोग गर्ने गरेका  प्रमुख भण्डारीले बताए । बाँकेको नारायणपुरबाट दाङको राजपुरसम्मको करिब ३५ किमी खण्डको स्रोत सुनिश्चित प्राप्त गर्ने अन्तिम अवस्थामा पुगेको छ । नारायणपुर-राजपुर सडक खण्ड निर्माण हुनसके बाँकेको सोनारी क्षेत्रको विकासमा टेवा पुग्ने राप्ती सोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार थारूले बताए । 

गोल्छा र आचार्यको लगानीमा बनेको परान, सुखी हुन छोडिरहेको खुसीको कथा

काठमाडौं । टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्य दृश्य निर्देशनको अनुभव सङ्गालेका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गरेको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उनलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो । ‘कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि चलचित्र बनाउने कथा लेखेको थिएँ । आफू बाँच्छु कि बाँच्दैन भन्ने अवस्थामा आफ्नो भावना कोरेको थिएँ । यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई चलचित्रकै शैलीमा पटकथा तयार गरिएको छ,’ निर्देशक आचार्यले भने ।  कोभिडमुक्त भएपछि निर्देशक आचार्यले यम थापालाई पटकथा लेखनका लागि दिए । त्यसपछि यो चलचित्र बन्ने प्रक्रियाले तीव्रता पायो । एउटा परिवारको कथामार्फत अहिलेको समाजलाई समेत आफूले चित्रण गरेको निर्देशक आचार्यले बताए । ‘चलचित्रमा बा र छोरा बीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने प्रचलन बढिरहेको छ । हामी बा-आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु,’ निर्देशक आचार्यले भने । चलचित्रमा अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ । एउटा कलाकार र निर्देशकका हिसाबले आफूले सोचेको कलाकारलाई पात्रमा चित्रण गर्न पाउँदा उनी खुसी नै छन् । ‘मैले मदनकृष्ण श्रेष्ठ र नीर शाहलाई चलचित्र प्रस्ताव गर्दा नै उहाँहरूले अभिनय गर्ने सहमति दिनुभयो । सायद, यो कथाले उहाँहरुको परिवार र समाजको प्रतिनिधित्व गर्छ होला । यो कथाले अभिभावक होइन, छोराछोरीलाई सोच्न बाध्य बनाउँछ,’ उनले भने । एउटा परिवारमार्फत वर्तमान समाज र देशलाई चित्रण गरेको चलचित्र ‘परान’को कथा सार पहिलोपटक सुन्दा नै आफू अभिनय गर्न सहमत भएको अभिनेता नीर शाहले बताए ।  ‘मैले चलचित्रमा धर्म नाथको भूमिका निर्वाह गरेको छु । यो पात्रसँग कहीँ कतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ । मेरो चलचित्रकर्मीमा यस्ता प्रस्ताव निकै कम आएका छन्, त्यसैले मैले यो भूमिका निर्वाह गरेँ । यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ,’ उनले भने । अभिनेता शाहले चलचित्रमा आफूले पात्रलाई निर्वाह गर्न सतप्रतिशत मेहनत गरेको भन्दै यसको मूल्याङ्कन दर्शकले गर्ने बताए । अभिनेता मदनकृष्ण श्रेष्ठसँगै अन्य सहकर्मी कलाकारसँग चलचित्रमा काम गर्दा केही नयाँ विषयबारे सिक्ने अवसर पाएको उनले धारणा राखे । परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गरेका छन् । शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सृजना गरेका छन् । चलचित्र कात्तिक १४ गतेदेखि नेपालभर प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

हुम्लाको तापक्रम माइनस ८ डिग्री, पानी जम्न थालेपछि प्रहरी चौकी स्थानान्तरण

काठमाडौं । अत्यधिक चिसो भएपछि हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६ महिनाका लागि सदरमुकाम स्थानान्तरण गरिएको हो । गत असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सिमकोट फर्केका हुन् । चिसो निकै बढ्दा सुरक्षाकर्मीलाई सदरमुकाम सिमकोट फिर्ता बोलाइएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए । २३ जनाको दरबन्दी भए पनि हाल उक्त चौकीमा प्रहरी नायब निरीक्षक नरबहादुर चन्दको नेतृत्वमा १४ प्रहरी कार्यरत थिए । प्रहरी नायब निरीक्षक चन्दले बाक्लो हिमपातपछि चिसोले बस्न नसकेपछि जिल्लालाई खबर गरेको बताए । धारामा पानी जम्ने तथा तापक्रम माइनस ८ डिग्री सेल्सियसमा झरेपछि काम गर्न कठिन भएको उनको भनाइ छ ।

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा हुने

काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।